News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले एकीकृत विद्युतीय चिकित्सा अभिलेख प्रणाली सञ्चालन तथा व्यवस्थापन निर्देशिका, २०८१ जारी गरेर स्वास्थ्य सूचना प्रणालीलाई अन्तरसम्बन्धित बनाउने काम अघि बढाएको छ।
- लेखमा ईएमआरले संस्थाभित्रको अभिलेख राख्ने र ईएचआरले विभिन्न स्वास्थ्य संस्थाको सूचना बिरामीको यात्रासँग जोड्ने अवधारणा स्पष्ट गरिएको छ।
- नेपालमा राष्ट्रिय स्वास्थ्य सूचना आदानप्रदान प्रणाली, साझा मापदण्ड, एफएचआईआर, एपीआई र राष्ट्रिय स्वास्थ्य पहिचान आवश्यक रहेको लेखमा उल्लेख गरिएको छ।
कल्पना गरौँ, एक जना बिरामीले काठमाडौँको एउटा अस्पतालमा उपचार गराए। केही महिनापछि उनी आफ्नो घरनजिकको जिल्ला अस्पताल पुगे र त्यसपछि अर्को विशेषज्ञ चिकित्सकसँग परामर्श लिनुपर्यो। तीनवटै स्वास्थ्य संस्थामा कम्प्युटर र आफ्नै विद्युतीय प्रणाली छन्। तर एउटा अस्पतालमा रहेको बिरामीको स्वास्थ्य विवरण अर्को अस्पतालमा सहजै उपलब्ध हुँदैन।
बिरामीले फेरि आफ्नो रोगको इतिहास बताउनुपर्छ, पुराना कागजात र परीक्षणका प्रतिवेदन बोकेर हिँड्नुपर्छ र कतिपय अवस्थामा पहिले नै गरिएको परीक्षण दोहोरिन सक्छ। यसले नेपालको डिजिटल स्वास्थ्य यात्रासामु एउटा महत्त्वपूर्ण प्रश्न खडा गर्छ- हामी स्वास्थ्य अभिलेखलाई कागजबाट कम्प्युटरमा सार्दै छौँ, तर के हामी स्वास्थ्य संस्थालाई पनि आपसमा जोड्दै छौँ ?
नेपाल अब स्वास्थ्य अभिलेखको डिजिटल रूपान्तरणको प्रारम्भिक चरणमा मात्र छैन। विभिन्न स्वास्थ्य संस्थामा विद्युतीय स्वास्थ्य अभिलेख प्रणाली विस्तार भइरहेका छन्, सरकारले एकीकृत विद्युतीय चिकित्सा अभिलेख प्रणाली सञ्चालन तथा व्यवस्थापन निर्देशिका, २०८१ जारी गरेको छ र स्वास्थ्य सूचना प्रणालीलाई थप व्यवस्थित तथा अन्तरसम्बन्धित बनाउने काम अघि बढिरहेको छ। अबको चुनौती भनेको नयाँ–नयाँ प्रणाली बनाउनु मात्र होइन, ती प्रणालीबीच आवश्यक स्वास्थ्य सूचना सुरक्षित रूपमा आदानप्रदान गर्न सक्ने राष्ट्रिय आधार निर्माण गर्नु हो।
ईएमआरबाट ईएचआरतर्फ
ईएमआर अर्थात् ‘इलेक्ट्रोनिक मेडिकल रेकर्ड’ मुख्यतः कुनै एउटा अस्पताल वा स्वास्थ्य संस्थाले बिरामीको उपचारसम्बन्धी विवरण विद्युतीय रूपमा व्यवस्थापन गर्ने अभिलेख हो। यसमा बिरामीको स्वास्थ्य इतिहास, चिकित्सकको सल्लाह, निदान, औषधि, प्रयोगशाला परीक्षण, रेडियोलोजी, अस्पताल भर्ना, उपचार तथा डिस्चार्जलगायतका विवरण राख्न सकिन्छ। यस अर्थमा ईएमआर एउटा स्वास्थ्य संस्थाभित्रको डिजिटल चिकित्सा अभिलेख हो।
