+
+
Shares
विचार :

एमालेले आफूलाई पुनः आविष्कार गर्नुपर्छ

मदन भण्डारीको सिर्जनात्मक विरासत बोकेको पार्टीलाई आज केपी ओलीको अर्को अनुमोदन होइन, वैचारिक पुनर्जागरण र नेतृत्वको पुस्तान्तरण आवश्यक छ। बदलिँदो समय र नयाँ पुस्ताको आकाङ्क्षालाई सम्बोधन गर्न एमालेले आफूलाई पुनः आविष्कार गर्नुपर्छ ।

नवराज सिलवाल नवराज सिलवाल
२०८३ मंसिर २ गते १२:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एमाले अहिले आम निर्वाचनको पराजयपछि नेतृत्व, विचार र जनविश्वासको पुनर्मूल्याङ्कन गर्नुपर्ने राजनीतिक मोडमा उभिएको लेखमा उल्लेख छ।
  • लेखले केपी शर्मा ओलीको नेतृत्व निरन्तरता होइन, नयाँ राजनीतिक दृष्टिकोण र नेतृत्व पुस्तान्तरण आवश्यक भएको निष्कर्ष निकालेको छ।
  • एमालेको सङ्कट सङ्गठनमा होइन, नेतृत्वको सोच, शैली, विश्वसनीयता र जनतासँग टुटेको सम्बन्धमा रहेको लेखको ठहर छ।

इतिहासमा कुनै पनि राजनीतिक दल सधैँ एउटै उचाइमा रहँदैन। समयले कसैलाई अवसर दिन्छ, कसैलाई चुनौती दिन्छ र कसैलाई आफ्नो औचित्य पुनः प्रमाणित गर्न बाध्य बनाउँछ। एमाले अहिले यही परीक्षाबाट गुज्रिरहेको छ। उससँग अझै पनि राजनीतिक सम्भावना छ।

लामो सङ्घर्षको विरासत छ, देशभर फैलिएको सङ्गठन छ, अनुभवी नेता र कार्यकर्ताको ठूलो पङ्क्ति छ र नेपालको लोकतान्त्रिक तथा कम्युनिस्ट आन्दोलनमा महत्त्वपूर्ण योगदान गरेको इतिहास छ। तर, यी सबै सम्भावना भविष्यको सफलतामा रूपान्तरण हुन नेतृत्वले परिवर्तनको साहस देखाउनुपर्छ।

एमालेले अहिलेको निर्वाचन परिणामलाई सामान्य प्राविधिक दुर्घटना ठानेर सामान्य अवस्थामा फर्कने प्रयास गरे मात्र हुँदैन। यो परिणामलाई आफ्नो राजनीतिक यात्राको गम्भीर पुनर्मूल्याङ्कन गर्ने अवसरका रूपमा लिनुपर्छ। स्थानीय निर्वाचनको तयारी गर्नु आवश्यक छ, तर त्यसअघि पार्टीको राजनीतिक तयारी आवश्यक छ। सङ्गठन परिचालन गर्नु आवश्यक छ, तर त्यसअघि सङ्गठनको राजनीतिक उद्देश्य स्पष्ट हुनुपर्छ। कार्यकर्ताको मनोबल उठाउनु आवश्यक छ, तर त्यसअघि पार्टीप्रतिको जनविश्वास पुनः स्थापित हुनुपर्छ।

अहिलेको आवश्यकता राष्ट्रिय कार्यकर्ता भेलाबाट नेतृत्वको अनुमोदन खोज्नु होइन, राष्ट्रिय स्तरको राजनीतिक आत्मसमीक्षा र पुनर्निर्माणको अभियान सुरु गर्नु हो। पार्टीले आफ्नो सङ्कटको कारण अरूमा खोज्नुको सट्टा आफैँभित्र खोज्नुपर्छ। नेतृत्वले आफ्नो ऐतिहासिक योगदानको चर्चा गर्नुभन्दा वर्तमान जिम्मेवारीको हिसाब दिनुपर्छ।

एमालेले बुझ्नुपर्छ- निर्वाचनमा हार्नु राजनीतिक दलका लागि अन्तिम पराजय होइन। तर, पराजयबाट पाठ सिक्न नसक्नु, जनताको सन्देश बुझ्न नसक्नु र बदलिनुपर्ने समयमा पनि आफूलाई अपरिवर्तनीय ठान्नुचाहिँ वास्तविक राजनीतिक पराजय हो।

