News Summary
Generated by OK AI. Editorially reviewed.- धनकुटामा तिहारको देउसी–भैलोमा मौलिक भाका, बाजागाजा र नृत्य घट्दै गएको र साउन्ड सिस्टम तथा आधुनिक गीतले ठाउँ लिएको स्थानीयहरूले बताएका छन्।
- पत्रकार रमेश चन्द्र अधिकारीले देउसी–भैलोमा मौलिकता र सांस्कृतिक पक्षभन्दा आधुनिक शैली र दक्षिणा संकलनलाई बढी प्राथमिकता दिन थालिएको बताए।
- स्थानीयहरूले तीनै तहका सरकार, समुदाय, विद्यालय र युवापुस्तालाई मौलिक देउसी–भैलो संरक्षणमा सक्रिय हुन आग्रह गरेका छन्।
२४ कात्तिक, धनकुटा । तिहार भन्नेबित्तिकै झिलिमिली बत्ती, सयपत्री र मखमली फूल, घरआँगनमा बनाइने रंगोली अनि साँझपख गाउँबस्तीमा गुञ्जिने देउसी–भैलोका भाका स्मरणमा आउँछन् । तिहारको उल्लासलाई पूर्णता दिने देउसी–भैलो नेपाली समाजको मौलिक सांस्कृतिक पहिचानसँग जोडिएको परम्परा हो ।
मादल, खैँजडी र बाँसुरीको तालमा सामूहिक रुपमा गीत गाउँदै नाच्ने, घरघर पुगेर आशिष दिने र आपसी सद्भाव साटासाट गर्ने चलनले तिहारलाई थप विशेष बनाउँथ्यो । तिहारको समयमा गाउँका टोलटोलमा बालबालिका, युवायुवतीदेखि बूढापाकासम्म देउसी–भैलो खेल्न भेला हुन्थे । कसैले मादल बजाउँथे, कसैले खैँजडी र झ्यालीको ताल मिलाउँथे भने कसैले परम्परागत भाकामा गीत गाएर माहोल तताउँथे ।
घरधनीले पनि देउसी–भैलो टोलीलाई स्वागत गर्दै दक्षिणा दिने र उनीहरूबाट आशीर्वाद लिने गर्थे । यसरी देउसी-भैलो मनोरञ्जनको माध्यम मात्र नभई सामाजिक सम्बन्ध विस्तार, आपसी सद्भाव र सांस्कृतिक पुस्तान्तरणको माध्यमसमेत बनेको थियो ।
तर, समयक्रमसँगै देउसी–भैलो खेल्ने शैलीमा परिवर्तन आएको छ । आधुनिकताको प्रभाव, प्रविधिको बढ्दो प्रयोग र नयाँ पुस्ताको रुचिमा आएको परिवर्तनसँगै परम्परागत देउसी–भैलोको मौलिकता हराउँदै गएको छ । पहिले मादल र खैँजडीको तालमा गुञ्जिने देउसी–भैलो अहिले साउन्ड सिस्टम र रेकर्ड गरिएका आधुनिक गीतमा सीमित हुन थालेको छ । नेपाली मौलिक भाकाको सट्टा हिन्दी गीत, आधुनिक पप तथा र्याप गीत बजाएर नाच्ने प्रवृत्ति बढ्दै गएको छ ।
मौलिक भाकाको ठाउँमा आधुनिक गीत
पहिले देउसी–भैलो खेल्न जाने समूहले आफ्नै मौलिक गीत तयार पार्ने गर्थे । गाउँघरका घटना, सामाजिक परिवेश, धार्मिक विश्वास, प्रकृति र स्थानीय जीवनशैली झल्किने शब्दहरू गीतमा समेटिन्थे । देउसीका भाका र भट्याइमा हास्यव्यङ्ग्य, आशिष, शुभकामना र सामाजिक सन्देशसमेत पाइन्थ्यो । भैलोमा महिलाहरूको सामूहिक सहभागिता र परम्परागत नृत्यले सांस्कृतिक वातावरणलाई जीवन्त बनाउँथ्यो । सोरठी, पैसेरी, मयुर र मारुनीजस्ता लोकनृत्य देउसी–भैलोका आकर्षण मानिन्थे । स्थानीय भेषभूषा, मौलिक बाजागाजा र परम्परागत गीतसंगीतले नेपाली संस्कृतिको छुट्टै पहिचान प्रस्तुत गर्थे । तर अहिले यस्ता नृत्य र प्रस्तुतिहरू कमै देख्न पाइन्छन्। कतिपय समूहले साउन्ड सिस्टमबाट गीत बजाएर त्यसैको तालमा नाच्ने गरेका छन् ।
