News Summary
Generated by OK AI. Editorially reviewed.- अमेरिकी मध्यावधि निर्वाचनमा रिपब्लिकनको हारपछि ट्रम्पको विदेश नीतिमा दबाब बढेको छ र इरान, इजरायल तथा युक्रेनले त्यसको असर मूल्याङ्कन गरिरहेका छन्।
- इरानले निर्वाचन परिणामलाई अमेरिकी युद्धनीतिविरुद्धको जनमत भने पनि ट्रम्पले कूटनीति र थप सैन्य कारबाहीमध्ये कुन बाटो रोज्छन् भन्ने अनिश्चित छ।
- इजरायल र युक्रेन दुवैले अमेरिकी सहयोगको भविष्यबारे चासो देखाएका छन्, जबकि डेमोक्रेटिक पार्टीले ट्रम्प प्रशासनमाथि थप राजनीतिक आधार पाएको छ।
१९ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लो दुई वर्षमा दशकौँदेखि कायम अमेरिकी विदेश नीतिमा व्यापक फेरबदल गरेका छन् । उनले मित्रराष्ट्र र प्रतिद्वन्द्वी दुवैलाई असहज बनाउने गरी अमेरिकाको अन्तर्राष्ट्रिय भूमिकालाई नयाँ ढंगले परिभाषित गर्ने प्रयास गरेका छन् ।
तर मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले बेहोरेको पराजयले उनको राजनीतिक शक्ति र विदेश नीतिमा कस्तो प्रभाव पार्छ भन्ने प्रश्न उठेको छ ।
यसको असर अमेरिकाको सीमाभन्दा बाहिर पनि देखिन सक्छ । विशेषगरी इरान, इजरायल र युक्रेनले ट्रम्पको चुनावी धक्कालाई चासोका साथ हेरिरहेका छन् ।
इरानका लागि यो परिणामले अमेरिकासँग कूटनीतिक सम्झौताको सम्भावना बढाउँछ कि थप सैन्य आक्रमणको जोखिम निम्त्याउँछ भन्ने महत्वपूर्ण हुनेछ । इजरायलका लागि अमेरिकी सैन्य सहयोग र दुई देशबीचको परम्परागत सम्बन्धको भविष्य चुनौतीपूर्ण बन्न सक्छ । युक्रेनका लागि भने रुससँगको युद्ध अन्त्य गर्न अमेरिकाले दिँदै आएको दबाब र सहयोगको निरन्तरतासँग यो विषय जोडिएको छ ।
निर्वाचन परिणामपछि डेमोक्रेटिक पार्टीले ट्रम्प प्रशासनलाई चुनौती दिन थप राजनीतिक आधार पाएको छ । यद्यपि विदेश नीतिमा राष्ट्रपतिसँग अझै पर्याप्त कार्यकारी अधिकार रहेकाले उनले तत्कालै आफ्नो रणनीति परिवर्तन गर्नुपर्ने अवस्था छैन ।
मुख्य प्रश्न भनेको चुनावी पराजयपछि ट्रम्प सम्झौता र सहमतिका लागि लचिलो बन्छन् कि आफ्नो राजनीतिक प्रतिष्ठा जोगाउन विदेशमा थप आक्रामक कदम चाल्छन् भन्ने हो ।
इरान खुसी, तर युद्धको जोखिम कायमै
अमेरिकाको मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले बेहोरेको धक्कालाई इरानले ट्रम्पको युद्धनीतिविरुद्ध अमेरिकी जनताको जनमतका रूपमा व्याख्या गरेको छ । तर यसले अमेरिकासँगको तनाव तत्काल अन्त्य हुने सुनिश्चितता भने गरेको छैन ।
ट्रम्पले फक्स न्युजसँगको कुराकानीमा इरानसँगको युद्ध रिपब्लिकन पार्टीको चुनावी हारको एउटा कारण भएको स्वीकार गरेका छन् ।
अमेरिकी उपराष्ट्रपति जेडी भान्सले पनि बुधबार सामाजिक सञ्जाल एक्समा लामो पोस्ट गर्दै रिपब्लिकन पार्टीको हारको कारण युद्ध भएको बताएका थिए । ‘हामीले हार्नुको कारण युद्ध हो,’ उनले लेखेका छन् ।

इरानले पछिल्लो आठ महिनादेखि क्षेत्रीय आर्थिक गतिविधिमा परेको असर र युद्धका कारण अमेरिकी जनताले भोग्नुपरेको महँगीलाई आफ्नो पक्षमा प्रयोग गर्दै आएको छ । युद्धका कारण इन्धन तथा दैनिक उपभोग्य वस्तुको मूल्य बढेपछि अमेरिकी मतदातामा असन्तुष्टि बढेको थियो ।
