+
+
Shares

ट्रम्पले भने : हुवाङलाई महिला चिनियाँ जासुस हो भन्ने थाहा थिएन

चीनले के भन्यो ?

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २४ गते ११:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एनभिडियाका सीईओ जेन्सेन हुवाङलाई चिनियाँ जासूससँगको कथित सम्बन्धबारे जानकारी नभएको र आफूले उनको कुरा विश्वास गर्ने बताए।
  • ट्रम्पले एनभिडियाको ब्ल्याकवेल चिप प्रविधि १० वर्ष अगाडि रहेको प्रशंसा गर्दै यस प्रकरणले अमेरिकी राष्ट्रिय सुरक्षामा खतरा नदेखिएको बताए।
  • एनभिडियाको बोर्डले छानबिन गरिरहँदा सेयरधनीहरूले कम्पनी र हुवाङविरुद्ध मुद्दा दायर गरेका छन्, भने चीनले जासुसीको आरोप बेबुनियाद भएको जनाएको छ।

२४ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार एनभिडियाका सीईओ जेन्सेन हुवाङको बचाउ गर्दै आफ्नो अफेयरमा रहेकी ती महिला चिनियाँ जासूस हुन् भन्ने कुरा हुवाङलाई जानकारी नभएको बताएका छन्।

हुवाङ एक असल मान्छे भएको बताउँदै ट्रम्पले यस घटनाबाट अमेरिकी सुरक्षामा कुनै खतरा नपुगेको विश्वास व्यक्त गरेका छन्। यता, चीनले भने आफूमाथि लागेको जासुसीको आरोप पूर्ण रूपमा बेबुनियाद भएको भन्दै खारेज गरेको छ।

ट्रम्पले आफैँ हुवाङसँग सोधेका थिए चिनियाँ महिलाको बारेमा ह्वाइट हाउसमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै ट्रम्पले यस मामिलाबारे सुनेर आफूलाई अचम्म लागेको बताए। उनले हुवाङलाई लामो समयदेखि चिनेको र उनी एक राम्रो व्यक्ति भएको बताएका छन्।

ट्रम्पले आफूले आफैँ हुवाङसँग कुरा गरेर ती महिलाको चिनियाँ गुप्तचर एजेन्सीसँगको कथित सम्बन्धबारे पहिले नै थाहा थियो वा थिएन भनेर सोधेको जानकारी दिए।

फक्स न्युजका अनुसार ट्रम्पले भने, ‘हुवाङले मलाई ती महिला जासूस हुन् भन्ने कुराको पत्तोसम्म नभएको बताए। म उनको कुरामा पूर्ण रूपमा विश्वास गर्छु।’

ट्रम्पको भनाइ– हुवाङको चिप प्रविधि १० वर्ष अगाडि छ

ट्रम्पले एनभिडियाको प्रविधि र हुवाङको इन्जिनियरिङ क्षमताको पनि खुलेर प्रशंसा गरे। कम्पनीको ‘ब्ल्याकवेल’ चिप प्रविधि दुनियाँमै सबैभन्दा अगाडि रहेको र यसको बनावट यति जटिल छ कि अन्य कम्पनीहरूले यसको नक्कलसमेत गर्न नसक्ने उनले बताए।

ट्रम्पले भने, ‘उनीसँग यस्तो चिप छ जसको प्रविधि १० वर्ष अगाडि छ। उनी एक कमालका मान्छे हुन्।’

यस प्रकरणबाट अमेरिकाको राष्ट्रिय सुरक्षामा खतरा उत्पन्न भएको आशङ्का बढेको सन्दर्भमा ट्रम्पले हालसम्म त्यस्तो कुनै समस्या नरहेको बताए। यदि कुनै खतरा सामने आए सरकारले जानकारी गराउने उनले स्पष्ट पारे।

ट्रम्पले यो विवादमा हुवाङको बयान पढेको र यस घटनाबाट हुवाङ निकै दुःखी रहेको उल्लेख गरे। विवादका कारण आफ्नो पत्नी र परिवारलाई पुगेको पीडाले हुवाङलाई सबैभन्दा बढी चिन्तित बनाएको उनको भनाइ थियो।

एनभिडिया बोर्डद्वारा पनि छानबिन जारी

हुवाङ कुनै विदेशी गुप्तचर एजेन्सीको जालमा त फसेका थिएनन् भन्ने विषयमा एनभिडियाको बोर्डले पनि छानबिन गरिरहेको छ। फक्स न्युजका अनुसार अमेरिकाको राष्ट्रिय सुरक्षा वा कम्पनीको गोप्य जानकारी खतरामा परेको कुनै पनि प्रमाण हालसम्म फेला नपरेको बोर्डले जनाएको छ।

यसैबीच, कम्पनीका सेयरधनीहरूले सोमबार एनभिडिया र हुवाङविरुद्ध अदालतमा मुद्दा दायर गरेका छन्। हुवाङको कथित सम्बन्धबारेको जानकारी कम्पनीले लगानीकर्ताहरूबाट लुकाएको उनीहरूको आरोप छ।

यो मामिला राष्ट्रिय सुरक्षासँग जोडिएको र यसले कम्पनीको छवि तथा व्यापारमा नोक्सान पुग्न सक्ने सेयरधनीहरूको तर्क छ।

रिपोर्टका अनुसार हुवाङले यसअघि कम्पनीका कर्मचारीहरूसँगको कुराकानीमा आफूले श्रीमतीलाई धोका दिएको स्वीकार गरेका थिए। यद्यपि, एलिस हुवाङसँगको कथित सम्बन्धबारे भने उनले खुलाएका थिएनन्।

चीनको प्रतिक्रिया– देशलाई बदनाम गर्ने कोसिस

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले सोमबार यस खबरमाथि प्रतिक्रिया दिएका छन्। द न्युयोर्क टाइम्सको रिपोर्टबारे सोधिएको प्रश्नमा उनले अमेरिकी गुप्तचर एजेन्सीहरूको हवाला दिँदै बेइजिङलाई गुप्तचर जानकारी दिइरहेकी भनिएकी ती चिनियाँ महिलासम्बन्धी दाबीहरू खारेज गरे।

गुओले भने, ‘यी खबरहरू बेबुनियाद आशङ्का मात्र हुन् र चीनलाई बदनाम गर्ने कोसिस हुन्।’

(एजेन्सीहरूको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?