News Summary
Generated by OK AI. Editorially reviewed.- कुकुर र मान्छेको सम्बन्ध करिब ४०,००० देखि २७,००० वर्षअघि अलग हुन थालेको जेनोमिक अध्ययनले देखाएको छ।
- २०२० को अध्ययनले करिब ११,००० वर्षअघि कुकुरका ५ ओटा वंश छुटिन थालेको र पलेओलिथिकमै आनुवंशिक विभेद सुरु भएको देखायो।
- यस वर्ष मार्चमा नेचरमा प्रकाशित अध्ययनले युरोपका २१६ प्राचीन क्यानिड नमुनामध्ये १४१ लाई कुकुर ठहर्याउँदै कुकुरहरू पलेओलिथिकको पछिल्लो भागमै फैलिसकेको देखायो।
यो भनाइ त धेरै पटक सुन्नु नै भएको होला। हुन पनि कुकुर र मान्छेबीचको सम्बन्ध छ नै त्यस्तै र यो सम्बन्ध धेरै अगाडिदेखिको पनि हो। घरपालुवा जनावरहरूमध्ये सबैभन्दा पहिले घरपालुवा बनेको जीव नै कुकुर मानिन्छ। नेपाल त झन् कुकुर पूजाको लागि संसारभरि प्रख्यात नै छ। त्यति मात्र नभएर नेपाल र कुकुरहरूको सम्बन्ध अझै प्रगाढ हुन सक्ने केही अध्ययनले देखाउँछन्।
कति पुरानो छ त कुकुर र मान्छेको सम्बन्ध?
यो प्रश्नको उत्तर दिनुअगाडि कुकुरहरूको उत्पत्तिबारे कुरा गर्न जरुरत होला।
अहिलेका घरपालुवा कुकुरहरू क्यानिडेइ परिवारमा पर्छन् जसमा ब्वाँसो र स्याल पनि पर्छन्। कुकुरहरू मुख्यतया ग्रे वुल्फ वा खैरो ब्वाँसोको नजिकैको प्रजाति हुन् र कुकुरहरूको पाल्तुकरण पनि त्यही ब्वाँसोबाट भएको भन्ने प्रचलन छ। आज पाइने कुकुरहरूको वैज्ञानिक नाम Canis lupus familiaris हो भने ब्वाँसोहरूको Canis lupus। गएको केही वर्षयताका अध्ययनहरूले भने कुकुरहरू सिधै खैरो ब्वाँसोबाट पाल्तुकरण भएर विकास भएको भन्दा पनि त्यस ब्वाँसोको प्रजातिको पूर्वजहरूबाट आएको र त्यो जनसङ्ख्यामा लामो समयदेखि आएको परिवर्तन र मिश्रणको उपज हो भनेर देखाउँछ। त्यस अध्ययनअनुसार आजका दिनका कुकुरहरू ग्रे वुल्फबाटै आएको भन्दा पनि उनीहरूको कुनै जमानाको पूर्वज एउटै थिए भन्न सकिन्छ।
२०२० प्रकाशनमा आएको एउटा अध्ययनले त्यस सोही निष्कर्षलाई समर्थन गर्न अझै धेरै मद्दत पुर्यायो। त्यस अध्ययनअनुसार कुकुरहरूको वंश आधुनिक वा आजको दिनमा पाइने ब्वाँसाहरूभन्दा फरक छ र कुकुरहरूमा हामीले पहिले सोचेको समयभन्दा धेरै अगाडिदेखि आनुवंशिक विभेद हुन थालिसकेको थियो। सोही अध्ययनअनुसार करिब ११,००० वर्ष अगाडि नै कुकुरहरूको ५ ओटा वंशहरू छुटिन थालिसकेको थियो।
