+

एरिका गुरुङको खेल विकासका लागि अस्ट्रेलियाबाट तीन लाख सहयोग

२०८३ कात्तिक  १८ गते १७:२४ २०८३ कात्तिक १८ गते १७:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एसियाली खेलकुदकी रजत पदक विजेता कराते खेलाडी एरिका गुरुङको खेल विकासका लागि अस्ट्रेलियाबाट करिब तीन लाख रुपैयाँ संकलन भएको छ ।
  • सिड्नीमा यात्रा रन क्लबको पहलमा गत २० सेप्टेम्बरमा भएको विशेष दौडमा २५० भन्दा बढी धावक सहभागी भएका थिए ।
  • संकलित रकम एरिकाको खातामा जम्मा भइसकेको छ र यो प्रशिक्षण, फिजियोथेरापी, चोटपटक रोकथाम तथा पुनर्स्थापनामा खर्च गरिनेछ ।

१८ कात्तिक, काठमाडौं । एसियाली खेलकुदकी रजत पदक विजेता नेपाली कराते खेलाडी एरिका गुरुङको खेल विकासका लागि अस्ट्रेलियाबाट करिब तीन लाख रुपैयाँ सहयोग संकलन भएको छ ।

अस्ट्रेलियाको सिड्नीमा आधारित यात्रा रन क्लबको पहलमा आयोजित सहयोग अभियानबाट उक्त रकम संकलन गरिएको हो । सहयोग अभियानअन्तर्गत गत २० सेप्टेम्बरमा सिड्नीमा विशेष दौड आयोजना गरिएको थियो ।

आयोजकका अनुसार दौडमा २५० भन्दा बढी धावक प्रत्यक्ष सहभागी भएका थिए । अभियानमा जोडिएका समर्थक, शुभेच्छुक तथा अन्य व्यक्तिसहित ५०० भन्दा बढीको सहभागिता र उपस्थिति रहेको थियो ।

अभियानमा पूर्व राष्ट्रिय ट्रायथलन खेलाडी नितेश मानन्धरले विशेष पहल तथा समन्वय गरेका थिए । नेपालतर्फ राष्ट्रिय खेलकुद परिषद्की कार्यकारी बोर्ड सदस्य सिक्का सुवाल श्रेष्ठले समन्वयमा सहयोग गरेकी थिइन् ।

गोफन्डमीमार्फत संकलित करिब तीन लाख रुपैयाँ एरिकाको खातामा प्रत्यक्ष जम्मा भइसकेको आयोजकले जनाएको छ । उक्त रकम कुनै संस्था वा मध्यस्थ व्यक्तिमार्फत नभई गोफन्डमीबाटै खेलाडीको खातामा पठाइएको हो ।

प्राप्त रकम एरिकाको खेल विकास तथा आगामी राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीमा खर्च गरिनेछ । नियमित प्राविधिक प्रशिक्षणसँगै आवश्यकताअनुसार शारीरिक क्षमता विकास, फिजियोथेरापी, चोटपटक रोकथाम, पुनर्स्थापना तथा रिकभरी सहयोगमा रकम उपयोग गर्ने योजना रहेको विज्ञप्तिमा उल्लेख छ ।

यात्रा रन क्लब र नितेश मानन्धरले आगामी दिनमा आवश्यकताअनुसार अन्य नेपाली खेलाडीको खेल विकासमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । त्यसका लागि नेपालमा राष्ट्रिय खेलकुद परिषद्की कार्यकारी बोर्ड सदस्य सिक्का सुवाल श्रेष्ठसँग समन्वय गरेर अघि बढ्ने जनाइएको छ ।

विदेशमा रहेका नेपाली समुदाय, पूर्वखेलाडी र खेलप्रेमीलाई नेपाली खेलाडीको विकाससँग जोड्ने उद्देश्यले अभियान सञ्चालन गरिएको आयोजकले जनाएको छ ।

एरिका गुरुङ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय