News Summary
Generated by OK AI. Editorially reviewed.- गोल्याण फाउन्डेसनले काठमाडौं महानगरपालिका–१० नयाँ बानेश्वरमा सामुदायिक कुकुरका लागि तीनमहिने पाइलट अभियान सुरु गरेको छ ।
- अभियानअन्तर्गत कुकुरलाई पौष्टिक खाना, रेबिज, डिस्टेम्पर र क्यानाइन कोरोना भाइरसविरुद्ध खोप तथा नियमित स्वास्थ्य परीक्षण गरिनेछ ।
- फाउन्डेसनले रिफ्लेक्टिभ कलर दिने र तथ्याङ्क संकलन गरेर भविष्यमा अभियानलाई दिगो र वैज्ञानिक बनाउने ढाँचा तयार गर्ने जनाएको छ ।
आज सबैतिर धुमधामसँग कुकुर पूजा गरिरहँदा नयाँ बानेश्वरको परिदृश्य भने केही फरक देखियो । त्यहाँ कुकुरलाई फूलमालाले पूजा गर्ने र मीठोमसिनो खानेकुरा दिने विधि मात्र भइरहेको थिएन । बरु यी अबोध प्राणीहरूको हितमा एउटा अनुकरणीय उद्घोष हुँदै थियो ।
कार्यक्रम थियो, कुकुरप्रति समभाव जगाउन विशेष परियोजनाको तयारी । त्यहाँ एक दिन कुकुरको पूजाआजा गर्ने परम्परालाई वर्षभरि नै माया, करुणा र जिम्मेवारीपूर्ण व्यवहारमा रूपान्तरण गर्ने अभियानको थालनी भएको थियो । यो अभियान काठमाडौं महानगरपालिका–१०, नयाँ बानेश्वरस्थित छक्कुबक्कु टोलबाट शनिबार सुरु गरिएको हो ।
यसको अवधारणा र अगुवाइ गोल्याण फाउन्डेसनले गरिरहेको थियो । अभियानबाट सामुदायिक कुकुरको स्वास्थ्य र सुरक्षासँगै पशुजन्य रोगको जोखिम न्यूनीकरण तथा मानव र जनावरबीचको सहअस्तित्व प्रवर्द्धन हुने अपेक्षा गरिएको छ ।
गोल्याण फाउन्डेसनका अनुसार प्रारम्भिक चरणमा तीन महिनाको पाइलट परियोजनाका रूपमा अभियान सञ्चालन हुनेछ । अभियानअन्तर्गत सामुदायिक कुकुरलाई पौष्टिक खाना खुवाउने, आवश्यक खोप लगाउने र तिनीहरूको स्वास्थ्य तथा संरक्षणबारे जनचेतना अभिवृद्धि गरिनेछ ।
साथै, यस पाइलट परियोजनाको अवधिभर सामुदायिक कुकुरहरूको वास्तविक तथ्याङ्क, तिनीहरूको स्वास्थ्य अवस्था, व्यवस्थापनमा लाग्ने लागत र स्थानीय सहकार्यको प्रभावकारिता परीक्षण गरी अध्ययन गरिनेछ । यसरी प्राप्त तथ्याङ्कका आधारमा भविष्यमा यस्ता अभियानलाई दिगो र वैज्ञानिक बनाउने ठोस ढाँचा तयार गरिने फाउन्डेसनले जनाएको छ ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य रञ्जु दर्शनाले मान्छेको असल साथी र समुदायको सुरक्षा पहरेदार रहेका कुकुरप्रतिको सम्मानमा मानवीयता झल्किएको बताइन् ।
‘यो अभियान सुरु गरेर गोल्याण फाउन्डेसनले पशुप्रति उच्च मानवता प्रकट गरेको छ । सामुदायिक कुकुरको सम्मानले समुदायलाई समेत जिम्मेवार बनाएको छ,’ उनले भनिन् ।