तर बिरामीको स्वास्थ्य यात्रा एउटा संस्थामा सीमित हुँदैन। एउटै व्यक्ति विभिन्न अस्पताल, क्लिनिक, प्रयोगशाला वा विशेषज्ञ सेवामा जान सक्छ। त्यसैले ईएचआर अर्थात् ‘इलेक्ट्रोनिक हेल्थ रेकर्ड’ को अवधारणा अझ व्यापक हुन्छ।
ईएचआरले विभिन्न स्वास्थ्य संस्था र विभिन्न समयमा प्राप्त स्वास्थ्य सेवासँग सम्बन्धित आवश्यक जानकारीलाई बिरामीको निरन्तर स्वास्थ्य यात्रासँग जोडेर प्रयोग गर्न सकिने व्यवस्था जनाउँछ। त्यसैले ईएचआर बनाउन सबै अस्पतालले एउटै ईएमआर सफ्टवेयर प्रयोग गर्नुपर्छ भन्ने छैन।
बरु विभिन्न संस्थाले आफ्ना आवश्यकता र क्षमताअनुसार फरक प्रणाली प्रयोग गर्न सक्छन्, तर ती प्रणालीले साझा मापदण्डअनुसार आवश्यक सूचना आदानप्रदान गर्न सक्नुपर्छ। यही बिन्दुबाट नेपालको डिजिटल स्वास्थ्य बहस ‘सफ्टवेयर छनोट’ बाट ‘अन्तरसम्बन्धित स्वास्थ्य सूचना संरचना’ तर्फ जान आवश्यक छ।
नेपालमा अझै बनेको छैन ईएचआर
नेपालमा डिजिटल स्वास्थ्यसम्बन्धी काम भइरहेको छ। अस्पतालहरूमा ईएमआर विस्तार हुँदै छन्, राष्ट्रिय स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली सञ्चालनमा छ, रोग निगरानी तथा अन्य डिजिटल स्वास्थ्य प्रणालीहरू विकास र विस्तार भइरहेका छन्। तर यी सबैलाई एउटै जोडिएको राष्ट्रिय ईएचआर प्रणालीका रूपमा बुझ्नु सही हुँदैन।
नेपालको वर्तमान अवस्थालाई अझै विभिन्न डिजिटल स्वास्थ्य प्रणाली निर्माण र तिनलाई साझा मापदण्डतर्फ लैजाने सङ्क्रमणकालीन चरणका रूपमा बुझ्न सकिन्छ। यही कारणले २०८१ को ईएमआर निर्देशिका महत्त्वपूर्ण छ। यसको उद्देश्य अस्पतालमा सफ्टवेयर राख्ने कुरामा मात्र सीमित छैन। यसले विद्युतीय चिकित्सा अभिलेख प्रणालीलाई व्यवस्थित गर्न र भविष्यमा प्रणालीबीच सूचना आदानप्रदान गर्न सकिने प्राविधिक आधारतर्फ सङ्केत गर्छ।
निर्देशिकामा एपीआई मार्फत एफएचआईआर प्रयोग गरी स्वास्थ्य सूचना आदानप्रदान गर्न सक्ने व्यवस्था, नेपालका लागि ‘एफएचआईआर कोर’ तथा साझा शब्दावली र मानक विकास गर्ने दिशासमेत समेटिएको छ। यसको अर्थ नेपालले बिस्तारै एउटा महत्त्वपूर्ण अवधारणा स्वीकार गर्दै छ- ‘स्वास्थ्य संस्थाका प्रणाली फरक हुन सक्छन्, तर स्वास्थ्य सूचना बुझ्ने र आदानप्रदान गर्ने आधार साझा हुनुपर्छ।’
डिजिटल टापुहरूलाई जोड्ने चुनौती
मानौँ, एउटा अस्पतालसँग राम्रो ईएमआर छ। अर्को अस्पतालसँग अर्को राम्रो प्रणाली छ। प्रयोगशालासँग छुट्टै प्रणाली छ र फार्मेसीसँग पनि आफ्नै प्रणाली छ। सबै डिजिटल छन्, तर एकअर्कासँग ‘कुरा’ गर्न सक्दैनन् भने बिरामीको दृष्टिले समस्या धेरै हदसम्म उस्तै रहन्छ।