आज एमालेलाई ओलीको अर्को अनुमोदन आवश्यक छैन। उसलाई नयाँ राजनीतिक दृष्टिकोण, नयाँ नेतृत्व संस्कार र नयाँ पुस्ताको विश्वास जित्न सक्ने दूरदर्शी नेतृत्व चाहिएको छ। कुनै पनि राजनीतिक दलको भविष्य उसको अध्यक्षको पदावधिसँग होइन, उसले निर्माण गर्ने राजनीतिक सम्भावनासँग जोडिएको हुन्छ।

नेतृत्वको महानता पदमा कति लामो समय बस्यो भन्नेमा होइन, आफूले नेतृत्व गरेको संस्थालाई आफूभन्दा अगाडि लैजान कति सक्षम पुस्ता तयार गर्‍यो भन्नेमा निहित हुन्छ। ओलीले पनि आफ्नो लामो राजनीतिक यात्राको मूल्याङ्कन यही ऐतिहासिक कसीमा गर्न सक्नुपर्छ।

एमालेका लागि अबको विकल्प स्पष्ट छ- विगतको गौरवमा रमाएर वर्तमानको सङ्कट छोप्ने कि विगतको विरासतलाई आधार बनाएर भविष्यको नयाँ राजनीतिक अध्याय लेख्ने ? मदन भण्डारीले आफ्नो समयको राजनीतिक जडतालाई चुनौती दिएर एमालेको एउटा नयाँ अध्याय सुरु गरेका थिए।

आजको एमालेले पनि त्यस्तै वैचारिक साहस र राजनीतिक सिर्जनशीलता देखाउनुपर्ने समय आएको छ। एमालेले अब आफ्नो इतिहासको रक्षा गर्ने नाममा वर्तमान नेतृत्वको निरन्तरता खोज्ने होइन, आफ्नो ऐतिहासिक विरासतको सम्मान गर्दै भविष्यको नेतृत्व निर्माण गर्नुपर्छ। नेतृत्व पुस्तान्तरण कुनै गुटको माग होइन, बदलिएको समयको राजनीतिक आवश्यकता हो।

पराजयको पीडामा कार्यकर्ता भेला गरेर विजयको सपना देख्नु राजनीतिक आत्मछल हो। एमालेले अहिले खोज्नुपर्ने कुरा आफ्नो राजनीतिक अस्तित्वको नयाँ आधार, वैचारिक पुनर्जागरण र नेतृत्वको पुस्तान्तरण हो। किनकि पार्टीको सङ्कट सङ्गठनमा होइन, नेतृत्वको सोच, शैली र विश्वसनीयतामा छ।

कुनै पनि राजनीतिक दलको इतिहास केवल उसले जितेका चुनावहरूको अभिलेख होइन, समयको चुनौतीलाई बुझ्न, समाजको बदलिँदो चेतनालाई आत्मसात् गर्न र आफूलाई पुनः आविष्कार गर्न सक्ने क्षमताको पनि इतिहास हो। राजनीतिक दलहरू समयसँगै रूपान्तरित हुन सकेनन् भने तिनका गौरवशाली अतीत वर्तमानका लागि बोझ बन्छन् र ऐतिहासिक योगदान भविष्यको राजनीतिक औचित्य प्रमाणित गर्ने पर्याप्त आधार रहँदैन। एमाले आज यस्तै ऐतिहासिक मोडमा उभिएको छ।

आम निर्वाचनमा प्राप्त लज्जास्पद पराजय एमालेका लागि चुनावी हारमात्र होइन, यो लामो समयदेखि सञ्चित राजनीतिक असन्तुष्टि, नेतृत्वप्रतिको अविश्वास, वैचारिक विचलन र जनतासँग टुट्दै गएको सम्बन्धको सामूहिक अभिव्यक्ति हो। निर्वाचनको परिणाम मतपत्रमा देखिए पनि त्यसको कारण पार्टीको राजनीतिक व्यवहार, नेतृत्वको कार्यशैली र समयलाई बुझ्ने क्षमतामा खोज्नुपर्छ। त्यसैले एमालेको वर्तमान सङ्कटलाई केही निर्वाचन क्षेत्रमा मत घटेको, सङ्गठन कमजोर भएको वा कार्यकर्ता परिचालन प्रभावकारी नभएको सामान्य प्राविधिक समस्याका रूपमा बुझ्नु गम्भीर भूल हुनेछ।

