News Summary
Generated by OK AI. Editorially reviewed.- एमालेले मंसिर ५ गतेका लागि तय केन्द्रीय कमिटी बैठकलाई एक दिनअघि सारेर मंसिर ४ गते बोलाउने निर्णय गरेको छ ।
- स्थायी कमिटी बैठकले मंसिर २ र ३ गते हुने राष्ट्रिय भेलामा प्रस्तुत हुने एजेण्डा पारित गरेको छ ।
- राष्ट्रिय भेलामा स्थानीय तह निर्वाचनको तयारी र पार्टी संगठन परिचालन मुख्य एजेण्डा हुने उपमहासचिव लेखराज भट्टले बताए ।
१ मंसिर, काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटीको बैठकलाई एक दिन अगाडि सारेको छ ।
एमालेको मंगलबार बसेको स्थायी कमिटिको बैठकले केन्द्रीय कमिटीको बैठकलाई एक दिन अगाडी सार्ने निर्णय गरेको हो । मंसिर ५ गतेका लागि तय गरिएको केन्द्रिय कमिटीको बैठकलाई एक दिनअघि सारेर मंसिर ४ गते बोलाउने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।
‘केन्द्रीय समितिको बैठक हामीले ५ गते राख्ने भनेको त्यसलाई ४ गते सारिएको छ,’ उनले भने ।
बैठकले मंसिर २ र ३ गतेका लागि तोकिएको राष्ट्रिय भेलामा प्रश्तुत गर्ने एजेण्डा समेत पारित गरेको छ । एमालेको राष्ट्रिय भेलामा स्थानीय निर्वाचनको तयारी मुख्य एजेण्डा बनाएको उपमहासचिव भट्टले बताए ।
राष्ट्रिय भेलामा स्थानीय तह निर्वाचनको तयारी र पार्टी संगठन परिचालनलाई मुख्य एजेण्डाका रूपमा अगाडी बढाउने उनले बताए । उनका अनुसार राष्ट्रिय भेलामा अध्यक्ष केपी ओलीले वर्तमान राष्ट्रिय राजनीति, भावी कार्यदिशा र पार्टीले गर्नुपर्ने कामबारे कार्यपत्र प्रश्तुत गर्नेछन् ।
त्यस्तै, वरिष्ठ नेता विद्यादेवी भण्डारीले समसामयिक राष्ट्रिय राजनीति र पार्टीका विषयमा कार्यपत्र प्रश्तुत गर्ने उनले जानकारी दिए ।
‘राष्ट्रिय भेलामा अध्यक्ष कमरेडको वर्तमान नेपालको राष्ट्रिय राजनीति, भावी कार्यदिशा र पार्टीले गर्नुपर्ने कामका विषयमा कार्यपत्र प्रश्तुत हुन्छ । त्यसैगरी समसामयिक राष्ट्रिय राजनीति र पार्टी विशेषमा वरिष्ठ नेताको कार्यपत्र प्रश्तुत हुन्छ,’ भट्टले जानकारी दिँदै भने ।
उनका अनुसार उपाध्यक्ष रामबहादुर थापाले संसदीय संघर्षसम्बन्धी कार्यपत्र र अर्का उपाध्यक्ष विष्णु पौडेलले एमालेको कार्यकालमा भएका विकास निर्माणका कामको तथ्यांकसहित विवरण प्रश्तुत गर्नेछन् ।
बैठकमा भेलाको तयारीबारे संगठन विभाग प्रमुख तथा पार्टीका केन्द्रीय सचिव भानुभक्त ढकालले जानकारी गराएको उनले बताए ।
प्रतिक्रिया 4