१७ कात्तिक, सिड्नी। घोडाको तीव्र दौड, दर्शकको चर्को हुटिङ, आकर्षक पहिरन र उत्सवमय माहोल। अस्ट्रेलियाको प्रतिष्ठित घोडदौड प्रतियोगिता मेलबर्न कपले यस वर्ष पनि देशभरका मानिसलाई एउटै उत्साहमा बाँधेको छ।
हरेक वर्ष नोभेम्बरको पहिलो मंगलबार आयोजना हुने मेलबर्न कपलाई राष्ट्रलाई रोक्ने दौड (रेस द्याट स्टप्स अ नेसन) भनेर चिनिन्छ। मेलबर्नमा यस दिन सार्वजनिक बिदा हुने भए पनि यसको रोमाञ्च भिक्टोरिया राज्यमा मात्र सीमित छैन। अस्ट्रेलियाका विभिन्न सहरमा मानिसहरू घर, पब र सामुदायिक जमघटमा भेला भएर प्रतियोगिताको प्रत्यक्ष प्रसारण हेर्छन्।
सन् १८६१ नोभेम्बर ७ मा पहिलोपटक आयोजना भएको मेलबर्न कपले यस वर्ष १६६औँ संस्करण पूरा गरेको छ। पहिलो प्रतियोगितामा करिब चार हजार दर्शक उपस्थित थिए। न्यु साउथ वेल्सको ‘आर्चर’ नामक घोडाले पहिलो उपाधि जितेको थियो।
सन् १८७५ देखि प्रतियोगिता नोभेम्बरको पहिलो मंगलबार आयोजना हुन थालेको हो। सन् १८७६ देखि मेलबर्नमा यस दिन सार्वजनिक बिदा दिने परम्परा सुरु भयो। आज मेलबर्न कप खेलकुद प्रतियोगितामा मात्र नभएर फेसन, मनोरञ्जन, सामाजिक भेटघाट र सांस्कृतिक विविधताको उत्सवसमेत बनेको छ।
फ्लेमिङ्टन रेसकोर्समा हजारौँ दर्शकको उपस्थितिबीच सम्पन्न यस वर्षको ३ हजार २०० मिटर दौडमा ‘पोइन्ट अफ ल’ले उपाधि जित्यो। राजा चार्ल्स तृतीय र रानी क्यामिलाको पूर्वस्वामित्वमा रहेको यो तीन वर्षीय घोडा प्रशिक्षक सियारोन माहेरको प्रशिक्षणमा दौडिएको थियो।
आफ्नो करियरको छैटौँ दौडमै मेलबर्न कप जितेको पोइन्ट अफ ललाई जकी इथन ब्राउनले दौडाएका थिए। दौडको अन्तिम चरणमा तीव्र गति लिँदै उसले प्रतिस्पर्धीलाई पछि पारेर ऐतिहासिक जित हासिल गर्यो।

करिब १० मिनेटको रोमाञ्चक दौड, दर्शकको उत्साह, बाजी र पुरस्कारको चर्चा तथा उत्सवमय वातावरणले मेलबर्न कपलाई विशेष बनाउँछ।
मेलबर्नमा बसोबास गर्ने नेपाली समुदायले पनि यस उत्सवमा उत्साहपूर्वक सहभागिता जनाएको छ। कतिपय नेपाली प्रत्यक्ष फ्लेमिङ्टन रेसकोर्स पुगेर प्रतियोगिता हेरे भने कतिपय घर तथा पबमा साथीभाइसँग भेला भएर प्रत्यक्ष प्रसारणमा रमाए।
अनलाइनखबरसँगको कुराकानीमा क्रेगीबर्न निवासी माधव दाहालले अस्ट्रेलिया आएको १० वर्षपछि यस वर्ष पहिलोपटक फ्लेमिङ्टन रेसकोर्समै पुगेर प्रतियोगिताको रोमाञ्च अनुभव गर्ने अवसर पाएको बताए। आफूले समर्थन गरेको र बाजी लगाएको घोडाले उपाधि जितेपछि उनी निकै खुसी देखिन्थे।
मेलबर्न कपले विभिन्न पृष्ठभूमि, भाषा र संस्कृति भएका मानिसलाई एउटै उत्सवमा जोड्ने अवसर प्रदान गरेको छ। यसमा नेपाली समुदायको सहभागिताले पनि अस्ट्रेलियाको बहुसांस्कृतिक समाजमा साझा अनुभव, आपसी सद्भाव र सामाजिक एकताको महत्त्व उजागर गरेको छ।
खेलकुद प्रतिस्पर्धा, सामाजिक भेटघाट र सांस्कृतिक विविधताको संगम बनेको मेलबर्न कपले अस्ट्रेलियाको जीवनशैलीमा आफ्नो विशेष स्थान कायम राखेको छ।
प्रतिक्रिया 4