News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं विश्वविद्यालय शिक्षा संकायका डिनले पाँच वर्षे कार्यकाल सकिएको भन्दै कुसोडलाई शिक्षक शिक्षाको केन्द्र बनाउने प्रयास, उपलब्धि र अनासक्तिको अनुभव लेखेका छन्।
- उनका अनुसार कुसोडमा विद्यार्थी संख्या ४४९ बाट २१ सयभन्दा बढी पुगेको छ, र ३ हजारभन्दा बढी स्नातक उत्पादन भइसकेको छ।
- उनले कुसोडमा ७ विभाग र कार्यक्रम युनिट तथा ४० भन्दा बढी शैक्षिक कार्यक्रम सञ्चालनमा आएको र उपत्यकाबाहिर सिन्धुली, विराटनगर र रूपन्देहीसम्म विस्तार भएको बताएका छन्।
एउटा स्वीकारोक्तिबाट सुरु गरौँ
यो लेख लेख्न बस्दा मलाई एउटा कुराको स्पष्टता छ- मैले केही असाधारण काम गरेको दाबी गर्न लागेको छैन। न म कुनै विशेषज्ञ हुँ, न मसँग कुनै अन्तिम सत्य छ। म त केवल एउटा यात्री हुँ, जसले पाँच वर्ष एउटा संस्थाको नेतृत्व गर्यो र अब त्यो भूमिकाबाट बाहिरिएर आफ्नै कर्मको समीक्षा गर्दै छ। यो समीक्षा पनि अपूर्ण छ। किनभने आफ्नै कामलाई निष्पक्ष रूपमा हेर्नु सजिलो छैन। तर, म यो पनि जान्दछु- अपूर्णताको स्वीकार भनेको आफ्ना उपलब्धिहरूलाई नजरअन्दाज गर्नु होइन। बरु, उपलब्धिहरूलाई तथ्याङ्कको ऐनामा राखेर हेर्नु र ती तथ्याङ्कभित्रका मानिसहरूको मेहनतलाई सम्मान गर्नु नै इमानदार समीक्षा हो।
काठमाडौं विश्वविद्यालय शिक्षा संकाय (कुसोड) को डिनको रूपमा मेरो पाँच वर्षे कार्यकाल सकिएको छ। कार्यकाल सुरु गर्दा मसँग एउटा दृष्टि थियो- कुसोडलाई शिक्षक शिक्षाको केन्द्र बनाउने। दृष्टि भनेको नक्सा हो; नक्सा बनाउनु र यात्रा गर्नु एउटै कुरा होइन। यात्रामा धेरै कुरा फेरिन्छन्- बाटो बिग्रन्छ, मौसम बदलिन्छ, साथीहरू थाक्छन्। तर, यात्राको सबैभन्दा रमाइलो कुरा भनेको गन्तव्यमा पुगेपछि फर्केर हेर्दा कति दूरी तय भयो भन्ने थाहा हुनु हो। त्यो दूरी मैले एक्लै तय गरेको होइन; त्यो सामूहिक कर्मको दूरी हो।
यो छोटो लेखमा म एउटा प्राध्यापक र शिक्षाकर्मीको रूपमा आफ्नो अनुभवलाई पछाडि फर्केर हेर्दैछु। यो लेख मेरो कर्मको मध्यभागमा रहेर अनासक्तिको अभ्यास गर्ने प्रयास हो। एउटा यस्तो यात्रा, जहाँ मैले गरेको कामको फलस्वरूप प्राप्त उपलब्धिहरूलाई माया गर्दै, तर तिनै उपलब्धिहरूप्रति मोह त्याग गर्दै, नयाँ नेतृत्वको यात्रालाई परबाट अवलोकन गर्ने अवसर पाएको छु। अनासक्ति मेरो लागि एउटा गन्तव्य होइन, एउटा दिशा हो, जहाँ म पुग्न खोज्दै छु, तर पुगेको दाबी गर्न सक्दिनँ।
‘पुनःडिजाइनद्वारा सक्षम बनाउने’