यसले देउसी–भैलोमा सहभागी हुनेको संख्या र मनोरञ्जनको शैलीमा परिवर्तन ल्याए पनि परम्परागत गीत, संगीत र नृत्यलाई विस्थापित गर्दै लगेको छ । पहिले आफैँ गीत गाउने र बाजा बजाउने अभ्यास हुन्थ्यो भने अहिले प्रविधिबाट तयार पारिएका गीतमा नाच्ने प्रवृत्ति बढेको छ । अहिले देउसी–भैलोमा मौलिकता र सांस्कृतिक पक्षभन्दा आधुनिक शैली र दक्षिणा संकलनलाई बढी प्राथमिकता दिन थालिएको छ पत्रकार रमेश चन्द्र अधिकारीले बताए । आफूहरू बच्चा बेलाको परम्परागत गीतसंगीत र नृत्यको अभ्यास अहिले घट्दै गएको उनको भनाइ छ ।
दक्षिणा संकलन मुख्य उद्देश्य बन्दै
देउसी–भैलोको अर्को महत्वपूर्ण पक्ष दक्षिणा र दानसँग जोडिएको छ । परम्परागत रुपमा देउसी–भैलो टोलीले घरघर पुगेर गीत गाउने, घरधनीलाई शुभकामना र आशीर्वाद दिने तथा घरधनीले आफ्नो इच्छाअनुसार दक्षिणा दिने चलन थियो । यसमा मनोरञ्जनसँगै धार्मिक, सामाजिक र सांस्कृतिक भावना जोडिएको हुन्थ्यो । तर पछिल्लो समय कतिपय समूहमा दक्षिणा संकलनलाई नै प्रमुख उद्देश्य बनाउने प्रवृत्ति देखिन थालेको छ । आकर्षक प्रस्तुति, ठूलो साउन्ड सिस्टम र आधुनिक गीतसंगीतको प्रयोग गरेर बढी दक्षिणा संकलन गर्ने प्रतिस्पर्धा हुन थालेको पाइन्छ । यस क्रममा परम्परागत भाका र नृत्यभन्दा आधुनिक शैलीलाई प्राथमिकता दिने गरिएको छ ।
दक्षिणा संकलन आफैँमा गलत होइन । तर, देउसी–भैलोको मूल मर्म र सांस्कृतिक पहिचानलाई बिर्सेर आर्थिक पक्षलाई मात्र महत्व दिइनु उचित मान्न सकिँदैन । संस्कृतिसँग जोडिएको परम्परालाई केवल आर्थिक संकलनको माध्यमका रुपमा बुझ्न थालिएमा यसको मौलिक महत्व क्रमशः कमजोर हुँदै गएको धनकुटाका स्थानीय ऋषिराम ढुंगानाले बताए ।
प्रविधि र देखासिकीको प्रभाव
सूचना तथा प्रविधिको तीव्र विकासले मानिसको जीवनशैलीसँगै चाडपर्व मनाउने तौरतरिकामा समेत परिवर्तन ल्याएको छ । सामाजिक सञ्जाल, युट्युब र विभिन्न डिजिटल माध्यममा उपलब्ध गीतसंगीतले नयाँ पुस्ताको रुचि र अभ्यासलाई प्रभावित गरेको छ । अरु ठाउँमा देखिएका आधुनिक प्रस्तुति नक्कल गर्ने प्रवृत्तिले पनि स्थानीय मौलिक शैलीलाई ओझेलमा पारेको छ । आधुनिक गीतमा नाच्नु, नयाँ प्रविधि प्रयोग गर्नु वा देउसी–भैलोमा नयाँ शैली अपनाउनु आफैँमा समस्या भने होइन । समस्या भनेको नयाँपन अपनाउने क्रममा पुरानो सांस्कृतिक सम्पदालाई बिर्सनु रहेको छ । प्रविधिको उपयोग गरेर पनि मौलिक गीत, भाका र नृत्यलाई नयाँ पुस्तामाझ लोकप्रिय बनाउन सकिन्छ । तर यसतर्फ पर्याप्त ध्यान नदिँदा पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको सांस्कृतिक अभ्यास कमजोर बन्दै गएको छ ।
