+
+
Shares

अभिषेकले यसरी सम्झिए बुबा अमिताभलाई आर्थिक संकटले घेरेको त्यो क्षण

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ३ गते १२:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिषेक बच्चनले सन् २०२१ को पडकास्टमा एबीसीएल टाट पल्टिँदा बोस्टन विश्वविद्यालय छाडेर भारत फर्किएको बताएका छन्।
  • अमिताभ बच्चनले एबीसीएल डुबेपछि ९० करोड रुपैयाँ ऋण तिरेको र यश चोपडासँग काम मागेर ‘मोहब्बतेन’ मा भूमिका पाएको स्मरण गरेका छन्।

अमिताभ बच्चन आज बलिउडका सबैभन्दा ठूला सुपरस्टार हुन् । यद्यपि, उनले आफ्नो करियरमा धेरै संघर्ष पनि गरेका छन् ।

सन् १९९० को दशकको अन्त्यतिर उनको कम्पनी एबीसीएल (एबीसीएल– अमिताभ बच्चन कर्पोरेसन लिमिटेड) टाट पल्टियो । यो उनको जीवनको सबैभन्दा ठूलो धक्का थियो । केही वर्षअघि अमिताभका छोरा तथा अभिनेता अभिषेक बच्चनले त्यो आर्थिक संकटबारे खुलेर कुरा गरेका थिए ।

उक्त संकटले उनीहरूको दैनिक जीवनका सानाभन्दा साना पक्षलाई पनि असर गरेको थियो । अभिषेकले आफ्नो बुबालाई सहयोग गर्न विदेशको कलेज बीचमै छोडेर भारत फर्किएका थिए ।

सन् २०२१ मा रणवीर अल्लाहबादियासँगको एक पडकास्टमा अभिषेक बच्चनले अमेरिकाको कलेजको पढाइ बीचमै छोडेर स्वदेश फर्किएको बताएका थिए । त्यतिबेला एबीसीएल व्यवसाय असफल भएपछि उनका बुबा अमिताभ आर्थिक समस्याबाट गुज्रिरहेका थिए ।

अभिषेकले भनेका छन्, ‘साँचो भन्नुपर्दा मैले युनिभर्सिटी छोडेँ । म बोस्टन युनिभर्सिटीमा पढ्दै थिएँ । मैले सुरुमा लिबरल आर्ट्सलाई मुख्य विषय बनाएको थिएँ । पछि मैले पर्फर्मिङ आर्ट्सलाई मुख्य विषय रोजेँ । मेरा बुबा आर्थिक रूपमा निकै कठिन समयबाट गुज्रिरहनुभएकोले मैले पढाइ छोडेँ । उहाँले एबीसीएल नामको व्यवसाय सुरु गर्नुभएको थियो ।’

त्यो समय आफू बुबालाई कुनै तरिकाले सहयोग गर्न योग्य छु जस्तो उनलाई लाग्दैनथ्यो । ‘तर एक छोराको नाताले म बुबाको वरिपरि रहनुपर्छ र जे जसरी हुन्छ सहयोग गर्नुपर्छ भन्ने मलाई लाग्यो त्यसैले मैले कलेज छोडेँ र फर्किएँ’ अभिषेकले भने । त्यसपछि उनले कम्पनीमा सहयोग गर्न थाले ।

बुबाले राति अबेर आफ्नो स्टडी रुममा बोलाएर आर्थिक संकटबारे आफूलाई बताएको अभिषेकले खुलासा गरेका छन् । अमिताभले उनलाई भनेका थिए, ‘फिल्महरू चलिरहेका छैनन्, व्यवसाय चलिरहेको छैन, केही पनि ठीक भइरहेको छैन ।’

