+
+
Shares

रसुवा बाढी प्रभावित वित्तीय क्षेत्र पुनर्स्थापना गर्न ६५ अर्ब लाग्ने

आयोग विवरण अनुसार सार्वजनिक कुल हानि-नोक्सानी ३ अर्ब ७ करोड ५५ लाख छ भने निजी क्षेत्रको कुल हानि-नोक्सानी ६१ अर्ब ९५ करोड ५५ लाख बराबर छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २२ गते १७:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवा बाढीबाट प्रभावित वित्तीय क्षेत्र पुनर्स्थापना गर्न ६५ अर्ब २१ करोड ५७ लाख रुपैयाँ लाग्ने राष्ट्रिय योजना आयोगले प्रारम्भिक अनुमान गरेको छ।
  • बाढीले १२ बैंकका १७ शाखामध्ये १५ शाखामा पूर्ण क्षति पुर्‍याएको छ, र ७८ हजार २ सय ४ निक्षेपकर्ता प्रभावित भएका छन्।
  • प्रभावित शाखाहरूमा २ अर्ब ४३ करोड कर्जा, ४ अर्ब ५० करोड निक्षेप, र २६ कर्मचारी अझै सम्पर्कमा नरहेको नेपाल बैंकर्स संघले जनाएको छ।

२२ कात्तिक, काठमाडौं । १० भदौमा आएको रसुवा बाढीका कारण प्रभावित वित्तीय क्षेत्र पुनर्स्थापना गर्न ६५ अर्ब २१ करोड लाग्ने देखिएको छ ।

राष्ट्रिय योजना आयोगको रसुवा–भाटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको क्षति र विपद्पछिको आवश्यकता मूल्यांकनको प्रारम्भिक विवरण अनुसार हानि–नोक्सानीभन्दा पुनर्स्थापनका लागि थप २१ करोड बढी लाग्ने भएको हो ।

आयोगको मूल्यांकन अनुसार बाढीले  सार्वजनिक क्षेत्रमा २३ करोड ५० लाख बराबर हानि पुर्‍याएको छ । त्यसैगरी निजी क्षेत्रको ११ करोड २० लाख हानि भएको छ । आयोगका अनुसार निजी क्षेत्रको नोक्सानी २ अर्ब ८४ करोड र सार्वजनिक क्षेत्रको ६१ अर्ब ८४ करोड बराबर नोक्सानी भएको छ ।

आयोग विवरण अनुसार सार्वजनिक कुल हानि–नोक्सानी ३ अर्ब ७ करोड ५५ लाख छ भने निजी क्षेत्रको कुल हानि–नोक्सानी ६१ अर्ब ९५ करोड ५५ लाख बराबर छ ।

आयोगको मूल्यांकनका आधारमा बाढी प्रभावित वित्तीय क्षेत्रको पुनर्स्थापनाका लागि कुल ६५ अर्ब २१ करोड ५७ लाख रुपैयाँ लाग्ने अनुमान छ । यसमा सार्वजनिक वित्त समेत समावेश छ ।

रसुवा बाढीका कारण विभिन्न बैंकका १५ शाखा कार्यालयमा पूर्ण क्षति पुगेको छ भने एउटा शाखा कार्यालय क्षतिग्रस्त अवस्थामा छ । बाढी क्षेत्रमा १२ बैंकका १७ शाखा थिए ।

प्रभावित बैंकका सबै शाखामा कुल ७८ हजार २ सय ४ निक्षेपकर्ता रहेको नेपाल बैंकर्स संघले जनाएको छ । बैंकहरूका ९ एटीएममा १ करोड १६ लाख ६३ हजार रुपैयाँ नगद थियो भने क्यास भल्टमा १७ करोड २४ लाख थियो । त्यसैगरी नगद काउन्टरमा १ करोड १७ लाख नगद रहेको संघको तथ्याङक छ ।

सोही क्षेत्रमा रहेका बैंकमध्ये कृषि विकास बैंकमा मात्रै लकर सुविधा रहेको र उक्त लकर पनि क्षतिग्रस्त भएको छ । त्यसैगरी बाढी गएको क्षेत्रमा ८ वटा एटीएम काउन्टर रहेको संघले जनाएको छ । बैंकका अधिकांश एटीएम काउन्टर पनि क्षतिग्रस्त भएका थिए ।

बैंकको भल्ट, काउन्टर र एटीएममा भएको नगदको बीमा हुने भएकाले संघले त्यसलाई क्षतिमा समावेश  गरेको थिएन । बाढी प्रभावित बैंकका शाखाहरूमा कुल २ हजार १ सय २५ ऋणी रहेको संघले जनाएको छ । संघका अनुसार प्रभावित क्षेत्रमा बैंकहरूले २ अर्ब ४३ करोड कर्जा लगानी गरेका छन् ।

बैंकहरूको यो कर्जा लगानी जलविद्युत् क्षेत्रमा गरेको बाहेक हो । ती शाखामा कुल निक्षेप ४ अर्ब ५० करोड छ । बाढीका कारण सबैभन्दा ठूलो क्षति कृषि विकास बैंकको देखिन्छ ।

बैंकको त्रिशूली शाखा पूर्णरूपमा क्षतिग्रस्त भएको थियो । साथै, सोही शाखामा बैंकको ६४ लकर बक्स प्रयोगमा भएकाले ग्राहकको सम्पत्तिमा समेत क्षति पुगेको थियो । लकरमा भएको सरसामानको बीमा नहुने भएकाले लकर प्रयोगकर्ता ग्राहकलाई मात्रै नोक्सानी भएको मानिन्छ ।

त्यस्तै लकरमा के राखेको भन्नेसमेत बैंकलाई जानकारी नहुने भएकाले त्यो विवरणमा समावेश गरिएको छैन । तर, सुन धितोमा कर्जा लिएको सुनको हकमा भने बीमा गरिएको हुन्छ । त्यस्तो धितोमा लिइएको सुनलाई पनि बैंकहरूले क्षतिमा गणना गरेका छैनन् ।

बाढीका कारण कृषि विकास बैंक, सिटिजन्स बैंक, ग्लोबल आईएमई बैंक, हिमालयन बैंक, लक्ष्मी सनराइज बैंक, माछापुच्छ्रे बैंक, एनएमबी बैंक, सानिमा बैंकका एक–एक शाखा कार्यलयमा क्षति पुगेको छ ।

त्यसैगरी प्रभु बैंकका दुई र एनआईसी एसिया बैंक तथा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका ३ शाखा कार्यलयमा क्षति पुगेको छ । साथै, लघुवित्त र सहकारी क्षेत्रमा पनि नोक्सानी पुगेको थियो । त्यसबाहेक बैंकहरूका २६ कर्मचारी अझै सम्पर्कमा छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?