यस्तो अवस्थामा हामीसँग धेरै डिजिटल टापु हुन्छन्, तर जोडिएको स्वास्थ्य सूचना प्रणाली हुँदैन। त्यसैले अबको लक्ष्य सबै प्रणाली हटाएर एउटै सफ्टवेयर स्थापना गर्नु होइन। लक्ष्य भनेको विद्यमान तथा नयाँ प्रणालीलाई साझा प्राविधिक र कानुनी आधारमा जोड्नु हो।
यसका लागि एफएचआईआर जस्ता स्वास्थ्य सूचना आदानप्रदानका मापदण्ड, एपीआई, साझा शब्दावली, बिरामीको विश्वसनीय पहिचान र सुरक्षित पहुँच व्यवस्थापन आवश्यक हुन्छ। यसरी एउटा अस्पतालले आफ्नो ईएमआर सञ्चालन गरिरहँदा अर्को अस्पतालले अर्को प्रणाली प्रयोग गर्न सक्छ। तर आवश्यक अवस्थामा दुवै प्रणालीले एउटै बिरामीसम्बन्धी आवश्यक सूचना सुरक्षित रूपमा आदानप्रदान गर्न सक्नुपर्छ।
राष्ट्रिय स्वास्थ्य सूचना आदानप्रदान प्रणालीको आवश्यकता
यही कारणले नेपालमा अब राष्ट्रिय स्वास्थ्य सूचना आदानप्रदान प्रणालीको अवधारणा महत्त्वपूर्ण हुन्छ। यसलाई देशभरका सबै बिरामीको सम्पूर्ण विवरण एउटै डेटाबेसमा राख्ने केन्द्रीय भण्डारका रूपमा बुझ्नु आवश्यक छैन।
यसको मुख्य भूमिका विभिन्न स्वास्थ्य सूचना प्रणालीबीच सुरक्षित सम्बन्ध स्थापना गर्नु, बिरामीको पहिचान व्यवस्थापन गर्नु, अभिलेख कहाँ उपलब्ध छ भन्ने पत्ता लगाउन सहयोग गर्नु र अधिकारप्राप्त व्यक्तिलाई आवश्यक सूचना प्राप्त गर्ने माध्यम उपलब्ध गराउनु हुन सक्छ।
यस्तो हुनसक्छ सम्भावित संरचना
यस प्रस्तावित राष्ट्रिय स्वास्थ्य सूचना आदानप्रदान प्रणालीको मुख्य उद्देश्य नागरिकको स्वास्थ्यसम्बन्धी सूचना विभिन्न स्वास्थ्य संस्थाबाट सुरक्षित, व्यवस्थित र आवश्यकताअनुसार आदानप्रदान गर्न सकिने राष्ट्रिय संरचना विकास गर्नु हो।
यसको आधारमा प्रत्येक नागरिकसँग जोडिएको राष्ट्रिय स्वास्थ्य पहिचान रहनेछ, जसले अस्पताल, क्लिनिक, प्रयोगशाला र फार्मेसीजस्ता विभिन्न स्वास्थ्य सेवा प्रदायकबाट सिर्जना हुने स्वास्थ्य अभिलेखलाई सम्बन्धित व्यक्तिसँग सुरक्षित रूपमा जोड्न सहयोग गर्नेछ।
विभिन्न संस्थाले प्रयोग गर्ने फरक–फरक ईएमआर तथा स्वास्थ्य सूचना प्रणालीलाई एउटै सफ्टवेयरमा बदल्नु आवश्यक हुँदैन; बरु एफएचआईआर, एपीआई तथा साझा स्वास्थ्य सूचना मापदण्डमार्फत ती प्रणालीहरूबीच सूचना आदानप्रदान गर्न सकिने व्यवस्था गर्न सकिन्छ।
यी प्रणालीहरूबाट प्राप्त र आवश्यकताअनुसार आदानप्रदान हुने सूचनालाई राष्ट्रिय स्वास्थ्य सूचना आदानप्रदान प्रणालीले सुरक्षित रूपमा व्यवस्थापन तथा मार्गनिर्देशन गर्नेछ। अधिकारप्राप्त चिकित्सक तथा स्वास्थ्यकर्मीले बिरामीको सहमति, कानुनी व्यवस्था र पहुँच अधिकारअनुसार आवश्यक स्वास्थ्य सूचना प्राप्त गर्न सक्नेछन्।