इरानी संसद्का सभामुख मोहम्मद बाघेर गालिबाफले अमेरिकी सरकारले अन्तर्राष्ट्रिय दबाबका कारण आफ्नै जनताको इच्छाविपरीत काम गरे त्यसको परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् ।
तर इरानका सर्वोच्च नेता मोज्तबा खामेनीले अमेरिकी निर्वाचन परिणामले वासिङ्टनको नीतिमा परिवर्तन आउने विश्वास गर्नु गलत हुने बताएका छन् । इरानी अधिकारीहरूले अमेरिकी निर्वाचनलाई आफ्नो रणनीतिको निर्णायक आधार नबनाउने बताउँदै युद्धको सम्भावनाका लागि तयारीसँगै कूटनीतिक प्रयास पनि जारी राखेका छन् ।
यसबीच इरानमाथि अमेरिकाले थफ शक्तिशाली आत्रमण गर्न सक्ने चर्चाले मध्यपूर्वमा तनाव बढाएको छ । ट्रम्पले केही सञ्चारकर्मीसँग इरानमाथि कडा आक्रमण गर्ने सम्भावना विचाराधीन रहेको बताएका छन् भने अरू केहीसँग तत्काल सैन्य कारबाही विस्तार गर्ने योजना नरहेको बताएका छन् ।
इन्टरनेसनल क्राइसिस ग्रुपका अली वाएजका अनुसार इरानसँगको युद्ध ट्रम्पका लागि राजनीतिक बोझ बनेको छ । अब उनीसँग दुई विकल्प छन्– आफ्नो प्रतिष्ठा जोगाउने गरी सम्झौता गरेर विजय घोषणा गर्ने वा सैन्य कारबाही थप तीव्र बनाएर युद्धको पहल पुनः आफ्नो हातमा लिने ।
उनले चुनावमा कमजोर बनेका राष्ट्रपतिले आफ्नो राजनीतिक प्रतिष्ठा पुनःस्थापित गर्न युद्धको मैदान रोज्न सक्ने जोखिमसमेत औँल्याएका छन् ।
यद्यपि कूटनीतिक प्रयास पनि अघि बढिरहेको छ । गर्मीयामदेखि रोकिएका वार्ता पछिल्लो एक सातामा पुनः सक्रिय भएका छन् । इरानले कतारका मध्यस्थकर्तामार्फत अमेरिकासमक्ष प्रस्ताव पठाएको छ ।
निर्वाचनअघि इरानले आफ्ना सात सर्त स्वीकार गरे दुई दिनभित्र स्ट्रेट अफ हर्मुज खोल्ने प्रस्ताव गरेको थियो ।
चाथम हाउसकी सनम वकिलका अनुसार निर्वाचन परिणामले इरानी नेतृत्वलाई आफ्नो अडान सही साबित भएको महसुस गराउन सक्छ । तर त्यसले इरानका समस्या समाधान गर्दैन ।
उनका विचारमा ट्रम्पलाई कूटनीतिक सफलता आवश्यक छ, तर उनी कमजोर देखिन चाहँदैनन् । अर्कोतर्फ इरानले अमेरिकी राजनीतिक अवस्थालाई थप सहुलियत माग्ने अवसरका रूपमा लिन सक्छ । त्यसैले व्यापक शान्ति सम्झौताभन्दा स्ट्रेट अफ हर्मुज खोल्ने विषयमा अस्थायी सहमति हुने सम्भावना बढी देखिन्छ ।
अमेरिका–इजरायल सम्बन्धमा नयाँ युगको संकेत
अमेरिकाको मध्यावधि निर्वाचनको दिन ट्रम्पले इजरायललाई दिँदै आएको सैन्य सहायता अचानक बन्द गर्ने घोषणा गरेपछि इजरायलमा राजनीतिक तरंग उत्पन्न भयो ।

निर्वाचन परिणाममा डेमोक्रेटिक पार्टीले दुवै सदनमा ठूलो सफलता हासिल गरेपछि इजरायलको चिन्ता थप बढेको छ । अमेरिकी राजनीतिमा इजरायलप्रतिको समर्थन क्रमशः कमजोर हुँदै गएको संकेत यसअघि नै देखिएको थियो ।
गाजामा इजरायली सैन्य कारबाहीका कारण ठूलो संख्यामा सर्वसाधारणको मृत्यु भएपछि डेमोक्रेटिक पार्टीभित्र इजरायलप्रति असन्तुष्टि बढेको थियो । रिपब्लिकन पार्टीकै केही नेताले पनि अमेरिकाले इजरायललाई आवश्यकताभन्दा बढी सहयोग गरेको भन्दै आलोचना गर्दै आएका छन् ।