आजको प्रश्न एमालेले अर्को निर्वाचन कसरी जित्ने भन्ने मात्र होइन, एमाले किन जनताको विश्वास गुमाउने अवस्थामा पुग्यो भन्ने हो। अझ गम्भीर प्रश्न त यो हो- बदलिएको राजनीतिक चेतना, नयाँ पुस्ताको आकाङ्क्षा र सामाजिक असन्तुष्टिको वर्तमान परिवेशमा एमाले पुरानै नेतृत्व, पुरानै राजनीतिक संस्कार र पुरानै सोचका आधारमा आफ्नो सान्दर्भिकता पुनः स्थापित गर्न सक्छ ? यस प्रश्नको उत्तर खोज्ने साहस नगरी गरिने कुनै पनि सङ्गठनात्मक गतिविधि राजनीतिक पुनर्जागरण होइन, सङ्कटमाथिको अस्थायी पर्दा मात्र हुनेछ।

पार्टीको पुनर्गठन र नेतृत्व पुस्तान्तरण

आम निर्वाचनको पराजयपछि एमालेभित्र नेतृत्वको समीक्षा, जिम्मेवारी निर्धारण र नेतृत्व परिवर्तनको बहस स्वाभाविक रूपमा उठेको हो। निर्वाचनमा पार्टीले भोगेको पराजयको नैतिक जिम्मेवारी नेतृत्वले लिनुपर्ने आवाज उठ्नु लोकतान्त्रिक पार्टीको सामान्य अभ्यास हो। तर, यो बहसलाई संस्थागत निष्कर्षमा पुर्‍याउनुको सट्टा नेतृत्वको अनुकूलतामा सीमित गरियो। परिणामतः पार्टीको पुनर्गठन र नेतृत्व पुस्तान्तरणको सम्भावनामाथि नै प्रश्नचिह्न खडा भयो।

यही पृष्ठभूमिमा आयोजना गरिएको राष्ट्रिय कार्यकर्ता भेलालाई केवल सङ्गठन सुदृढीकरणको अभ्यासका रूपमा बुझ्नु पर्याप्त हुँदैन। यसका राजनीतिक सन्देश र अन्तर्निहित उद्देश्य पनि केलाउनुपर्छ। निश्चय नै, निर्वाचनपछि कार्यकर्ताको मनोबल उठाउनु, सङ्गठनलाई सक्रिय बनाउनु र आगामी स्थानीय निर्वाचनका लागि रणनीति निर्माण गर्नु कुनै पनि राजनीतिक दलका लागि आवश्यक काम हुन्। तर, एमालेको वर्तमान सङ्कटको प्रकृति हेर्दा यस्ता गतिविधिले मात्र पार्टीलाई पुनर्जीवन दिन सक्दैनन्।

एमालेले बुझ्नुपर्छ- निर्वाचनमा हार्नु राजनीतिक दलका लागि अन्तिम पराजय होइन। तर, पराजयबाट पाठ सिक्न नसक्नु, जनताको सन्देश बुझ्न नसक्नु र बदलिनुपर्ने समयमा पनि आफूलाई अपरिवर्तनीय ठान्नुचाहिँ वास्तविक राजनीतिक पराजय हो।

यो भेला नेतृत्वको राजनीतिक औचित्य पुनः स्थापित गर्ने, पार्टीभित्र उठेको असन्तुष्टिलाई मत्थर पार्ने र अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वप्रति सङ्गठनात्मक समर्थन रहेको सन्देश प्रवाह गर्ने प्रयासका रूपमा पनि बुझ्न सकिन्छ। निर्वाचनको पराजयपछि नेतृत्वमाथि उठेका प्रश्नको जवाफ दिनुको सट्टा कार्यकर्ता पङ्क्तिबाट अनुमोदन खोज्ने प्रवृत्तिले पार्टीको आन्तरिक लोकतन्त्रलाई अझ कमजोर बनाउने जोखिम रहन्छ।

राजनीतिक दलको जीवनमा कार्यकर्ताको समर्थन महत्त्वपूर्ण हुन्छ, तर कार्यकर्ताको समर्थन नै जनताको विश्वासको विकल्प हुन सक्दैन। कार्यकर्ता भेलामा हजारौँ मानिस उपस्थित गराउन सकिएला, नेतृत्वको पक्षमा नाराबाजी गर्न सकिएला र सङ्गठनात्मक एकताको सन्देश पनि दिन सकिएला। तर, त्यसले जनताको मनमा उत्पन्न निराशा मेटाउन सक्दैन।

