News Summary
Generated by OK AI. Editorially reviewed.- भीमफेदी गाउँपालिकाको देउराली सडकखण्डअन्तर्गत चिसापानी गढी नजिक भ्यान भिरबाट खस्दा ११ जनाको मृत्यु र ६ जना घाइते भएका छन्।
- मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले बुधबार सर्लाहीबाट फर्केर पर्याप्त आराम नलिएको चालकले राति २ बजेदेखि यात्रु संकलन गरेको बताए।
- प्रहरी चेकपोस्टमा यात्रु विवरण अद्यावधिक नभएको र टाइम कार्ड प्रभावकारी नहुँदा दुर्घटना रोकथाम तथा मृतक सनाखतमा समस्या भएको अधिकारीले बताए।
२६ कात्तिक, हेटौंडा । भीमफेदी गाउँपालिकाको देउराली सडक खण्डअन्तर्गत चिसापानी गढी नजिक भिरबाट एउटा यात्रुबहाक भ्यान दुर्घटना भएको छ । जसमा परी ११ जनाको घटनास्थलमै मृत्यु भृको छ भने ६ जना घाइते छन् ।
मधेश प्रदेश ०३-००१ ज ०८८० नम्बरको भ्यान बिहीबार बिहान पौने ६ बजे सडकबाट करिब ५०० मिटर तल खसेको थियो ।
यो दुर्घटनाले फेरि सवारी सुरक्षाको बहसमा सम्झाइदिएको छ । लामो दुरीमा चलाउने चालकहरूमा पर्ने धपेडी, चाडबाडमा हुने यात्रुहरूको चाप र सडकको अवस्था लगायतका विषय एकैपटक बहसमा आएका छन् ।
काठमाडौंबाट सर्लाहीका लागि हिँडेको गाडीले रातको २ बजेदेखि यात्रु संकलन गर्न थालेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले अनलाइनखबरलाई जानकारी दिए । यो गाडी बुधबारै नै सर्लाहीबाट हिँडेर काठमाडौं आएको थियो । काठमाडौंबाट मध्यराती नै सर्लाही जाने यात्रु भेला गरेर हिँडेको थियो ।
`घाइतेहरूका अनुसार राति २ बजेदेखि चालकले यात्रु संकलन गर्दै हिँडेका रहेछन् । बुधबार सर्लाहीबाट फर्किएको रहेछ,´अधिकारीले भने, `चालकले पर्याप्त आराम र निन्द्रा नपुगेको देखियो । २ बजेदेखि यात्रु चढाउन थालेकोले अनुसारले चालक १ बजे नै उठेको हुनुपर्छ ।´ बुधबार सर्लाहीबाट फर्किएर पर्याप्त आराम नलिँदै र अनिँदो अवस्थामै चालक पुनः यात्रु बोकेर हिँड्नु नै जोखिम देखिएको प्रजिअ अधिकारीको भनाई छ ।
दुर्घटनामा सर्लाहीको कबिलासी गाउँपालिका-८ का करिब ३० वर्षीय चालक रविशंकर कुमार मण्डलको मृत्यु भएको छ । अन्य मृतकहरू सर्लाहीको चक्रघट्टा गाउँपालिका-४ सुन्दरपुर टोलका हुन् ।
मृत्यु हुनेमा २६ वर्षीय विकेश यादव, ३५ वर्षीय पुनम यादव, ७ वर्षीया दिक्षा यादव, ५ वर्षीया दिपिका यादव, १० वर्षीया अनुकुमारी यादव, अन्दाजी ३५ वर्षीय गुड्डु यादव, ३० वर्षीया गायत्री देवी, २५ वर्षीय रामदुलार यादव, २४ वर्षीय सुबोध यादव र १५ वर्षीय रोहन यादव रहेको प्रहरी नायव उपरीक्षक माधव काफ्लेले जानकारी दिए ।
रातभर यात्रु संकलन गर्दै सवारी चलाएका थकित तथा अनिँदो चालक, प्रहरी चेकपोस्टमा यात्रु र सवारीको विवरण अद्यावधिक नहुनु तथा टाइम कार्ड कार्यान्वयनमा नआउनुले मकवानपुरमा भएको भीषण सवारी दुर्घटनामा सुरक्षा व्यवस्थामाथि प्रश्न उठाएको छ ।
घाइतेहरूका अनुसार दुर्घटनास्थलमा केहीबेर रोकिएको गाडी पुनः स्टार्ट गरेर अगाडि बढाउन खोज्दा अनियन्त्रित भई भीरबाट खसेको थियो ।
