विराटनगरको सामान्य किसान परिवारमा जन्मिएका डा. उदयनारायण यादव (३६) को बाल्यकाल संघर्षमा बित्यो । भैँसी चराउने र दूध बेचेर परिवारको गुजारा चलाउने उनका बुबाको बाध्यता थियो ।
विराटनगर महानगरपालिका–१३ रानीबाट संघर्ष गर्दै माथि उठेका उनै उदय अहिले अस्ट्रेलियालगायत अन्य देशका जनस्वास्थ्य नीति निर्माणमा योगदान गरिरहेका छन् । उनी अस्ट्रेलियन नेसनल युनिभर्सिटीमा क्रोनिक डिजिज इम्प्लिमेन्टेसन वैज्ञानिकको रूपमा कार्यरत छन् ।
जनस्वास्थ्य क्षेत्रमा अध्ययन अनुसन्धान गर्ने विश्वका थोरै वैज्ञानिकको सूचीमा उनको पनि नाम छ । अस्ट्रेलियामा बसोबास गर्ने उनको अध्ययन र अनुसन्धान त्यहाँमात्र सीमित छैन, अन्य विकासशील र विकसित राष्ट्रहरूमा समेत फैलिएको छ ।
विश्व स्वास्थ्य संगठनको स्वास्थ्यसम्बन्धी नीति परिमार्जनमा उनको अनुसन्धानले भूमिका खेलेको छ । जनस्वास्थ्य क्षेत्रमा विश्व समाजलाई विभिन्न अनुसन्धानमार्फत उदाहरणीय सन्देश प्रवाह गरिरहेको छ । १२५ भन्दा बढी अनुसन्धान गरेका उनका अनुसन्धान प्रतिवेदन विश्वका चर्चित जर्नलहरूमा प्रकाशित छन् ।
नेपालसँगै भारत, बंगलादेश, पाकिस्तान र अस्ट्रेलियामा दीर्घरोगमाथि अनुसन्धान गरेर विभिन्न उनले प्रतिवेदनहरू प्रकाशित गरेका छन् ।
बुबा शिक्षक बनाउन चाहन्थे, जग्गा बेचेर वैज्ञानिक बने
निम्नमध्यमवर्गीय परिवारमा हुर्किएका उदयनारायणको बाल्यकालका सपना सीमित थिए । विराटनगरको जेसी बाल सदन स्कुल पढ्दै गर्दा उनले शिक्षक बन्ने सपना देखे । बुबा पनि छोरा शिक्षक बनेको हेर्न चाहन्थे ।
महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसबाट आईए पूरा गरेपछि उच्च शिक्षाको ढोका खुल्यो । प्लस टु पढेपछि उनको चाहना एमबीबीएस गर्ने थियो । तर आर्थिक अवस्थाले त्यो सम्भव भएन । धरानको हात्तीसार क्याम्पसमा माइक्रोबायोलोजी अध्ययन गरे ।
धरानमा अध्ययन गर्दा गरेको एउटा अनुसन्धानले उदयको जीवनमा ठूलो प्रभाव पार्यो । अध्ययन गर्दै गर्दा उनको टिमले पहिलो पटक सन् २००९–२०१० मा धरानको खानेपानीको गुणस्तरमाथि अनुसन्धान गरेको थियो ।
उनीहरूको अध्ययन प्रतिवेदनले धरानको खानेपानीको अवस्था बाहिर ल्यायो । जसले गर्दा धरानको खानेपानीको गुणस्तर सुधार गर्न प्रेरित गर्यो ।
धरानको पढाइपछि उनी उच्च शिक्षाका लागि जग्गा बेचेर भारतको कर्नाटकामा रहेको मणिपाल युनिभर्सिटीमा क्लिनिकल माइक्रोबायोलोजी पढ्न पुगे । क्लिनिकल माइक्रोबायोलोजी पढेको एक वर्षपछि पब्लिक हेल्थ विषय पढ्न थाले ।
