+
+
Shares

‘पाँच पाण्डव’ मा कमेडी पनि, जितु इँटाभट्टाको मजदुर

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १७ गते १२:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कात्तिक २० गते प्रदर्शनमा आउने फिल्म ‘पाँच पाण्डव’ मा जितु नेपाल भीमसेनको चरित्रमा देखिँदैछन् ।
  • फिल्मले महाभारतका पाँच पाण्डवको विम्ब प्रयोग गरेर समकालीन नेपाली समाजको कथा प्रस्तुत गर्नेछ ।

काठमाडौं । यही कात्तिक २० गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘पाँच पाण्डव’ मा अभिनेता जितु नेपाल भीमसेनको चरित्रमा देखिँदैछन् ।

ट्रेलरमा अभिनेता हरिवंश आचार्यले जितुलाई ‘भ्राता भीम’ भनेर सम्बोधन गर्दा उनले ‘म त भीमसेन हो’ भन्दै जवाफ दिएको ट्रेलरमा देखिन्छ । महाभारतमा पाँच पाण्डवमध्ये सबैभन्दा बलिया पात्रका रूपमा चिनिने भीमसेनको भूमिकामा जितु देखिएपछि उनको चरित्र कस्तो होला भन्ने जिज्ञासा पनि बढेको छ ।

तर, जितु भने आफू महाभारतकै भीमसेनको पूर्ण चरित्रमा प्रस्तुत नभएको स्पष्ट पार्छन् । उनले आफूले निर्वाह गरेको पात्रलाई भीमसेनको अंशका रूपमा बुझ्नुपर्ने बताए ।

उनका अनुसार चलचित्रको कथा महाभारतका पाँच पाण्डवको चरित्रलाई हुबहु प्रस्तुत गर्नेभन्दा पनि त्यससँग कुनै न कुनै रूपमा जोडिएका पात्रहरूको कल्पनामा आधारित छ । फिल्मको कथाअनुसार युधिष्ठिर स्वर्गमा आफ्ना चार भाइबिना दुःखी हुन्छन् ।

त्यसपछि ५१०० वर्षपछि पनि आफ्ना भाइहरू कुनै न कुनै रूपमा जन्मिएका होलान् भन्ने कल्पनासहित उनी नेपाल पुग्छन् । त्यहाँ भेटिएका पात्रलाई युधिष्ठिरले भीम, अर्जुन, नकुल र सहदेवका रूपमा सम्बोधन गर्छन् । उनीहरूलाई महाभारत कालका ५ पाण्डवको अंशका रूपमा प्रस्तुत गरिएको छ ।

‘पाँच पाण्डव’ मा कमेडी पनि रहेको जितुले बताएका छन् ।

‘कमेडी हेर्न खोज्ने दर्शकको चाहना केही हदसम्म पूरा हुन्छ । हल्का रूपमा कमेडी छ’ जितु भन्छन्, ‘हरेक कलाकारका आ–आफ्नै पाटा र कथा छन् । कथाले र दृश्यले जति मागेको छ, त्यहीअनुसार कमेडी प्रस्तुत गरिएको छ ।’

‘पाँच पाण्डव’ धार्मिक सिनेमा नभएको भन्दै जितुले आफू इँटाभट्टाको मजदुर भएको बताए । जितुले पहिलोपटक हरिवंश आचार्यसँग स्क्रिन सेयर गरेका छन् ।

फिल्मको बसन्त निरौलाले निर्देशन गरेका छन् । ‘पाँच पाण्डव’ मा जितु नेपालसँगै हरिवंश आचार्य, महेश त्रिपाठी, विनोद न्यौपाने, आर्यन सिग्देल, सुशील सिटौला, इभा गिरी, दीपाश्री निरौलालगायत कलाकार मुख्य भूमिकामा छन् ।

काली रानी फिल्मस्को ब्यानरमा निर्माण भइरहेको यस फिल्ममा सरिता गिरी, विनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार, सीता न्यौपाने, रितेश पौडेल (रितेशजंग खत्री) लगायतको पनि मुख्य भूमिका रहेको छ ।

यो चलचित्रका प्रस्तुतकर्ता नवीन श्रेष्ठ हुन् । उनले यसअघि गत वर्ष ‘लाज शरणम्’ निर्माण गरेका थिए । चलचित्रकी निर्मात्री काली रानी श्रेष्ठ हुन् ।

‘पाँच पाण्डव’ मा कथा, पटकथा तथा संवाद सुशील पौडेलको रहेको छ । पौडेलका अनुसार फिल्मले महाभारतका पाँच पाण्डवको चरित्र र विम्बलाई प्रयोग गर्दै समकालीन नेपाली समाजको कथा प्रस्तुत गर्नेछ।

यसलाई श्याम तामाङले खिचेका छन् । सुप्रिम पराजुलीको सम्पादन तथा सम्राट बस्नेतको द्वन्द्व निर्देशन रहेको छ । गम्भीर विष्ट र विक्रम स्वाँरको कोरियोग्राफी रहेको छ ।

‘पाँच पाण्डव’ मा दर्शकले डल्बी एटमस साउन्डको अनुभव गर्न पाउनेछन् ।

चलचित्रमा अर्जुन पोखरेलको संगीत, उत्तम न्यौपानेको साउन्ड डिजाइन, सुजिल कर्माचार्यको बीजीएम, पुकार धिमालको भीएफएक्स, रोहित राज गौतमको एचओपी र विष्णु बुढाथोकीको प्रोडक्सन म्यानेजरका रूपमा भूमिका रहेको छ ।

चलचित्रको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ । यो चलचित्रलाई रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले देशव्यापी वितरण गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?