यही संरचनाले व्यक्तिगत स्वास्थ्य सेवाका अतिरिक्त रोग निगरानी, सार्वजनिक स्वास्थ्य कार्यक्रम, स्वास्थ्य अनुसन्धान, स्वास्थ्य नीति तथा योजना निर्माणका लागि आवश्यक समग्र र तथ्यमा आधारित सूचना उपलब्ध गराउन सहयोग गर्नेछ। यसरी राष्ट्रिय स्वास्थ्य सूचना आदानप्रदान प्रणाली कुनै एउटा अस्पताल वा एउटै ईएमआर सफ्टवेयर होइन; विभिन्न स्वास्थ्य सूचना प्रणालीलाई साझा मापदण्ड र सुरक्षित डिजिटल पूर्वाधारमार्फत जोड्ने राष्ट्रिय संरचनाका रूपमा विकास गर्न सकिन्छ।
यस संरचनामा अस्पतालले आफ्नो विस्तृत अभिलेख आफ्नै सुरक्षित प्रणालीमा राख्न सक्छ। राष्ट्रिय प्रणालीले आवश्यकताअनुसार सम्बन्धित सूचना खोज्न, पहिचान गर्न र सुरक्षित रूपमा आदानप्रदान गर्न सहयोग गर्न सक्छ। यसरी केन्द्रीय प्रणाली सबै अस्पतालको मालिक बन्ने होइन; विभिन्न स्वास्थ्य प्रणालीलाई जोड्ने साझा आधार बन्ने हो।
राष्ट्रिय स्वास्थ्य पहिचान किन महत्त्वपूर्ण छ ?
अन्तरसम्बन्धित स्वास्थ्य प्रणालीको आधारमा सबैभन्दा पहिले बिरामीको सही पहिचान आवश्यक हुन्छ। एउटै व्यक्ति विभिन्न अस्पतालमा फरक नाम, ठेगाना वा अन्य विवरणबाट दर्ता भएमा एउटै व्यक्तिका धेरै अभिलेख बन्न सक्छन्। त्यसैले विश्वसनीय राष्ट्रिय स्वास्थ्य पहिचानले बिरामीका विभिन्न संस्थामा रहेका अभिलेखलाई सही व्यक्तिसँग जोड्न महत्त्वपूर्ण भूमिका खेल्छ।
तर स्वास्थ्य पहिचान हुनु मात्र पर्याप्त छैन। त्यससँगै स्वास्थ्य संस्थाको पहिचान, स्वास्थ्यकर्मीको पहिचान, सेवा प्रदायकको विवरण, साझा शब्दावली र तथ्याङ्कको गुणस्तरसम्बन्धी मापदण्ड पनि आवश्यक हुन्छ। यसले मात्र एउटा प्रणालीबाट अर्को प्रणालीमा पठाइएको सूचना एउटै अर्थमा बुझिने वातावरण बनाउन सक्छ।
बिरामीको अधिकार र स्वास्थ्य डेटा सुरक्षा
स्वास्थ्य सूचना सामान्य तथ्याङ्क होइन। रोग, औषधि, परीक्षणको नतिजा, उपचार इतिहास र अन्य चिकित्सकीय विवरण अत्यन्त संवेदनशील व्यक्तिगत सूचना हुन्। त्यसैले राष्ट्रिय स्वास्थ्य सूचना प्रणाली निर्माण गर्दा प्रविधिसँगै गोपनीयता, पहुँच, सहमति, सुरक्षा र जिम्मेवारी स्पष्ट हुनुपर्छ।
कसले कुन प्रकारको सूचना हेर्न पाउने ? कुन प्रयोजनका लागि हेर्न पाउने ? बिरामीको अनुमति कहिले आवश्यक पर्ने ? आपत्कालीन अवस्थामा कसरी पहुँच दिने ? कसले कहिले कुन विवरण हेर्यो भन्ने अभिलेख कसरी राख्ने ? सूचना चुहावट भएमा जिम्मेवारी कसको हुने ? अनुसन्धानका लागि तथ्याङ्क प्रयोग गर्दा व्यक्तिको पहिचान कसरी सुरक्षित गर्ने ?