पुस्तान्तरण नहुँदा संकटमा लोकसंस्कृति
कुनै पनि संस्कृतिको निरन्तरता त्यसलाई नयाँ पुस्ताले ग्रहण गर्ने र व्यवहारमा उतार्ने अभ्यासमा निर्भर हुन्छ । पुरानो पुस्ताले अनुभव र अभ्यासबाट सिकेका लोकगीत, बाजागाजा र नृत्य नयाँ पुस्तामा हस्तान्तरण हुन नसकेमा ती परम्परा क्रमशः लोप हुँदै जाने गरेका छन् । पहिले घरपरिवार र गाउँसमुदायमै देउसी–भैलोका गीत तथा भाका सिक्ने वातावरण हुन्थ्यो । बालबालिकाले बूढापाकाबाट गीत सिक्थे, युवायुवतीले बाजा बजाउन र नाच्न सिक्थे । यसरी एउटा पुस्ताबाट अर्को पुस्तामा संस्कृति हस्तान्तरण हुन्थ्यो । अहिले यस्तो अभ्यास घट्दै गएको छ ।
नयाँ पुस्तालाई मौलिक देउसी–भैलोको महत्व, इतिहास र सांस्कृतिक पक्षबारे जानकारी गराउन आवश्यक रहेको धनकुटा नगरपालिकामा कार्यरत उपेन्द्र खनालले बताए । पुरानो पुस्तासँग रहेका अनुभव र ज्ञानलाई अभिलेखीकरण गर्ने तथा स्थानीय लोकगीत र नृत्यको संरक्षण गर्ने काम पनि उत्तिकै महत्वपूर्ण रहेको उनको भनाइ छ । संस्कृति संरक्षणका लागि मौलिक देउसी–भैलोको महत्व र मर्म जोगाउन सबै पक्ष लाग्नुपर्ने खनालको भनाइ छ । उनका अनुसार आधुनिकताको प्रभावले परम्परागत सांस्कृतिक अभ्यास कमजोर हुँदै गएको अवस्थामा यसको संरक्षणका लागि तीनै तहका सरकार, समुदाय, अभिभावक र युवापुस्ताको सक्रियता आवश्यक छ ।
संरक्षणमा युवापुस्ताको भूमिका महत्वपूर्णमौलिक देउसी–भैलो संरक्षण गर्नु पुरानो पुस्ताको मात्र जिम्मेवारी होइन । नयाँ पुस्ताले पनि आफ्नो सांस्कृतिक पहिचानप्रति चासो राख्दै संरक्षणको अभियानमा सक्रिय हुन आवश्यक छ । आधुनिक प्रविधि र सिर्जनात्मक शैलीलाई प्रयोग गरेर मौलिक देउसी–भैलोलाई नयाँ पुस्तामाझ आकर्षक बनाउन सकिने नागरिक समाज धनकुटाका अध्यक्ष दोर्णप्रसाद गुरागाईले बताए ।
स्थानीय तह, विद्यालय, युवा क्लब, सांस्कृतिक संस्था र नागरिक समाजले मौलिक देउसी–भैलो प्रतियोगिता आयोजना गर्न सक्ने गुरागाईको भनाइ छ । परम्परागत गीत, नृत्य, बाजागाजा र भेषभूषालाई प्राथमिकता दिएर कार्यक्रम सञ्चालन गर्न सके नयाँ पुस्तामा लोकसंस्कृतिप्रति आकर्षण बढाउन सकिने उनको भनाइ छ ।
त्यस्तै, पुराना लोकगीत, भाका र नृत्यको श्रव्यदृश्य अभिलेख तयार पारेर भावी पुस्ताका लागि सुरक्षित राख्न सकिने गुरागाईले बताए । स्थानीय कलाकार र संस्कृतिसम्बन्धी जानकारलाई सहभागी गराएर प्रशिक्षण कार्यक्रम सञ्चालन गर्नु पनि प्रभावकारी हुन सक्ने देखिएको छ । विद्यालय तहदेखि नै स्थानीय संस्कृति र परम्पराको महत्वबारे जानकारी गराउन सके बालबालिकामा सानैदेखि सांस्कृतिक चेतना विकास गर्न सहयोग पुग्ने जानकारहरू बताउँछन् ।
प्रतिक्रिया 4