मेरो नेतृत्व दर्शन ‘पुनःडिजाइनद्वारा सक्षम बनाउने’ (एनएब्लिङ बाई रिडिजाइन)मा आधारित रहेछ भन्ने मलाई अलिक पछि थाहा भयो। मेरा सहकर्मी रेबत ढकालले कुनै मैले लेखेको दस्ताबेज सम्पादन गर्दा यो पदावली दिएका थिए। मलाई यो ठिकै लाग्यो। मेरो उद्देश्य कुसोडलाई अनुसन्धान, शिक्षण, सेवा र सामुदायिक संलग्नताको उत्कृष्ट केन्द्रको रूपमा विकास गर्नु थियो। यो केवल प्रशासनिक जिम्मेवारी नभई एउटा सोचाइको रूपान्तरण थियो- शिक्षक शिक्षालाई सिद्धान्तको बन्द कोठाबाट बाहिर निकालेर समाजको जीवन्त यथार्थसँग जोड्ने प्रयास। मलाई लाग्छ, शिक्षक शिक्षा त्यो पुल हो, जसले विद्यालय र विश्वविद्यालय, सिद्धान्त र अभ्यास, स्थानीय र विश्वव्यापीबीचको खाडललाई जोड्न सक्छ ।
मैले ‘पुनःडिजाइन’ लाई जोड दिएँ किनभने मलाई लाग्थ्यो- कुसोडसँग पहिले नै राम्रो आधार थियो, तर त्यो आधारलाई समयअनुसार पुनर्संरचना गर्न आवश्यक थियो। पुनःडिजाइन भनेको पुरानोलाई नष्ट गर्नु होइन; यो पुरानोको सम्मान गर्दै नयाँलाई स्वीकार गर्नु हो। यो एउटा वास्तुकारको कामजस्तै हो—पुरानो भवनको आत्मालाई बचाउँदै नयाँ कोठा थप्नु। पाँच वर्षमा हामीले त्यही प्रयास गर्यौँ— संस्थाको आत्मालाई जोगाउँदै, नयाँ कोठा थप्दै, नयाँ झ्याल खोल्दै।
मैले नक्सा बनाएँ, तर बाटो मैले बनाइनँ–
बाटो त हिँड्नेहरूले बनाए।
मैले ढोका खोलेँ, तर कोठा मैले भरिनँ–
कोठा त सपना देख्नेहरूले भरे।
नक्सा कागजमा रहन्छ, बाटो माटोमा,
ढोका भित्तामा रहन्छ, कोठा मनमा।
मैले केवल दिशा देखाएँ– हिँड्ने काम अरूले गरे,
र त्यही हिँडाइ नै मेरो सबैभन्दा ठूलो उपलब्धि हो।
उपलब्धिहरू तथ्याङ्कको ऐनामा
नेतृत्वको मूल्यांकन भावनाबाट होइन, प्रमाणबाट हुनुपर्छ। म यो स्वीकार गर्छु- तथ्याङ्कले सबै कथा भन्दैन। तर, तथ्याङ्कले केही कथा भन्छ, र ती कथा सुन्नु पनि आवश्यक छ। पाँच वर्षमा कुसोडको आकार, पहुँच र गतिमा उल्लेखनीय वृद्धि भयो। तलका तथ्याङ्कहरू मेरो व्यक्तिगत प्रतिभाको प्रमाण होइनन्; ती सामूहिक कर्मको साक्षी हुन्।
कुसोडमा हाल २१ सय भन्दा बढी विद्यार्थी अध्ययनरत छन् र म डिन बन्ने क्रमका दिनमा यो संख्या ४४९ थियो। यसैगरी ३ हजारभन्दा बढी कुल स्नातक उत्पादन भइसकेको तथ्याङ्क छ। मेरो कार्यकालअघि र कार्यकालभरिको तुलनामा भर्ना र स्नातक उत्पादन दरमा उल्लेखनीय वृद्धि भयो- विशेषगरी स्नातकोत्तर तहमा। यो वृद्धि केवल संख्याको वृद्धि थिएन; यो शिक्षक शिक्षाप्रति बढ्दो विश्वासको सूचक थियो। हामीले लिएका निति र अभ्यासमा आधारित थियो। हामीले गर्ने निरन्तरको विद्यार्थी-केन्द्रित र सहभागितामूलक शैक्षिक प्रक्रियाले समुदायको विश्वास जितेको थियो भन्नै पर्छ।
पाँच वर्षमा कुसोडमा विभाग र कार्यक्रम युनिट ७ वटा र ४० भन्दा बढी शैक्षिक कार्यक्रम सञ्चालनमा आए। सूचना प्रविधिमा बीटेकएड, अंग्रेजीमा बीए-बीएड र चिनियाँ प्रमुख विषयसहित बीएडजस्ता कार्यक्रमहरू पुनः सुरु गरिए। स्टिम, इसिडी, स्कुल काउन्सेलिङ, बहुभाषिक शिक्षा, रैथाने तथा आदिवासी शिक्षा, समाहित र विशेष शिक्षा जस्ता विषयमा स्नातकोत्तर कार्यक्रमहरू स्थापना गरियो। यसरी नै प्राविधिक तथा व्यावसायिक शिक्षा (टिभेट) क्षेत्रमा शिक्षक शिक्षाको महत्त्वलाई स्थापित गर्दै स्थानीय आवश्यकता र विश्वव्यापी मापदण्डलाई सम्बोधन गर्ने पाठ्यक्रमको विस्तार गरियो।
