२५ कात्तिक, जनकपुरधाम । धनुषाको बटेश्वर गाउँपालिकाका १२७ जना राष्ट्रसेवक कर्मचारी ‘बटेश्वर रत्न’ सम्मानबाट सम्मानित भएका छन् ।
बटेश्वर गाउँपालिकाका स्थायी बासिन्दा भई सरकारी सेवामा स्थायी रूपमा देशका विभिन्न ठाउँमा कार्यरत कर्मचारीलाई बटेश्वर नागरिक समाजले ‘बटेश्वर रत्न २०८३’ बाट सम्मान गरेको हो ।
मंगलबार बटेश्वरस्थित शिवशक्ति माध्यमिक विद्यालयमा आयोजित समारोहमा उपस्थित १२७ जना कर्मचारीलाई सम्मान गरिएको नागरिक समाजका संयोजक डा. सुनिल सिंहले जानकारी दिए ।
गाउँपालिकाका पाँचवटै वडाबाट अनलाइन तथा प्रत्यक्ष रूपमा तथ्यांक संकलन गरी भौतिक रूपमा समारोहमा सहभागी हुन सकेका १२७ जना कर्मचारीलाई पहिलो चरणमा सम्मान गरिएको हो । सरकारी सेवामा प्रवेश गरेका कर्मचारीको मनोबल बढाउने, जन्मभूमिप्रतिको अपनत्व र उत्तरदायित्वको भावना जागृत गराउने तथा नयाँ पुस्तालाई लोकसेवा आयोगको प्रतिस्पर्धामा सहभागी हुन प्रेरित गर्ने उद्देश्यले समारोह आयोजना गरिएको नागरिक समाजले जनाएको छ ।
समारोहको उद्घाटन स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै पृथक शैलीमा गरिएको थियो । स्थानीय कृषि उपज, माटो तथा बाँसबाट निर्मित भाँडाकुँडा र अन्य वस्तुको प्रदर्शनीमार्फत स्थानीय उत्पादनको महत्त्वबारे सन्देश दिइएको थियो । स्थानीय उत्पादनमा योगदान पुर्याउने उत्पादकलाई समेत सम्मान गरिएको थियो ।
आगामी वर्षदेखि निश्चित मापदण्ड बनाएर सरकारी सेवा, कृषि, उद्योग, व्यवसाय, सञ्चारलगायत विभिन्न क्षेत्रमा उत्कृष्ट काम गर्ने तथा समाजमा योगदान पुर्याउने व्यक्तिको पहिचान र छनोट गरी ‘बटेश्वर रत्न’बाट सम्मान गर्ने लक्ष्य रहेको कार्यक्रम संयोजक एवं स्थानीय बासिन्दा पत्रकार शैलेन्द्र महतो ‘क्रान्ति’ले जानकारी दिए । उनले नागरिक समाजको आगामी वार्षिक कार्यक्रमसमेत प्रस्तुत गरेका थिए ।
समारोहमा प्रमुख अतिथिका रूपमा धनुषा क्षेत्र नं. ४ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य एवं बटेश्वरवासी राजकिशोर महतो सहभागी थिए ।
विशिष्ट अतिथिमा बटेश्वर गाउँपालिका अध्यक्ष रामअशिष महतो, जनकपुरधामस्थित कबिर बालवात्सल्य आश्रमका सञ्चालक सन्त सत्यनारायण आलोक, बटेश्वरवासी एवं महालेखा परीक्षकको कार्यालयका नायब महालेखापरीक्षक तथा सहसचिव रामप्रकाश महतो र हुलाकी सडक निर्देशनालय जनकपुरका प्रमुख कृष्णकुमार महतो सहभागी थिए । उनीहरूबाट राष्ट्रसेवक कर्मचारीलाई सम्मान गरिएको थियो ।
सम्मान कार्यक्रम सञ्चालनमा बटेश्वर गाउँपालिका वडा नं. १ का अध्यक्ष अशोककुमार महतो, वडा नं. ३ का अध्यक्ष राममणि कुशवाहा र वडा नं. ५ का अध्यक्ष शिवकरण यादव तथा शिवशक्ति माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रमोदशरण केवटलगायतले सहयोग गरेका थिए ।
रक्तदानको भावना जागृत गराउने उद्देश्यले समारोहको अवसरमा नेपाल रेडक्रस सोसाइटी जनकपुर र ब्लड फर नेपालको सहयोगमा रक्तदान कार्यक्रमसमेत आयोजना गरिएको थियो । कार्यक्रममा ३३ जनाले रक्तदान गरेको ब्लड फर नेपालका अध्यक्ष सरोजकुमार महतोले जानकारी दिए ।
विभिन्न क्षेत्रमा कार्यरत सचेत युवा तथा प्रबुद्ध नागरिकको पहलमा गठन भएको बटेश्वर नागरिक समाजले समाज रूपान्तरणका लागि सकारात्मक कामलाई प्रोत्साहन गर्ने र नकारात्मक गतिविधिविरुद्ध खबरदारी गर्ने उद्देश्य लिएको छ ।
समाजले बटेश्वरको इतिहास, धार्मिक धरोहर तथा सम्पदा, सरकारी सेवा, कृषि, उद्योग, व्यवसायलगायत क्षेत्रका उपलब्धि, सफलता र संघर्षका कथा समेटेर ‘बटेश्वर स्मारिका’ नामक पुस्तकसमेत वार्षिक रूपमा प्रकाशन गर्ने लक्ष्य राखेको समारोहका सञ्चालक शत्रुधन शर्माले जानकारी दिए ।
प्रतिक्रिया 4