घाइते मुकेश यादवले यात्रुहरू पनि निदाइरहेको अवस्थामा गाडी भीरबाट खसेको बताए । घाइतेहरूका अनुसार यात्रुहरू एउटै गाउँटोलका थिए र छठ पर्व मनाउन घर फर्किरहेका थिए।

प्रहरी चेकपोस्ट सवारी र यात्रु विवरणबारे बेखबर
दुर्घटनापछि मृतकहरूको पहिचान गर्नसमेत समस्या भएको छ । प्रमुख जिल्ला अधिकारी अधिकारीका अनुसार रातिको समयमा प्रहरी चेकपोस्टमा यात्रुहरूको विवरण अद्यावधिक हुन सकेको थिएन । फर्पिङ प्रहरी चेकपोस्टमा समेत उक्त गाडीका यात्रुको विवरण नरहेको उनले बताए ।
काठमाडौं-हेटौंडा छोटो मार्गमा सवारी आवागमन हुने फर्पिङ-फाखेल-कुलेखानी खण्डमा फर्पिङ र फाखेलमा प्रहरी चेकपोस्ट छन् । त्यस्तै सिस्नेरी बजार, भीमफेदी बजारस्थित इलाका प्रहरी कार्यालय, भैंसे प्रहरी चौकी र हेटौंडा प्रवेशपछि चौकीटोल प्रहरी चौकी रहेका छन् । तर दुर्घटनाग्रस्त विवरण कुनै पनि प्रहरी चौकीमा दर्ता नभएको पाइएको अधिकारीले बताए ।
यस मार्गमा सवारी साधनको गति तथा सञ्चालन समय व्यवस्थापनका लागि लागू हुनुपर्ने टाइम कार्डसमेत प्रभावकारी रूपमा कार्यान्वयनमा आउन नसकेको उनले बताए।
रातभर सवारी चलाउँदा चालकको थकान, यात्रुको विवरण अभिलेख नहुनु र चेकपोस्टको निगरानी प्रभावकारी नदेखिनुले दुर्घटना रोकथामका लागि अपनाउनुपर्ने सुरक्षा व्यवस्थामै कमजोरी देखिएको छ ।
यात्रु सूची राख्नुपर्ने कानुनी व्यवस्था कार्यान्वयन भएन
सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ को नियम ५१ ले सार्वजनिक सवारीमा यात्रुको विवरण राख्नुपर्ने व्यवस्था गरेको छ ।
नियम ५१(१) अनुसार अनुसूची-५८ बमोजिम यात्रु सूची तयार गर्नुपर्छ । त्यस्तै नियम ५१(२) अनुसार बाटोमा थप चढ्ने यात्रुको नामसमेत यात्रु सूचीमा समावेश गर्नुपर्ने व्यवस्था छ ।
नियमावलीले बाटोमा पर्ने प्रहरी कार्यालय तथा चेकपोस्टलाई समेत यात्रु सूचीको प्रति उपलब्ध गराउनुपर्ने व्यवस्था गरेको छ ।
तर दुर्घटनामा परेको गाडीमा यात्रु सूची तयार गरिएको वा बाटोमा रहेका प्रहरी कार्यालयमा त्यसको विवरण उपलब्ध गराइएको देखिएन ।
कानुनी रूपमा अनिवार्य गरिएको यात्रु विवरण राख्ने र अद्यावधिक गर्ने व्यवस्था कार्यान्वयन नहुँदा दुर्घटनापछि मृतकको सनाखतमा समेत कठिनाइ भएको छ ।
देउरालीमा छुट्टै प्रहरी चेकपोस्ट आवश्यक
भीमफेदी-देउराली-कुलेखानी खण्डलाई दुर्घटनाको जोखिमयुक्त क्षेत्र हो । उक्त क्षेत्रको देउराली डाँडामा छुट्टै प्रहरी चेकपोस्ट स्थापना गर्न आवश्यक रहेको प्रजिअ अधिकारीले बताए ।
त्यहाँ चेकपोस्ट राख्न यसअघि प्रयास गरिएको भए पनि जग्गा उपलब्ध हुन नसक्दा स्थापना गर्न नसकिएको उनले बताए ।
अधिकारीका अनुसार देउराली-भीमफेदी सडकखण्डमा एक वर्षभित्र एकभन्दा बढी व्यक्तिको ज्यान जाने गरी तीनवटा सवारी दुर्घटना भइसकेका छन् ।
रातको समयमा यात्रु संकलन गर्दै सवारी चलाउने प्रवृत्ति, चालकको विश्राम तथा थकान व्यवस्थापन, यात्रु सूचीको अनिवार्य अभिलेख र प्रहरी चेकपोस्टको निगरानी प्रभावकारी बनाउनुपर्ने आवश्यकता यस दुर्घटनाले पुनः उजागर गरेको छ ।
प्रतिक्रिया 4