अमेरिकाका लागि इजरायलका पूर्वराजदूत माइकल ओरेनले अहिले इजरायलको आलोचना गर्नु दुवै प्रमुख अमेरिकी राजनीतिक दलमा साझा विषय बन्दै गएको बताएका छन् ।
उनका अनुसार डेमोक्रेटिक पार्टीमा इजरायलको आलोचना एउटा प्रमुख राजनीतिक मुद्दा बनेको छ भने रिपब्लिकन पार्टीभित्र पनि यस्तो धारणा विस्तार भइरहेको छ ।
ओरेनले अमेरिकी सैन्य सहयोग बन्द गर्ने निर्णय अमेरिका–इजरायल सम्बन्धमा देखिन थालेको ठूलो परिवर्तनको सुरुवात मात्रै भएको बताएका छन् ।
भविष्यमा अमेरिकाले इजरायलसँगको गुप्तचर सूचना आदानप्रदान बन्द गर्न सक्ने र आइरन डोमजस्ता महत्वपूर्ण सैन्य प्रतिरक्षा प्रणालीको संयुक्त विकासमा रोक लगाउन सक्ने सम्भावना पनि उनले औँल्याएका छन् ।
संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा अमेरिकाले प्रयोग गर्दै आएको भिटो अधिकारमार्फत इजरायललाई दिँदै आएको कूटनीतिक संरक्षणसमेत प्रभावित हुन सक्ने उनको भनाइ छ । ‘हामी एउटा युगको अन्त्यमा आइपुगेका छौँ,’ ओरेनले भनेका छन् ।
जेरुसेलम पोस्टका पूर्वप्रधानसम्पादक याकोभ काट्जले पनि अमेरिकी सैन्य सहायता रोक्ने घोषणा आगामी परिवर्तनको सुरुवात मात्रै भएको बताएका छन् । उनका अनुसार अमेरिकाले हतियार बिक्री रोक्न, प्रतिबन्ध लगाऊन र संयुक्तm आर्थिक कार्यत्रमको बजेट कटौती गर्न सक्छ ।
इरान युद्धका क्रममा अमेरिका र इजरायलले संयुत्त रूपमा गरेको सैन्य कारबाहीले पनि अमेरिकी जनमतमा इजरायलप्रतिको असन्तुष्टि बढाएको थियो । अमेरिकी मतदाताको एउटा हिस्साले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले ट्रम्पलाई युद्धमा तानेको ठानेको छ ।
अहिले पनि नेतान्याहुले इरानमाथि पुनः आक्रमण सुरु गर्न दबाब दिइरहेका छन् । तर इरानसँगको युद्धका कारण अमेरिकामा पेट्रोलियम पदार्थको मूल्य र जीवनयापनको लागत बढेको थियो । यसले रिपब्लिकन पार्टीको चुनावी नतिजामा समेत नकारात्मक प्रभाव पारेको विश्लेषण गरिएको छ ।
नेतान्याहु आफ्नै देशभित्र पनि राजनीतिक संकटमा छन् । मध्यावधि निर्वाचनभन्दा एक साताअघि भएको निर्वाचनमा उनले संसदमा बहुमत गुमाएका थिए । उनका प्रमुख राजनीतिक प्रतिद्वन्द्वी तथा पूर्वसैनिक प्रमुख गादी आइजेनकोटसँग पनि स्पष्ट बहुमत छैन । बहुमत जुटाउन उनले अरब राजनीतिक दलहरूसँग सहकार्य गर्नुपर्ने अवस्था आउन सक्छ ।
इजरायलको वामपन्थी डेमोक्रेट्स पार्टीका नेता याइर गोलानले प्रतिबन्ध र अन्तर्राष्ट्रिय एक्लोपनबाट देशलाई जोगाउन नेतान्याहुलाई सत्ताबाट हटाएर नयाँ नेतृत्व ल्याउन ढिलाइ गर्न नहुने बताएका छन् ।
ट्रम्पपछिको अमेरिकाको फ्रतीक्षामा युक्रेन
रुससँग युद्धरत युत्रेनले अमेरिकी मध्यावधि निर्वाचनको परिणामलाई निकै चासोका साथ हेरिरहेको थियो । तर निर्वाचन परिणाम सार्वजनिक भएपछि किभबाट तत्काल कुनै ठूलो फ्रतिक्रिया आएन ।

युत्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र ट्रम्पबीचको सम्बन्ध पछिल्लो समय निकै तनावपूर्ण बनेको छ । ट्रम्पले जेलेन्स्कीलाई पदबाट हटाउनुपर्ने धारणा राखेका थिए । उनले रुससँग ऊर्जा सम्झौताको सम्भावनासमेत अघि बढाएका थिए । अर्कोतर्फ अमेरिकामा निर्भर युक्रेनको प्रविधि र गुप्तचर सूचनासम्बन्धी सहकार्यमा पनि अवरोध उत्पन्न भएको थियो ।
