News Summary
Generated by OK AI. Editorially reviewed.- दीपकराज गिरीले फेसबुकमा लामो स्टाटस लेख्दै ‘छ माया छपक्कै–२’ असफल भएको स्वीकार गर्दै आत्मसमीक्षा गरेका छन्।
- उनले फिल्म असफल भएपछि शङ्का–उपशङ्का गर्नुको सट्टा आफ्नै कमजोरी खोज्नु उपयुक्त हुने बताएका छन्।
- गिरीले अरूको फिल्म असफल बनाउन खेलिने खेलप्रति कटाक्ष गर्दै फिल्म उद्योगका साथीभाइले पनि आत्मसमीक्षा गर्नुपर्ने बताएका छन्।
अभिनेता दीपकराज गिरी रसिक मात्र छैनन्, समसामयिक कुरामा कटाक्ष गर्न पनि उत्तिकै माहिर छन् । कुरालाई कसरी घुमाउने, कता तन्काउने अनि कसरी प्रहार गर्ने ? धारिला शब्द प्रयोग गर्न उनी निकै सिपालु छन् ।
हुन त कुरा गर्न मात्र होइन, सिनेमा बनाउन पनि उनी सिपालु छन् । ‘तीतो सत्य’लाई टेलिभिजनबाट इन्ड क्ल्याप गरेर सिनेमा निर्माणमा लागेका उनले जति फिल्म बनाए, ती सबै सुपरहिट भए । एकपछि अर्को हिट फिल्म दिइरहेका उनलाई यसपालि भने ठेस लाग्यो ।
दसैँको पूर्वसन्ध्यामा प्रदर्शनमा आएको उनको चलचित्र ‘छ माया छपक्कै–२’ले अपेक्षित व्यापार गर्न सकेन । करिब दुई साताको व्यापारिक अंकगणितबाट थाहा भयो, यसपालि फिल्मले भाका टिपेन ।
अन्ततः यो कुरा हाँसीहाँसी स्वीकार गरे दीपकराजले । उनले फेसबुकमा लामो स्टाटस लेख्दै फिल्म असफल भएको भन्दै आत्मसमीक्षा गरेका छन् ।
उनले फिल्म असफल भएपछि त्यसको कारण खोज्ने क्रममा अनेक शङ्का–उपशङ्का पैदा हुने बताएका छन् । सुटिङको बेला हिरोइनले हाच्छ्युँ गरेर पो हो कि, हिँड्ने बेला श्रीमतीले रित्तो गाग्री देखाएर पो हो कि ?
यद्यपि, यस्ता शङ्कामा रुमल्लिनुभन्दा आफ्नै कमजोरी खोज्नु उपयुक्त हुने उनको बुझाइ छ । उनले लेखेका छन्, ‘मैले व्यक्तिगत रूपमा भएका कमजोरीहरू महसुस गरिसकेँ । तर, उद्योगका अन्य साथीभाइले पनि केही आत्मसमीक्षा नगरे फिल्मको भविष्य कमजोर हुँदै जाने निश्चित नै छ ।’
उनले यहाँ एउटा पङ्क्ति यस्तो लेखेका छन्, ‘मैले खेलेको खेलको असरले कतै आफैँलाई हानि गर्ने वातावरण त बन्दै छैन ?’ उनको यो कटाक्ष अरूको फिल्म असफल बनाउन खेलिने खेलप्रति लक्षित छ ।
यसपालि चारवटा फिल्म केही दिनको अन्तरमा प्रदर्शनमा आए । ती फिल्महरू एकअर्काका प्रतिस्पर्धी जस्ता पनि देखिए । यस्तो पृष्ठभूमिमा आफ्नो फिल्म सफल वा राम्रो बनाउनेभन्दा पनि अरूको फिल्म नराम्रो बनाउने चलखेल बढी भएको उनको बुझाइ छ ।
प्रतिक्रिया 4