एउटा गम्भीर राजनीतिक पराजयपछि पार्टीले सर्वप्रथम आफूलाई प्रश्न गर्नुपर्छ, आफ्नो नेतृत्वलाई प्रश्न गर्नुपर्छ र आफ्ना कमजोरी स्वीकार गर्ने नैतिक साहस देखाउनुपर्छ। तर, प्रश्नको सामना गर्नुको सट्टा अनुमोदनको वातावरण निर्माण गर्नु राजनीतिक आत्मसमीक्षा होइन, आत्मरक्षाको रणनीति हो। एमालेले बुझ्नुपर्ने कुरा के हो भने, अहिले उसलाई कार्यकर्ताको तालीभन्दा जनताको विश्वास चाहिएको छ।

सङ्गठनमा होइन, राजनीतिक संस्कारमा सङ्कट

एमाले नेपालको राजनीतिक इतिहासमा बलियो सङ्गठनात्मक संरचना भएको पार्टीका रूपमा स्थापित छ। गाउँदेखि केन्द्रसम्म फैलिएको साङ्गठनिक सञ्जाल, प्रशिक्षित कार्यकर्ता, राजनीतिक सङ्घर्षको लामो अनुभव र जनतासँगको ऐतिहासिक सम्बन्ध यसको शक्ति रहँदै आएको छ। त्यसैले एमालेको वर्तमान पराजयलाई सङ्गठनात्मक कमजोरीको परिणाम मात्र मान्नु वास्तविकताबाट विमुख हुनु हो। समस्या सङ्गठन परिचालन गर्न नसक्नु होइन, सङ्गठनले जनताको भावना र आकाङ्क्षालाई प्रतिनिधित्व गर्न नसक्नु हो।

कुनै समय एमाले जनताको दैनिक जीवनसँग जोडिएका मुद्दाको प्रभावकारी राजनीतिक प्रतिनिधि थियो। गरिबी, बेरोजगारी, सामाजिक विभेद, शिक्षा, स्वास्थ्य, राष्ट्रिय स्वाभिमान र लोकतान्त्रिक अधिकारका विषयमा उसले जनतासँग प्रत्यक्ष संवाद गर्थ्यो। पार्टीको राजनीतिक शक्ति केवल सङ्गठनको आकारमा होइन, उसले उठाएका मुद्दाको सामाजिक स्वीकार्यतामा आधारित थियो।

तर, समयक्रममा एमालेको राजनीतिक ऊर्जा जनताका मुद्दाभन्दा सत्ताको गणित, आन्तरिक शक्ति सन्तुलन र नेतृत्वको निरन्तरतामा बढी केन्द्रित हुँदै गयो। जनताको जीवनमा परिवर्तन ल्याउने राजनीतिक प्रतिबद्धता क्रमशः सत्तामा पुग्ने र सत्तामा टिकिरहने रणनीतिमा रूपान्तरित भयो।

यहीँबाट पार्टी र जनताबीचको दूरी बढ्न थाल्यो।

पार्टीभित्र आलोचना गर्ने संस्कार कमजोर हुँदै जानु, नेतृत्वको निर्णयलाई अन्तिम सत्य मान्नुपर्ने वातावरण निर्माण हुनु, फरक विचार राख्ने नेताहरू किनारामा धकेलिनु र अवसर तथा जिम्मेवारीको वितरणमा सीमित व्यक्तिहरूको वर्चस्व स्थापित हुनु एमालेको आन्तरिक लोकतन्त्रका लागि गम्भीर चुनौती हुन्।

राजनीतिक दलभित्र एकता आवश्यक हुन्छ, तर एकता र अधीनस्थता एउटै कुरा होइनन्। नेतृत्वप्रति सम्मान हुनु र नेतृत्वको हरेक निर्णयमा प्रश्नरहित सहमति जनाउनु पनि एउटै कुरा होइन। स्वस्थ पार्टीमा नेतृत्व बलियो हुन्छ, तर संस्थाभन्दा बलियो हुँदैन। त्यहाँ अध्यक्षको अधिकार हुन्छ, तर सामूहिक निर्णय प्रक्रियाभन्दा माथि हुँदैन।

एमालेको पुनर्निर्माणका लागि सर्वप्रथम यही राजनीतिक संस्कार बदलिनुपर्छ।

वर्तमानको चुनौती र नेतृत्वको सवाल

केपी शर्मा ओली नेपाली राजनीतिका प्रभावशाली र लामो राजनीतिक सङ्घर्षबाट स्थापित नेता हुन्। उनको राजनीतिक यात्रा, सङ्घर्ष, जेलजीवन र नेपालको कम्युनिस्ट आन्दोलनमा पुर्‍याएको योगदानलाई इतिहासबाट मेटाउन सकिँदैन। नेपालको राष्ट्रिय राजनीतिमा उनले निर्माण गरेको प्रभाव र राजनीतिक उपस्थितिलाई पनि सामान्य रूपमा लिन मिल्दैन।