कुसोडको पहुँच काठमाडौँ उपत्यकाबाहिर सिन्धुली, विराटनगर र रूपन्देहीसम्म विस्तार भयो। यो विस्तार केवल भौगोलिक होइन— यो सामाजिक न्यायको प्रश्नसँग जोडिएको थियो। शिक्षक शिक्षाको पहुँच गाउँगाउँसम्म पुर्याउनु भनेको समताको आधारशिला राख्नु हो। मलाई लाग्छ, संस्थाको सबैभन्दा ठूलो उपलब्धि भनेको ऊ आफ्नो परिसरभन्दा बाहिर गएर समाजसँग जोडिनु हो।
अनुसन्धानतर्फ, ‘रिसर्च एन्ड इनोभेसन सेन्टर’ ले २ वर्षमै राम्रो आम्दानी गरी पूर्णकालीन र अल्पकालीन गरी ५० जनाभन्दा बढीलाई जागिर दिएको तथ्याङ्क छ। सीपीईसीले देशभरिका करिब २० हजार शिक्षकहरूमा पुग्न झण्डै १०० जनाभन्दा बढी अल्पकालीन र पूर्णकालीन सहजकर्ताहरू परिचालन गर्न यसले गरेको आर्थिक र सामजिक उपार्जनको लेखाजोखा हुने नै छ। एससीडब्लुसीले स्थापना गरेको स्कुल काउन्सेलिङको विधाले देशभरिका विद्यालयलाई जोडेको देख्न सकिन्छ। डब्लुसीसीले गरेको मेहनतले विद्यार्थीको लेखन र सिकाइमा ठूलो र वैधानिक सहयोगको वातारण बन्यो। यो अनुसन्धान र समुदायसँग सहकार्य गर्ने संस्कृतिको संस्थागत बीउ हो। अनुसन्धान टोलीहरू गठन गरिए, अन्तर्राष्ट्रिय विद्यार्थीहरू आकर्षित गरिए, र ‘इन्टरनेसनल ट्रान्सफर्मेटिभ एजुकेसन रिसर्च नेटवर्क’ (आईटीईआरएन), युनेस्को चेयर लगायतका कामहरू मार्फत विश्वभरका १०० भन्दा बढी विद्वानहरूसँग सहकार्यको ढोका खोलियो। यी सबै उपलब्धिहरू संकायका सदस्यहरूको सामूहिक मेहनतको फल हुन्।
उदाहरणत २०२५ को एक दीक्षान्त समारोहमा शिक्षा संकायबाट २९४ विद्यार्थी दीक्षित भएका थिए। यो २९४ परिवारको सपना पूरा भएको कथा हो, २९४ विद्यालय र शिक्षा विकासका क्षेत्रमा नयाँ शिक्षक र शिक्षाकर्मी पुगेको कथा हो। शैक्षिक गुणस्तर कायम राख्न ‘शैक्षिक अडिट संस्कृति’ विकास गरियो— जसले संस्थालाई आफ्नै कामको ऐना हेर्ने बानी बसाल्यो। सामाजिक न्याय, समता र दिगोपनका सिद्धान्तमा आधारित कार्यक्रम विकास, विस्तार र व्यवस्थापन दर्शन अवलम्बन गरियो।
तर, म यी तथ्याङ्कहरूलाई अन्तिम सत्य ठान्दिनँ। २१०० विद्यार्थी भन्ने अङ्कभित्र २१०० कथा छन्। कोही पहिलो पुस्ताको स्नातक हुँदै छ, कसैले गाउँ फर्केर विद्यालय खोल्ने सपना देखेको छ, कसैले अनुसन्धानमा होमिने इच्छा राखेको छ। ४० भन्दा बढी कार्यक्रम भन्ने अङ्कभित्र हरेक कार्यक्रमका शिक्षकहरूको रातको जागरण छ, पाठ्यक्रम लेख्ने हतार छ, परीक्षाको तनाव छ। अङ्कभित्र अनुसन्धानकर्ता र समुदायमा सहकार्य गर्ने सहजकर्ताको अनगिन्ती घण्टा छ। तथ्याङ्कले मात्रा देखाउँछ; मानिसहरूले मूल्य देखाउँछन्। मेरो काम भनेको ती मानिसहरूलाई सक्षम बनाउने वातावरण बनाउनु थियो। र, त्यो वातावरण बनेको देख्दा मलाई आनन्द लाग्छ।
