News Summary
Generated by OK AI. Editorially reviewed.- कांग्रेस सभापति गगन थापा मधेश प्रदेश सरकारबारे छलफल गर्न मंगलबार राति एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गुन्डु पुगेका थिए ।
- एमालेले समर्थन फिर्ता लिएपछि कांग्रेस नेता कृष्णप्रसाद यादव नेतृत्वको मधेश सरकार अल्पमतमा परेको छ ।
- ३० कात्तिकभित्र विश्वासको मत नलिए सरकार जोगिँदैन भने ओली–थापा भेटपछि दुई पार्टीबीच संवादको ढोका खुलेको दाबी गरिएको छ ।
१८ कात्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न कांग्रेस सभापति गगन थापा गुन्डु पुगेको विषयले राजनीतिक वृत्तमा चासो प्रकट गरेको छ ।
करिब एक घण्टा ओलीसँग संवाद गरेर सभापति थापा मंगलबार राति ८ बजेतिर गुन्डुबाट बाहिरिएका थिए । थापा निकट स्रोतले मधेश प्रदेशको सरकारबारे छलफल गर्न गुन्डु पुगेको बताएको छ ।
कांग्रेस नेता कृष्णप्रसाद यादव नेतृत्वको मधेश सरकार अल्पमतमा परेको छ । १५ बुँदे सहमति कार्यान्वयन नभएको भन्दै गत ३० असोजमा चार मन्त्रीको सामूहिक राजीनामा बुझाएर एमालेले समर्थन फिर्ता लिएको छ ।
२३ जना सांसद रहेको एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवको पद संकटमा परेको छ । २७ सांसद रहेको जसपा नेपाल र १२ सांसद रहेको जनमत पार्टी विपक्षमै छन् । मुख्यमन्त्री यादवको समर्थनमा कांग्रेसका २२ र नेकपाका १५ सांसद मात्रै बाँकी छन् ।
आगामी ३० कात्तिकभित्र विश्वासको मत लिन नसके उनको पद जोगिँदैन । कांग्रेस नेताहरूका अनुसार संकटमा परेको सरकार जोगाउनबारे छलफल गर्नकै निम्ति थापा गुन्डु पुगेका हुन् ।
तर ओलीसँगको भेटवार्ता मधेशको सरकारमा मात्र सीमित नरहेको कांग्रेसकै नेताहरू बताउँछन् । ‘मधेशको सरकारबारे छलफल भयो नै, तर अरु राष्ट्रिय राजनीतिक विषयमा पनि कुराकानी भयो,’ कांग्रेस सह–महामन्त्री रामहरि खतिवडा भन्छन्, ‘विपक्षी दलहरु, पूर्वन्यायाधीशहरू लगायतसँग छलफल गर्दैछौं ।’
प्रमुख प्रतिपक्षी दलका सभापतिले विपक्षी दलका नेताहरूसँग सम्वाद गर्नु स्वभाविक हो । तर विशेष महाधिवेशनबाट गगन सभापति निर्वाचित भएको र ओलीको सम्बन्ध तत्कालीन सभापति शेरबहादुर देउवासँग घनिष्ठ रहेकाले पनि यो भेटवार्तालाई चासोका साथ हेरिएको छ ।
‘गगन थापा सभापति भएपछि केपी ओलीसँग भएको यो तेस्रो भेटवार्ता हो । तर यसअघिका भेटमा अरु नेताहरू पनि सहभागी हुनुहुन्थ्यो, यसपटक भने वान अन वान भयो,’ गुन्डु स्रोत भन्छ ।
भेटवार्ता भइरहँदाको पृष्ठभूमिका कारण पनि ओली–थापा भेटवार्तालाई चासोका साथ हेरिएको छ । तीन दिनअघि (१५ कात्तिकमा) मात्र कांग्रेसले पत्रकार सम्मेलन आयोजना गरेर सरकारको स्वेच्छाचारिता र मनमौजीविरुद्ध सशक्त प्रतिवाद गर्ने घोषणा गरेको थियो ।
त्यही साँझ प्रधानमन्त्री बालेन शाहले चेतावनीयुक्त स्टाटस लेखेका थिए । ‘सही समय आएपछि, सबैको गलत समय आउँछ, एकदुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ,’ प्रधानमन्त्री बालेनको अमूर्त स्टाटस थियो ।