तर, राजनीतिक इतिहासको सम्मान गर्नु र वर्तमान नेतृत्वको निरन्तरताको समर्थन गर्नु फरक कुरा हुन्। कुनै नेताले विगतमा गरेको योगदानका आधारमा अनन्तकालसम्म नेतृत्वमा रहने नैतिक अधिकार प्राप्त गर्दैन। राजनीतिक नेतृत्व कुनै स्थायी सम्पत्ति होइन, यो समय, परिस्थिति, जनविश्वास र कार्यसम्पादनबाट निरन्तर प्रमाणित गर्नुपर्ने जिम्मेवारी हो।

ओलीको नेतृत्वमा एमालेले सत्ता सञ्चालनका अवसर प्राप्त गर्‍यो। तर, सत्ता सञ्चालनका क्रममा उठेका सुशासन, संस्थागत मर्यादा, राजनीतिक अहङ्कार, निर्णय प्रक्रियाको केन्द्रीकरण र सार्वजनिक जवाफदेहितासम्बन्धी प्रश्नहरूले उनको नेतृत्वमाथि गम्भीर राजनीतिक बहस जन्माएका छन्।

नेतृत्वको मूल्याङ्कन गर्दा विगतको सङ्घर्ष मात्र होइन, वर्तमानको कार्यसम्पादन र भविष्यप्रतिको दृष्टिकोण पनि हेर्नुपर्छ। सबैभन्दा महत्त्वपूर्ण कुरा, नेतृत्वको निरन्तरता र पार्टीको भविष्य सधैँ एउटै दिशामा हिँड्दैनन्। कहिलेकाहीँ कुनै नेताको राजनीतिक योगदानको उच्चतम सम्मान भनेकै उसले समयमै नयाँ पुस्ताका लागि ठाउँ खाली गरिदिनु हो।

नेतृत्व हस्तान्तरण पराजयको स्वीकारोक्ति होइन, राजनीतिक परिपक्वताको प्रमाण हो। आफ्नो समयको योगदानलाई संस्थागत गर्दै आगामी पुस्तालाई नेतृत्वको अवसर दिन सक्ने नेताले नै इतिहासमा आफ्नो स्थान अझ सम्मानजनक बनाउन सक्छ।

त्यसैले आज एमालेभित्र उठ्नुपर्ने प्रश्न ओलीलाई फेरि अनुमोदन गर्ने कि नगर्ने भन्ने मात्र होइन। मूल प्रश्न हो- ओली नेतृत्वको लामो राजनीतिक यात्राले पार्टीलाई कहाँ पुर्‍यायो र अबको यात्राका लागि कस्तो नेतृत्व आवश्यक छ ? यसको जवाफ भावनात्मक निष्ठा, गुटगत स्वार्थ वा विगतको योगदानको स्मरणबाट होइन, वस्तुनिष्ठ राजनीतिक समीक्षाबाट खोजिनुपर्छ।

नयाँ पुस्ता : पछाडि छुटेको राजनीतिक शक्ति

आजको नेपाली समाज हिजोको समाज होइन। सूचना प्रविधिको विस्तार, विश्वव्यापीकरण, सामाजिक सञ्जाल, शिक्षा र चेतनाको विकासले नागरिकको सोच्ने र प्रश्न गर्ने तरिका बदलिएको छ। विशेषतः नयाँ पुस्ता राजनीतिक दललाई केवल ऐतिहासिक योगदानका आधारमा स्वीकार गर्न तयार छैन। उनीहरूलाई राजनीतिक दलले के गर्‍यो भन्नेभन्दा पनि अब के गर्न सक्छ भन्ने कुराले बढी प्रभावित गर्छ।

उनीहरूलाई भाषणभन्दा परिणाम चाहिएको छ। आश्वासनभन्दा अवसर चाहिएको छ। राजनीतिक पहुँचभन्दा योग्यता र क्षमताको सम्मान चाहिएको छ। उनीहरूलाई भ्रष्टाचारमुक्त शासन, पारदर्शी निर्णय प्रक्रिया, रोजगारी, उद्यमशीलता, गुणस्तरीय शिक्षा, आधुनिक स्वास्थ्य सेवा र सम्मानजनक जीवनको आधार चाहिएको छ।

अझ महत्त्वपूर्ण कुरा, उनीहरू राजनीतिक नेतृत्वलाई प्रश्न गर्न चाहन्छन् र प्रश्न गर्ने आफ्नो अधिकारलाई कुनै पनि दलको सङ्गठनात्मक अनुशासनका नाममा त्याग्न तयार छैनन्। तर, एमालेको नेतृत्व र सङ्गठनात्मक संस्कारले यो बदलिएको मनोविज्ञानलाई कति आत्मसात् गर्न सकेको छ ?