एक्काइस सय भन्ने अङ्कभित्र एक्काइस सय कथा छन्,
बजेटरूपी अङ्कभित्र अनगिन्ती रात छन्।
तथ्याङ्कले मात्रा देखाउँछ, मानिसले मूल्य,
र मूल्य नै संस्थाको साँचो पुँजी हो।
मैले गनेको संख्या मात्र होइन, जोडेको समुदायको मन हो,
मैले खोलेको कार्यक्रम मात्र होइन, खोलेको ढोका हो।
ढोका खुला छन् अझै— त्यो हाम्रो सबैभन्दा ठूलो देन,
र त्यो देन कुनै तथ्याङ्कले मापन गर्न सक्दैन।
निष्काम कर्मको खोजी
गीतामा निष्काम कर्मयोगको अवधारणा छ— कर्म गर्ने, तर फलको आसक्ति त्याग गर्ने। यो ‘गर्दा गर्दै नगरेको देखिने’ हो। नेतृत्वमा यसको अर्थ हुन्छ: जिम्मेवारी पूरा गर्ने, तर पदको मोह र फलको अपेक्षा त्याग गर्ने। मैले पाँच वर्ष कुसोडको नेतृत्व गर्दा यो सिद्धान्तलाई आत्मसात् गर्ने प्रयास गरेँ। नेतृत्वबाट बाहिरिएपछि मैले यसको गहिराइ अझ बुझ्न थालेँ। पद जानु भनेको आफ्नो कर्मको अर्को अध्याय खुल्नु हो। यसलाई स्वीकार गर्नु नै अनासक्तिको पहिलो कदम थियो। मानिसले गरेका कामहरूको प्रभाव रहिरहनेछ, तर ती कामहरूसँग मानिसको ‘म’ को सम्बन्ध विच्छेद गर्नु आवश्यक हुन्छ।
अनासक्ति भनेको उदासीनता होइन; तर अनासक्तिका साथ काम गर्दै परिणामलाई स्वीकार गर्ने। नेतृत्व गर्दा पूर्ण समर्पण र जिम्मेवारीबाट मुक्त हुँदा आन्तरिक शान्ति— यी दुईबीचको सन्तुलन नै कर्मयोगको सार हो जस्तो लाग्छ। कर्मयोग र रूपान्तरणकारी नेतृत्वबीच गहिरो सम्बन्ध छ; अनासक्त व्यक्तिले आफ्नो आन्तरिक स्थिरता कायम राख्दै कामको गुणस्तर र नैतिकताप्रति पूर्ण प्रतिबद्ध रहन्छ भनिन्छ। मेरो लागि पदबाट भिन्न हुनु भनेको कर्म त्याग्नु थिएन; यो कर्मको एउटा रूपबाट अर्को रूपमा प्रवेश गर्नु थियो— प्राध्यापक, अनुसन्धानकर्ता, शिक्षाकर्मी, सार्वजानिक प्राज्ञ र अवलोकनकर्ताको रूपमा।
पदको विमोह र विस्मृतिको लालसा
पद छोडेपछि मान्छेहरूका मनमा एउटा प्रश्न आउँछ: आफूले गरेका कामहरू सम्झिने कोही छन् कि छैनन्? यो प्रश्न मोहको लक्षण हो। यदि मैले संस्थालाई सर्वोपरी ठानेँ भने संस्थाको भविष्य व्यक्तिको स्मृतिभन्दा ठूलो हुनुपर्छ। व्यक्तिको स्मृति संस्थाको इतिहासको एउटा पाना हो; त्यो पाना पल्टाइन्छ, नयाँ पाना आउँछ। यो स्वाभाविक हो। अनासक्ति भनेको त्यो पानालाई ठीकसँग बन्द गरेर अर्को पाना खोल्ने स्वतन्त्रता दिनु हो। यसो भनोरहँदा मलाई विस्मृतिको लालसा छ। नयाँ गर्ने लालसा छ। विस्मृति भूतसँग सम्बन्धित छ भने वर्तमान र भविष्यको सम्बन्धको विमोह र विस्मरणसँग छ जस्तो लाग्छ।
