+
+
Shares

भवन तयार हुँदा पनि सञ्चालनमा आएन आठपहरिया संग्रहालय

२ करोड ५८ लाख रुपैयाँ खर्चेर बनाइएको भवनमा आँगन, भित्री व्यवस्थापन र सामग्री संकलनको काम बाँकी; सञ्चालनको जिम्मेवारी कसले लिने भन्नेमा अन्योल ।

ईश्वर थापा ईश्वर थापा
२०८३ कात्तिक १७ गते ९:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • धनकुटामा निर्माण गरिएको आठपहरिया संग्रहालय भवन तयार भए पनि सञ्चालन जिम्मेवारी र व्यवस्थापन टुंगो नलाग्दा सञ्चालनमा आउन सकेको छैन ।
  • दुईतले संग्रहालय भवन २ करोड ५८ लाख रुपैयाँको लगानीमा बनेको हो, तर आँगन, सामग्री संकलन र प्राविधिक तयारी बाँकी छन् ।
  • संग्रहालयमा आठपहरिया समुदायको पोसाक, बाजागाजा, कृषि औजार, घरेलु सामग्री र धार्मिक तथा सांस्कृतिक वस्तु राख्ने योजना छ ।

१७ कात्तिक, धनकुटा । धनकुटामा निर्माण गरिएको आठपहरिया संग्रहालयको भवन तयार भए पनि सञ्चालनमा आउन सकेको छैन । भवन निर्माणको काम अधिकांश सम्पन्न भए पनि आन्तरिक व्यवस्थापन, प्रदर्शनी सामग्री संकलन र सञ्चालनको जिम्मेवारी टुंगो नलाग्दा संग्रहालय सञ्चालनमा ढिलाइ भएको हो ।

धनकुटा नगरपालिका–४ स्थित बिहीबारे हटिया नजिक करिब तीन रोपनी क्षेत्रफलमा निर्माण गरिएको दुईतले संग्रहालय भवनमा १० वटा कोठा र एउटा मुख्य हल छन् । परम्परागत शैली झल्काउन भवनको छानो फुसले छाइएको छ ।

गत वर्ष आठपहरिया समुदायको प्रमुख चाड वाडाङ्मेटका अवसरमा सञ्चालनमा ल्याउने भनिए पनि संग्रहालय अझै सञ्चालनमा आउन सकेको छैन ।

संग्रहालय निर्माणका लागि आर्थिक वर्ष २०७८/७९ मा संघीय सरकारले ५० लाख रुपैयाँ र धनकुटा नगरपालिकाले २ करोड ८ लाख रुपैयाँ विनियोजन गरेका थिए । कुल २ करोड ५८ लाख रुपैयाँको लगानीमा निर्माण गरिएको भवनमा अहिले पनि आँगन निर्माण, भित्री व्यवस्थापन, सामग्री संकलन र प्राविधिक तयारीका काम बाँकी छन् ।

संग्रहालयमा आठपहरिया समुदायका परम्परागत पोसाक, बाजागाजा, कृषि औजार, घरेलु सामग्री तथा धार्मिक र सांस्कृतिक महत्त्वका वस्तु राख्ने योजना छ । समुदायको इतिहास, संस्कार, संस्कृति र परम्परागत जीवनशैली झल्काउने सामग्रीको छनोट, वर्गीकरण र अभिलेखीकरणसमेत गर्नुपर्नेछ ।

किरात आठपहरिया समाजका केन्द्रीय महासचिव कोमल आठपहरियाका अनुसार संग्रहालयमा राखिने सामग्रीले समुदायको पुरानो जीवनशैली, श्रम संस्कृति, सामाजिक परम्परा र धार्मिक विश्वासबारे जानकारी दिनेछ ।

उनका अनुसार संग्रहालयमा आठपहरिया समुदायले मान्ने २२ मार्गाथानी र ५२ चुले अर्थात् ठूला घरको विवरणसहित समुदायका संस्कार र संस्कृतिसम्बन्धी जानकारी राखिनेछ । जन्मदेखि मृत्युसम्मका संस्कारबारे पनि संग्रहालयमा जानकारी उपलब्ध गराउने योजना रहेको उनले बताए ।

