News Summary
Generated by OK AI. Editorially reviewed.- चितवनको चुम्लिङटारस्थित सिद्धार्थ रिभरसाइड रिसोर्टले राजमार्ग यात्रुका लागि खाना, विश्राम, आवास र मनोरञ्जन सेवा विस्तार गरिरहेको छ।
- रिसोर्टले २०७५ देखि खाद्य स्वच्छता मूल्यांकनमा ‘क’ वर्ग पाउँदै आएको छ र ६४ कोठा तथा ९९ बेड पुर्याउने लक्ष्य राखेको छ।
- सिद्धार्थ रिभरसाइडले सन् २०२६ का लागि साटा अन्तर्गत नेपालतर्फको ‘लिडिङ रिभरफ्रन्ट होटल/रिसोर्ट’ अवार्ड पाएको छ।
१७ कात्तिक, चितवन । पृथ्वी राजमार्ग हुँदै काठमाडौं, पोखरा र पश्चिम नेपालका विभिन्न शहरमा यात्रा गर्नेहरूका लागि चितवनको चुम्लिङटारस्थित सिद्धार्थ रिभरसाइड रिसोर्ट विश्रामस्थलका रूपमा परिचित हुँदै गएको छ ।
काठमाडौं र पोखराको बीचतिर पर्ने चितवनको चुम्लिङटार लामो दूरीको यात्राका क्रममा खाना खान र केही समय आराम गर्न रोकिने स्थानमध्ये एक हो ।
पृथ्वी राजमार्गमा सडक विस्तारको काम जारी रहँदा यात्राको सहजता प्रभावित भइरहेको अवस्थामा चुम्लिङटारका होटल तथा रिसोर्टहरूले यात्रुका लागि खाना र विश्रामको सेवा उपलब्ध गराउँदै आएका छन् । सिद्धार्थ रिभरसाइडले पनि यही बजारलाई आधार बनाएर रेस्टुरेन्ट सेवासँगै आवास र मनोरञ्जनका सुविधा विस्तार गरिरहेको छ ।
भान्साको सरसफाइ, खानेकुराको गुणस्तर र बस्ने वातावरण पनि उत्तिकै महत्त्वपूर्ण हुने आवश्यकतालाई मध्यनजर गरेर सिद्धार्थ रिभरसाइडले रेस्टुरेन्ट र आवास सेवासँगै मनोरञ्जन तथा अन्य सुविधासमेत विस्तार गर्दै आएको सिद्धार्थ बिजनेस ग्रुपका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपाने बताउँछन् । उनका अनुसार पछिल्ला वर्षमा साना तथा मझौला सवारीसाधनमा यात्रा गर्नेहरूबीच रिसोर्टमा रोकिने क्रम बढेको छ ।
प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेका अनुसार यसले वि.सं. २०७५ देखि खाद्य स्वच्छता मूल्यांकनमा ‘क’ वर्ग अर्थात् ‘अति उत्तम’ श्रेणी प्राप्त गर्दै आएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रणसम्बन्धी निकायबाट प्राप्त यो वर्गीकरणलाई रिसोर्टले आफ्नो भान्सा व्यवस्थापन र खाद्य सुरक्षासँग जोडेको छ । ‘खाद्य स्वच्छता र गुणस्तरीय सेवा हाम्रो प्राथमिकता हो । राजमार्गमा यात्रा गर्ने यात्रुले पनि स्वच्छ र गुणस्तरीय खाना खान पाउनुपर्छ भन्ने हाम्रो मान्यता छ,’ न्यौपानेले भने ।
रिसोर्टमा अल डे डाइनिङ रेस्टुरेन्ट, गार्डेन रेस्टुरेन्ट, प्राइभेट डाइनिङ र कटेज शैलीका भोजन कक्ष सञ्चालनमा छन् । परिवार वा साथीभाइसँग छुट्टै बसेर खाना खान चाहनेका लागि पनि छुट्टाछुट्टै स्थानको व्यवस्था गरिएको छ ।