भारत फर्किएपछि अभिषेकले प्रोडक्सन असिस्टेन्टको रूपमा काम गर्न थाले । त्यसपछि उनी असिस्टेन्ट डाइरेक्टर बने । पछि उनले जेपी दत्ताको फिल्म ‘रिफ्युजी’ मा अभिनय गर्ने मौका पाए । यसअघि गलाट्टा प्लससँगको एक राउन्डटेबल कुराकानीमा उनले प्रोडक्सन ब्वायको रूपमा बिताएका सुरुवाती दिनहरू पनि सम्झिएका थिए । त्यतिबेला उनले क्रु मेम्बरहरूको चियामा चिनी कम हालेर पैसा बचाउँथे । यसरी नै उनले साना कुराहरू सिकेका थिए ।

अभिषेकले भनेका छन्, ‘म साँच्चै एक रनर थिएँ । म सेटमा चिया बनाउँथेँ । मेरो मिल्ने साथी सिकन्दरका बुबा गौतम बेरी सीईओ बन्नुभयो । उहाँले मलाई ‘सेटमा जाऊ र चिया बनाउन सुरु गर’ भन्नुभयो । मैले ‘किन?’ भनेर सोधेँ । उहाँले भन्नुभयो, ‘उनीहरूले प्रयोग गर्ने चिनीको मात्रा नियन्त्रण गर्न थाल । किनकि चिनीको बिल निकै धेरै आइरहेको छ ।’

यस्तै साना कुराहरूबाट आफूले सिकेको र त्यहीँबाट माथि उठ्दै असिस्टेन्ट डाइरेक्टर बनेको उनले सुनाए ।

एबीसीएल टाट पल्टिएको विषयमा अमिताभ के भन्थे ?

वर्षौंअघिको एक अन्तर्वार्तामा अमिताभ बच्चनले पनि त्यो संघर्षपूर्ण समयको स्मरण गरेका थिए ।

उनले भनेका छन्, ‘मेरो टाउकोमा सधैं तरबार झुन्डिरहेको जस्तो हुन्थ्यो । मैले धेरै रातहरू अनिदो बिताएँ । एक दिन म बिहान सबेरै उठेँ र सिधै यश चोपडाजीकहाँ गएँ । मैले उहाँलाई म टाट पल्टिए भनेर सुनाए । मसँग कुनै फिल्म थिएन । मेरो घर र नयाँ दिल्लीको थोरै सम्पत्ति लिलामीको प्रक्रियामा थियो । यशजीले शान्त भएर मेरो कुरा सुन्नुभयो ।

त्यसपछि उहाँले मलाई आफ्नो फिल्म ‘मोहब्बतेन’ मा एक भूमिकाको प्रस्ताव गर्नुभयो । त्यसपछि मैले विज्ञापन, टेलिभिजन र फिल्महरू गर्न थालेँ । आज म खुसीसाथ भन्न सक्छु कि मैले आफ्नो ९० करोड रुपैयाँको सम्पूर्ण ऋण चुक्ता गरिसकेको छु । अब म नयाँ सुरुवात गर्दैछु ।’

अमिताभ बच्चनले सन् १९९४-९५ मा इन्टरटेनमेन्ट कम्पनी एबीसीएल सुरु गरेका थिए । कमजोर फाइनान्सियल म्यानेजमेन्टका कारण यो कम्पनी डुबेको बताइन्छ । यसले कम्पनीलाई ठूलो ऋणमा डुबाएको थियो ।

९० करोड रुपैयाँको ऋणमा डुबेका र लगभग सबै सम्पत्ति जफत हुने अवस्थामा पुगेका अमिताभले अभिनय करियरको पुनरागमनसँगै आफूलाई सम्हाले । उनले फिल्म प्रोड्युसर यश चोपडासँग काम मागे ।

फलस्वरूप सन् २००० को फिल्म ‘मोहब्बतेन’ मा भूमिका पाए । सोही वर्ष उनले ‘कौन बनेगा करोडपति’ होस्ट गर्न पनि सुरु गरे । यो कार्यक्रम अत्यधिक सफल साबित भयो र यसले उनको जीवनमा सबै कुरा परिवर्तन गरिदियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?