२१ असार, जनकपुरधाम । धनुषाको बटेश्वर गाउँपालिकामा युवाको नेतृत्व क्षमता, नागरिक चेतना तथा व्यावसायिक सीप विकास गर्ने उद्देश्यले दुई दिने ‘उडान : बटेश्वर युवा कार्यक्रम–२०८३’ सम्पन्न भएको छ ।
कार्यक्रमको समापनसँगै सहभागी युवाले १२ बुँदे ‘उडान बटेश्वर युवा संकल्प–पत्र, २०८३’ सार्वजनिक गरेका छन् ।
बटेश्वर युवा सञ्जालको आयोजनामा सम्पन्न भएको कार्यक्रममा ८५ जना युवा प्रत्यक्ष सहभागी भएका थिए । दुई दिनसम्म सञ्चालन भएको कार्यक्रममा नेतृत्व विकास, प्रभावकारी सञ्चार, नेपालको संविधान, संघीय शासन प्रणाली, स्थानीय सरकार, निर्वाचन प्रणाली, नागरिक सहभागिता, व्यक्तिगत तथा व्यावसायिक विकासलगायत विषयमा प्रशिक्षण प्रदान गरिएको छ ।
कार्यक्रमका विभिन्न सत्रमा निर्वाचनमा नागरिकको सहभागिता, मतदाताको भूमिका, सामाजिक उत्तरदायित्व तथा समुदाय विकासमा युवाको योगदानबारे पनि जानकारी गराइएको सञ्जालका संयोजक सरोजकुमार महतोले बताए ।
समापनका अवसरमा सार्वजनिक गरिएको १२ बुँदे युवा संकल्प–पत्र मार्फत सहभागीहरूले नैतिक नेतृत्व, नागरिक जिम्मेवारी, स्वयंसेवा, लोकतान्त्रिक मूल्य, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा बटेश्वरको समृद्धिका लागि सक्रिय भूमिका निर्वाह गर्ने सामूहिक प्रतिबद्धता व्यक्त गरेका छन् ।
कार्यक्रमका संयोजक महतोले ‘उडान’ दुईदिने प्रशिक्षणमा मात्र सीमित नभई युवालाई नेतृत्व, ज्ञान र सेवामार्फत समुदायमा सकारात्मक परिवर्तनका लागि प्रेरित गर्ने अभियान भएको बताए ।
प्रतिक्रिया 4