News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं महानगरपालिका कार्यवाहक प्रमुख सुनिता डंगोलले काठमाडौं फिल्म फेस्टिभल २०२६ समापनमा युनेस्कोको सिर्जनशील चलचित्र शहरको प्रतिवद्धता पूरा भएको बताइन् ।
- उनले सन् २०२३ मा मान्यता पाएपछि चार वर्षभित्र अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल गर्ने लक्ष्य सन् २०२६ मै पूरा भएको उल्लेख गरिन् ।
- डंगोलले तीनदिने फेस्टिभलले हनुमानढोका दरबार क्षेत्र र बौद्धनाथलाई जोडेको र नेपाली कथा विश्वमाझ पुर्याउने यात्रा निरन्तर रहने बताइन् ।
१६ कात्तिक, काठमाडौं । तीनदिने ‘काठमाडौं फिल्म फेस्टिभल’ सम्पन्न भएको छ ।
काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले युनेस्कोको सिर्जनशील चलचित्र शहरको मान्यताअनुसार अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल आयोजना गर्ने प्रतिवद्धता पूरा गरेको बताएकी छन् ।
काठमाडौं फिल्म फेस्टिभल २०२६ को समापन समारोहलाई बौद्धनाथमा सम्बोधन गर्दै उनले सन् २०२३ मा युनेस्कोको सिर्जनशील चलचित्र सहरको मान्यता प्राप्त गरेपछि चार वर्षभित्र अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल आयोजना गर्ने प्रतिवद्धता गरेको र सन् २०२६ मै त्यसलाई पूरा गर्न सफल भएको बताएकी हुन् ।
तीनदिने फेस्टिभलले विश्व सम्पदा सूचीमा रहेका हनुमानढोका दरबार क्षेत्र र बौद्धनाथलाई जोडेको उनले बताइन् । बसन्तपुरबाट शुरु भएको फेस्टिभल बौद्धनाथमा समापन गर्न पाउँदा खुशी लागेको उनको भनाइ छ ।
फेस्टिभलको पहिलो दिन वर्षाका कारण कार्यक्रम सञ्चालनमा कठिनाइ भएपनि कलाकार, स्वयंसेवक, महानगरपालिका परिवार र नगर प्रहरीको सहयोगले कार्यक्रम सफल भएको उनले बताइन् ।
फेस्टिभल सफल बनाउन सहयोग गर्ने फिल्म विकास बोर्ड, एलायन्स फ्रान्सेज, अमेरिकी तथा अस्ट्रेलियाली दूतावास, युनेस्को र अन्य साझेदार संस्थाप्रति उनले धन्यवाद ज्ञापन गरिन् ।
त्यस्तै, फेस्टिभलका निर्देशक तथा आयोजक टोलीले गरेको मेहनतको प्रशंसा गर्दै उनले राति १० बजे शुरु हुने बैठक बिहान २ देखि ३ बजेसम्म चल्ने गरेको अनुभव सनाइन् ।
नेपाली चलचित्र र कथालाई अन्तर्राष्ट्रिय समुदायमाझ पुर्याउनु फेस्टिभलको मुख्य उद्देश्य रहेको उल्लेख गर्दै डंगोलले नेपालले विश्वका कथा हेर्ने र सुन्ने मात्र नभई विश्वले पनि नेपाली कथा हेर्ने र सुन्ने वातावरण बनाउनुपर्नेमा जोड दिइन् ।
डंगोलले भनिन्, ‘नेपालले विश्वका कथाहरू हेर्ने, सुन्ने मात्र होइन, विश्वले पनि हाम्रा कथाहरू देख्न र सुन्न पाउनुपर्छ । वरिष्ठ कलाकारहरूलाई खाना खान जाने वा विश्राम गर्ने हो भनेर सोध्दा पनि उहाँहरूले होइन, हामी अझै फिल्म हेर्न चाहन्छौँ भन्नुभयो । यसले हामीलाई थप ऊर्जा दिएको छ । हामीले विश्वका कथा नेपाललाई देखाउने, सुनाउने र सुनाउने मात्र होइन, नेपालका कथाहरू पनि विश्वले देख्ने र सुन्ने वातावरण बनाउनुपर्छ ।’
फेस्टिभलको औपचारिक समापन भए पनि नेपाली कथा र चलचित्रलाई विश्वमाझ पुर्याउने यात्रा निरन्तर रहने उनको भनाइ छ ।
प्रतिक्रिया 4