मान्छेहरू कहिलेकाहीँ डर पैदा गर्छन्। के पाँच वर्षको मेहनत बिर्सिइनेछ? यी प्रश्नहरू अहंकार जन्माउने लालसाबाट आउँछन्। अनासक्ति भनेको यी प्रश्नहरू नआउनु होइन; यी प्रश्नहरू आउँदा पनि तिनलाई शान्त भएर हेर्नु हो। तर, एउटा कुरा मैले बुझेको छु- संस्थाको साँचो सम्पत्ति त्यसले उत्पादन गरेका मानिस र तिनको कर्म हो, नकि भवन, तथ्याङ्क वा पद। त्यो सम्पत्ति कसैको नाममा दर्ता हुँदैन; त्यो समयको ढुकुटीमा जम्मा हुन्छ।
मैले यौटा डोरी फालेँ, तर अर्को डोरी हातमै छ,
औंलाहरू खुला छन्, तर मन अझै गम्दै छ।
अनासक्ति भनेको केवल त्याग होइन,
यो त बारम्बार समात्ने र छोड्ने अभ्यास हो।
मैले यात्रा मोडेँ, तर कर्म छोडिनँ,
मैले मोह छोड्न खोजेँ, तर चासो छोडिनँ।
म स्वीकार गर्छु– म पूर्ण अनासक्त होइन,
म त केवल एउटा पथिक हुँ, जो बाटोमा छ।
कहिलेकाहीँ म पछाडि फर्केर हेर्छु,
कहिलेकाहीँ म आनन्दले छाती फुलाउँछु।
तर त्यो आनन्दलाई मैले चिनेको छु–
त्यो मेरो होइन, त्यो सामूहिक कर्मको छाया हो।
म अझै सिक्दै छु– कसरी समात्ने र कसरी छोड्ने,
कसरी कर्म गर्ने र कसरी फललाई स्वीकार गर्ने।
यो अभ्यास जारी छ, र त्यो जारी रहनु नै
सायद मेरो ठूलो उपलब्धि हो।
एक साक्षीको दृष्टि
अब म एक प्राध्यापकको रूपमा अरू विश्वविद्यालय, केयू र कुसोडको नयाँ नेतृत्वलाई अवलोकन गर्दैछु। नयाँ नेतृत्वहरूले जिम्मा लिँदा ‘शैक्षिक उत्कृष्टता, नवीन अभ्यास, व्यावसायिक सत्यनिष्ठा र सामाजिक उत्तरदायित्वको केन्द्र’ का रूपमा कुसोडको निरन्तरतालाई जोड दिएको देखिनु पर्छ भन्ने लाग्छ। संक्रमणकालमा ‘सबै शैक्षिक, प्रशासनिक, अनुसन्धान र सहकार्य गतिविधिहरूको निरन्तरता’ लाई प्रमुख प्राथमिकता बनाइएको हुनु पर्छ जस्तो लाग्छ। म यो स्वीकार गर्छु- मेरो अवलोकन पूर्ण निष्पक्ष नहुन सक्छ। मेरो दृष्टिमा मेरो आफ्नै यात्राको छाया पर्न सक्छ। मैले यो लेख लेख्दा त्यो छायालाई स्वीकार गर्दै लेखेको छु। मेरो उद्देश्य नयाँ नेतृत्वको मूल्यांकन गर्नु होइन; मेरो उद्देश्य केवल अवलोकन गर्नु हो- एक साक्षीको रूपमा, एक शुभचिन्तकको रूपमा, एक सहकर्मीको रूपमा। एक प्राध्यापकको रूपमा, उच्चशिक्षाको विद्यार्थीको रूपमा र एक अनुसन्धानकर्ताको रूपमा।
निरन्तरता र यथास्थिति
निरन्तरता आफैँमा नराम्रो कुरा होइन। तर संस्थागत स्थिरता र निरन्तरताले मात्र दीर्घकालीन विकास सम्भव हुन्छ जस्तो लाग्दैन। तर, निरन्तरता र यथास्थितिबीचको रेखा धेरै पातलो हुन्छ। नेपालको उच्च शिक्षामा यथास्थितिको सोचाइ लामो समयदेखि व्याप्त छ- परम्परागत अभ्यासहरूको पालना, परिवर्तनप्रति प्रतिरोध र विद्यमान मान्यताहरूलाई चुनौती दिन अनिच्छा। नयाँ नेतृत्वले ‘निरन्तरता’लाई जोड दिँदा के केयू र कुसोडको रूपान्तरणकारी गति कायम रहन्छ, वा यो स्थिरताको मोहमा परिणत हुन्छ? यो प्रश्न मेरो अवलोकनको केन्द्रविन्दु हो।