कलेजमा विभिन्न विषयमा छलफल भइरहन्थ्यो । विदेशी पाहुनासहित भारतको सरसफाइको विषयमा आयोजित कार्यक्रममा उनले भारतलाई सफा गर्ने हो भने ‘पहिले ट्रेनको पट्री साफ गर्नुपर्छ’ भनिदिए । यो प्रस्तुति सुनेपछि क्यानेडियन प्राध्यापकले उनको बारेमा सोधिखोजी गरे । ती प्राध्यापककै सल्लाहमा उनी माइक्रोबायोलोजी छाडेर पब्लिक हेल्थ पढ्न थाले । विषय परिवर्तन गरेपछि उदयले फर्किएर पछाडि हेर्नु परेन ।
पब्लिक हेल्थ अध्ययनले उनको अनुसन्धानको रुचि थप निखारियो । त्यसबेला उनले भारतकेन्द्रित आप्रवासी नेपालीको स्वास्थ्य सेवा र आर्थिक पहुँचका विषयमा अध्ययन गरे । जसले नेपाली आप्रवासीले भारतमा झेल्नुपर्ने समस्या बाहिर ल्यायो । उनले भारतको कर्नाटकामा एचआईभी संक्रमितहरूको अवस्थाको बारेमा पनि अध्ययन गरे ।
सन् २०१४ मा पब्लिक हेल्थ इपिडिमियोलोजीमा स्नातकोत्तर सकेपछि उनी नेपाल फर्किए । नेपाल फर्किएपछि उनको ध्यान अनुसन्धानमै केन्द्रित भयो ।
डा. उदयले ज्येष्ठ नागरिकको दीर्घ रोगका बारेमा अनुसन्धान गरे । मोरङ-सुनसरीलाई आधार बनाएर अध्ययन गर्दा ज्येष्ठ नागरिकले भोग्नुपरेको पारिवारिक, शारीरिक समस्या र तनावका बारेमा बुझ्न पाए । ‘मलाई अनुसन्धानमा एकदमै रुचि लाग्छ । फुर्सद भएको दिन अध्ययनमा निस्किहाल्छु,’ उनी भन्छन् ।
सन् २०१८ मा पीएचडी गर्न उनी अस्ट्रेलियाको सिड्नीमा रहेको युनिर्भसिटी अफ न्यू साउथ वेल्स गए । नेपालमा हुँदा अनुसन्धानको क्षेत्रमा काम गरेका कारण अस्ट्रेलियामा पनि अनुसन्धानमै खटिए । अध्ययनकै क्रममा बंगलादेशमा उनले रोहिंग्या आप्रवासी शिविरमा दीर्घरोगको प्रभावका बारेमा अध्ययन गरे । भारत र पाकिस्तानमा पनि अनुसन्धान गरे ।
कोभिड–१९ महामारीको समयमा डा. उदयनारायणको अनुसन्धानले विश्वव्यापी चर्चा कमाएको थियो । उनले कोभिड मात्रै नभई जोखिममा रहेका जनसंख्या (वृद्ध, रोगी, गरिबी)लाई लक्षित गरी समग्र व्यवस्थापनको आवश्यकता औंल्याएका थिए । अनुसन्धानका आधारमा तयार पारेको लेखले नीति निर्माणमा प्रभाव पार्यो । कोभिडले मात्र नभई गरिबी, विभेद र सामाजिक–आर्थिक अवस्थाले पनि मानिसको स्वास्थ्यमा प्रभाव पार्ने उनले उल्लेख गरेका थिए ।
‘कोभिड मात्रै म्यानेजमेन्ट गर्यौं भने जनता मर्छन् । त्योभन्दा पहिला देशमा कुनकुन जनसंख्या जोखिममा रहेको छ, वृद्धवृद्धा तथा गरिब बस्तीहरूमा ध्यान दियौं भने कोरोना कन्ट्रोल हुन्छ,’ अध्ययनमार्फत तयार गरेको आर्टिकलमा उनले लेखेका थिए, ‘गरिबी छ भने लकडाउनले केही हुँदैन, पहिला सपोर्ट प्याकेज र एजुकेसन चाहिन्छ । कोभिडले बिरामी ल्याउँछ भन्ने कन्सेप्ट भयो भने त्यो रोग कहिल्यै निको हुँदैन ।’
ग्लोबल अभियानको नेतृत्व

सन् २०२१ मा पीएचडी सकेका डा. उदयनारायण अहिले अस्ट्रेलियन नेसनल युनिभर्सिटीमा क्रोनिक डिजिज इम्प्लिमेन्टेसन वैज्ञानिकको रूपमा काम गर्छन् । त्यहाँ उनी अस्ट्रेलियन आदिवासी समुदायको क्षेत्रमा अनुसन्धान गरिरहेका छन् । उनले सरकारले सञ्चालन गरेको ‘हेल्थ चेक’ कार्यक्रमको मूल्याङ्कन टोलीको नेतृत्वसमेत गरे ।
