News Summary
Generated by OK AI. Editorially reviewed.- जाडो बढेसँगै तेह्रथुम, संखुवासभा र ताप्लेजुङका याक–चौरीपालक किसानले गोठ बेसी झारेका छन् र खर्कहरू सुनसान बन्दै गएका छन् ।
- तोक्पेगोलाका लाबाङ भोटेले एक महिनाको पैदल यात्रापछि याक–चौरी बेसी झारेको र करिब चार महिनापछि फेरि माथिल्लो खर्क लैजाने बताए ।
- किसानले याक–चौरीपालनको बजार, चरन क्षेत्र, पशु स्वास्थ्य उपचार र चीनसँगको सीमा व्यापार सहज नहुँदा समस्या भएको गुनासो गरेका छन् ।
२२ कात्तिक, तेह्रथुम । जाडो बढेसँगै याक–चौरीका बथान बेसी झार्न थालिएपछि हिमाली भेगका खर्कहरू सुनसान बन्दै गएका छन् । तेह्रथुम, संखुवासभा र ताप्लेजुङको सीमावर्ती बेसी क्षेत्रमा भने याक–चौरीका बथानसँगै गोठालाहरूको चहलपहल बढ्न थालेको छ ।
जाडो छल्न किसानहरूले संखुवासभाको नुनढाकी, मादीको माथिल्लो क्षेत्र तथा तेह्रथुमको श्रीजुङ र मोराहाङका माथिल्लो क्षेत्रमा रहेका याक–चौरीका गोठ बेसी झारेका छन् ।
केही महिनाअघिसम्म याक–चौरीका घण्टी बज्ने, गोठालाहरूको आवाज सुनिने र चरनमा रमाउने चौरीका बथानले भरिभराउ हुने मिल्के, जलजले र तोक्पेगोला आसपासका उच्च खर्क अहिले क्रमशः खाली हुँदै गएका छन् ।
उच्च हिमाली क्षेत्रमा हिउँ पर्न थालेपछि चौरीका लागि चरन कठिन हुन्छ । पानीका मुहान जम्ने, चिसो हावा चल्ने र रातको तापक्रम शून्य डिग्रीसम्म झर्ने भएकाले त्यहाँ चौरीसँगै गोठालाहरूलाई पनि बस्न कठिन हुन्छ । यही कारण याक–चौरीपालक किसानहरू वर्षौंदेखि मौसमअनुसार गोठ सार्दै आएका छन् ।
ताप्लेजुङको तोक्पेगोलाबाट याक–चौरीका बथान लिएर बेसी झरेका लाबाङ भोटेले एक महिनाको पैदल यात्रापछि चौरीका बथान बेसी झारेको बताए ।
‘हिउँ परेपछि चौरी मात्र होइन, मानिसलाई समेत बस्न गाह्रो हुन्छ । हामी एक महिनाको पैदल यात्रापछि याक–चौरी बेसी झारेका हौँ । यो उधौलीको समय हो,’ उनले भने, ‘करिब चार महिनासम्म यहीँ राखेर फेरि माथिल्लो खर्कमा लैजान्छौँ ।’
मौसम अनुकूल भएपछि पुनः उच्च खर्क फर्कनु उनीहरूको परम्परागत जीवनशैली हो । पुस्तौँदेखि चल्दै आएको यही अभ्यासले हिमाली क्षेत्रको पशुपालन र स्थानीय अर्थतन्त्रलाई निरन्तरता दिँदै आएको योक्पु भोटे बताउँछन् ।
उच्च खर्कबाट बेसी झरेका किसानले अस्थायी गोठ बनाएर चौरी चराउन थालेका छन् । साथै, दूधजन्य परिकार उत्पादनको काम पनि सुरु गरेका छन् । केही समयअघिसम्म सुनसान रहने यी क्षेत्रमा अहिले गोठालाहरूको आवतजावत र पशुचौपायाको चहलपहल बढेको गुफा बजारकी हिमा खनालले बताइन् ।
याक–चौरीपालन यस क्षेत्रका किसानको परम्परागत पेसा मात्र नभई आम्दानीको महत्त्वपूर्ण आधारसमेत हो । चौरीको दूधबाट घ्यू, मही र छुर्पी उत्पादन गरिन्छ । यी उत्पादन स्थानीय बजारदेखि बाहिरी बजारसम्म बिक्री हुने गरेका छन् । याक तथा चौरीको बिक्री र प्रजननबाट पनि किसानले आम्दानी गर्दै आएका छन् ।
तर पछिल्लो समय याक–चौरीपालन व्यवसायले बजारको समस्या भोगिरहेको छ । विशेषगरी चीनसँगको सीमा व्यापार सहज नहुँदा याक–चौरी तथा तिनबाट उत्पादित वस्तुको बजार प्रभावित भएको किसानहरूको गुनासो छ । विगतमा सीमापार व्यापारबाट समेत आम्दानी गर्दै आएका किसान अहिले बजारको सीमितताका कारण समस्यामा परेको तेन्जिङ शेर्पाले बताए ।
चौरीपालनमा चरन क्षेत्रको उपलब्धता, पशु स्वास्थ्य उपचार र बजार पहुँच प्रमुख चुनौतीका रूपमा देखिएका छन् । उच्च खर्कदेखि बेसीसम्म चौरी चराउन उपयुक्त क्षेत्र आवश्यक पर्ने भए पनि सबै ठाउँमा पर्याप्त चरन क्षेत्र उपलब्ध छैन । बिरामी पशुको उपचारका लागि सहज सेवा नहुँदा पनि किसानले थप जोखिम बेहोर्नुपरेको बताउँछन् ।
प्रतिक्रिया 4