News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं महानगरपालिकाले कात्तिक १३ देखि १५ गते हुने काठमाडौं फिल्म फेस्टिभलमा भारतीय अभिनेत्री शबाना आजमीलाई प्रमुख आकर्षकको रूपमा सहभागी गराउने जनाएको छ।
- फेस्टिभलमा नेपाली र विदेशी चलचित्र प्रदर्शन, अन्तरसंवाद, मास्टर क्लास, सम्पदा यात्रा र अवार्ड समारोह हुने र ७५ मध्ये १० चलचित्र छनोट गरिएको छ।
- छनोट भएका प्रत्येक चलचित्रलाई १ लाख रुपैयाँ प्रोत्साहन पुरस्कार दिइनेछ, र शबाना आजमीले १४ कात्तिकमा संवाद कार्यक्रममा सहभागिता जनाउनेछिन्।
१० कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाले यही कात्तिक १३ देखि १५ गतेसम्म आयोजना हुने ‘काठमाडौं फिल्म फेस्टिभल’मा भारतीय अभिनेत्री शबाना आजमी प्रमुख आकर्षकको रूपमा सहभागी हुने जनाएको छ ।
मंगलबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै यस्तो जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै काठमाडौं फिल्म फेस्टिबलकी निर्देशक आयुशा श्रेष्ठले फेस्टिभलमा नेपाली तथा विदेशी चलचित्र प्रदर्शनसँगै अन्तरसंवाद, मास्टर क्लास, सम्पदा यात्रा र अवार्ड समारोह समेत आयोजना गरिने बताइन् ।
काठमाडौंको संस्कृति, परम्परा तथा सम्पदाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले चलचित्र महोत्सव आयोजना गर्न लागिएको उनको भनाइ छ । पुराना कलाकारहको सम्मान तथा उनीहरुको सिर्जनात्मक कलालाई नयाँ पुस्तामा रुपान्तरण गर्नु समेत फिल्म फेस्टिबलको उद्देश्य रहेको उनले बताइन् ।
अभिनेत्री शबाना आजमीले १४ कात्तिक मा नेपाल पर्यटन बोर्डमा आयोजना हुने ‘चलचित्र, महोत्सव र सार्थक जीवन’ विषयक संवाद कार्यक्रमा सहभागि हुने बताइन् । जापानी निर्देशक ताकायुकी नाकामुराले कात्तिक १४ गते राष्ट्रिय सभागृहमा जापानको यामागाता युनेस्को फिल्म सिटीबारे प्रश्तुति दिने कार्यक्रम रहेको समेत उनले जानकारी दिइन् ।
चलचित्र महोत्सवको पहिलो दिन वसन्तपुरमा सम्पदा यात्रा हुने बताउँदै कात्तिक १५ गते राष्ट्रिय सभागृहमा रेड कार्पेट कार्यक्रम, पुरानो नेपाली चलचित्र ‘के घर के डेरा’को प्रदर्शन गरिने बताइन् ।
‘फेस्टिबलको शुरुवात र अन्त्य गर्ने ठाउँ नै विश्वको सम्पदा सूचिमा समावेश छन् । त्यस कुरालाई फोकस गरेका छन् । त्यस्तै जय नेपाल हल अन्तर्राष्ट्रिय स्तरको हल भएको कारण त्यहाँ विदेशी चलचित्रहरुको प्रदर्शन गरिनेछ,’ उनले भनिन्, ‘फेस्टिबलमा हाम्रो भारतीय बहुचर्चित अभिनेत्री शबाना आजमी र अष्टे«लियन चलचित्र निर्माता मुलर हुनुहुन्छ । हामीले फेस्टिभलको पहिलो दिन १३ कात्तिकमा एउटा सानो हेरिटेज वर्क गर्न लागेका छौँ । भन्दाखेरी सानो भएपनि यसमा धेरै कुरा जोडिन्छ ।’
फेस्टिभलमा ‘नेपाल पानोरामा सर्ट्स’ अन्तर्गत नेपाली परिवेशमा स्थानीय नवप्रतिभाले निर्माण गरेका चलचित्र, लघु चलचित्र तथा वृत्तचित्र प्रदर्शन गरिनेछन् । महानगरपालिकाले गरेको खुला आह्वानमा प्राप्त ७५ चलचित्रमध्ये १० वटा छनोट गरिएको छ ।
छनोट भएका प्रत्येक चलचित्रलाई १ लाख रुपैयाँका दरले प्रोत्साहन पुरस्कार प्रदान गरिनेछ । त्यस्तै नेपालसहित विभिन्न देशका चलचित्रहरु प्रदर्शनमा राखिने आयोजकले जनाएको छ ।
प्रतिक्रिया 4