उनीहरूको अनुसार कुकुरका प्रजातिमा पलेओलिथिक समयतिरैबाट आनुवंशिक विभेद हुन थालिसकेको थियो। पलेओलिथिक समय भन्नाले करिब ३३ लाख वर्षअघिदेखि लगभग ११,६५० वर्षअघिसम्म बुझिन्छ। त्यो भनेको आधुनिक कुकुरहरू देखिनुभन्दा धेरै अगाडिको कुरा हो। कुकुर र ब्वाँसोमा गरिएको जेनोमिक अध्ययनअनुसार करिब ४०,००० देखि २७,००० वर्षबीचमा उनीहरू आनुवंशिक रूपमा अलग हुन थालेको हुन्। अन्य अध्ययनअनुसार यो कुरा छोटो समयमा भएको र त्यसपछि पनि कुकुरका वंश र ब्वाँसोको वंशबीच प्रजनन् कायम नै रहेको पनि हुन सक्ने देखिन्छ।
आधुनिक कुकुरहरूको विकास
आधुनिक कुकुर कसरी आए त भन्ने कुरामा जानुअगाडि त्यस बेलाका मानव जाति र त्यस बेलाका ब्वाँसोहरू कसरी एकअर्कासँग अन्तरक्रिया गर्थे भनेर बुझ्न जरुरी हुन्छ। प्लाइस्टोसिनको पछिल्लो भागमा (३०,००० देखि १५,००० वर्ष अगाडि) युरेसियाको धेरै भाग चिसो स्टेप (घाँसे मैदान) र टुन्ड्रा पारिस्थितिक प्रणालीहरू भएको ठाउँ थियो जहाँ म्यामोथ, जङ्गली घोडा, रेनडियर र खुर भएका अन्य जनावरहरू (जसलाई वैज्ञानिक भाषामा अंगुलेट्स भन्ने गरिन्छ) लगायतका ठूला शाकाहारी जीवहरू चर्ने गर्थे। र त्यस बेलाका मानव जाति र ब्वाँसोका प्रजाति त्यही जीवहरूमा निर्भर हुन्थे।
त्यस बेलाका सिकारी-सङ्कलक (हन्टर ग्यादरार) हरूले ती अङ्गुलेट्सहरू मासुको लागि, उनीहरूको छाला ओढ्नको लागि र हड्डी समेत विभिन्न सिकार गर्ने औजार बनाउन वा स-साना पातला हड्डीहरू छाला सिलाएर ओढ्ने कुरा बनाउन प्रयोग गर्थे। ब्वाँसोहरू पनि झुन्ड बनाएर सिकार गरेर त्यही जनावरहरूको मासु खान्थे। वैज्ञानिकहरूको अनुसार, मानव जातिले प्रयोग गरेर फालेका हड्डी वा खेर गएका मासु लगायतका कुराहरूले ब्वाँसो आकर्षित गरेको हुन सक्ने र ती ब्वाँसोहरूमध्ये मान्छेहरूको छेउ आउन डर नलाग्ने केही ब्वाँसोहरू बिस्तारै मान्छेसँग घुलमिल हुँदै गएको हुन सक्ने अनुमान छ। लामो समयसम्म भयो यस्तो अन्तर्क्रिया बिस्तारै केही ब्वाँसोहरूलाई बिस्तारै मानवको नजिक ल्याउँदै गएको उनीहरू बताउँछन्।
त्यति बेलाको कुकुर र ब्वाँसोलाई ठ्याक्कै छुट्याउन भने गाह्रो नै देखिन्छ तर आधुनिक कुकुरहरूमा हुने एउटा आनुवंशिक विशेषता जुन ब्वाँसोहरूमा देखिन्न, त्यो हो हाइपर सोसिएबिलिटी अर्थात् सामाजिक अन्तरक्रियाका लागि अत्यधिक इच्छा। आधुनिक कुकुरहरूमा एकदम जोड दिएर कृत्रिम छनोटअनुसार यस आनुवंशिक विशेषता छानिने गरेको पाइन्छ भने ब्वाँसोहरूमा त्यो आनुवंशिक विशेषता देखिँदैन। र वैज्ञानिकहरूका अनुसार, यस्तै विशेषता भएका प्राचीन ब्वाँसोहरूलाई मान्छेसँग घुलमिल हुन सजिलो भएको र त्यहीअनुसार उनीहरू बिस्तारै मानव जाति वा मानवहरूसँग अभ्यस्त हुँदै गएको भन्ने पनि अनुमान छ।