गोल्याण ग्रुप तथा गोल्याण फाउन्डेसनका अध्यक्ष अक्षय गोल्याणले समुदायको असल साथी र बफादार सुरक्षापालक कुकुरको सुरक्षा र सम्मानमा अभियानले टेवा पुर्याउने बताए।
‘सम्मान गर्नलायक भएरै वर्षमा एक दिन कुकुरको पूजा गर्ने सांस्कृतिक परम्परा रहेको छ। यस्तो सम्मान र माया एक दिनमात्र होइन, हरेक दिन गर्नुपर्छ भनेर अभियान थालिएको हो,’ उनले भने ।
गोल्याण फाउन्डेसनकी प्रमुख कार्यकारी अधिकृत ज्योति गैह्रेले सडक तथा सार्वजनिक क्षेत्रमा आश्रित कुकुरको आधारभूत आवश्यकता पूरा गर्न र उनीहरूप्रति समाजको दृष्टिकोण सकारात्मक बनाउन अभियानले भूमिका खेल्ने बताइ न्। तीनमहिने पाइलट परियोजनाबाट प्राप्त अनुभव र उपलब्धिका आधारमा आगामी दिनमा अभियानलाई थप प्रभावकारी बनाउँदै लैजाने उनको भनाइ छ।
‘यो सहर र सडकमा सबैको उत्तिकै आफ्नोपन छ, जुन वास्तविकतालाई हामीले आत्मसात् गर्नुपर्दछ,’ उनले भनिन्, ‘गोल्याण फाउन्डेसनले सुरु गरेको अभियानले यही भावना बोकेको छ ।’
गैह्रेले पशुप्रेमी नभएका वा कुकुरसँग डराउने नागरिकहरूलाई समेत सकारात्मक अपिल गर्दै थपिन्, ‘सबैले कुकुरलाई माया गर्नैपर्छ भन्ने छैन, तर कम्तीमा ढुंगा नहान्न, दुर्व्यवहार नगर्न र खुवाउने स्वयंसेवकहरूलाई अवरोध नगर्न हामी सम्पूर्ण समुदायसँग आग्रह गर्दछौँ ।’
फाउन्डेसनले यस अभियानमा काठमाडौं महानगरपालिका र वडा नं. १० कार्यालयसँग समन्वय गरेको छ ।
अभियान सञ्चालनका लागि फाउन्डेसनका आफ्नै समर्पित स्वयंसेवक तथा साझेदारहरू खटिनेछन् । स्वयंसेवकहरूले आफ्नो तोकिएको क्षेत्रभित्रका सामुदायिक कुकुरलाई दैनिक एक छाक भात–मासुसहितको पोषिलो खानेकुरा दिनेछन् । त्यसैगरी भेटेरिनरी टोली र विशेषज्ञहरूबाट नियमित स्वास्थ्य परीक्षण तथा आवश्यकताअनुसार खोप लगाइनेछ ।
फाउन्डेसनले वडा नम्बर १० क्षेत्रभित्र रहेका सम्पूर्ण सामुदायिक कुकुरलाई रेबिज, डिस्टेम्पर र क्यानाइन कोरोना भाइरसविरुद्धको खोप लगाउने जिम्मेवारी लिएको छ । महानगरको समन्वयमा खोप अभियान सुरु गरिनेछ । यसका अतिरिक्त कुकुरहरूको नियमित स्वास्थ्य परीक्षणसमेत गरिनेछ। जुका, लुतो, एलर्जीजस्ता रोगको पहिचान गरी उपचार पनि गरिने फाउन्डेसनले जनाएको छ ।
अभियानमा समेटिएका र खोप लगाएका सामुदायिक कुकुरलाई पहिचान सङ्केत (रिफ्लेक्टिभ कलर) प्रदान गरिनेछ । यसले रातिको समयमा पनि कुकुरलाई देख्न सकिने हुँदा सडक दुर्घटनाको जोखिम घट्ने विश्वास लिइएको छ । पहिचान सङ्केतका आधारमा कार्यक्षेत्रमा रहेका कुकुरको सङ्ख्या गणना, खाना तथा खोपको व्यवस्थापन र सुरक्षा सतर्कता अपनाउन सहज हुने गोल्याण फाउन्डेसनले जनाएको छ ।

प्रतिक्रिया 4