+
+
Shares

मिथिला क्षेत्रमा आज भैयादुज : दाजुभाइको दीर्घायु र कल्याणको कामना

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २५ गते ६:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • महोत्तरीसहित मिथिला क्षेत्रमा आज दाजुभाइको दीर्घायु, सुख र समृद्धिको कामना गर्दै भैयादुज पर्व उल्लासका साथ मनाइँदैछ।
  • कात्तिक शुक्ल द्वितीयासँगै यसवर्षको दीपावली विधिवत् रूपमा समापन हुँदैछ, र तिथिको घटबढले पर्व ६ दिनसम्म लम्बिएको छ।
  • भैयादुजमा दिदीबहिनीले पिठारले अरिपन बनाएर दाजुभाइलाई पूज्ने, सप्तरङ्गी टीका लगाउने र ‘बजरी खुवाउने’ परम्परा छ।

२५ कात्तिक, महोत्तरी । तिहार (दीपावली) को अन्तिम दिन आज मिथिला क्षेत्रमा दाजुभाइको दीर्घायु, सुख र समृद्धिको कामना गर्दै ‘भैयादुज’ पर्व उल्लासका साथ मनाइँदैछ। 

कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने यस पर्वसँगै यसवर्षको दीपावली विधिवत् रूपमा समापन हुँदैछ। तिथिको घटबढका कारण कात्तिक कृष्ण त्रयोदशी (धनतेरस) बाट सुरु भएको यस वर्षको दीपावली ५ दिनको साटो ६ दिनसम्म लम्बिएको छ।

मधेस प्रदेशको महोत्तरीसहित सम्पूर्ण मिथिला क्षेत्रका दिदीबहिनी आज दाजुभाइको पूजनमा व्यस्त छन्। मिथिला परम्परामा यस पर्वलाई भैयादुज, भरद्वितीया र भ्रातृद्वितीया पनि भनिन्छ। 

विवाहित दिदीबहिनीले दाजुभाइलाई आफ्नै घरमा निम्त्याएर पूजा गर्ने चलन छ भने अविवाहितहरूले स्वनिवासमै यो पर्व मनाउँछन्।

यस्तो छ पूजा र ‘बजरी खुवाउने’ विधि 

पहाडी समुदायमा मनाइने भाइटीका र मैथिल समुदायको भैयादुजको पौराणिक कथावस्तु एउटै भए पनि पूजा विधि भने केही फरक छ।

भैयादुजमा दिदीबहिनीले घरमा ‘पिठार’ (पानीमा घोलिएको अरवा चामलको पिठो) ले ‘अरिपन’ अर्थात् चतुर्भुज आकारको घेरा बनाउँछन्। उक्त घेराभित्र काठको पिरामा दाजुभाइलाई बसाएर कोपरामा राखी तातोपानीले गोडा धुने परम्परा छ। 

त्यसपछि अञ्जुली फैलाएका दाजुभाइलाई पिठार, पानको पात र सुपारी दिएर सप्तरङ्गी टीका लगाइदिइन्छ र गङ्गा-यमुनाको जस्तै वेग तथा कीर्ति कायम रहोस् भन्दै गीत गाइन्छ।

यस क्रममा दाजुभाइलाई सुकेको कडा केराउ चपाउन दिइन्छ, जसलाई ‘बजरी खुवाउने’ भनिन्छ। जलेश्वर नगरपालिका–५ पर्साकी सामाजिक अगुवा अनिता शर्माका अनुसार कडा केराउको दानालाई वज्रसँग तुलना गर्दै दाजुभाइको शरीर वज्रझैँ बलियो र कठोर होस् भन्ने कामनासहित यो विधि गरिन्छ।

मटिहानीस्थित राजकीय संस्कृत माध्यमिक विद्यालयका शिक्षक तथा मैथिल लोकसंस्कृतिका जानकार शोभाकान्त झाका अनुसार सत्ययुगमा राजा बलिका बहिनीहरू गङ्गा र यमुनाले दाजुको सौर्य र दीर्घायुको कामना गर्दै टीका लगाइदिएको पौराणिक कथासँग यो पर्व जोडिएको छ। 

पूजा विधि पूरा भएपछि दाजुभाइले दिदीबहिनीको आँचलमा नयाँ वस्त्र, आभूषण र नगद दक्षिणा राखिदिने र दिदीबहिनीले मिष्ठान्न भोजन गराउने चलन छ।

भ्रातृत्व र सद्भावका अन्य पर्व 

मिथिलामा दाजुभाइ र दिदीबहिनीबीचको आत्मीयता प्रगाढ बनाउने भैयादुज जस्तै अन्य पर्वहरू पनि छन्। साउन पूर्णिमामा मनाइने ‘राखी पर्व’ र कात्तिक शुक्ल पञ्चमीदेखि पूर्णिमासम्म मनाइने ‘सामाचकेवा’ पर्वले पनि दाजुभाइ तथा दिदीबहिनीबीचको आपसी प्रेम, पारिवारिक सद्भाव, समर्पण र त्यागलाई प्रतिविम्बित गर्ने मैथिल अगुवाहरू बताउँछन्। रासस

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?