एमालेले खोजेको नयाँ नेतृत्व नयाँ राजनीतिक संस्कारको प्रतिनिधि हुनुपर्छ। उसमा वैचारिक स्पष्टता, सङ्गठनात्मक क्षमता, सार्वजनिक विश्वसनीयता, आलोचना सुन्ने धैर्य, फरक मतको सम्मान र समयको मागअनुसार निर्णय गर्न सक्ने दूरदृष्टि हुनुपर्छ।

पार्टीका महत्त्वपूर्ण निर्णयमा नयाँ पुस्ताको सहभागिता कति छ ? नेतृत्व चयनमा युवाको भूमिका कति छ ? पार्टीको नीति निर्माणमा प्रविधि, नवप्रवर्तन, जलवायु परिवर्तन, डिजिटल अर्थतन्त्र, रोजगारीको नयाँ स्वरूप र बदलिँदो विश्व व्यवस्थाका मुद्दाले कति स्थान पाएका छन् ?

यी प्रश्नको जवाफले नै एमाले भविष्यको पार्टी बन्न सक्छ कि विगतको राजनीतिक स्मारकमा सीमित हुन्छ भन्ने निर्धारण गर्नेछ। नयाँ पुस्तालाई पार्टीमा प्रवेश गराउनु मात्र पुस्तान्तरण होइन। उनीहरूलाई निर्णय प्रक्रियामा सहभागी गराउनु, नेतृत्वको अवसर दिनु, फरक विचार राख्ने स्वतन्त्रता सुनिश्चित गर्नु र राजनीतिक भविष्य निर्माणको वास्तविक जिम्मेवारी सुम्पनु नै वास्तविक पुस्तान्तरण हो। एमालेले युवालाई चुनावी सभामा झन्डा बोक्ने र सामाजिक सञ्जालमा प्रचार गर्ने जनशक्तिका रूपमा मात्र होइन, पार्टीको वैचारिक तथा राजनीतिक भविष्य निर्माण गर्ने साझेदारका रूपमा स्वीकार गर्नुपर्छ।

मदन भण्डारीको विरासत : सिर्जनात्मक पुनर्व्याख्या

एमालेको राजनीतिक इतिहासमा मदन भण्डारी एउटा असाधारण वैचारिक व्यक्तित्वका रूपमा स्थापित छन्। उनले नेपालको कम्युनिस्ट आन्दोलनलाई बहुदलीय प्रतिस्पर्धा, लोकतान्त्रिक मूल्य र जनताको सार्वभौमिकतासँग जोड्ने ऐतिहासिक काम गरे।

बहुदलीय जनवादको अवधारणा नेपाली कम्युनिस्ट आन्दोलनका लागि केवल राजनीतिक दस्ताबेज थिएन, त्यो तत्कालीन समयको वैचारिक जडतामाथि गरिएको सिर्जनात्मक हस्तक्षेप थियो। कम्युनिस्ट आन्दोलनलाई लोकतान्त्रिक प्रतिस्पर्धाभित्र स्थापित गर्ने उनको प्रयासले एमालेलाई राष्ट्रिय राजनीतिमा फरक पहिचान दियो।

मदन भण्डारीको वास्तविक शक्ति केवल उनको भाषणकला वा लोकप्रियतामा थिएन। उनी समयको राजनीतिक चेतना बुझ्न सक्थे। समाजको मनोविज्ञान पढ्न सक्थे। स्थापित मान्यतालाई चुनौती दिने वैचारिक साहस राख्थे। कम्युनिस्ट आन्दोलनको परम्परागत सीमाभित्र रहेर पनि नयाँ राजनीतिक सम्भावनाको ढोका खोल्न सक्थे।

आज एमालेलाई त्यस्तै वैचारिक साहसको आवश्यकता छ।

मदन भण्डारीको तस्बिर राखेर, उनका भाषण सुनाएर र बहुदलीय जनवादको नाम दोहोर्‍याएर मात्र उनको विरासत जीवित रहँदैन। उनको विरासतको वास्तविक सम्मान भनेको उनले देखाएको सिर्जनात्मक राजनीतिक क्षमतालाई आजको सन्दर्भमा पुनः प्रयोग गर्नु हो।

