+
+
Shares

नेपाल ग्लोबल फिल्म फेस्टिभल २०२७ : विश्वभरका १०० फिल्मकर्मी काठमाडौं आउने

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर १ गते १६:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल ग्लोबल फिल्म फेस्टिभल २०२७ फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा आयोजना हुने तयारी तीव्र पारिएको छ।

काठमाडौं । ‘नेपाल ग्लोबल फिल्म फेस्टिभल २०२७’ को तयारी तीव्र पारिएको छ । यो महोत्सव आगामी फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा आयोजना हुनेछ । महोत्सवको उद्देश्य नेपाली फिल्मलाई विश्व बजारसँग जोड्ने र नेपाललाई अन्तर्राष्ट्रिय फिल्मको महत्वपूर्ण गन्तव्यका रूपमा स्थापित गर्ने रहेको आयोजकले जानकारी दिएका छन् ।

आयोजकका अनुसार महोत्सवमा विश्वका विभिन्न देशबाट करिब १०० जना फिल्मकर्मी, सञ्चारकर्मी तथा फिल्म उद्योगका विशिष्ट व्यक्तित्व सहभागी हुनेछन् । नेपाल फिल्म एण्ड मिडिया एकेडेमीको आयोजनामा हुन लागेको महोत्सवको पहिलो संस्करणमै विश्वभरबाट ५०० भन्दा बढी फिचर फिल्म, सर्ट फिल्म तथा डकुमेन्ट्री प्राप्त भएका छन् ।

‘हिमालदेखि सागरसम्मका कथाहरूको उत्सव’ भन्ने मूल नारासहित आयोजना हुन लागेको महोत्सवमा प्राप्त फिल्ममध्ये करिब १०० वटा उत्कृष्ट फिल्म छनोट गरी ४ दिनसम्म काठमाडौंमा प्रदर्शन गरिने महोत्सवका निर्देशक गणेश पाण्डेले जानकारी दिए ।

पाण्डेका अनुसार फिल्म छनोटका लागि निर्देशक सुवर्ण थापाको नेतृत्वमा गठित फिल्म छनोट समितिले काम गर्नेछ । छनोट भएकामध्ये उत्कृष्ट फिल्महरूलाई निर्देशक अशोक शर्मा नेतृत्वका नेपाली तथा विदेशी जुरीहरूले नगद पुरस्कारसहित विभिन्न विधामा अवार्ड प्रदान गरिने छ ।

पहिलो संस्करणमै विश्वका विभिन्न देशबाट ५०० भन्दा बढी फिल्म प्राप्त हुँदा आफूहरू अत्यन्त उत्साहित पाण्डेले बताए ।

महोत्सवमा फिचर फिल्म, सर्ट फिल्म, डकुमेन्ट्री, माउन्टेन फिल्म, वातावरणसम्बन्धी फिल्म, मानवशास्त्रीय फिल्म, मानवअधिकारसम्बन्धी फिल्म, महिला विषयवस्तुमा आधारित फिल्म तथा आदिवासी जनजातिका कथा र संस्कृतिमा आधारित फिल्मलाई समेटिनेछ । त्यसैगरी एनिमेसन, विद्यार्थी फिल्म र कृत्रिम बौद्धिकतामा आधारित फिल्मलाई समेत विशेष प्राथमिकता दिइनेछ ।

महोत्सवमा करिब १०० जना अन्तर्राष्ट्रिय फिल्मकर्मी तथा फिल्म उद्योगका व्यक्तित्वको सहभागिता जुटाउने तयारी भइरहेको छ । हलिउड, बलिउड तथा चिनियाँ फिल्म क्षेत्रका चर्चित फिल्मकर्मी महोत्सवमा अतिथिको रूपमा सहभागी हुने आयोजकले जनाएको छ ।

महोत्सव आयोजक समितिका सदस्य फूलमान बलका अनुसार चार दिनसम्म फिल्म प्रदर्शनसँगै विशेष सम्मान, अन्तरक्रिया, फिल्म कार्यशाला, प्यानल छलफल तथा अन्तर्राष्ट्रिय नेटवर्किङ कार्यक्रम सञ्चालन गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?