+
+
Shares

मधेशमा नयाँ सरकार गठन अन्योलमा, दलहरूबीच अझै जुटेन सहमति

मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समयसीमा सकिन एक दिन बाँकी रहँदासमेत दलहरूबीच सत्ता नेतृत्व र सरकार गठनको स्वरूपबारे सहमति जुट्न सकेको छैन ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ३ गते १६:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समयसीमा सकिन एक दिन बाँकी रहँदा पनि दलहरूबीच सत्ता नेतृत्वमा सहमति जुटेको छैन ।
  • एमाले र नेकपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएका थिए, र प्रदेश प्रमुखले बहुमत दाबी पेस गर्न शुक्रबारसम्मको समय दिएका थिए ।
  • जसपा नेपालले सरकार गठनबारे निर्णय गर्न नसक्दा र जनमत पार्टी सरकारमा सहभागी नहुने बताएपछि मधेश प्रदेशको नयाँ राजनीतिक समीकरण अन्योलमा परेको छ ।

३ मङ्सिर, जनकपुरधाम । मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समयसीमा सकिन एक दिन बाँकी रहँदासमेत दलहरूबीच सत्ता नेतृत्व र सरकार गठनको स्वरूपबारे सहमति जुट्न सकेको छैन ।

कुनै पनि दलसँग एकल सरकार गठन गर्न आवश्यक बहुमत नरहेकाले तीनदेखि चार दलबीचको सहकार्यबाट मात्रै नयाँ सरकार गठन हुने अवस्था छ । तर, सरकार गठनका लागि गठबन्धन बनाउने विषयमा दलहरूबीच ठोस सहमति नहुँदा राजनीतिक अन्योल बढेको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले नेपाली कांग्रेस नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कृष्णप्रसाद यादवले पदबाट राजीनामा दिएका थिए।

प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले मुख्यमन्त्री यादवको राजीनामा स्वीकृत गर्दै भोलि शुक्रबारसम्म संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री पदमा नियुक्तिका लागि दाबी पेस गर्न समयसीमा दिएका थिए।

निर्धारित समयसीमा नजिकिँदै जाँदा पनि कुन दलको नेतृत्वमा नयाँ सरकार गठन गर्ने भन्ने विषयमा सहमति जुट्न नसकेको नेकपा संसदीय दलका नेता युवराज भट्टराईले बताए।

“विभिन्न दलबीच सरकार गठनका विषयमा छलफल जारी छ,” उनले भने, “कुन दलको नेतृत्वमा सरकार बनाउने भन्ने विषयमा ठोस सहमति भइसकेको छैन । अझै केही समय बाँकी छ, हेरौँ केही सहमति हुन्छ कि !” नयाँ सरकार गठनका लागि आफूहरू सहयोगी भूमिका निर्वाह गर्न तयार रहेको उनले बताए।

मधेश प्रदेशसभाको सबैभन्दा ठूलो दल जनता समाजवादी पार्टी (जसपा) नेपालले नयाँ सरकार गठनबारे निर्णय लिन नसक्दा पनि प्रक्रिया अन्योलमा परेको छ । एमाले र नेकपाले जसपा नेपालको नेतृत्वमा सरकार गठन गर्न चाहेको भए पनि जसपाले ठोस निर्णय गर्न नसकेको बताइएको छ ।

यसअघि पटकपटक सरकार परिवर्तन भएको भन्दै जसपा नेपालका नेताहरूले आगामी निर्वाचनको मुखमा प्रदेश सरकारको नेतृत्व लिन अनिच्छा देखाएको बताएका छन् । जसपा नेपाल मधेश प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवले प्रदेश सरकार गठनबारे निर्णय गर्ने जिम्मेवारी पार्टी अध्यक्ष उपेन्द्र यादवलाई दिइएको बताए।

यसैबीच, केही दिनअघि जनमत पार्टीका अध्यक्ष डा सिके राउतले आफ्नो पार्टी मधेश प्रदेश सरकारमा सहभागी नहुने बताएका थिए।

कूल १०७ सदस्यीय मधेश प्रदेशसभामा जसपा नेपालका २८, नेकपा (एमाले) का २४, नेपाली कांग्रेसका २२, नेकपाका १५ र जनमत पार्टीका १२ जना प्रदेशसभा सदस्य छन् । त्यस्तै, नेपाल सङ्घीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक/एक जना प्रदेशसभा सदस्य रहेका छन् ।

प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेकाले नयाँ सरकार गठनका लागि बहुदलीय सहकार्य अपरिहार्य देखिएको छ । तर, सत्ता नेतृत्वको विषयमा दलहरूबीच सहमति जुट्न नसक्दा मधेश प्रदेशको नयाँ राजनीतिक समीकरण अझै अनिश्चित छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?