News Summary
Generated by OK AI. Editorially reviewed.- बोलिभियाले एल निनोका कारण खडेरी र बाढीको जोखिम बढेपछि देशव्यापी आपत्काल घोषणा गरेको छ ।
- राष्ट्रपति रोड्रिगो पाजले बाढी र खडेरी प्रभावित क्षेत्रमा उद्धार टोली थप परिचालन गर्न आदेशमा हस्ताक्षर गर्नुभएको छ ।
- सरकारी प्रतिवेदनअनुसार बोलिभियाका ६ क्षेत्रमा खडेरीले ७८ हजार परिवार प्रभावित र ७५ हजारभन्दा बढी गाईवस्तु मरेका छन् ।
१७ कात्तिक, काठमाडौं । जलवायु परिवर्तनको प्रभावसँगै एल निनो मौसमी प्रणालीका कारण खडेरी र बाढीको जोखिम बढेपछि बोलिभियाले देशव्यापी आपत्काल घोषणा गरेको छ ।
एल निनोका कारण उत्पन्न प्राकृतिक विपत्तिको सामना गर्न आवश्यक स्रोतसाधन परिचालन गर्ने उद्देश्यले बोलिभिया सरकारले आपत्काल घोषणा गरेको हो ।
राष्ट्रपति रोड्रिगो पाजले शनिबार आपत्कालसम्बन्धी आदेशमा हस्ताक्षर गरेको अलजजिराले जनाएको छ । आदेशमा बाढी र खडेरीबाट बढी प्रभावित क्षेत्रमा उद्धार टोली थप परिचालन गर्नसमेत निर्देशन दिइएको छ ।
एल निनोका कारण खडेरी र बाढी दुवैको प्रभाव निकै गम्भीर हुन सक्ने राष्ट्रपति पाजले बताएका छन् । यस चुनौतीको सामना गर्न सबै सरकारी निकाय र संस्थाको सहयोग आवश्यक रहेको उनको भनाइ छ ।
बोलिभिया सरकारको यसै साता सार्वजनिक प्रतिवेदनअनुसार देशका ९ मध्ये ६ वटा क्षेत्रमा खडेरीको प्रभाव परेको छ । खडेरीका कारण हालसम्म ७८ हजार परिवार प्रभावित भएका छन् भने ७५ हजारभन्दा बढी गाईवस्तु मरेका छन् ।
बोलिभिया बाढीको जोखिममा समेत रहेको देश हो । सन् २०२५ को डिसेम्बरमा सान्ता क्रुज क्षेत्रमा आएको बाढीमा परी दर्जनौँ मानिसको मृत्यु भएको थियो ।
एल निनोको प्रभाव दक्षिण अमेरिकी अन्य देशमा समेत देखिन थालेको छ ।
छिमेकी चिलीको राजधानी सान्टियागोमा यस वर्षको अक्टोबरमा अहिलेसम्मकै सबैभन्दा धेरै वर्षा रेकर्ड भएको छ ।
त्यस्तै, पेरुमा गत महिना लागेको डढेलोका कारण कम्तीमा १२ जनाको मृत्यु भएको थियो ।
एल निनो के हो ?
एल निनो विश्वव्यापी जलवायु प्रणालीसँग सम्बन्धित प्राकृतिक मौसमी घटना हो । यो सामान्यतया प्रत्येक दुईदेखि सात वर्षको अन्तरालमा देखा पर्छ ।
यस अवधिमा प्रशान्त महासागरको सतहको तापक्रम असामान्य रूपमा बढ् छ । यसको प्रभावले विश्वव्यापी हावाको बहाव, वायुमण्डलीय चाप र वर्षाको ढाँचामा परिवर्तन आउँछ । साथै विभिन्न क्षेत्रमा खडेरी, बाढी, अत्यधिक वर्षा तथा तापलहरजस्ता चरम मौसमी घटना निम्तिन सक्छन् ।
एल निनोको तीव्रता र प्रभाव भौगोलिक अवस्थाअनुसार फरक हुने गर्छ ।
एल निनो सन् २०२६ को अन्त्यतिर उत्कर्षमा पुग्ने, २०२७ सम्मै कायम रहने अनुमान
वैज्ञानिकहरूका अनुसार अहिले विकसित भइरहेको एल निनो अभिलेख राख्न थालिएयताकै शक्तिशालीमध्ये एक हुन सक्ने अनुमान गरिएको छ ।
यो सन् २०२६ को अन्त्यतिर उत्कर्षमा पुग्ने अनुमान छ । यद्यपि यसको प्रभाव सन् २०२७ सम्मै कायम रहन सक्ने वैज्ञानिकहरूको आकलन छ ।
वैज्ञानिकहरूले यस एल निनोका कारण विश्वभर ४ लाख ५० हजारभन्दा बढी मानिसको मृत्यु हुन सक्ने चेतावनी दिएका छन् ।
यसको सबैभन्दा ठूलो असर आर्थिक तथा सामाजिक रूपमा कमजोर देशहरूमा पर्ने अनुमान गरिएको छ ।
विश्व मौसम विज्ञान संगठन (डब्लूएमओ) ले सेप्टेम्बरको सुरुवातमा सार्वजनिक गरेको आकलनअनुसार सन् २०२७ को फेब्रुअरीसम्म एल निनोको अवस्था कायम रहने सम्भावना झन्डै १०० प्रतिशत छ ।
यसले आगामी महिनाहरूमा विश्वका विभिन्न क्षेत्रमा चरम मौसमी घटनाको जोखिम बढाउन सक्ने भन्दै वैज्ञानिकहरूले पूर्वतयारी र जोखिम न्यूनीकरणमा जोड दिएका छन् ।
प्रतिक्रिया 4