डा. उदयको अनुसन्धानले सरकारी नीतिको प्रभावकारितामा सुधार ल्यायो र आदिवासी समुदायको आवश्यकताअनुसार कार्यक्रमहरूलाई सांस्कृतिक रूपमा सुरक्षित र लचिलो बनाउन सरकार तयार भयो । ‘त्यहाँका आदिवासी समुदाय नेपालको जस्तै सामूहिकतामा रमाउन चाहन्छन्,’ उनी भन्छन्, ‘गोरा जातिको संस्कार अलिक फरक छ । लोकल रियालिटी बुझ्नका लागि हामीले काम गर्यौं ।’
उनकै अनुसन्धानको आधारमा अस्ट्रेलियन सरकारको क्लिनिकल गाइडलाइन, फन्डिङ फ्रेमवर्क परिवर्तन हुने क्रममा छ ।
डा. उदयको अनुसन्धानले विश्व स्वास्थ्य संगठनका १३ वटा स्वास्थ्य मार्गदर्शन गरेको छ । साथै, आदिवासी समुदायमा संक्रामक, गैरसंक्रामक तथा दीर्घरोग नियन्त्रणसम्बन्धी नीतिलाई परिमार्जन गरेको छ ।
उनी ‘इप्लिमेन्टेसन साइन्स फर ग्लोकल हेल्थ’ युनिटको नेतृत्व गरिरहेका छन् । उनको इकाइले विश्वव्यापी ज्ञानलाई स्थानीय सन्दर्भमा लागु गर्ने र स्थानीय ज्ञानलाई विश्वव्यापी रूपमा फैलाउने उद्देश्य राखेको छ ।
‘विश्वव्यापी र स्थानीय दुवै रूपमा अध्ययन गर्छौं । स्थानीय सिकाइलाई विश्वव्यापी गर्ने, विश्वव्यापी सिकाइलाई स्थानीयस्तरमा लागु गर्ने गरी काम गर्दैछौं,’ उनले भने, ‘सेयरिङ सिकाइलाई बाँड्दा अनुसन्धान प्रभावकारी हुन्छ ।’
३६ वर्षकै उमेरमा विश्व स्वास्थ्य संगठन, अस्ट्रेलिया र अन्य विकसित मुलुकहरूको नीति परिवर्तन गर्ने तहमा पुगेका डा. उदयनारायण अस्ट्रेलिया र नेपालका पिछडिएका जनसंख्यामा केन्द्रित अनुसन्धान गरिरहेका छन् ।
नेपाल र अस्ट्रेलियाको नीति निर्माणमा फरक
डा. उदयनारायण यादव नेपाल र अस्ट्रेलियाको नीति निर्माण प्रक्रियामा ठूलो भिन्नता देख्छन् । अस्ट्रेलियामा नीति निर्माण अनुसन्धानमा आधारित हुने, सार्वजनिक छलफल हुने र पारदर्शिता अपनाइने उनको अनुभव छ । हरेक नीतिको निरन्तर मूल्याङ्कन भइरहेको उनले देखेका छन् । तर नेपालमा भने नीति निर्माणमा पर्याप्त अनुसन्धान नभएको उनी बताउँछन् ।
अस्ट्रेलियामा उनलाई नीति आयोगका बैठकहरूमा बोलाइन्छ र उनको विचारलाई महत्व दिइन्छ । ‘अस्ट्रेलियामा विश्वविद्यालयहरूले सरकार सञ्चालनका लागि मार्गदर्शन दिन्छन्,’ उनले भने, ‘यहाँ भने ठिक उल्टो छ ।’
डा. उदयका अनुसार अस्ट्रेलियाले अस्पतालमा लगानी घटाएर स्वास्थ्य केन्द्रमार्फत प्रवाह हुने सेवा बढाइरहेको छ । नेपालमा भने ठिक विपरीत छ । राज्यले अस्पतालमा लगानी थपिरहेको छ । स्वास्थ्य केन्द्र प्राथमिकतामा परेको छैन र स्वास्थ्य सेवाको गुणस्तरले नेपालका मानिसहरूको आवश्यकता पूरा गर्न असफल भइरहेको छ ।