यस्तो अवस्थामा युक्रेनले अमेरिकी राजनीतिक परिवर्तनको प्रतीक्षा गर्ने रणनीति अपनाएको देखिन्छ ।
निर्वाचन परिणाम सार्वजनिक भएपछि युक्रेनी राष्ट्रपति कार्यालयका उपप्रमुख सर्गेई किस्लित्स्याले युक्रेनले जोसुकै अमेरिकी नेतृत्वमा आए पनि स्थिर र सामान्य सम्बन्ध विकास गर्ने बताएका छन् ।
उनले युक्रेनले प्याट्रियट क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली प्राप्त गर्ने प्रयास जारी राख्ने र नयाँ अमेरिकी कंग्रेससँग पनि सहकार्य गर्ने बताएका छन् ।
ट्रम्पको राजनीतिक प्रभाव कमजोर हुँदै जानु र उनको कार्यकालको समयसीमा नजिकिँदै जानुले युक्रेनलाई केही राहत दिन सक्छ । ट्रम्पले रुस–युक्रेन युद्ध अन्त्य गर्न सजिलै शान्ति सम्झौता गर्न सकिने दाबी गर्दै आएका थिए । तर उनले रुसको आक्रमणबाट फीडित युक्रेनलाई नै आत्रमणकारी देशका सर्त स्वीकार गर्न दबाब दिएका थिए ।
उनले जेलेन्स्कीलाई सार्वजनिक रूपमा अपमानित गर्ने, आलोचना गर्ने र कहिलेकाहीँ सम्बन्ध सुधार्ने प्रयाससमेत गरेका थिए । यसले युरोपेली सहयोगीहरूलाई समेत चिन्तित बनाएको थियो । उनीहरू दशकौँदेखि कायम अमेरिकी सुरक्षा गठबन्धन कमजोर हुने चिन्तामा थिए ।
यद्यपि युक्रेनलाई अझै पनि अमेरिकाको हतियार, आर्थिक सहयोग र राजनीतिक समर्थन आवश्यक छ । तर पछिल्ला महिनाको अनुभवपछि किभले वासिङ्टनमाथि मात्रै निर्भर रहन नसकिने निष्कर्ष निकालेको छ ।
यसबीच युक्रेनका लागि अर्को जोखिम पनि छ । ट्रम्पको राजनीतिक प्रभाव घट्दै गएको अवस्थामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो पक्षमा युद्धको परिणाम निकाल्न थप सैन्य दबाब दिन सक्छन् ।
पुटिनले ट्रम्पलाई आफ्नो पक्षमा रहेको सम्भावित सहयोगीका रूपमा उपयोग गरेर पनि युद्धमैदानमा उल्लेखनीय सफलता हासिल गर्न सकेका छैनन् । अब सन् २०२८ को अमेरिकी राष्ट्रपतीय निर्वाचनअघि आफ्नो अनुकूल परिणाम निकाल्न उनले युद्धलाई थप तीव्र बनाउन सक्ने आकलन गरिएको छ ।
अमेरिकी चुनावको असर विश्व राजनीतिमा
ट्रम्पको मध्यावधि चुनावी पराजयले तत्काल अमेरिकी विदेश नीतिमा आमूल परिवर्तन ल्याउँछ भन्ने निश्चित छैन । राष्ट्रपति ट्रम्पसँग अझै पनि सैन्य कारबाही र कूटनीतिक निर्णयमा महत्वपूर्ण कार्यकारी अधिकार छन् ।
तर संसदमा डेमोक्रेटिक पार्टीको प्रभाव बढ्दा ट्रम्पका निर्णयमाथि निगरानी, बजेट नियन्त्रण र राजनीतिक दबाब बढ्न सक्छ ।
इरानका लागि यसले युद्ध रोक्ने कूटनीतिक अवसरसँगै थप सैन्य आक्रमणको जोखिम पनि बोकेको छ । इजरायलका लागि अमेरिकी समर्थनको परम्परागत आधार कमजोर बन्ने संकेत देखिएको छ । युक्रेनका लागि भने ट्रम्प प्रशासनको दबाबबाट केही राहत मिल्ने सम्भावना भए पनि रुसले युद्ध तीव्र बनाउने जोखिम कायमै छ ।
यसर्थ, अमेरिकी मध्यावधि निर्वाचनको परिणाम केवल घरेलु राजनीतिक शक्ति सन्तुलनको विषय होइन । यसले आगामी दिनमा मध्यपूर्वको युद्ध, अमेरिका–इजरायल सम्बन्ध र रुस–युक्रेन युद्धको दिशासमेत प्रभावित पार्न सक्छ ।
–सीएनएनबाट
प्रतिक्रिया 4