यी विषय स्पष्ट कानुनी र संस्थागत व्यवस्थाबाट निर्देशित हुनुपर्छ। डिजिटल स्वास्थ्यको केन्द्रमा प्रविधि होइन, बिरामीको अधिकार र सुरक्षित उपचार हुनुपर्छ।
स्वास्थ्य डेटा कहाँ राख्ने ?
स्वास्थ्य डेटा सुरक्षाको विषय साइबर सुरक्षा मात्र होइन। यो नागरिकको गोपनीयता, कानुनी अधिकार र राष्ट्रिय हितसँग पनि जोडिएको छ। नेपालमा सिर्जना हुने संवेदनशील स्वास्थ्यसम्बन्धी प्राथमिक अभिलेखको भण्डारण र प्रशोधन कसरी गर्ने भन्ने विषयमा स्पष्ट राष्ट्रिय नीति आवश्यक छ।
विदेशी प्रविधि वा बाह्य पूर्वाधार प्रयोग गर्नै हुँदैन भन्ने होइन; तर डेटा कहाँ राखिन्छ, कुन कानुन लागू हुन्छ, कसले पहुँच पाउँछ, सङ्कटको अवस्थामा नेपालको नियन्त्रण कति रहन्छ र सेवा अवरुद्ध भएमा प्रणाली कसरी सञ्चालनमा राख्ने भन्ने विषय स्पष्ट हुनुपर्छ। स्वास्थ्य डेटा व्यवस्थापनमा सुरक्षा, कानुनी अधिकार, डेटा सार्वभौमिकता र निरन्तर सेवा सञ्चालनलाई एकसाथ हेर्नुपर्छ।
ईएमआरको लाभ अस्पतालभित्र मात्र सीमित हुँदैन
जोडिएको स्वास्थ्य सूचना प्रणालीको प्रत्यक्ष लाभ बिरामीको उपचारमा देखिन्छ। यदि बिरामीको अघिल्लो उपचार, औषधि, एलर्जी, परीक्षण वा महत्त्वपूर्ण चिकित्सकीय इतिहास अधिकारप्राप्त चिकित्सकलाई आवश्यक समयमा उपलब्ध भयो भने उपचारको निरन्तरता सहज हुन सक्छ। पहिले नै भएको परीक्षण अनावश्यक रूपमा दोहोरिने सम्भावना घट्न सक्छ र चिकित्सकले बिरामीको विगतको अवस्था बुझ्न सजिलो हुन्छ।
यसको अर्को लाभ स्वास्थ्य योजना र सार्वजनिक स्वास्थ्यमा देखिन्छ। व्यक्तिगत पहिचान सुरक्षित राखेर समग्र स्वास्थ्य तथ्याङ्क प्रयोग गर्न सकिएमा कुन क्षेत्रमा कुन रोगको भार बढी छ, कहाँ स्वास्थ्य जनशक्ति आवश्यक छ, कुन औषधिको माग बढिरहेको छ वा कुन स्वास्थ्य सेवा विस्तार गर्नुपर्छ भन्ने विषयमा तथ्यमा आधारित योजना बनाउन सकिन्छ। यसरी ईएमआर केवल बिरामीको फाइल होइन; उचित सुरक्षा र शासन व्यवस्थासहित यो राष्ट्रिय स्वास्थ्य ज्ञानको महत्त्वपूर्ण आधार बन्न सक्छ।
भविष्यको एआईका लागि पनि यही पूर्वाधार आवश्यक छ
स्वास्थ्य क्षेत्रमा एआईको प्रयोग विस्तार हुँदै जाँदा गुणस्तरीय र संरचित स्वास्थ्य तथ्याङ्कको आवश्यकता अझ बढ्नेछ। रोग पहिचानमा सहयोग, परीक्षण प्रतिवेदन विश्लेषण, चिकित्सकीय निर्णयमा सहयोग, जोखिम पहिचान, औषधि व्यवस्थापन तथा स्वास्थ्य योजना निर्माणमा एआईको उपयोग सम्भव हुँदै छ।