तर, म यो प्रश्न गर्दा नम्र हुन चाहन्छु। मलाई थाहा छ, नेतृत्वसामु धेरै चुनौतीहरू छन्। संस्थागत परिवर्तन र गतिशीलतालाई जारी राख्नु सजिलो छैन। धेरै विश्वविद्यालयहरू ‘अटोपायलट’ मा चलेका छन्। दैनिक कामकाज चलिरहन्छ, तर दूरदृष्टिको अभावमा संस्था कतै अगाडि बढ्दैन। कुसोडलाई हामीले ‘उत्कृष्टताको केन्द्र’ बनाउने सपना देखेको थियौँ र गतिशीलतालाई महत्व दिने संस्थागत दृष्टिकोण बनाएका थियौँ। यसैको परिणामस्वरूप हरेक वर्ष देशको आवश्यकतालाई मध्यनजर राख्दै राष्ट्रिय र अन्तर्राष्ट्रिय विज्ञहरूको सहयोगमा नयाँ-नयाँ कार्यक्रम सफलतापूर्वक सञ्चालन गरेकै हौँ। सँगसँगै कुसोडलाई सेन्टर अफ एक्सलेन्स बनाउन व्यवस्थित हिसाबले काम सुरु गरेकै हौँ। १४ जना पूर्णकालीन फ्याकल्टी र ३६ जनाको टिम भएको कुसोडलाई सानोतिनो, नचिनिने र मेटिनै लागेको गोरेटोबाट ठूलै राजमार्गमा पुर्याइएकै हो र एक्सलेन्सको अभियानमा अघि बढाउन थालिएकै हो। के नयाँ नेतृत्वले त्यो सपनालाई आफ्नो बनाउन सक्छ, वा यो केवल मेरो टिमको महत्त्वाकांक्षा बनेर रहन्छ? अघि बढ्ला, आशा गरौ।
जे चलिरहेको छ, त्यही चलिरहन्छको खतरा
यथास्थिति ‘जे चलिरहेको छ, चलिरहन्छ’ भन्ने मानसिकताका कारण सिर्जना हुन्छ। यथास्थितिले महत्त्वपूर्ण उपलब्धिहरूलाई सामान्य व्यवस्थापन प्रविधिमा परिणत गर्छ। एक प्राध्यापकको रूपमा अनुसन्धान, अध्यापन र मार्गदर्शनमा काम गरिरहँदा मैले नयाँ नेतृत्वलाई ‘मैले यो गरेँ, तिमीले त्यो गर्नुपर्छ’ भन्ने सर्त राख्नु अनासक्तिको विपरीत हुन्छ। अनासक्तिको अर्थ हो— हामीले गरेको कामको मूल्यांकन गर्ने जिम्मेवारी अर्को पुस्तालाई दिनु र त्यसको नतिजालाई स्वीकार गर्नु। यदि नयाँ नेतृत्वले केयू र कुसोडलाई अझ माथि लग्यो भने त्यो मेरो पनि जित हुनेछ; यदि यथास्थितिमा रमाए भने, त्यो हाम्रो पनि हार हुनेछ। यो हार-जितको भावनाबाट मुक्त हुनु नै मेरो साधना हो।
अवलोकन गर्नु पनि एउटा कर्म हो। तर, यो कर्म निष्क्रिय होइन; यो साक्षी भावको कर्म हो। मैले नयाँ नेतृत्वलाई निरन्तर सहयोग गर्नेछु- सल्लाह चाहिए सल्लाह दिनेछु, सहकार्य चाहिए सहकार्य गर्नेछु। तर, मैले उनीहरूको निर्णयमा हस्तक्षेप गर्नेछैन। नमागेको सल्लाह पनि दिनेछैन। किनभने संस्थाको नेतृत्व गर्ने अधिकार नयाँ नेतृत्वलाई छ। मेरो भूमिका ‘संस्थागत अभिभावक’ को हो- जसले आफ्नो सन्तानलाई हिँड्न दिन्छ, तर लड्ने बेलामा हात थाप्छ त्यो पनि अत्यावश्यक परेको बेला। म त्यो अवस्था नआओस भन्छु। यो भूमिका नयाँ छ, र यसले मलाई अनासक्तिको अभ्यास गराइरहेको छ।
म टाढा उभिएको छु, हेर्दै छु,
हात हाल्दिनँ, तर आँखा चिम्लिदिनँ।
साक्षी हुनु पनि एउटा कर्म हो
न बोल्ने, न चुप लाग्ने; केवल देख्ने।
अरूको आँखामा मेरो सपना देख्छु कि देख्दिनँ?