हिजो मदनले कम्युनिस्ट आन्दोलनलाई बहुदलीय लोकतन्त्रसँग जोड्नुपर्ने आवश्यकता देखेका थिए। आजको एमालेले लोकतन्त्रलाई निर्वाचन जित्ने माध्यमका रूपमा मात्र होइन, पार्टीको आन्तरिक जीवन, राज्य सञ्चालन र सार्वजनिक जवाफदेहिताको संस्कारका रूपमा आत्मसात् गर्नुपर्ने आवश्यकता छ।

हिजोको बहुदलीय जनवाद आजको बदलिएको समाजको सम्पूर्ण प्रश्नको उत्तर हुन सक्दैन। त्यसलाई आजको आर्थिक, सामाजिक, प्राविधिक र भूराजनीतिक परिवेशसँग जोडेर नयाँ वैचारिक व्याख्या गर्नुपर्छ। समाजवादको कुरा गर्ने पार्टीले उत्पादन, उत्पादकत्व, उद्यमशीलता र रोजगारीको नयाँ अर्थशास्त्र प्रस्तुत गर्न सक्नुपर्छ।

सामाजिक न्यायको कुरा गर्ने पार्टीले अवसरको समानता र संरचनागत विभेद अन्त्य गर्ने व्यावहारिक कार्यक्रम दिन सक्नुपर्छ। राष्ट्रियताको कुरा गर्ने पार्टीले राष्ट्रिय स्वाभिमानलाई केवल भाषणमा होइन, आर्थिक आत्मनिर्भरता, कूटनीतिक सन्तुलन र संस्थागत सबलतामा रूपान्तरण गर्न सक्नुपर्छ। एमालेले मदनको विरासतलाई राजनीतिक नाराबाट निकालेर नयाँ युगको वैचारिक परियोजनामा रूपान्तरण गर्नुपर्छ।

एमालेको पुनर्निर्माणका पाँच आधार

एमालेको पुनर्जीवनका लागि सामान्य सङ्गठनात्मक सक्रियता पर्याप्त छैन। यसका लागि पार्टीको संरचना, नेतृत्व, विचार, कार्यशैली र जनसम्बन्धमा एकैसाथ परिवर्तन आवश्यक छ। यसलाई पाँचवटा आधारमा अघि बढाउन सकिन्छ :

पहिलो : नेतृत्वको पुस्तान्तरण र सामूहिक नेतृत्वको पुनर्स्थापना। पार्टीको नेतृत्व कुनै एक व्यक्तिको दीर्घकालीन राजनीतिक अधिकार होइन। सक्षम, इमानदार, दूरदर्शी र नयाँ पुस्तासँग संवाद गर्न सक्ने नेताहरूलाई नेतृत्वमा ल्याउने प्रक्रिया तत्काल सुरु गर्नुपर्छ। पार्टी अध्यक्षदेखि केन्द्रीय संरचनासम्म नेतृत्व विकासको स्पष्ट मापदण्ड र समयसीमा बनाउनुपर्छ।

यसको अर्थ अनुभवलाई अस्वीकार गर्नु होइन, अनुभव र नवीनताको संयोजन गर्नु हो। वरिष्ठ नेताहरूको योगदान र अनुभवलाई सम्मान गर्दै नयाँ पुस्तालाई निर्णायक जिम्मेवारी दिने राजनीतिक संस्कार विकास गर्नुपर्छ।

दोस्रो : आन्तरिक लोकतन्त्र र संस्थागत जवाफदेहिताको प्रत्याभूति। पार्टीभित्र फरक विचार राख्न पाउनु कमजोरी होइन, शक्ति हो। नेतृत्वको आलोचना गर्नेलाई विरोधी ठान्ने संस्कार अन्त्य हुनुपर्छ। पार्टीका निर्णय सामूहिक छलफल, पारदर्शी प्रक्रिया र संस्थागत विधिबाट हुनुपर्छ। निर्वाचनमा पराजय हुँदा नेतृत्वले जिम्मेवारी लिनुपर्ने र सफल हुँदा सामूहिक उपलब्धिका रूपमा स्वीकार गर्नुपर्ने राजनीतिक मान्यता स्थापित गर्नुपर्छ।

तेस्रो : नयाँ वैचारिक र आर्थिक दृष्टिकोणको विकास। एमालेले केवल पुराना राजनीतिक दस्ताबेजको पुनरावृत्ति गरेर भविष्य निर्माण गर्न सक्दैन। बदलिएको विश्व अर्थतन्त्र, कृत्रिम बुद्धिमत्ता, डिजिटल प्रविधि, जलवायु सङ्कट, कृषि आधुनिकीकरण, औद्योगिक विकास, श्रम बजार र युवा उद्यमशीलतालाई समेट्ने नयाँ आर्थिक तथा सामाजिक दृष्टिकोण आवश्यक छ। राजनीतिक नाराभन्दा नीतिगत विकल्प प्रस्तुत गर्न सक्ने अध्ययनशील पार्टी निर्माण गर्नुपर्छ।