तर भरपर्दो एआईका लागि भरपर्दो, संरचित र गुणस्तरीय तथ्याङ्क आवश्यक हुन्छ। विभिन्न संस्थामा टुक्रिएको, असङ्गत र एकअर्कासँग जोडिन नसक्ने स्वास्थ्य तथ्याङ्कले राष्ट्रिय स्तरको स्वास्थ्य अनुसन्धान र एआई विकासलाई सीमित गर्छ। त्यसैले आज निर्माण गरिने अन्तरसम्बन्धित, सुरक्षित र गुणस्तरीय स्वास्थ्य सूचना संरचना भोलिको स्वास्थ्य अनुसन्धान तथा एआईको आधार पनि हो।
सरकारको भूमिका : एउटै सफ्टवेयर होइन, साझा आधार
नेपाल सरकारको मुख्य भूमिका सबै अस्पताललाई एउटै सफ्टवेयर प्रयोग गराउनुभन्दा राष्ट्रिय मापदण्ड, सूचना आदानप्रदानको संरचना, सुरक्षा व्यवस्था र स्पष्ट शासन प्रणाली निर्माण गर्नु हुनुपर्छ। सरकारी अस्पताल, निजी अस्पताल, मेडिकल कलेज, क्लिनिक, प्रयोगशाला र अन्य स्वास्थ्य संस्थाले आफ्ना आवश्यकता र क्षमताअनुसार प्रणाली छनोट वा विकास गर्न सक्ने वातावरण हुनुपर्छ। तर ती प्रणालीले राष्ट्रिय न्यूनतम मापदण्ड पूरा गर्नुपर्ने र आवश्यक अवस्थामा राष्ट्रिय स्वास्थ्य सूचना संरचनासँग सुरक्षित रूपमा जोडिन सक्ने हुनुपर्छ।
नेपालमा धेरै स्वास्थ्य संस्थाले पहिले नै विभिन्न डिजिटल प्रणालीमा लगानी गरिसकेका छन्। ती सबैलाई हटाएर एउटै नयाँ प्रणालीबाट सुरु गर्नुको सट्टा अहिले रहेका प्रणालीलाई क्रमशः साझा राष्ट्रिय संरचनासँग जोड्ने नीति बढी व्यावहारिक हुन सक्छ। यसले विगतको लगानी जोगाउनुका साथै डिजिटल स्वास्थ्य विस्तारको लागत र सङ्क्रमणको जोखिम घटाउन सक्छ।
अबको बाटो
नेपालको डिजिटल स्वास्थ्य यात्रामा अब केही आधारभूत कामलाई प्राथमिकताका साथ अघि बढाउन आवश्यक छ। सबैभन्दा पहिले प्रत्येक नागरिकसँग जोडिन सक्ने राष्ट्रिय स्वास्थ्य पहिचानको व्यवस्था आवश्यक छ। त्यससँगै देशभरका अस्पताल, क्लिनिक, प्रयोगशाला, फार्मेसी तथा अन्य स्वास्थ्य सेवा प्रदायकको साझा र अद्यावधिक विवरण तयार गर्नुपर्छ।
विभिन्न स्वास्थ्य संस्थाले प्रयोग गर्ने प्रणालीबीच सूचना बुझ्ने र आदानप्रदान गर्ने आधार तयार गर्न साझा स्वास्थ्य सूचना मापदण्ड विकास गर्न आवश्यक छ। त्यसपछि एफएचआईआर तथा एपीआई आधारित अन्तरसम्बन्धमार्फत फरक–फरक ईएमआर र स्वास्थ्य सूचना प्रणालीलाई सुरक्षित रूपमा जोड्न सकिन्छ।
यही आधारमा राष्ट्रिय स्वास्थ्य सूचना आदानप्रदान प्रणाली विकास गरी आवश्यक स्वास्थ्य सूचना एक प्रणालीबाट अर्को प्रणालीमा सुरक्षित रूपमा आदानप्रदान गर्न सकिन्छ। यसबाट चिकित्सक तथा अधिकारप्राप्त स्वास्थ्यकर्मीले कानुनी व्यवस्था, बिरामीको अधिकार र आवश्यक सहमतिअनुसार सुरक्षित स्वास्थ्य सूचनामा पहुँच प्राप्त गर्न सक्नेछन्।
