News Summary
Generated by OK AI. Editorially reviewed.- अर्नब चक्रवातपछि उपल्लो मुस्ताङको कोरला नाकामा परेको बाक्लो हिउँले आवागमन ठप्प बनाएको छ भने गाउँपालिका र सुरक्षाकर्मीले पन्छाउने काम गरिरहेका छन्।
- चीनको झोङ्बा काउन्टी जनसरकारले डोजर सहयोग गरेपछि हिउँ पन्छाइए पनि नेपालतर्फ कोरला नाकामा १ हजार ७ सय गाडी अझै रोकिएका छन्।
- रसुवागढी र तातोपानी नाका अवरुद्ध भएपछि कोरला नाकाबाट व्यापार बढे पनि भन्सार, क्वारेन्टाइन र एकीकृत संरचना नबन्दा पूर्वाधार अभाव कायम छ।
१९ कात्तिक, पोखरा । असोज ११ गते कालीगण्डकीमा आएको बाढीले बेनी–कोरला सडकको ठाउँ ठाउँमा ठूलो क्षति पुर्यायो । भदौ १० गते भोटेकाशी बाढीले रसुवागढी नाका बगाइदिएपछि चीनसँग जोडिएको कोरला नाका विकल्प बनेको थियो ।
बेनी–कोरला सडकमा पनि म्याग्दी खण्डमा देखिएको समस्या झेल्दै मुख्य गरी मुस्ताङ भएर बिजुली गाडी (ईभी) नेपालमा आयात भइरहेका थिए । असोज ११ गतेको बाढीले कोरला नाका जोड्ने सडक क्षतविक्षत बनायो र असोज अन्तिमतिर बल्ल खुलेको थियो ।
कात्तिक १२ गतेपछि नेपाल भित्रिएको अर्नब चक्रवातका बेला उपल्लो मुस्ताङमा बाक्लो हिउँ पर्यो । कोरला नाकादेखि १४ किलोमिटर यता न्हेचुङसम्म बाक्लो हिउँ परेर आवागमनै ठप्प हुन पुग्यो ।
मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ न्हेचुङदेखि कोरला नाकाको दशगजा क्षेत्रसम्मको सडकमा बाक्लो हिउँ जमेपछि गाउँपालिकाको नेतृत्वमा हिउँ पन्छाउने काम भइरहेको छ तर अझै पनि पूर्ण रुपमा सहज भने भइसकेको छैन ।
‘चार दिन भइसक्यो हिउँ पन्छाउन थालेको । हिउँ फाल्यो फेरि जमिहाल्छ । हिउँ फाल्दै गाडी पठायो फेरि रोकिइहाल्छ,’ लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङले अनलाइनखबरसँग भने, ‘रसुवा नाकापछि यो नाका विकल्प बनेको थियो । कहिले बाढी पहिरोले समस्या पार्छ, कहिले हिउँले छेक्छ ।’
मुस्ताङका प्रमुख जिल्ला अधिकारी पर्शुराम पोखरेलले कालीगण्डकीको बाढीले पुर्याएको क्षति मर्मत गरेर बेनीदेखि कोरला सडक खुले पनि अहिले नाकामा हिउँ र चिसोले केही अवरोध गरेको बताए ।
‘हिउँ फाल्यो फेरि पानी जमिहाल्दो रहेछ । अन्त ठूलो समस्या छैन तर कोरलामा हिउँ र चिसोले नै पूर्णरुपमा चल्न दिइरहेको छैन,’ प्रजिअ पोखरेलले भने, ‘गाउँपालिका, सशस्त्र प्रहरी, नेपाल प्रहरीलगायतको टोलीले दिनहुँ नाकालाई पूर्ण रुपमा चलाउन काम गरिरहेका छन् ।’
हिउँ फाल्न चीनबाट बुल्डोजर सहयोग
गाउँपालिका अध्यक्ष गुरुङका अनुसार कोरला नाकामा हिउँ पन्छाउन चीनको स्थानीय सरकारले बुल्डोजर सहयोग गरेको छ । झोङ्बा काउन्टी जनसरकार, चीनले गाउँपालिकाको आग्रहमा डोजर उपलब्ध गराएको अध्यक्ष गुरुङले बताए ।
‘गाउँपालिकाको डोजरले पनि काम गरिरहेको छ र चीनको स्थानीय सरकारले दिएको डोजर पनि लगाएर हिउँ फालिएको छ,’ केही दिनदेखि हिउँ पन्छाउन आफैं खटिइरहेका गाउँपालिका अध्यक्ष गुरुङले भने, ‘अब चिसोले पनि बिस्तारै समस्या पार्छ तर आज (बिहीबार)बाट भने धेरै सहज हुने विश्वास छ ।’
अहिले कोरला नाकामा नेपाल तर्फ १ हजार ७ सय गाडी रोकिएका छन् । ती गाडी जाँचपास हुनै बाँकी छन् । आर्थिक वर्ष २०८३/८४ मा अहिलेसम्म ७ हजार १ सय ईभी नेपाल आयात भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३३ गुल्मका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णु पौडेलले जानकारी दिए ।

रसुवागढी नाका भोटेकोशी बाढीले बगाइदिएपछि विकल्प बनेको कोरला नाकामा पनि असोज ११ गतेको बाढीले अवरोध पुर्याएको थियो । कालीगण्डकीले पुर्याएको क्षति मर्मत गरेर फेरि कोरला नाका खुलेपछि भने ४ हजार ४३७ गाडी नेपाल आयात भएको पौडेलले जानकारी दिए ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३३ गुल्मका प्रमुख दीपक कोइरालाले अब चिसोका कारण धेरै समस्या आउने बताउँछन् । चिसोका कारण गाडी स्टार्ट हुन समस्या देखिने उनको भनाइ थियो ।