चौथो : जनतासँग टुटेको सम्बन्धको पुनर्निर्माण। पार्टीको राजनीतिक पुनर्जागरण केन्द्रीय कार्यालयका बैठकबाट होइन, जनताको घरदैलोबाट सुरु हुनुपर्छ। पार्टीका नेता र कार्यकर्ता जनताको दैनिक जीवनसँग पुनः जोडिनुपर्छ।

किसानको उत्पादनले बजार नपाएको, युवाले रोजगारी नपाएको, श्रमिकले सम्मानजनक जीवन नपाएको, उद्यमीले नीतिगत अस्थिरता भोगेको र नागरिकले सार्वजनिक सेवामा सास्ती खेपेको विषयलाई पार्टीले आफ्नो राजनीतिक एजेन्डा बनाउनुपर्छ। एमालेले जनतासँग फेरि सम्बन्ध जोड्न चाहन्छ भने पहिले जनताको कुरा सुन्न सिक्नुपर्छ।

पाँचौँ : सुशासन र नैतिक राजनीतिको विश्वसनीय प्रतिबद्धता। राजनीतिक दलको विश्वसनीयता उसको घोषणापत्रमा होइन, व्यवहारमा देखिन्छ। भ्रष्टाचार, नातावाद, कृपावाद, शक्तिको दुरुपयोग र सार्वजनिक पदको अपारदर्शी प्रयोगविरुद्ध पार्टीले आफ्नै घरबाट अभियान सुरु गर्नुपर्छ।

सुशासनको माग गर्ने पार्टीले आफ्ना नेता र कार्यकर्ताको सार्वजनिक आचरणमा पनि त्यही मापदण्ड लागू गर्न सक्नुपर्छ। नेतृत्वको नैतिक विश्वसनीयताबिना राजनीतिक पुनर्निर्माण सम्भव छैन।

नयाँ नेतृत्व नयाँ अनुहार मात्र होइन

यहाँ एउटा महत्त्वपूर्ण कुरा स्पष्ट हुनुपर्छ। एमालेमा नेतृत्व परिवर्तनको बहसलाई केवल ओलीको स्थानमा अर्को कुनै वरिष्ठ नेतालाई स्थापित गर्ने प्रतिस्पर्धाका रूपमा बुझ्नु पर्याप्त हुँदैन। नेतृत्व परिवर्तन र नेतृत्व पुस्तान्तरणबीच पनि अन्तर छ। अनुहार बदलियो तर सोच बदलिएन, अध्यक्ष बदलियो तर कार्यशैली बदलिएन, नेतृत्वको व्यक्ति बदलियो तर निर्णय प्रक्रियाको केन्द्रीकरण उस्तै रह्यो भने त्यसले पार्टीलाई नयाँ जीवन दिन सक्दैन।

एमालेले खोजेको नयाँ नेतृत्व नयाँ राजनीतिक संस्कारको प्रतिनिधि हुनुपर्छ। उसमा वैचारिक स्पष्टता, सङ्गठनात्मक क्षमता, सार्वजनिक विश्वसनीयता, आलोचना सुन्ने धैर्य, फरक मतको सम्मान र समयको मागअनुसार निर्णय गर्न सक्ने दूरदृष्टि हुनुपर्छ।

त्यस्तो नेतृत्वले आफूलाई सर्वेसर्वा ठान्नु हुँदैन। पार्टीलाई आफ्नो राजनीतिक सम्पत्ति होइन, सामूहिक विचार र सङ्घर्षको संस्था ठान्नुपर्छ। पार्टीको अध्यक्ष हुनु र पार्टीको भविष्य हुनु एउटै कुरा होइन। त्यसैले नेतृत्व परिवर्तनको बहसलाई व्यक्तिविशेषको पक्ष वा विपक्षमा सीमित नगरी एमालेको भावी राजनीतिक चरित्र कस्तो हुने भन्ने बहसमा रूपान्तरण गर्नुपर्छ। यही बहसले पार्टीभित्रका असन्तुष्ट नेता, किनारामा परेका कार्यकर्ता र नयाँ पुस्तालाई साझा राजनीतिक परियोजनामा जोड्न सकिन्छ।

(सिलवाल ललितपुरबाट निर्वाचित पूर्वसांसद हुन्।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?