क्रमशः यसले विभिन्न स्वास्थ्य संस्थाका अभिलेखलाई जोड्दै जोडिएको ईएचआर वातावरण निर्माण गर्न सहयोग गर्नेछ। अन्ततः यस्तो संरचनाले व्यक्तिगत स्वास्थ्य सेवा मात्र होइन, सार्वजनिक स्वास्थ्य, स्वास्थ्य अनुसन्धान तथा प्रमाणमा आधारित नीति र योजना निर्माणका लागि समेत भरपर्दो स्वास्थ्य सूचना उपलब्ध गराउने आधार तयार गर्नेछ।
यो एकैपटक पूरा हुने परियोजना होइन; चरणबद्ध रूपमा अघि बढ्ने राष्ट्रिय पूर्वाधार हो। पहिलो चरणमा न्यूनतम ईएमआर मापदण्ड र साझा डेटा संरचना बलियो बनाउन सकिन्छ। त्यसपछि अस्पताल तथा स्वास्थ्य संस्थाबीच सीमित तर उपयोगी स्वास्थ्य सूचना आदानप्रदान सुरु गर्न सकिन्छ। सफल प्रयोग विस्तार गर्दै प्रयोगशाला, औषधि, विशेषज्ञ सेवा तथा अन्य स्वास्थ्य प्रणालीलाई क्रमशः जोड्न सकिन्छ। यस क्रममा नीति, प्रविधि र संस्थागत क्षमता सँगसँगै विकास हुनुपर्छ।
अबको बहस के ?
नेपालमा ईएमआरसम्बन्धी छलफल गर्दा कुन सफ्टवेयर राम्रो ? भन्ने प्रश्न स्वाभाविक छ। प्रत्येक अस्पतालले आफ्नो आवश्यकता, लागत, सुविधा, सुरक्षा र सेवा क्षमताअनुसार उपयुक्त प्रणाली छनोट गर्नु महत्त्वपूर्ण हुन्छ। तर राष्ट्रिय दृष्टिकोणबाट हेर्दा योभन्दा ठूलो प्रश्न नेपालमा प्रयोग भइरहेका विभिन्न स्वास्थ्य सूचना प्रणालीलाई कसरी जोड्ने ? भन्ने हो।
त्यसपछि अर्को महत्त्वपूर्ण प्रश्न आउँछ— बिरामीको आवश्यक स्वास्थ्य सूचना सही समयमा सही स्वास्थ्यकर्मीलाई कसरी उपलब्ध गराउने ? त्यस्तो सूचना कसरी सुरक्षित र गोप्य राख्ने ? राष्ट्रिय स्वास्थ्य तथ्याङ्कलाई अनुसन्धान, सार्वजनिक स्वास्थ्य र नीति निर्माणमा जिम्मेवार ढङ्गले कसरी प्रयोग गर्ने ? यी प्रश्नहरू केवल सफ्टवेयर छनोट गरेर समाधान हुँदैनन्।
यसका लागि साझा मापदण्ड, अन्तरसम्बन्धित प्रणाली, सुरक्षित सूचना पूर्वाधार, स्पष्ट कानुनी तथा संस्थागत व्यवस्था र सरकार–निजी क्षेत्रबीच प्रभावकारी सहकार्य आवश्यक हुन्छ। त्यसैले नेपालको डिजिटल स्वास्थ्य बहस अब कुन ईएमआर राम्रो भन्ने प्रश्नमा मात्र सीमित नभई, विभिन्न प्रणालीबाट उत्पन्न स्वास्थ्य सूचनालाई कसरी सुरक्षित, विश्वसनीय र अर्थपूर्ण रूपमा जोड्ने भन्ने राष्ट्रिय संरचनातर्फ केन्द्रित हुनुपर्छ।
धेरै प्रणाली, एउटै जोडिएको स्वास्थ्य सूचना संरचना
