News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालमा सुनको मूल्य एक वर्षमा प्रतितोला २ लाख ४१ हजार ५ सयबाट २ लाख ८४ हजार ३ सय रुपैयाँ पुगेको छ, र लगानीकर्ताले १७ प्रतिशत मूल्य प्रतिफल पाएका छन्।
- गत वर्षको माघ १५ गते सुन प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँसम्म पुगेको रेकर्ड बनेको थियो, जुन हालसम्मकै उच्च मूल्य हो।
- नेपालमा चाँदीको मूल्य पनि एक वर्षमा २५.७७ प्रतिशत बढेर प्रतितोला ३०६५ रुपैयाँबाट ३ हजार ८५५ रुपैयाँ पुगेको छ।
२४ कात्तिक, काठमाडौं । सुनमा लगानी गर्नेले एक वर्षमा १७ प्रतिशतको मूल्य प्रतिफल पाएका छन् । गत वर्ष कात्तिक २४ गते सुनको मूल्य नेपाली बजारमा प्रतितोला २ लाख ४१ हजार ५ सय रुपैयाँ थियो, जुन अहिले २ लाख ८४ हजार ३ सय रुपैयाँ पुगेको छ ।
यद्यपि गत वर्षको माघ १५ गते सुनको मूल्य तोलामा ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो । जुन नेपाली बजारमा हालसम्मकै उच्च मूल्य हो । उच्च मूल्यबाट भने प्रतितोला ५५ हजार रुपैयाँले सुनको भाउ घटिसकेको छ ।
नेपाली बजारमा एक वर्षमा सुनको मूल्य १७.७२ प्रतिशत बढे पनि अन्तर्राष्ट्रिय बजारमा जम्मा ३.५४ प्रतिशत बढेको छ । नेपालमा बजेटमार्फत बढाइएको भन्सार दर तथा अमेरिकी डलरको मूल्यवृद्धिका कारण अन्तर्राष्ट्रिय बजारको तुलनामा सुनको मूल्य वृद्धि उच्च देखिएको हो । गत बजेटमार्फत सरकारले सुनमा लाग्ने भन्सार दर १० बाट २० प्रतिशत पुर्याएको हो ।
त्यस्तै चाँदीले एक वर्षमा २५.७७ प्रतिशतको प्रतिफल दिएको छ । गत वर्षको कात्तिक २४ गते चाँदीको मूल्य प्रतितोला ३०६५ रुपैयाँ रहेकोमा हाल ३ हजार ८५५ रुपैयाँ छ ।
गत वर्षको माघ १५ गते चाँदीको मूल्य ७ हजार ५०५ रुपैयाँसम्म पुगेको रेकर्ड छ । त्यसयता भने चाँदीको मूल्य झन्डै आधा अर्थात् तोलामा ३ हजार ६५० रुपैयाँ घटिसकेको छ।
उच्च मूल्य पुगेका बेला सुन वा चाँदी खरिद गर्नेहरूले हाल मूल्य गुमाएका पनि छन् । तसर्थ सुनचाँदीमा जुनसुकै बेला वा जुनसुकै मूल्यमा गरिएको लगानीले छोटो अवधिमा प्रतिफल नदिन सक्छ, नोक्सानी नै बेहोर्नु पर्ने हुन सक्छ ।
अर्कोतर्फ नेपालमा घुमाउरो नीतिगत व्यवस्था गरी सुनमा लगानी प्रतिबन्ध गरिएको छ । नेपालमा काँचो वा ढिक्का सुन खरिद गर्न पनि पाइँदैन । यदि त्यस्तो सुन खरिदबिक्री भए अवैधानिक मानिन्छ ।
‘काँचो/ढिक्का सुन किनबेच गर्न वा खरिद गर्न पाइँदैन, यो अवैधानिक छ तर गहनाका रूपमा कसैले भौतिक रूपमा भने खरिद गरेर राख्न सक्छ’ नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रथम उपाध्यक्ष धर्मसुन्दर बज्राचार्य भन्छन् ।
गहनाका रुपमा लगानी गर्न सकिन्छ । यद्यपि गहनाका रुपमा खरिद गरेर राख्दा जर्ती तथा ज्याला शुल्क र सुरक्षणका लागि थप खर्च बढ्न जान्छ । गहनाका रूपमा सुन खरिद गर्दा व्यवसायीले कुल मूल्यको थप १२ प्रतिशतसम्म ज्याला तथा जर्ती शुल्क लिने गरेका छन् ।
त्यही गहना पछि बेच्दा बेचिएको दिनकै बजार मूल्य मात्रै पाइने हो । अर्थात्र, मूल्य स्थिर रहे जर्ती तथा ज्यालामा लागेको थप रकम नोक्सानी नै बेहोर्नुपर्छ ।
गहनाका रुपमा सामान्य डिजाइन गरी जर्ती नहालिकन पनि बनाउन सकिने व्यवसायी बताउँछन् । कतिपयले सुनलाई सामान्य रूपमा मोडेर बेरुवा रिङ वा बाला बनाएर राख्ने गर्छन् त्यसमा ज्याला ५ प्रतिशतभन्दा कम पर्छ । लगानी गर्नेले बेरूवा रिङ वा बाला बनाएर राख्न सक्ने व्यवसायीको भनाइ छ ।
अर्कोतर्फ, भौतिक रूपमा गरगहना किनिसकेपछि त्यसलाई घरमै राख्नु पनि जोखिम मानिन्छ । जुनसुकै बेला चोरिने वा अन्य आपराधिक घटना निम्तिन सक्ने जोखिम हुन्छ । बैंक लकरमा राख्दा वार्षिक न्यूनतम ३ हजारदेखि ठूलो साइजअनुसार शुल्क लाग्दछ ।
त्यस्तै न्यूनतम १० हजार रुपैयाँ बन्धकी राख्नुपर्छ । लकरमा राखिएको सामानमा पनि शतप्रतिशत सुरक्षाको सुनिश्चितता भने हुँदैन । यदि ठूला विपत्ति तथा संकटका कारण लकर नै नष्ट भएको खण्डमा ती सामानको क्षतिपूर्ति कसैले दिँदैन ।
अन्य मुलुकमा जस्तो नेपालमा डिजिटल सुनचाँदीको इकाइ खरिद गर्ने र डिजिटल माध्यमबाट सहजै ती इकाइ बेच्ने विकल्प छैन । भारतसहित अन्य मुलुकमा एक्स्चेन्ज ट्रेड फन्ड (ईटीएफ) मार्फत सुनचाँदीका इकाइ डिजिटल रूपमा खरिद गरी डिजिटल रूपमै बेच्न पाइने विकल्प प्रशस्त छन् ।
यहाँ ती विकल्प नभएकाले सुनचाँदीमा लगानी गर्नुपूर्व त्यसको मूल्य घट्दा हुने जोखिमदेखि सुरक्षासम्मको प्रबन्धमा ध्यान दिनुपर्ने हुन्छ ।
प्रतिक्रिया 4