आठपहरिया समुदायका पुराना पुस्ताले प्रयोग गर्दै आएका सामग्री र जीवनशैली नयाँ पुस्तामा हस्तान्तरण हुन नसकिरहेको अवस्थामा संग्रहालयले त्यसको संरक्षण र अभिलेखीकरणमा सहयोग पुग्ने महासचिव आठपहरियाको भनाइ छ । उनका अनुसार यसबाट समुदायका बालबालिका तथा युवाले आफ्ना पुर्खाको जीवनशैली बुझ्न पाउनेछन् भने अन्य समुदायका मानिसलाई पनि आठपहरियाको संस्कृति र इतिहासबारे जानकारी लिन सहज हुनेछ ।

संग्रहालय सञ्चालनको जिम्मा टुंगो लागेन

किरात आठपहरिया समाजका केन्द्रीय उपाध्यक्ष सूर्य आठपहरियाले यस वर्ष मंसिरमा मनाइने वाडाङ्मेट पर्वदेखि संग्रहालय सञ्चालनमा ल्याउने तयारी भइरहेको बताए ।

‘वाडाङ्मेट आठपहरिया समुदायको महत्त्वपूर्ण सांस्कृतिक पर्व हो । यही अवसरमा संग्रहालय सञ्चालनमा ल्याउन सके समुदायका लागि थप अर्थपूर्ण हुनेछ,’ उनले भने ।

तर, संग्रहालय सञ्चालनको जिम्मेवारी कसले लिने भन्ने विषय अझै टुंगिएको छैन । धनकुटा नगरपालिकाले वार्षिक केही रकम अनुदान उपलब्ध गराएर संग्रहालय सञ्चालनको जिम्मा आठपहरिया समाजलाई दिने तयारी गरेको छ । समाजले भने सुरुदेखि नै सञ्चालनको जिम्मेवारी लिनुपर्ने प्रस्तावमा सहमति जनाएको छैन ।

समाजका उपाध्यक्ष सूर्य आठपहरियाका अनुसार सुरुमा नगरपालिकाले नै संग्रहालय सञ्चालन गर्नुपर्छ । संग्रहालयबाट आम्दानी हुन थालेपछि मात्र समुदायको संस्थालाई जिम्मेवारी दिन सकिने उनको भनाइ छ ।

‘सुरुमा नगरपालिका आफैंले सञ्चालन गर्नुपर्छ । संग्रहालयबाट आम्दानी हुन थालेपछि मात्रै समाजलाई जिम्मा दिनुपर्छ,’ उनले भने ।

धनकुटा नगरपालिकाका सूचना अधिकारी विकास अधिकारीले संग्रहालय सञ्चालनको ढाँचा र व्यवस्थापनबारे छलफल भइरहेको बताए । आधुनिक जीवनशैली र पुस्तान्तरणका कारण आठपहरिया समुदायका परम्परा, संस्कार र जीवनपद्धतिमा परिवर्तन आउन थालेपछि तिनको अभिलेखीकरण आवश्यक देखिएको उनले बताए ।

‘समुदायको मौलिक पहिचान र संस्कृतिको संरक्षणका लागि संग्रहालय निर्माण गरिएको हो । यसको सञ्चालन ढाँचा र व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा छलफल भइरहेको छ,’ अधिकारीले भने ।

संग्रहालय सञ्चालनमा आएपछि सामग्रीको दीर्घकालीन संरक्षण, सुरक्षा, प्रदर्शनी व्यवस्थापन र कर्मचारीको व्यवस्था गर्नुपर्नेछ । त्यसका लागि आवश्यक कार्यविधि, जिम्मेवारी र स्रोत व्यवस्थापनसमेत टुंग्याउन बाँकी छ ।

आठपहरियाका तीन प्रमुख चाड

धनकुटा नगरपालिकामा मुख्य बसोबास रहेको आठपहरिया समुदायको आफ्नै भाषा, संस्कार, संस्कृति र चाडपर्व छन् । समुदायले मुख्यगरी वैशाखमा विशु, भदौमा न्वागी र मंसिरमा वाडाङ्मेट पर्व मनाउने गर्छ ।