नेपाल अहिले ईएमआरको आवश्यकता पहिचान गर्ने चरण पार गरेर डिजिटल स्वास्थ्य प्रणालीलाई व्यवस्थित, मानकीकृत र अन्तरसम्बन्धित बनाउने चरणमा प्रवेश गरिरहेको छ। २०८१ को ईएमआर निर्देशिका, एफएचआईआर र एपीआई आधारित सूचना आदानप्रदानको दिशा, डिजिटल स्वास्थ्य ब्लुप्रिन्टसम्बन्धी काम तथा विभिन्न डिजिटल स्वास्थ्य प्रणालीको विस्तारले यही परिवर्तनतर्फ सङ्केत गर्छन्।
यद्यपि पूर्ण रूपमा जोडिएको राष्ट्रिय ईएचआर वा स्वास्थ्य सूचना आदानप्रदान प्रणाली अझै निर्माणकै प्रक्रियामा छ। त्यसैले अबको प्राथमिकता नयाँ–नयाँ प्रणाली थप्नु मात्र नभई विद्यमान प्रणालीहरूबीच साझा मापदण्ड, साझा भाषा र सुरक्षित सम्बन्ध स्थापित गर्नु हो।
नेपाललाई ‘एक देश, एक ईएमआर सफ्टवेयर’ आवश्यक छैन। नेपाललाई आवश्यक छ— ‘धेरै ईएमआर प्रणाली, तर एउटै जोडिएको राष्ट्रिय स्वास्थ्य सूचना संरचना।’ अस्पताल र स्वास्थ्य संस्था फरक हुन सक्छन्, उनीहरूले प्रयोग गर्ने सफ्टवेयर फरक हुन सक्छन् र सेवा प्रदायक पनि फरक हुन सक्छन्। तर बिरामीको आवश्यक स्वास्थ्य सूचना सुरक्षित, विश्वसनीय र अधिकारप्राप्त रूपमा आवश्यक स्थानमा आदानप्रदान गर्न सकिने साझा आधार भने एउटै हुनुपर्छ।
ईएमआरले स्वास्थ्य अभिलेखलाई कागजबाट डिजिटल बनाउँछ भने अन्तरसम्बन्धित ईएचआरले ती डिजिटल अभिलेखलाई बिरामीको समग्र स्वास्थ्य यात्रासँग जोड्छ र राष्ट्रिय स्वास्थ्य सूचना प्रणालीले त्यसलाई देशव्यापी स्वास्थ्य सेवाको साझा सूचना पूर्वाधारमा रूपान्तरण गर्न सक्छ।
त्यसैले नेपालको अबको प्रश्न ‘कुन अस्पतालले कुन ईएमआर प्रयोग गर्छ ?’ भन्ने मात्र होइन, बरु ‘नेपालको कुनै पनि नागरिकलाई आवश्यक परेको बेला उसको आवश्यक स्वास्थ्य सूचना सुरक्षित, विश्वसनीय र अधिकारप्राप्त रूपमा उपलब्ध गराउन सकिन्छ कि सकिँदैन ?’ भन्ने हुनुपर्छ।
यदि यो क्षमता निर्माण गर्ने लक्ष्यमा नीतिनिर्माता, स्वास्थ्य संस्था, प्रविधि प्रदायक र अन्य सरोकारवालाबीच साझा बुझाइ बन्न सक्छ भने नेपालको डिजिटल स्वास्थ्य यात्राले स्पष्ट दिशा पाउनेछ— सफ्टवेयरको एकरूपताबाट होइन, सूचना र मापदण्डको अन्तरसम्बन्धबाट; एउटै प्रणाली थोपरेर होइन, धेरै प्रणालीलाई सुरक्षित रूपमा जोडेर।
ईएमआर सुरुआत हो; अन्तरसम्बन्धित ईएचआर र राष्ट्रिय स्वास्थ्य सूचना संरचना नेपालको डिजिटल स्वास्थ्य यात्राको अर्को चरण हो।
(खनाल डिजिटल रूपान्तरण तथा सूचना व्यवस्थापन विज्ञ हुन्।)
प्रतिक्रिया 4