अहिले नै पनि कन्टेनरहरुको चाप कम भइसकेको छ । कोरला नाकाबाट धेरै भित्रिनेमा ईभी छन् भने त्यसपछि लत्ताकपडालगायत चिनियाँ उत्पादन हुन् । सवारी साधन तथा मालबाहक कन्टेनरहरुलाई चिसोका कारण आवत–जावतमा समस्या देखिने गरेको र हिउँ फालेर नाकासम्मको सडक खुलाउनकै लागि गाउँपालिकाले नेतृत्व लिएको अध्यक्ष गुरुङले बताए ।
गुल्मका सूचना अधिकारी पौडेलका अनुसार पोहोरको तुलनामा यो वर्ष गाडीहरु बढी नै आएका छन् । रसुवा नाका बाढीले बगाएपछि कोरला कन्टेनरहरु बढिरहेको पौडेलले जानकारी दिए ।
कोरला नाकामा सरकारले कम ध्यान दिएको गुनासो
अर्नब चक्रवात प्रभावका कारण कोरलामा २ फिटसम्म हिउँ परेको थियो । चिसो र हिउँका कारण विभिन्न समस्या देखिने गरेका छन् भने अन्सार कार्यालयसमेत प्रभावित हुने गरेको छ । कोरलामा माइनस ५ देखि ११ डिग्रीसम्म तापक्रम हुुने गरेको गाउँपालिका अध्यक्ष गुरुङले जानकारी दिए ।
चीनसँगको उत्तरी व्यापारिक नाका कोरला नेपालको महत्त्वपूर्ण व्यापारिक नाकाका रूपमा विकास हुँदै गएको छ । तर, राज्यले भने यो नाकामा कम ध्यान दिएको गुनासो गाउँपालिका र सरोकारवालाको छ ।
रसुवागढी र तातोपानी नाका बाढीपहिरोका कारण अवरुद्ध भएपछि कोरला नाकाबाट हुने व्यापारिक गतिविधि थप बढेको छ । तर अर्बौं रुपैयाँको कारोबार र राजस्व संकलन हुन थाले पनि नेपालतर्फ आवश्यक पूर्वाधार निर्माण भने हुन सकेको छैन ।

मुस्ताङको लोमान्थाङ गाउँपालिका–२ स्थित नेपाल–चीन सीमामा पर्ने कोरला नाकामा अध्यागमन कार्यालयका लागि १० कोठे प्रिफ्याब भवन निर्माण गरिएको छ । गण्डकी प्रदेश सरकारले निर्माण गरेको उक्त भवनको २०८१ कात्तिक १४ गते तत्कालीन गृहमन्त्री रमेश लेखकले उदघाटन गरेका थिए । भवन निर्माणसँगै नाकामा विद्युत् र सञ्चार सुविधा विस्तार गर्ने काम पनि गरिएको थियो ।
तर उदघाटनपछि लामो समयसम्म अध्यागमन कार्यालय नियमित सञ्चालनमा आउन सकेन । २०८२ वैशाखसम्म कार्यालयमा ताला लागेको थियो । त्यसपछि २०८२ कात्तिक २१ गतेदेखि अध्यागमन सेवा पुनः सञ्चालनमा ल्याइएको थियो । तर, यो कार्यालयलाई चलाउन अहिले पनि राज्यले ध्यान नदिँदा खुल्ने–बन्द हुने भइरहेको छ ।
कोरला नाकामा अध्यागमन कार्यालय बने पनि भन्सार, क्वारेन्टाइन र अन्य सरकारी कार्यालय भने सीमाक्षेत्रमै छैनन् । मुस्ताङ भन्सार कार्यालय सीमाबाट करिब १३ किलोमिटर तल लोमान्थाङ–४ नेचुङमा छ । त्यहाँ पुराना पाँचवटा भवनबाट भन्सारको काम भइरहेको छ । कर्मचारी बस्न र कार्यालय सञ्चालन गर्न पर्याप्त पूर्वाधार छैन ।
‘यहाँ आएर काम गर्नै सकस छ । चिसो र हिउँका कारणले धेरै कुरामा कठिनाइ हुन्छ तर सरकारले सुविधा उपलब्ध गराउनेतिर ध्यान दिन सकेको छैन,’ भन्सार कार्यालयका एक कर्मचारीले भने, ‘अहिले त भन्सार कार्यालय नै प्रमुखविहीन छ । नयाँ खटिएर आउने भनिएको छ तर कहिले आइपुग्ने हो पत्तो छैन ।’
सीमामा निर्माण गरिएका संरचनामध्ये वनस्पति क्वारेन्टाइनको अवस्था पनि उस्तै छ । क्वारेन्टाइनका लागि भवन निर्माण गरिएको भए पनि उक्त भवनमा प्रहरी बसेका छन् ।
कोरला नाकामा एकीकृत भन्सार र सुख्खा बन्दरगाह निर्माण गर्ने योजना सरकारले अघि सारेको वर्षौं भइसकेको छ । त्यसका लागि सीमाक्षेत्रमा करिब एक हजार रोपनी जग्गा प्राप्त गरिएको विवरण सार्वजनिक भएको छ । तर जग्गा प्राप्तिको प्रक्रिया अघि बढे पनि एकीकृत भन्सारका स्थायी संरचना निर्माण हुन सकेका छैनन् ।
प्रतिक्रिया 4