यो प्रश्नको उत्तर मसँग छैन, समयसँग छ।
म केवल आशा गर्छु- उनीहरूले यथास्स्थितिको ढोका नखोलून्,
र मेरो पाँच वर्षको मेहनत विस्मृतिको धुलोमा नपरोस्।
तर यदि पर्यो भने पनि म रुन्नँ
किनभने मैले कर्म गरेँ, फलको आशा राखिनँ।
क्षितिजपारि अर्को क्षितिज छ, म त्यतै हिँड्छु,
पछाडि फर्केर हेर्दिनँ, तर बाटोलाई आशीर्वाद दिन्छु।
साक्षी हुनु भनेको केवल हेर्नु होइन,
यो त बुझ्नु हो- हरेक नेतृत्व एउटा ऋतु हो,
हरेक ऋतु आउँछ, जान्छ र फेरि आउँछ।
म त ऋतुको साक्षी मात्र हुँ, ऋतुको मालिक होइन।
अज्ञातको स्वीकार
अहिले मैले आफूलाई एउटा नयाँ क्षितिजको खोजीमा पाएको छु। पहिले मेरो ध्यान संस्थागत व्यवस्थापन, रणनीतिक योजना र नीतिगत निर्णयहरूमा केन्द्रित थियो। अब म फेरि अनुसन्धान, लेखन र अध्यापनतर्फ फर्किएको छु। यो फिर्ती मुक्तिको यात्रा हो।
मैले पाँच वर्षमा जति पनि गरेँ, त्यो सबै कर्म थियो। तर, कर्मको एउटा चरण सकिएपछि अर्को चरण सुरु हुन्छ। अब म ‘रूपान्तरणकारी शिक्षा’, सन्दर्भमा आधारित अभ्यास, र स्थानीय/पूर्वीय ज्ञान प्रणालीहरूमा अझ राम्री काम गर्न चाहन्छु। मैले सह-संस्थापकको रूपमा सुरु गरेको ‘इन्टरनेसनल ट्रान्सफर्मेटिभ एजुकेसन रिसर्च नेटवर्क’ (आईटीईआरएन), युनेस्को चेयर लगायत राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चमार्फत विश्वभरका विद्वानहरूसँग सहकार्य जारी राख्नेछु। यो नेटवर्क मेरो व्यक्तिगत सम्पत्ति होइन; यो सामूहिक ज्ञान-निर्माणको मञ्च हो। यसलाई जीवित राख्नु पनि हामी सबैको कर्म हो।
तर, म यो स्वीकार गर्छु- यो नयाँ यात्रा (अ)निश्चित छ। (अ)निश्चिततालाई स्वीकार गर्नु नै अनासक्तिको अर्को रूप हो। मैले आफ्नो नियमिततालाई छोडेँ; अब म (अ)निश्चितताको खुला आकाशमा उड्दै छु। र स्वतन्त्रताको गहिराइतिर जाँदैछु पनि।
सिकाइको सिकाइ
मैले पाँच वर्षमा नेतृत्व, व्यवस्थापन, संस्थागत राजनीति, दूरदृष्टि निर्माणजस्ता कुरा जेजति सिकेँ, त्यो सबै अब विद्यार्थी र सिक्न चाहनेहरूलाई सिकाउन चाहन्छु। तर, म यो पनि स्वीकार गर्छु- मैले सिकाएको कुरा पूर्ण सत्य होइन। मेरो अनुभव मेरो सन्दर्भमा सत्य हो; अर्को सन्दर्भमा त्यो फरक हुन सक्छ। मलाई लाग्छ, अनुभवको सबैभन्दा राम्रो उपयोग भनेको त्यसलाई अरूसँग बाँड्नु हो। तर त्यो बाँड्ने क्रममा आफ्नो अनुभवलाई अन्तिम सत्य नठान्नु पनि हो। मैले आफ्नो अनुभवलाई ‘पाठ्यक्रम’ बनाउन थालेको छु- नेतृत्वका पाठ, (अ)सफलताका कथा, (अ)सफलताका सूत्र। तर, मैले विद्यार्थीहरूलाई यो पनि भन्नेछु- ‘यो मेरो बाटो हो; तिमीले आफ्नै बाटो खोज्नुपर्छ।’
आज बिहान मैले नयाँ सूर्य देखेँ,
पुरानो सूर्य अस्ताएको थिएन—उही सूर्य थियो, नयाँ आँखाले हेरेँ।
पदको जामा फुकालेँ, कर्मको जामा लगाएँ,
अनासक्तिको चस्मा लगाएर संसारलाई फेरि हेरेँ।
विद्यार्थीको आँखामा मैले मेरो पुरानो सपना देखेँ,
संकायको हातमा मैले मेरो पुरानो मेहनत देखेँ।
