+
+
Shares

२२ वर्षमा साढे ५ गुणाले बढ्यो अदालतमा मुद्दा

सर्वोच्च अदालतका रजिस्ट्रार बाबुराम दाहालले अदालतमा मुद्दाको चाप बढ्दै गएको बताएका छन् । 

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १८ गते १४:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सर्वोच्च अदालतका रजिस्ट्रार बाबुराम दाहालले अदालतमा विचाराधीन मुद्दा २०६१ सालको ६४ हजार २८३ बाट २०८३ सालमा ३ लाख ५७ हजार ९४ पुगेको बताए ।
  • उनले मेलमिलाप हुन सक्ने १ लाख ६७ हजार ७५८ मुद्दामध्ये ३१ हजार ७१२ मात्र सिफारिस भएको र ४ हजार ४५१ मात्रै टुंगिएको बताए ।
  • दाहालले स्थानीय तहमा पठाउँदा ससुरा र ज्वाइँबीचको तमसुक विवाद मिलापत्र भएको उदाहरण दिँदै भिडियो कन्फरेन्सबाट पनि मेलमिलाप गराउने प्रस्ताव औचित्यपूर्ण रहेको बताए ।

१८ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतका रजिस्ट्रार बाबुराम दाहालले अदालतमा मुद्दाको चाप बढ्दै गएको बताएका छन् । प्रतिनिधिसभा अन्तर्गतको कानुन न्याय तथा मानव अधिकार समितिको बैठकमा मेलमिलाप सम्बन्धी ऐन संशोधन विधेयकमाथिको छलफलमा बोल्दै उनले अदालतमा मुद्दाको चाप बढ्दै गएकोले पनि मेलमिलाप पद्धतिलाई विस्तार गर्नुपर्ने बताए ।

उनका अनुसार २०६१ सालमा देशभरका अदालतमा ६४ हजार २८३ मुद्दा विचाराधीन रहेका थिए । २०८३ सालमा आइपुग्दा यो संख्या बढेर ३ लाख ५७ हजार ९४ पुगेको छ ।

उनले भनेका छन्, ‘२०६१ सालमा जम्माजम्मी अदालतमा ६४ हजार २८३ थान मुद्दा विचाराधीन भएकोमा २०८३ सालमा हामी आइपुग्दाखेरि ३ लाख ५७ हजार ०९४ भनेको लगभग ३ लाख ५८ हजार करिब-करिब मुद्दाहरू अदालतमा विचाराधीन हुन पुगे भनेको अदालतप्रतिको जनताको विश्वास र अदालतप्रति मुद्दाको चाप चाहिँ बढ्दै गएको अवस्था छ।’

अर्थात २२ वर्षमा अदालतमा विचाराधीन मुद्दाको संख्या ५.५५५ प्रतिशतले बढेको छ । दाहालका अनुसार विचाराधीन मुद्दामध्ये १ लाख ६७ हजार ७५८ मुद्दा मेलमिलाप हुन सक्ने प्रकृतिका रहेको बताए । न्यायपालिकाको रणनीतिक योजनाले त्यस्ता मुद्दामध्ये ५० प्रतिशतलाई मेलमिलापका लागि सिफारिस गर्ने र सिफारिस भएकामध्ये ५० प्रतिशत टुंग्याउने लक्ष्य राखेको थियो । तर, लक्ष्यअनुसार काम हुन सकेको छैन ।

उनका अनुसार मेलमिलाप हुन सक्ने प्रकृतिका मुद्दामध्ये ३१ हजार ७१२ वटालाई मात्रै मेलमिलापका लागि सिफारिस गरिएको थियो । त्यसमध्ये ४ हजार ४५१ मुद्दा अर्थात् करिब १६ प्रतिशत मात्रै मेलमिलापबाट टुंगिएका छन् ।

अदालतमा मेलमिलापका लागि पठाइने मुद्दाको संख्या नै न्यून रहेकाले पनि अपेक्षित परिणाम आउन नसकेको उनको भनाइ छ । त्यसैले पाँच वा त्यसभन्दा बढी न्यायाधीश भएका अदालतमा न्यायाधीशलाई समेत मेलमिलाप प्रक्रियामा सहभागी गराउने प्रस्ताव औचित्यपूर्ण रहेको उनले बताए ।

दाहालले मेलमिलापको अर्को महत्त्वपूर्ण पक्षका रूपमा स्थानीय तहमा विवाद पठाउन सकिने व्यवस्थालाई उल्लेख गरे । सर्वोच्च अदालतमा पुगेको ससुरा र ज्वाइँबीचको लेनदेनसम्बन्धी एउटा मुद्दाको उदाहरण दिँदै उनले स्थानीय तहमा पठाएर मेलमिलाप गराउँदा विवाद समाधान भएको सुनाए ।

उनका अनुसार ससुरा र ज्वाइँबीचको तमसुकसम्बन्धी विवाद सर्वोच्च अदालतसम्म पुगेको थियो । इजलासमा भएको छलफलपछि मुद्दाको उत्पत्ति भएको स्थानीय तहमा एक महिनाको समय दिएर मेलमिलापका लागि पठाइएको थियो । अन्ततः दुवै पक्षबीच सहमति भएर मिलापत्र भएको थियो ।

‘ससुरा र ज्वाइँबीचको जुँगाको लडाइँ भएर सर्वोच्च अदालतसम्म आएको विवाद स्थानीय तहमा पठाउँदा मिलापत्र भएर आयो,’ उनले समितिको बैठकमा भने । विवादको प्रकृति र पक्षहरूको सामाजिक सम्बन्ध बुझ्ने स्थानीय तहमा पठाउँदा कतिपय मुद्दा अदालतको औपचारिक प्रक्रियाभन्दा बाहिरै समाधान हुन सक्ने उनको भनाइ छ ।

त्यस्तै, विदेशमा रहेका पक्षलाई समेत मेलमिलाप प्रक्रियामा सहभागी गराउन भिडियो कन्फरेन्सको व्यवस्था प्रस्ताव गरिएको उनले बताए । विशेषगरी अंश र सम्बन्धविच्छेदका मुद्दामा एउटा पक्ष विदेशमा र अर्को नेपालमा हुँदा दुवैको सहमति जुटाउन कठिन हुने गरेको छ । भिडियो कन्फरेन्समार्फत छलफल गर्न सकिने व्यवस्थाले त्यस्ता विवाद समाधानमा सहजता ल्याउने उनको भनाइ छ ।

दाहालले प्रस्तावित संशोधनले अदालतको मुद्दाको चाप घटाउने, स्थानीय तहमा विवाद समाधानको अभ्यास विस्तार गर्ने र न्यायमा नागरिकको पहुँच बढाउने अपेक्षा गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?