१८ कात्तिक, गोरखा । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) संसदीय दलका प्रमुख सचेतक कवीन्द्र बुर्लाकोटीले नेपाल प्रहरीको नयाँ आईजीपी नियुक्ति पार्टीको नभई सरकारको निर्णय भएको बताएका छन् ।
बुधबार गोरखामा पत्रकार भेटघाट गर्दै बुर्लाकोटीले यस्तो बताएका हुन् ।
‘आज दिनभर म गोरखाको कार्यक्रममा भएकाले पार्टीको कुनै पनि तहमा संवाद गर्न पाएको छैन,’ बुर्लाकोटीले भने, ‘पछिल्ला दिनमा विकसित विभिन्न घटनाक्रमको विश्लेषण गर्दा यसो गर्दा उपयुक्त हुन्छ भन्ने सरकारलाई लाग्यो होला , र, त्यो गर्यो भन्ने लाग्छ ।’
उक्त निर्णय सरकारको रहेकाले सरकारका काममा पार्टीसँग सरसल्लाह नहुन पनि सक्ने उनले जिकिर गरे । उनले भने, ‘आईजीपी चेन्ज हुनुमा दुई वटा कुरा महत्वपूर्ण छ ।एउटा सञ्चारगृहमाथिको हस्तक्षेप अर्काे न्यायधीशहरूको विचौलियासँग को को जोडिए भन्ने । यी सबै घटनाक्रमलाई मध्यनजर गरेर आईजीपी परिवर्तनको निर्णय भएको हुनुपर्छ,’ बुर्लाकोटीले भने ।
सरकारले आजै नेपाल प्रहरीको आईजीपीबाट दानबहादुर कार्कीलाई हटाएर डा. मनोज केसीलाई नियुक्त गरेको छ ।
प्रतिक्रिया 4