केही वैज्ञानिकहरूको अनुसार, मानव जातिले फालेका मासुजन्य खानेकुराहरूले ब्वाँसोहरूलाई मात्र आकर्षण नगरेर अन्य जनावरहरूलाई पनि आकर्षण गरेको हुन सक्ने र ब्वाँसोहरूले त्यही जनावरहरू पनि खाने गरेको हुन सक्ने अनुमान छ।
२०२० मा प्रकाशन भएको अध्ययनअनुसार चेक रिपब्लिकको एउटा ठाउँमा भेटिएका कुकुर/ब्वाँसोहरूका दाराका केही अवशेषमा दुई भिन्न प्रकारका माइक्रोवेयर भेटिएको छ। एउटा समूहमा भने हड्डीजन्य खानेकुरा धेरै खाएको जस्तो दाँत देखिएको थियो भने अर्कोमा मासु धेरै खाने गरेको देखिएको थियो। र उनीहरूको अनुसार त्यो हड्डीजन्य खानेकुरा धेरै खाएका समूहहरू मानव जातिको वरपर धेरै बसेको हुनुपर्दछ। र सोही बेलातिर मानव जातिलाई लागेको हुनुपर्छ- ब्वाँसोहरू आफ्नो वरपर हुँदा अन्य जनावरहरूबाट उनीहरूलाई पनि सुरक्षा मिल्छ।
यी कुराहरू लामो समयको उपज हो। बिस्तारै मानव क्षेत्रमा बस्ने ब्वाँसोहरूमा मानवप्रतिको आत्मविश्वास बढ्दै गएको हुनुपर्छ। र त्यहीअनुसार मानव जातिले पनि आफूलाई उपयुक्त गुण भएका कुकुरहरूलाई आफ्नो क्षेत्रमा राख्दै बाँकीलाई धपाउँदै गरेको पनि हुन सक्छ, जसले गर्दा त्यही हाइपर सोसिएबिलिटीको आनुवंशिक विशेषताको कृत्रिम छनोट बढ्दै गयो।
२०१३ मा स्विडेनका वैज्ञानिकहरूले गरेका एउटा अध्ययनले त झन् रोचक तथ्य पत्ता लगायो। उनीहरूले ती क्यानिडमा एउटा यस्तो जिन भेटे जसले मांसाहारी आहारबाट अलि बढी स्टार्च पचाउन सक्ने अनुकूलनमा सहयोग गर्दथ्यो। घरपालुवा कुकुरहरूमा जङ्गली ब्वाँसोहरूमा भन्दा धेरै मात्रामा AMY2B जिन हुन्छ। यस जिनले एउटा यस्तो इन्जाइमको लागि कोड गर्छ जसले स्टार्चलाई टुक्र्याउन मद्दत गर्छ। स्टार्च भनेको एउटा जटिल प्रकारको कार्बोहाइड्रेट हो जुन गहुँ, चामल, आलु र मकैहरूमा धेरै हुने गर्छ। र कृषि क्रान्तिसँगैको मानवहरूको खानेकुराको विकास पनि कता कता यी हाम्रा पुराना साथीहरूसँग जोडिएको हुन सक्ने सो अध्ययनले सङ्केत दिन्छ।
रोचक कुरा त केही वैज्ञानिकहरूले त लामो समयदेखि कतै कुकुरहरूले आफैँ आफूलाई पाल्तुकरण गरेका पो हुन् कि भनेर प्रश्न सोध्दै आएका छन्। मानवको नजिकै बस्दा खान पनि पाइने र उनीहरूबाट सुरक्षा पनि पाइने। सायद यस्तै कुराले गर्दा उनीहरूलाई मानवहरूको नजिकै बस्नमा फाइदा हुँदै गयो र बिस्तारै उनीहरूले एकअर्काको साथ रुचाउँदै पनि गए।
तर, ठ्याक्कै कति बेला र कहाँ कुकुर र ब्वाँसो छुट्टिएका हुन् भन्ने कुरा भने जटिल नै देखिन्छ। त्यस बेलाका ब्वाँसो र कुकुरहरू हेर्दा उस्तै उस्तै हुने भएकोले गर्दा पनि भिन्नता छुट्याउन कठिन छ।
