+
+
Shares
गसिप :

महावीर पुनको त्यो अन्तिम भोज, धरोधर्म उनले ढाँटेका होइनन्

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २८ गते ९:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • महावीर पुनले साथीहरूसँग डेरामा सानो भोज गरेको भन्दै फेसबुकमा लेखेपछि आफूले अबदेखि यसरी भोज नखाने वाचा गरेका छन् ।
  • उनले भोजमा तीन किलो बंगुर र दुई किलो कुखुराको मासु, साग, धनियाँ, मुला र काँक्रा किनेको र रक्सी साथीहरूले ल्याएको बताएका छन् ।
  • पत्रकारले देश नै खत्तम पारेजस्तो गरेर खोतल्न थालेको भन्दै पुनले ‘माफ पाऊ, पत्रकार सरकारहरू। ठूलो गल्ती भएछ। कान समातेर उठबस गरेँ ।’ भनेका छन् ।

नेपाली समाजमा एउटा भनाइ छ, ‘खाएको कुरा नगर्नु ।’ तर खाएको कुरा नगर्ने मात्र होइन, यहाँ त खाएको कुरा भाइरल नै भइसक्यो । त्यो पनि अरू खन्चुवा (फुडी)को होइन, भोलाभाला महावीर पुनको ।

महावीर पुन वास्तवमा यस्तो दुर्लभ पात्र हुन्, जो ‘भाइरल’को पछाडि दौडिँदैनन् । तर उनी पटकपटक भाइरल हुन्छन् । त्यो पनि खाएको कुराले । कहिले आफ्नो मन्त्री क्वार्टरमा ढिँडो खाएको कुराले त कहिले चाउचाउ खाएको कुराले ।

यसपालि पनि उनी यसबाट अछुतो रहन सकेनन् । चाडपर्वको बेला मिठोमसिनो खानु, जमघट गर्नु ठूलो कुरा थिएन । तर, उनले साथीभाइसँग मनाएको रमाइलो साँझ अहिले उनको टाउको दुखाइको विषय बनेको छ । त्यो भलाद्मी टाउको कतिसम्म दुख्यो भने, उनले ‘अबदेखि कहिल्यै यसरी भोज खाने छैन’ भनी वाचा नै गरे ।

केहीअघि उनी ‘अब त म बोल्दै बोल्दिनँ’ भनेर मौनधारण गरेका महावीरले हालै मात्र फेसबुकमा लेखे, ‘महावीर पुनले जिन्दगीमा पहिलो पटक केही साथीसँग भेटघाट गरौँ भनेर डेरामा सानो भोज खाने सल्लाह गरेको थिएँ । यही नै अन्तिम भोज हुने भयो ।’

उनलाई किन र कसले यस्तो मनोदशामा पुर्‍याइदिए त ? किन अबदेखि उनी भोज नै नखाने वाचा गर्न बाध्य भए त ? उनकै शब्दमा, ‘किनभने गन्यमान्य पत्रकार साथीहरूले त मैले देश नै खत्तम पारेजस्तो गरेर खुत्ती खन्न थाले ।’

केही महिनाअघि महावीर पुन यस्तै कुरामा भाइरल भएका थिए । त्यसबेला एक प्रयोगकर्ताले लेखेका थिए, ‘ढाँट्दा पनि कति क्युट देखिन्छन् महावीर पुन ।’ पछिल्लो उनको स्टाटस पनि निकै ‘क्युट’ छ।

उनले भोज खाएको कुरा कुन गन्यमान्य पत्रकारले छताछुल्ल बनाइदियो ? सामाजिक सञ्जालको यो गञ्जागोलमा को बरमझियाको पेडा जस्तै असली र नक्कली छुट्याउन सकेनन् सायद। उनलाई त लाग्यो होला, फेसबुक पेजमा आउने सबै कुराको पछाडि पत्रकारकै हात हुन्छ ।

उनी त्यस रातको भोजमा कस्तो बाँडफाँट भएको थियो भनी यसरी लेख्छन्, मानौँ उनी अडिट रिपोर्ट गराउँदै छन् । उनी लेख्छन्, ‘सो भोज हामीले मामाको बैठक कोठामा खाएको हो, मेरो डेरामा पनि होइन । अनि मैले गरेको खर्च भनेको तीन किलो बंगुर र दुई किलो कुखुराको मासु, साग, धनियाँ, मुला र काँक्रा किन्न मात्र हो ।’

त्यस भोजमा उनीहरूले मापसे पनि गरेछन् । उनी लेख्छन्, ‘ह्विस्की, वाइन, कोदोको रक्सी र बियर साथीहरूले नै ल्याएको हो । सत्तो सत्ये धरोधर्म मैले ढाँटेको होइन ।’

उनले फेरि पत्रकारलाई सम्बोधन गर्दै लेखेका छन्, ‘माफ पाऊ, पत्रकार सरकारहरू । ठूलो गल्ती भएछ । कान समातेर उठबस गरेँ ।’

त्यहाँ उनलाई धेरैले प्रतिक्रिया दिएका छन् । कति सकारात्मक छन्, कति नकारात्मक । रोचक चाहिँ के भने, यसरी प्रतिक्रिया दिनेसँग पनि महावीर पुन मुखै छाडेर भिडेका छन् ।

यसरी रिसाउँद पनि कति क्युट देखिएको महावीर पुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?