म अब एक्लो छैन- म त सामूहिक कर्मको एक अंश हुँ,
जसले बीउ रोप्यो, त्यो बिर्सियो; जसले फूल फुलायो, त्यो अरू कोही।
म हिँड्छु अब अर्को क्षितिजतिर,
बाटोमा फेरि बीउ रोप्छु, फेरि फूल फुलाउँछु।
फलको आशा नराखी, केवल कर्मको आनन्द लिँदै,
म बाँच्छु- एक स्वतन्त्र प्राध्यापक, एक शान्त यात्री।
कर्म गर्ने, फल त्याग्ने
कर्मको मध्यभागमा अनासक्तिको यो यात्रा सजिलो छैन। यो एउटा परिचयबाट विश्राम लिनुसरह हो। तर, यही विश्रामले नयाँ सुरुवातको ढोका खोल्छ। कुसोडलाई शिक्षक शिक्षाको केन्द्र बनाउने सपना मेरो व्यक्तिगत महत्त्वाकांक्षा थिएन; त्यो संस्थाको दीर्घकालीन हितको लागि थियो। अब त्यो सपनाको जिम्मेवारी साथीहरूको हातमा छ। मेरो काम भनेको त्यो सपनालाई जीवित राख्ने वातावरण बनाउनु हो—एक प्राध्यापकको रूपमा, एक अनुसन्धानकर्ताको रूपमा, र एक साक्षीको रूपमा।
नयाँ नेतृत्वले कुसोडलाई अझ माथि लैजान्छ वा यथास्थितिमा राख्छ, त्यो भविष्यले देखाउनेछ। तर, मेरो लागि, दुवै परिणाम स्वीकार्य छन्। किनभने मैले कर्म गरेको छु- निस्वार्थ भावले, पूर्ण समर्पणका साथ। मैले मेरो घर वनाएको हैन; एउटा २५ औँ वर्षसम्म उठ्नै नसकेको संस्थालाई साथीहरूको सहयोगमा माथि उठाउन खोजेको हो। सधैँ आज बन्द होला, भोलि बन्द होला भनिने कुसोडलाई झण्डै कुसोमकै दाँजोमा पुर्याएको हो। सामाजिक पूँजीको हिसाबले झण्डै मेडिकलकै दाँजोमा पुर्याएको हो। तर एक्लै हैन। सबैलाई, भित्र र बाहिरकालाई, कर्मशीलहरूलाई मिलाएर लागेको हो।
मैले आफ्नो कर्म गरेँ। अब फलको जिम्मेवारी समय र साथीहरूको हातमा छ। म क्षितिजपारिको नयाँ यात्राको लागि तयार छु।
एउटा कुरा स्पष्ट पार्न चाहन्छु- अनासक्ति भनेको संस्थाप्रति उदासीन हुनु होइन। म कुसोडलाई अझै मेरो विचारमै राख्छु। तर, यो भनेको मोह होइन। मेरो विचारले संस्थाको भविष्यलाई स्वतन्त्र रूपमा विकास गर्न देओस भन्ने हो। हामीले आफ्नो पाँच वर्षको कर्मलाई एउटा बीउको रूपमा रोपेको छौँ। त्यो बीउ अब रूख बन्ने क्रममा छ। म त्यो रूखको मालिक होइन, म त त्यसको एक माली थिएँ पाँच वर्षसम्म। र, म आफ्नो अर्को बगैँचातिर हिँड्छु। जहाँ नयाँ बीउहरू रोप्न बाँकी छन्, नयाँ फूलहरू फुलाउन बाँकी छन्।
हे समय, मलाई पदको मोह नदेऊ, कर्मको आनन्द देऊ, अनासक्तिको शान्ति देऊ। जे गरेँ, त्यो सबै तिम्रो हो, जे गर्छु, त्यो पनि तिम्रै हो ।
मलाई केवल एउटा कुरा देऊ सबैलाई सपना देख्ने आँट देऊ, चलाकहरूलाई दूरदृष्टि देऊ,
शाश्वतलाई सधैँ जीवित राख्ने आशीर्वाद देऊ।
मलाई यो पनि देऊ- आफ्नो उपलब्धिलाई इमानदारीसाथ हेर्ने आँखा, र उपलब्धिलाई अहंकारमा परिणत नगर्ने हिम्मत।
मलाई यो पनि देऊ- बिर्सन सक्ने क्षमता, तर बिर्सनुलाई क्षमा नठान्ने इमानदारी। म बाँच्छु- एक प्राध्यापक, एक यात्री, एक साक्षी, कर्मको मध्यभागमा, अनासक्तिको आकाशमा उड्दै। पूर्ण नहुनु मेरो स्वीकार हो अपूर्णतामै सिक्दै, अपूर्णतामै बाँच्दै।
प्रतिक्रिया 4