+
+
Shares

अन्तर्राष्ट्रियस्तरको काठमाडौं फिल्म फेस्टिभल गरिने, विदेशी पाहुनालाई बोलाइने

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ३१ गते १५:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कार्यवाहक नगरप्रमुख सुनिता डंगोलले आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै काठमाडौँ फिल्म फेस्टिभल आयोजना गर्ने बताउनुभयो।
  • महानगरपालिकाले ऐतिहासिक र सांस्कृतिक सम्पदाको संरक्षण गर्न 'येँ देय् सांस्कृतिक छेँ' सञ्चालनमा ल्याउने घोषणा गरेको छ।
  • इन्द्रजात्राका देवगण श्री गणेश र श्री भैरवका लागि निवास निर्माण गर्ने तथा प्राचीन बस्तीमा होमस्टे प्रवर्धन गर्ने महानगरको नीति छ।

काठमाडौँ । काठमाडौं महानगरपालिकाले अन्तर्राष्ट्रियस्तरको काठमाडौं फिल्म फेस्टिभलको आयोजना गर्ने भएको छ । आइतबार आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कार्यवाहक नगरप्रमुख सुनिता डंगोलले उक्त कुरा बताएकी हुन् ।

विदेशी पाहुना समेतलाई आमन्त्रण गरी अन्तर्राष्ट्रियस्तरको काठमाडौँ फिल्म फेस्टिभलको आयोजना गरिने उनले बताइन् ।

महानगरपालिका राष्ट्रसंघीय नियोग युनेस्कोको चलचित्र विधाको सहर समेत हो । डंगोल हालै फ्रान्समा आयोजित कान्स फिल्म फेस्टिभलमा पनि सहभागी थिइन् । महानगरले टोल टोलमा फिल्म कार्यक्रम गर्ने घोषणा पनि गरिसकेको छ ।

नीति तथा कार्यक्रममा भनिएको छ, ‘मौलिक र परम्परागत लोककला, पाककला, भेषभूष, शिल्प, गरगहना, जात्रा पर्व, साहित्य सङ्गीत तथा प्राकृतिक सम्पदालाई चलचित्रको माध्यमद्वारा उजागर गरी रचनात्मक उद्योगका रूपमा विकास र प्रवर्धन गर्न चलचित्र महोत्सव, परम्परागत खाना महोत्सव, एक्स्पो, प्रदर्शनी जस्ता कार्यक्रम सञ्चालन गरिनेछ ।’

महानगरपालिकाले निर्माण गरेको येँ देय् सांस्कृतिक छेँ लाई सञ्चालनमा ल्याइने उल्लेख छ । महानगरपालिकाले सांस्कृतिक सहर : समृद्ध महानगरको परिकल्पनालाई मूर्त रूप दिन महानगर क्षेत्रभित्रका मौलिक र विशिष्ट ऐतिहासिक एवम् सांस्कृतिक सम्पदाको संरक्षण, प्रवर्धन तथा विकास गर्ने भएको छ ।

महानगरलाई खुला तथा जीवन्त सङ्ग्रहालय र रचनात्मक सहरको रूपमा विकास गरिने उल्लेख छ । ऐतिहासिक, धार्मिक, पुरातात्विक, सांस्कृतिक, सामाजिक महत्वका मठ, मन्दिर, चैत्य द्योस्छें, वहा–वहि, हिती, पोखरी, गुम्बा, स्तुपा, चोक, ननि, डबली, फल्चा लगायतका संरचना तथा सम्पदा स्थलहरूको अध्ययन, डिजिटल अभिलेखीकरण, मौलिक नामकरण, नक्सांकन, मर्मत, जीर्णोद्धार, पुनर्निर्माण गरी संरक्षण, सम्बद्र्धन र प्रवद्र्धन गरिने पनि उल्लेख छ ।

‘मौलिक तथा परम्परागत सिप, कला र ज्ञानको जगेर्ना, पुस्तान्तरण एवम् पुनरोत्थानको लागि ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक, तथा वास्तुकलात्मक महत्वका निजी तथा संस्थागत भवन पुनर्निर्माण गर्न र सम्पदा बस्ती संरक्षण गर्न प्रोत्साहित गरिनेछ’ कार्यक्रममा भनिएको छ ।

महानगरपालिकाले इन्द्रजात्रा तथा सेतो मछिन्द्रनाथ (आर्य अवलोकितेश्वर) जात्रा लगायतका अन्य ऐतिहासिक तथा सांस्कृतिक जात्रा मार्गमा सम्पदामैत्री भवनको फसाड निर्माण गर्न प्रोत्साहन पनि गर्ने भएको छ ।

‘पर्यटन प्रवद्र्धन तथा विकासका लागि प्राचीन बस्ती एवम् सहरहरूमा होमस्टे सञ्चालनको लागि प्रोत्साहन गरिनेछ,’ नीति तथा कार्यक्रममै भनिएको छ, ‘अमूर्त सम्पदाहरु ः स्थानीय जात्रा, पर्व, कला, संस्कृति, परिकार, परम्परागत बाजा तथा सङ्गीतको संरक्षण र प्रवर्धन गर्दै युनेस्कोको अभौतिक सांस्कृतिक सम्पदामा सूचिकृत गर्न आवश्यक पहल गरिनेछ ।’

महानगरपालिका क्षेत्रको महत्वपूर्ण जात्राका रूपमा अन्तर्राष्ट्रियस्तरमा समेत चर्चित इन्द्रजात्राका रथयात्राका प्रमुख देवगण श्री गणेश र श्री भैरवका लागि निवास निर्माण गर्न आवश्यक व्यवस्था मिलाइने पनि कार्यक्रममा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?