News Summary
Generated by OK AI. Editorially reviewed.- जाडोयाममा टाउकोको छाला सुख्खा, तातोपानी, घामको कमी र टोपीको प्रयोगले चायाको समस्या बढ्ने लेखमा उल्लेख छ।
जाडो मौसम सुरु भएको छ । चिसो वातावरण कसैका लागि रमाइलो लाग्छ भने कसैका लागि नराम्रो । चिसोको आगमसँगै विभिन्न स्वास्थ्य समस्याको जोखिम आफैं हराएर जान्छ भने केही चुनौतीहरू बढ्छन् । चिसो मौसमसँगै आउने यस्तै एक चुनौती हो चायाको समस्या ।
यस समयमा धेरैजसो मानिसहरूलाई टाउकोमा ‘चाया’ पर्ने समस्याले सताइरहेको हुन्छ ।
निरन्तर चिलाउनु, कपडामा सेता पत्रहरू खस्नु, कपाल कमजोर हुनु र कपाल झर्ने समस्या बढ्नु– चायाले निम्त्याउने समस्याहरू हुन् । यदि चायालाई समयमै ध्यान दिइएन भने, यसले टाउकोको छालामा संक्रमण गराउन सक्छ र कपालको वृद्धिमा समेत बाधा पुर्याउन सक्छ ।
जाडोयाममा किन चायाको समस्या बढ्छ ? यसलाई हटाउन के कस्ता सरल तथा प्रभावकारी घरेलु उपायहरू अपनाउन सकिन्छ ?
जाडोयाममा चाया किन देखिन्छ ?
१.टाउकोको छाला सुख्खा हुनु
जाडोको चिसो हावा र कम आर्द्रताले टाउकोको छालाबाट प्राकृतिक औसिलोपन हटाइदिन्छ । यसले गर्दा छाला सुख्खा हुन्छ र पत्रहरू निस्कन थाल्छन् ।
२.तातो पानीले नुहाउनु
चिसोबाट बच्न हामी प्रायः गरी तातो पानीले कपाल धुने गर्छौं । यसले टाउकोको छालामा हुने प्राकृतिक तेललाई हटाइदिन्छ, जसले चायाको समस्यालाई अझ बढाउँछ ।
३.घामको कमी
जाडोयाममा घाम कम लाग्छ । घामको कमीले टाउकोको छालामा ढुसी पलाउन मद्दत पुग्छ, जुन चाया आउनुको एउटा मुख्य कारण हो।
४.सधैं टोपी लगाइराख्नु
न्यानो रहनका लागि सधैं टाउकोमा टोपी लगाइराख्दा त्यहाँ पसिना र फोहोर जम्मा हुन सक्छ । यसले टाउकोको छाला पोल्ने र चाया बढ्ने समस्या हुन सक्छ ।
५.रसायनयुक्त उत्पादनहरूको प्रयोग
कडा रसायनहरू भएका स्याम्पु, हेयर जेल वा स्प्रेहरूको अत्यधिक प्रयोगले टाउकोको छालालाई सुख्खा र संवेदनशील बनाउन सक्छ । यो कारणले पनि चाया धेरै देखिन्छ ।
६.पानी कम पिउनु
जाडोयाममा हामीलाई तिर्खा कम लाग्ने गर्छ । पर्याप्त पानी नपिउँदा हाम्रो शरीर र टाउकोको छाला दुवैमा पानीको कमी हुन जान्छ । शरीरमा पानीको कमी हुनु पनि चाया देखिने कारण बन्छ ।
७.तनाव र रोग प्रतिरोधात्मक क्षमताको कमी
अत्यधिक तनाव र कमजोर रोग प्रतिरोधात्मक क्षमताले पनि प्रत्यक्ष रूपमा चाया आउन मद्दत पुर्याउन सक्छ।
चाया हटाउने केही घरेलु उपाय
१.नरिवलको तेल र कागती
२ चम्चा नरिवलको तेलमा १ चम्चा कागतीको रस मिसाउनुहोस् । यो मिश्रणलाई टाउकोको छालामा राम्ररी मालिस गर्नुहोस् । ३० मिनेटपछि, हल्का स्याम्पु प्रयोग गरेर कपाल धुनुहोस् । यसले टाउकोको छालामा रहेको ढुसीलाई जरैदेखि हटाउन मद्दत गर्छ ।
२.घ्युकुमारी
आफ्नो टाउकोको छालामा ताजा घ्युकुमारीको जेल लगाउनुहोस् र २० देखि ३० मिनेटसम्म छोडिदिनुहोस् । त्यसपछि, कपाल धुनुहोस् । यसले टाउकोको सुख्खापन हटाउन मद्दत गर्छ र चिलाउने समस्याबाट तत्काल राहत प्रदान गर्छ ।
३.दही र मह
आधा कप दही लिनुहोस् र त्यसमा थोरै मह मिसाउनुहोस् । यो मिश्रणलाई कपालको जरासम्म राम्ररी लगाउनुहोस् । ३० मिनेटपछि कपाल धुनुहोस् । यसले टाउकोको छालालाई उत्कृष्ट पोषण प्रदान गर्छ ।
४.मेथीको दाना
मेथीको दानालाई रातभर पानीमा भिजाउनुहोस्, अनि बिहान पिसेर मसिनो पेस्ट बनाउनुहोस्। यसलाई टाउकोको छालामा २० मिनेटसम्म लगाएर राख्नुहोस् र त्यसपछि धुनुहोस्। यो विधि चाया (dandruff) र कपाल झर्ने समस्या दुवै कम गर्न निकै प्रभावकारी हुन्छ।
५.टी ट्री आयल
आफूले नियमित प्रयोग गर्ने स्याम्पुमा २ देखि ३ थोपा ‘टी ट्री आयल’ मिसाउनुहोस् र त्यसले कपाल धुनुहोस् । यसमा पाइने ‘एन्टिफंगल’ (antifungal) गुणले चायालाई छिटो कम गर्न मद्दत गर्छ।
६.एप्पल साइडर भिनेगर
बराबर मात्रामा पानी र एप्पल साइडर भिनेगर मिसाउनुहोस् । यसलाई टाउकोको छालामा छर्किनुहोस् र १० मिनेटपछि कपाल धुनुहोस् । यसले टाउकोको छालाको पीएज स्तर सन्तुलनमा राख्न मद्दत गर्छ ।
आवश्यक छ पोसिलो खानेकुरा पनि
बाह्य हेरचाहका साथै, शरीरलाई भित्रबाट पोषण दिनु पनि उत्तिकै महत्त्वपूर्ण छ । आफ्नो खानपानमा हरियो सागसब्जी, नट्स र ताजा फलफूल समावेश गर्नुहोस्। साथै, टाउकोको छालालाई भित्रैबाट स्वस्थ र हाइड्रेटेड राख्न दिनभर पर्याप्त पानी पिउने सुनिश्चित गर्नुहोस् ।
नियमित सरसफाइ कायम राखेर, स्वस्थ खानपान अपनाएर र यी प्राकृतिक घरेलु उपायहरू प्रयोग गरेर, तपाईंले जाडोयाममा चायाको समस्यालाई सजिलै व्यवस्थापन गर्न सक्नुहुन्छ ।
यदि चायाको समस्या धेरै गम्भीर भएमा वा चिलाउने समस्या असह्य भएमा, ढिला नगरी कुनै योग्य चिकित्सकसँग परामर्श लिनुहोस्।
प्रतिक्रिया 4