News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल राष्ट्र बैंकले आगामी बिहीबार र शुक्रबार तिहारका लागि २.५ ग्रामका सुनका असर्फी र १० ग्रामका चाँदीका मेडालियन बिक्री गर्ने भएको छ ।
- राष्ट्र बैंकले वाणिज्य बैंकसँग ३५ किलो सुन खरिद गरेर असर्फी बनाइ सर्वसाधारणलाई बिक्री गर्न लागेको कार्यकारी निर्देशक अनुज दाहालले बताए ।
- एक व्यक्तिले एउटा सुनको असर्फी र तीन वटा चाँदीका मेडालियनसम्म खरिद गर्न सक्ने र मूल्य सोही दिनको सुनचाँदीका दरअनुसार तय हुने राष्ट्र बैंकले जनाएको छ ।
१७ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी बिहीबार र शुक्रबार सुनका असर्फी र चाँदीका मेडालियन बिक्री गर्ने भएको छ ।
केन्द्रीय बैंकले तिहारका लागि साढे २ ग्रामका सुनका असर्फी र १० ग्राम तौल भएका चाँदीका सिक्का बिक्री गर्ने भएको हो ।
केन्द्रीय बैंकले गत वर्ष चाँदीका मेडालियन मात्रै बिक्री गरेको थियो । सुनको अभावका कारण गत वर्ष सुनका असर्फी बिक्री नगरेको केन्द्रीय बैंकले यसपालि भने वाणिज्य बैंकसँग सुन खरिद गरेर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो ।
‘चाँदीको लक्ष्मी, गजलक्ष्मी र गणेशको छाप भएको सिक्का (मेडालियन) बिक्री गरिने छ,’ राष्ट्र बैंकका कार्यकारी निर्देशक अनुज दाहालले भने ।
उनका अनुसार यसपालि २.५ ग्रामका असर्फी पनि बिक्री गर्ने तयारी छ । केही दिनदेखि असर्फी छाप्ने काम जारी छ । दैनिक ५ सयको हाराहारीमा छापिएको छ ।
गत वर्ष सुन अभाव भएका कारण असर्फी बिक्री नगरेको उनको भनाइ छ । ‘यसपालि वाणिज्य बैंकहरूबाट ३५ किलो सुन खरिद गरेर त्यसैको असर्फी बनाइ सर्वसाधारणलाई बिक्री गर्न लागिएको हो,’ उनले भने, ‘यसै साता बिहीबार र शुक्रबार मेडालियन र असर्फी सर्वसाधारणलाई बिक्री गरिने छ ।’
सर्वसाधारणबाट कति माग आउँछ भन्दा पनि केन्द्रीय बैंकसँग भएको हदसम्म बिक्री गरिने दाहालले बताए । एक व्यक्तिले एउटा सुनको असर्फी र ३ वटा चाँदीका मेडालियनसम्म खरिद गर्न सक्ने उनले जानकारी दिए ।
असर्फी र मेडालियनको मूल्य भने सुनचाँदीको सोही दिनको मूल्यका आधारमा तय हुनेछ । सुनको मूल्यमा केन्द्रीय बैंकको सिक्का उत्पादन लागत पनि जोडिने दाहालले बताए ।
सुनचाँदीको बजार मूल्यभन्दा मोटामोटी १० देखि १५ प्रतिशतसम्म बढी पर्ने दाहालले बताए । ‘हामीसँग धेरै स्टक छैन,’ उनले भने, ‘माग भए पनि सबैलाई पुर्याउन सक्ने अवस्था छैन, त्यसैले दुई दिन मात्रै बिक्री गर्ने योजना बनाएका छौं, पहिले आउनेलाई प्राथमिकता दिने हो ।’
३५ किलो सुनबाट ३५ किलो बराबरकै असर्फी तयार नहुने उनले बताए । कति परिमाणमा उत्पादन हुन्छ भन्ने कुरा उत्पादन प्रक्रियामा निर्भर हुने उनले बताए । गुणस्तर र तौल यकिन गरेर मात्रै बिक्री गर्नुपर्ने भएकाले माग अनुसार आपूर्ति नहुने दाहालले बताए ।
प्रतिक्रिया 4