६४ कोठा र ९९ बेड पुर्याउने लक्ष्य
सिद्धार्थ रिभरसाइडले आफूलाई राजमार्गमा खाना खाने र केहीबेर आराम गर्ने स्थानमा मात्र सीमित नराखी बसाइ र मनोरञ्जनका लागि समेत उपयुक्त गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य लिएको छ ।
त्रिशूली नदीको किनारमा रहेको रिसोर्टमा पौडी पोखरी, बालबालिकाका लागि छुट्टै पुल, खुला ज्याकुजी, पुलसाइड बार, वाटर एक्टिभिटी, बगैँचा, इभेन्ट हल र आवासको सुविधा उपलब्ध रहेको व्यवस्थापनले जनाएको छ ।
रिसोर्टमा यसअघि २६ कोठा र ५६ बेड रहेकोमा क्षमता विस्तार गरी ६४ कोठा र ९९ बेड पुर्याउने लक्ष्यअनुसार काम भइरहेको न्यौपानेले जानकारी दिए ।
रिसोर्टले पारिवारिक जमघट, साथीभाइको भेटघाट, संस्थागत कार्यक्रम तथा विभिन्न उत्सव आयोजना गर्न सकिने गरी सेवा विस्तार गरेको जनाएको छ । पोखरा, बुटवल र भैरहवालगायत पश्चिम नेपालका सहरतर्फ जाने यात्रुका लागि पनि चुम्लिङटार बीचको विश्रामस्थल बन्न सक्ने व्यवस्थापनको अपेक्षा छ ।
‘सिद्धार्थ रिभरसाइडलाई राजमार्गमा यात्रा गर्नेहरूको विश्रामस्थलका रूपमा मात्र नभई आफैंमा छुट्टी मनाउन सकिने गन्तव्यका रूपमा विकास गर्ने प्रयास गरेका छौं,’ न्यौपानेले भने, ‘नदी किनारको वातावरणसँगै बगैँचा, पौडी पोखरी, ज्याकुजी, रेस्टुरेन्ट, इभेन्ट हल र आवास सुविधालाई एकीकृत गरेका छौं ।’
अवार्ड र सेवा विस्तार
सिद्धार्थ रिभरसाइडले दक्षिण एसियाली ट्राभल अवार्ड (साटा) अन्तर्गत लगातार तेस्रो वर्ष अवार्ड प्राप्त गरेको व्यवस्थापनले जनाएको छ । सन् २०२६ का लागि नेपालतर्फको ‘लिडिङ रिभरफ्रन्ट होटल/रिसोर्ट’ विधामा अवार्ड प्राप्त गरेको न्यौपानेले बताए ।
रिसोर्टले राजमार्ग हुँदै यात्रा गर्ने ग्राहकलाई लक्षित छुट्टै रेस्टुरेन्ट र विद्युतीय सवारीसाधन प्रयोगकर्ताका लागि चार्जिङ सुविधासमेत उपलब्ध गराएको छ । नेपाली खाना तथा संस्कृतिको प्रवर्द्धनलाई पनि आफ्नो सेवाको एउटा पक्ष बनाएको व्यवस्थापनको भनाइ छ ।
रिसोर्टमा हाल ७५ जनाले रोजगारी पाएको जनाइएको छ ।
सिद्धार्थ रिभरसाइड सिद्धार्थ हस्पिटालिटीअन्तर्गत सञ्चालित व्यवसायमध्ये एक हो । समूहले देशका विभिन्न स्थानमा ३० भन्दा बढी आउटलेट सञ्चालन गरिरहेको जनाएको छ । यसअन्तर्गत पाँचतारे स्तरको सिद्धार्थ भिलासा, चारतारे स्तरको सिद्धार्थ वैभव, सिद्धार्थ कटेज र एसक्याफेलगायत ब्रान्ड सञ्चालनमा छन् ।
प्रतिक्रिया 4