आठपहरिया समुदायका केन्द्रीय अध्यक्ष अष्टमान आठपहरियाका अनुसार समुदायका मुख्य धार्मिक तथा सांस्कृतिक गतिविधि धनकुटा नगरपालिकाभित्र रहेका २२ मार्गाथानी र ५२ चुले अर्थात् ठूला घरसँग जोडिएका छन् ।

वैशाखमा मनाइने विशु पर्व रामनवमीपछिको दोस्रो सोमबारदेखि आठ दिनसम्म मनाउने परम्परा छ । यस अवसरमा बाली लगाउने समय भएकाले वर्षा गराइदिन मार्गाथानी तथा प्रकृतिको पूजा गर्ने चलन छ । सुख, शान्ति र समृद्धिको कामना गर्दै मनाइने यस पर्वमा महिलाको सुख–समृद्धिका लागि घर तथा कोठेबारीमा समेत पूजा गर्ने परम्परा रहेको छ ।

आठपहरिया समुदायको जनसंख्या करिब ६ हजार छ । मुख्य बसोबास धनकुटा नगरपालिकामा रहेको यस समुदायका सदस्यहरू रोजगारी तथा अन्य कारणले बाहिर रहे पनि चाडपर्व र संस्कारका अवसरमा धनकुटा आउने गर्छन् ।

भदौमा मनाइने न्वागी पर्व नयाँ बाली पाकेपछि कुलदेवता र पितृलाई चढाएर मात्र खाने परम्परासँग सम्बन्धित छ । भदौ शुक्ल पूर्णिमापछिको मंगलबारदेखि आइतबारसम्म छ दिन मनाइने यस पर्वमा वर्षा गराएर बाली फलाउन सहयोग गरेको भन्दै कुल, पितृ र मार्गा देवतालाई नयाँ अन्न चढाउने गरिन्छ ।

मंसिरमा मनाइने वाडाङ्मेट आठपहरिया समुदायको सबैभन्दा ठूलो पर्व हो । यो पर्व १५ दिनसम्म मनाउने परम्परा छ । यस अवसरमा ढोल, मारुनी र डल्लो नाचलगायत सांस्कृतिक गतिविधि हुन्छन् । पहिलो सन्तान जन्मिएको खुसीयाली तथा वर्षभरि बाबु वा आमा गुमाएका सन्तानले सामूहिक रूपमा बरखी फुकाउने परम्परासमेत यस पर्वसँग जोडिएको छ ।

बरखी फुकाउन आठपहरियाहरू तीन दिनको पैदल यात्रा गरेर सुनसरीको बराहक्षेत्रनजिकै रहेको कोकाहा खोला पुग्ने र त्यहाँ केश तथा दाह्री मुण्डन गर्ने चलन रहेको छ । पर्वका अवसरमा पैसाको माला दान गर्ने परम्परासमेत छ ।

आठपहरिया समुदायको मान्यताअनुसार विभिन्न स्थानमा बसोबास गरे पनि चाडपर्व र संस्कार मनाउन धनकुटा नगरपालिका नै आउनुपर्ने चलन छ । अन्य स्थानमा गरिने धार्मिक तथा सांस्कृतिक गतिविधिले परम्परागत मान्यता नपाउने विश्वास रहेको अध्यक्ष अष्टमान आठपहरियाले बताए ।

उनका अनुसार आठपहरिया समुदायको जनसंख्या करिब ६ हजार छ । मुख्य बसोबास धनकुटा नगरपालिकामा रहेको यस समुदायका सदस्यहरू रोजगारी तथा अन्य कारणले बाहिर रहे पनि चाडपर्व र संस्कारका अवसरमा धनकुटा आउने गर्छन् ।

संग्रहालय सञ्चालनमा आएपछि समुदायको सांस्कृतिक सामग्री संरक्षण र अभिलेखीकरणका साथै विद्यार्थी, अनुसन्धानकर्ता तथा पर्यटकलाई आठपहरियाको इतिहास र जीवनशैलीबारे अध्ययन गर्ने अवसर मिल्ने समाजको अपेक्षा छ ।

लेखक
ईश्वर थापा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?