भोलिपल्ट, १६ कात्तिकमा सभापति थापाले उस्तै भाषामा जवाफ फर्काएका थिए । ‘अहिले ठीक १८:०० बजेको छ । तर्साउने धेरै आए, तर्सिने बानी परेन,’ थापाले स्टाटस लेखेका थिए ।
एमालेका सचिव महेश बस्नेत, यो भेटवार्तालाई राष्ट्रिय राजनीतिमै नयाँ मोडको रुपमा अर्थ्याउँछन् । ‘राष्ट्रिय राजनीतिमा गगन थापाले जस्तो अडान लिइरहनु भएको थियो । त्यसमा ब्रेक हुनेगरी कुराकानी अगाडि बढेको छ,’ उनी भन्छन् ।
गुण्डु स्रोतका अनुसार यो भेटवार्ताको पहल गगन थापाबाटै भएको हो । ‘उहाँको सचिवालयले प्रस्ताव राख्नुभयो, हामीले पनि कुराकानी गर्यौं,’ ती स्रोत भन्छन्, ‘यो भेटपछि राष्ट्रिय राजनीतिमा दुई पार्टीबीच सम्वादको ढोका खुलेको रुपमा बुझेका छौं ।’
साढे ८ बजेतिर पारिवारिक जमघट रहेको भनेर थापा गुन्डुबाट निस्किएका थिए । गुन्डुबाट सभापति थापा निस्किएपछि एमाले सचिव बस्नेतले उत्साहित स्टाटस नै लेखे । ‘अब व्यक्तिगत र दलीय स्वार्थ भन्दा माथि उठेर राष्ट्रिय हित, लोकतान्त्रिक व्यवस्था र संस्थागत स्थायित्वका विषयमा साझा दृष्टिकोण बनाउने प्रयास शुरु भएको छ । यो राम्रो पक्ष हो,’ उनले लेखेका छन् ।
ओली निकट नेता बस्नेतले २३–२४ भदौपछि एमाले र अध्यक्ष ओलीबारे राखिएको दृष्टिकोण बदल्नेगरी यो भेटवार्ता भएको पनि उल्लेख गरेका छन् ।
‘गत भाद्र २३–२४ को घटनाले एमाले र अध्यक्ष केपी शर्मा ओलीलाई मात्रै कमजोर बनाउँछ भन्ने बुझाइमा रहेका नेपाली कांग्रेस र सभापति गगन थापा, नेकपा र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहित उद्योगी, व्यवसायी, कर्मचारी र शिक्षकहरु अहिले साझा चिन्ता सहित संवाद र सहकार्यको बाटोमा अघि बढ्न थालेका छन्,’ उनले लेखेका छन् ।
कांग्रेस सहमहामन्त्री खतिवडा भने सरकारको कार्यशैलीप्रति खबरदारी गर्नेबारे छलफल गर्नुलाई अरु प्रशंगसँग जोडेर व्याख्या गर्न नहुने बताउँछन् । ‘पत्रकारमाथि धरपकड भइरहेको छ । न्यायालयमा आक्रामण भएको छ, कर्मचारीहरूमा त्रासको वातावरण छ,’ उनी भन्छन्, ‘यिनै विषयमा विपक्षी दलहरुसँग सम्वाद गरिएको हो, अरु धेरै सोच्न आवश्यक छैन ।’
कांग्रेसले संसदीय मोर्चामा पनि विपक्षीहरूलाई एकठाउँ उभ्याउने प्रयत्न गर्दै आएको छ । संसदीय दलका नेता भिष्मराज आङदेम्बेको अग्रसरतामा विपक्षीहरूको बैठक बस्दै आएको छ ।
तर प्रमुख विपक्षी दलका पार्टी सभापतिको हैसियतमा थापाले विपक्षी दलका प्रमुखहरूसँग कुनै सामूहिक छलफल गरेका थिएनन् ।
‘जेनजी आन्दोलनलाई हेर्ने दृष्टिकोणमा कुरा नमिल्दा प्रमुख नेताहरू सँगै बस्ने स्थिति छैन,’ एक शीर्ष नेता भन्छन्, ‘नेकपासँग त ठूलो समस्या छैन, तर एमाले नेतृत्वसँग सैद्धान्तिक रुपमा एकठाउँ उभिन सक्ने स्थिति थिएन । त्यसकारण पनि यो भेटवार्तालाई महत्वका साथ हेरिएको हुनुपर्छ ।’
एमाले स्रोतका अनुसार, गुन्डुको भेटवार्ता ओली–थापाबीच संवादको थालनी हो । ‘केही दिनभित्रै फेरि अर्को भेटवार्ता गर्ने कुरा भएको छ,’ स्रोत भन्छ ।
प्रतिक्रिया 4