News Summary
Generated by OK AI. Editorially reviewed.- सोनिया गान्धीले संस्मरणमा नीतिश कुमारले २०२४ जनवरीमा ‘इन्डिया’ गठबन्धन छाडेर एनडीएमा फर्किनुपूर्व कमजोर बहाना बनाएको लेखेकी छन्।
- जेडीयूका राष्ट्रिय कार्यकारी अध्यक्ष सञ्जय कुमार झाले नीतिश कुमार नै ‘इन्डिया’ गठबन्धन निर्माणका प्रमुख योजनाकार रहेको दाबी गर्दै सोनियाको टिप्पणीप्रति आपत्ति जनाएका छन्।
- झाले कांग्रेस नेतृत्वले देश र राज्यको सेवामा जीवन समर्पित नेताहरूमाथि हल्का टिप्पणी गर्ने गरेको आरोप लगाएका छन्।
२८ कात्तिक, काठमाडौं । भारतीय राष्ट्रिय कांग्रेसकी पूर्वअध्यक्ष सोनिया गान्धीले आफ्नो संस्मरण ‘बिलङ्गिङ : अ जर्नी अफ लभ’मा बिहारका पूर्वमुख्यमन्त्री नीतिश कुमारले विपक्षी दलहरूको ‘इन्डिया’ गठबन्धन छाडेको विषयमा गरेको टिप्पणीप्रति जनता दल युनाइटेड (जेडीयू) ले आपत्ति जनाएको छ।
सोनियाले सन् २०२४ जनवरीमा नीतिश कुमार गठबन्धनको बैठकबाट अचानक बाहिरिएको र त्यसका लागि ‘कमजोर बहाना’ बनाएको उल्लेख गरेकी छन्। त्यसपछि नीतिश पुनः प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) मा फर्किएको र उनको उक्त निर्णय पहिल्यै योजनाबद्ध रहेको आफूलाई लागेको पनि उनले संस्मरणमा लेखेकी छन्।
सोनियाको टिप्पणीप्रति प्रतिक्रिया दिँदै जेडीयूका राष्ट्रिय कार्यकारी अध्यक्ष सञ्जय कुमार झाले नीतिश कुमार ‘इन्डिया’ गठबन्धन निर्माणका प्रमुख योजनाकार रहेको बताएका छन्।
द इन्डियन एक्सप्रेससँग कुरा गर्दै झाले भने, ‘सबैलाई थाहा छ, इन्डिया गठबन्धन निर्माणमा नीतिश कुमार नै प्रमुख रूपमा सक्रिय थिए। यसको पहिलो बैठक पटनामा भएको थियो। त्यसपछि उनले गठबन्धनका लागि समर्थन जुटाउन कोलकाता, भुवनेश्वर, दिल्ली र मुम्बईसम्म यात्रा गरेका थिए।’
कांग्रेस नेतृत्वप्रति जेडीयूको असन्तुष्टि
झाले कांग्रेसका शीर्ष नेताहरूले देश र राज्यको सेवामा जीवन समर्पित गरेका नेताहरूमाथि हल्का टिप्पणी गर्ने प्रवृत्ति देखाएको आरोप लगाएका छन्।
कांग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गेले प्रधानमन्त्री मोदीमाथि गरेको टिप्पणी र सोनियाले नीतिशबारे संस्मरणमा गरेको उल्लेखलाई जोड्दै उनले भने, ‘नीतिश कुमार गठबन्धनबाट कमजोर कारणले बाहिरिए भन्नु मर्यादाविपरीत टिप्पणी हो। बरु विपक्षी गठबन्धनको जग बसाल्ने काम नीतिश कुमारले गरेका थिए भन्ने कुराको प्रशंसा हुनुपर्थ्यो।’
‘इन्डिया’ नामप्रति नै नीतिश असन्तुष्ट थिए : झा
झाका अनुसार नीतिश कुमार विपक्षी गठबन्धनको नाम ‘इन्डिया’ राखिएको विषयमा समेत खुसी थिएनन्।
उनले भने, ‘नीतिश कुमार ‘इन्डिया’ नामबाटै खुसी हुनुहुन्नथ्यो, किनकि यो हाम्रो देशको नाम हो। हामीले चाँडै नै कांग्रेस र अन्य दलहरू गठबन्धनप्रति गम्भीर नरहेको महसुस गर्यौँ। उनीहरूको साझा उद्देश्य केवल नरेन्द्र मोदीको आलोचना गर्नु मात्रै थियो।’
झाले गठबन्धनमा स्पष्ट नीति, विचार र राजनीतिक दृष्टिकोण नरहेको आरोप लगाउँदै त्यसमा व्यक्तिगत महत्त्वाकांक्षा हाबी भएको दाबी गरेका छन्। उनका अनुसार अन्य विपक्षी दललाई एउटै मोर्चामा ल्याउन र उनीहरूबीच विश्वास कायम गर्न नीतिशले महत्त्वपूर्ण भूमिका खेलेका थिए।
सोनिया गान्धीले आफ्नो पुस्तकमा नीतिशले गठबन्धन छाड्नुको वास्तविक परिस्थितिबारे पनि उल्लेख गर्नुपर्ने झाको भनाइ छ। उनले भने, ‘उहाँले आफ्नो पुस्तकमा नीतिश कुमारले कुन परिस्थितिमा विपक्षी गठबन्धन छाडेका थिए भन्ने कुरा पनि बताउनुपर्थ्यो। त्यहाँ कुनै नीति, विचार वा स्पष्ट सोच थिएन। सबै कुरा व्यक्तिगत महत्त्वाकांक्षामा केन्द्रित थियो।’
राष्ट्रिय संयोजकको जिम्मेवारी पाउने अपेक्षा
जेडीयूले सन् २०२४ जनवरीमा ‘इन्डिया’ गठबन्धन छाडेर एनडीएमा फर्किएको थियो। पार्टीले सार्वजनिक रूपमा राष्ट्रिय संयोजक पदको माग नगरे पनि नीतिश कुमारलाई उक्त जिम्मेवारी दिइने अपेक्षा गरेको स्रोतहरूले बताएका थिए।
यद्यपि, संयोजक पद नपाएकै कारण नीतिशले गठबन्धन छाडेको भन्ने कुरालाई जेडीयूले पुष्टि गरेको छैन।
सोनियाको संस्मरणमा गरिएको टिप्पणीपछि जेडीयूले गठबन्धन निर्माणमा नीतिशको योगदानको स्मरण गराउँदै कांग्रेस नेतृत्वप्रति असन्तुष्टि जनाएको छ।
प्रतिक्रिया 4