यही वर्षको मार्चमा नेचर जर्नलमा प्रकाशित अध्ययनले युरोपमा कुकुरहरूको जेनोमिक इतिहास खुलाएको थियो। उनीहरूले २१६ प्राचीन क्यानिड जीवावशेषहरूको अध्ययन गरेका थिए जसमा उनीहरूले १४१ नमुनाहरूमा कुकुरहरूलाई ब्वाँसोबाट छुट्याउन सकेका थिए। त्यस अध्ययनमा प्राप्त गरिएको सबैभन्दा पुरानो कुकुरको जिनोम १४,२०० वर्ष पुरानो थियो जुन स्विट्जरल्यान्डको केस्सरलक् गुफामा भेटिएको थियो। यस अध्ययनले पलेओलिथिकको पछिल्लो भागमा युरोपमा कुकुरहरू थिए भन्ने तथ्य स्थापित गरेको छ। अर्को अध्ययनले टर्कीको पिनारबासीबाट प्राप्त करिब १५,८०० वर्ष पुराना, तथा इङ्गल्यान्डको गफ्स गुफाबाट प्राप्त करिब १४,३०० वर्ष पुराना प्राचीन क्यानिड भेटेर पलेओलिथिकको पछिल्लो भागमा युरेसियामा व्यापक रूपमा कुकुरहरू फैलिसकेको देखाएको छ।
अब कुरा आउँछ कुकुरहरू कहाँ डोमेस्टिकेट भए त?
सुरु गरौँ एउटा रोचक प्रसङ्गबाट! २०१५ मा प्रकाशन भएको एउटा अध्ययनअनुसार कुकुरहरू पहिलो पटक नेपाल वा मङ्गोलियामा पाल्तुकरण भएको हो भन्ने अनुमान लगायो। तर, ठ्याक्कै २०१६ मा त्यस अध्ययनलाई प्रतिक्रिया दिँदै र त्यसमा भएको विश्लेषण नमिलेको हुन सक्ने भन्दै अर्को अनुसन्धान पत्र आयो। त्यस अध्ययनको अनुमानअनुसार नेपालभन्दा चीनको दक्षिण क्षेत्र कुकुरहरूको पाल्तुकरणको केन्द्र हुन सक्छ। ठ्याक्कै कुकुरहरू कहाँ पाल्तुकरण भए भनेर ठम्याउन गाह्रो छ, धेरै वैज्ञानिकहरूले त कतै कुकुरहरू पनि बिरालोजस्तो दुई स्वतन्त्र ठाउँहरूमा पो पाल्तुकरण भएका हुन् कि भन्ने प्रश्न पनि राख्दै आएका छन्। सायद कुनै दिन यो प्रश्नको उत्तर पनि भेटिएला।
तर, कुकुरहरू जहाँ पाल्तुकरण भए पनि आजको दिनमा कुकुरहरू मान्छेको आत्मीय साथीको रूपमा प्रख्यात छन्। नेपालमा त झन् हामी कुकुर तिहारमा यी साथीहरूलाई सम्मानका साथ पुज्छौँ।
हिन्दु धर्ममा कुकुरलाई मृत्युदेव यमराजका दूत र परलोकका रक्षक मान्ने गरिन्छ। त्यसैले कुकुरलाई सम्मान गर्दै पूजा गरे यमराज प्रसन्न हुने मान्यता छ। कुकुरलाई खुसी राखे मृत्युपछिको जीवन सहज हुने पनि बुझिन्छ। हरेक वर्ष कुकुर तिहारको दिन घरघरमा कुकुरहरूलाई फूलमाला र मिष्टान्न भोजनसहित पूजा गरिन्छ। पौराणिक कथासँग जोडिएकोले मात्र नभएर १४ हजार वर्षभन्दा पनि लामो अटुट साथको आदरले पनि कुकुरहरूको पूजा गरिन्छ होला।
के थाहा? कुनै दिन आउने अध्ययनले कुकुरहरू नेपालमै पो पाल्तुकरण भएका हुन् भनेर देखाउँछ कि? न त्यसैले पो नेपालको कुकुरहरूसँग यति राम्रो त अटुट सम्बन्ध छ?
प्रतिक्रिया 4