News Summary
Generated by OK AI. Editorially reviewed.- कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले स्वदेशी फूल तथा बिरुवाको उत्पादन र प्रवर्द्धनका लागि नीतिगत र प्राविधिक सहयोग गर्ने बताइन्।
- नर्सरी व्यवसायी संघ नेपालले भृकुटीमण्डपमा ‘तिहार फ्लोरा एक्स्पो २०८३’ सुरू गरेको छ, जसमा ७३ स्टल छन् र कात्तिक २१ गतेसम्म चल्नेछ।
- मन्त्री चौधरीले नर्सरी व्यवसायीको जग्गा अभाव समाधान गर्न भूमि बैंकको अवधारणा अघि बढाइने र रैथाने उत्पादनलाई सरकारले प्राथमिकता दिएको बताइन्।
१७ कात्तिक, काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले स्वदेशी फूल तथा बिरुवाको उत्पादन र प्रवर्द्धनका लागि आवश्यक नीतिगत तथा प्राविधिक सहयोग गर्ने बताएकी छन् । उनले नर्सरी व्यवसायको विकास र विस्तारका लागि सरकार प्रतिबद्ध रहेको बताइन् ।
नर्सरी व्यवसायी संघ नेपालले आयोजना गरेको ‘तिहार फ्लोरा एक्स्पो २०८३’ आज काठमाडौंको भृकुटीमण्डपमा उदघाटन गर्दै मन्त्री चौधरीले स्वदेशी फूलको उत्पादन र उपभोग बढाउनुपर्नेमा जोड दिइन् । स्थानीय उत्पादनलाई उपभोक्तासम्म पुर्याउन र नेपाली फूलको बजार विस्तार गर्न एक्स्पोले सहयोग गर्ने उनको भनाइ थियो ।
तिहार नेपाली समाजको उज्यालो, रङ र फूलसँग जोडिएको सांस्कृतिक पर्व भएकाले यस अवसरमा स्वदेशी फूल तथा बिरुवाको प्रदर्शनी आयोजना गर्नु सान्दर्भिक रहेको उनले बताइन् ।
नर्सरी व्यवसायलाई व्यापारमा मात्र सीमित नराखी उत्पादन वृद्धि, वातावरण संरक्षण, हरियाली प्रवर्द्धन र जलवायु परिवर्तनको असर न्यूनीकरणसँग जोड्नुपर्ने मन्त्री चौधरीको भनाइ थियो । यस क्षेत्रले युवा तथा महिलाका लागि रोजगारी र आयआर्जनका अवसर सिर्जना गर्न सक्ने उनले बताइन् ।
नर्सरी व्यवसायीले भोग्दै आएको जग्गा अभावको समस्या समाधान गर्न सरकारले भूमि बैंकको अवधारणा अघि बढाउन लागेको पनि उनले जानकारी दिइन् ।
‘नर्सरी व्यवसायको विकास, विस्तार र प्रवर्द्धनका लागि आवश्यक नीतिगत एवं प्राविधिक सहयोग र सहकार्य गर्न मन्त्रालय सधैँ तत्पर छ,’ उनले भनिन्, ‘रैथाने र नेपालमा उत्पादित वस्तुलाई सरकारले प्राथमिकता दिएको छ । व्यवसायीले उठाएको जग्गाको समस्या समाधान गर्न यसपटक कानुनमार्फत भूमि बैंकको अवधारणा ल्याउँदै छौँ ।’
मन्त्रालयले वन तथा भू–संरक्षण विभाग, बागवानी केन्द्र, बीउबिजन गुणस्तर नियन्त्रण केन्द्र र राष्ट्रिय प्लान्ट क्वारेन्टाइन तथा बायो–सेक्युरिटी केन्द्रमार्फत नर्सरी क्षेत्रको व्यवस्थापन, गुणस्तर नियमन, प्राविधिक सहयोग र तालिमका कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ ।
नर्सरी व्यवसायी संघ नेपालका अध्यक्ष रामजीप्रसाद तिमिल्सिनाले सरकारी स्वामित्वमा रहेका खाली जग्गा नर्सरी व्यवसायीलाई भाडामा उपलब्ध गराउन माग गरे । लामो समयदेखि प्रयोगविहीन रहेका सरकारी जग्गालाई उत्पादनमूलक काममा लगाउनुपर्ने उनको भनाइ थियो ।
त्यस्तै, सहरी क्षेत्रमा खाली रहेका जग्गामा नर्सरी बजार स्थापना गर्ने वातावरण बनाउन र सातै प्रदेशमा प्रदेशस्तरीय मेला, प्रदर्शनी तथा तालिम सञ्चालन गर्ने नीति ल्याउन उनले सरकारको ध्यानाकर्षण गराए ।
तिहारमा ठूलो परिमाणमा फूल आयात हुने गरेको उल्लेख गर्दै तिमिल्सिनाले सयपत्री फूलमा आत्मनिर्भर बन्न आयात रोक्नुपर्ने बताए ।
‘देशभरि खाली रहेका जग्गाको भौगोलिक अवस्था हेरेर फूल, फलफूल वा जडीबुटीको व्यावसायिक खेती गर्नुपर्छ,’ उनले भने, ‘नर्सरी व्यवसायीले बिरुवा उत्पादन गर्ने, किसानले व्यावसायिक खेती गर्ने र उत्पादित वस्तुको बजार सुनिश्चित गर्ने वातावरण सरकारले बनाउनुपर्छ ।’
‘तिहारको उत्सव, स्वदेशी फूलको महोत्सव’ नारासहित मंगलबारदेखि सुरु भएको एक्स्पो कात्तिक २१ गतेसम्म सञ्चालन हुनेछ । पाँच दिनसम्म चल्ने मेलामा पुष्प, फलफूल, कृषि, वन तथा जडीबुटी नर्सरीका उत्पादन प्रदर्शनी तथा बिक्रीका लागि राखिएका छन् ।
मेला संयोजक तथा संघकी उपाध्यक्ष लक्ष्मी महर्जनका अनुसार एक्स्पोमा व्यावसायिक, सरकारी, संघका आधिकारिक र प्रतिस्पर्धात्मक गरी ७३ वटा स्टल राखिएका छन् । तीमध्ये ६३ वटा व्यवसायीका, वनस्पति विभाग र पुष्प विकास केन्द्रका स्टल, संघका ६ वटा आधिकारिक तथा प्रतिस्पर्धाका ४ वटा स्टल छन् ।
एक्स्पोमा ३५ हजार अवलोकनकर्ता सहभागी हुने र एक करोड रुपैयाँभन्दा बढीको कारोबार हुने आयोजकको अपेक्षा छ ।
प्रतिक्रिया 4