‘प्राथमिक स्वास्थ्य केन्द्रमा प्रभावकारी सेवा प्रवाह गरियो भने अस्पताल आउनुपर्ने बिरामीको चाप घटाउन सकिन्छ,’ उनले भने, ‘स्वास्थ्य चौकीहरूलाई प्रभावकारी बनाउँदा सुविधा र खर्चका हिसाबले धेरै सहुलियत पर्छ ।’
नेपालमा गरेको अनुसन्धानले उनलाई अस्ट्रेलियाको अनुसन्धानमा धेरै सहयोग गर्यो । यहाँ दीर्घ रोगमा अनुसन्धान गरे । अस्ट्रेलियामा पनि सोही विषय अध्ययन गर्दै छन् । ‘नेपालमा गरेको दीर्घरोग अध्ययनको सपोर्टमा अस्ट्रेलियाको नेसनल ब्लु प्रिन्ट बनाउन योगदान गर्यो,’ उनले भने, ‘यहाँ कसरी नीति बन्छ थाहा हुँदैन । अनुसन्धान एकातर्फ छ, नीति अर्कैतर्फ ।’
नेपालमा गर्दै छन् दीर्घरोगको अनुसन्धान
अस्ट्रेलिया पुगे पनि डा. उदयनारायण यादवलाई देशको मायाले छाडेको छैन । उनी पछिल्लो समय नेपालमा दीर्घरोगको अनुसन्धानमा जुटेका छन् । कोशी प्रदेशमा केन्द्रित रहेर मधुमेह, उच्च रक्तचाप र श्वासप्रश्वास सहितका दीर्घरोगको विषयमा अध्ययन गरिरहेका छन् । सेन्टर फर रिसर्च, पोलिसी एन्ड इम्प्लिमेन्टेसनमार्फत ‘बहु दीर्घकालीन रोगसम्बन्धी टाइप–२ इम्प्लिमेन्टेसन ट्रायल अध्ययन’ नाम दिएर अध्ययन सुरु गरेका हुन् ।
उनका अनुसार नेपालका समुदायहरूमा बहु दीर्घरोगको प्रभाव वृद्धि हुनुमा धेरै जटिल कारणहरू छन् । स्वास्थ्य साक्षरता अत्यन्तै न्यून छ । अधिकांश मानिसहरू यी रोगहरूको व्यवस्थापन गर्ने तरिकाबारे अनभिज्ञ छन् । डा. उदय भन्छन्, ‘उपलब्ध प्राथमिक स्वास्थ्य सेवा गुणस्तरीय छैन । कतिपय चिकित्सकले एउटा रोगको उपचार त गर्छन्, तर अरू स्वास्थ्य समस्यालाई वास्ता गरिँदैन । जब रोगका लक्षणहरूमा अपेक्षित सुधार हुँदैन तब मानिसहरू घरेलु उपचार वा परम्परागत उपचारतर्फ लाग्छन् ।’
डा. उदयनारायण अनुसन्धानमा आधारित भएर बिरामीकेन्द्रित सेवा प्रणालीको नमुना विकास गर्न दृढ छन्, जसबाट आफ्ना समुदायका जस्ता विपन्न र पिछडिएका मानिसहरूको स्वास्थ्य अवस्था सुधार गर्न सकियोस् ।
नेपालको प्राथमिक स्वास्थ्य प्रणालीमा महत्त्वपूर्ण भूमिका खेल्ने उनको योजना छ । भन्छन्, ‘हामी सामुदायिक स्वास्थ्यकर्मीहरूलाई बहु दीर्घरोगको व्यवस्थापनका सम्बन्धमा विशेष प्रशिक्षण प्रदान गर्नेछौं, जसबाट उनीहरूको सिप र ज्ञानको सम्मान गर्दै सामुदायिक र सांस्कृतिक रूपमा सुरक्षित तरिकाले बहु दीर्घरोगको व्यवस्थापनमा सक्षम बनाउने छौं ।’
उनका अनुसार यो समग्र प्रशिक्षणमा उच्च रक्तचाप र रगतमा चिनीको मात्रा निगरानी गर्ने, दीर्घ श्वासप्रश्वास रोगका लक्षणहरू पहिचान र व्यवस्थापन गर्ने, स्थानीय भाषामा बहु दीर्घरोगबारे बिरामीहरूलाई स्वास्थ्य शिक्षा दिने, रोगहरूको स्वव्यवस्थापनका अभ्यासमा मार्गदर्शन गर्ने र दौँतरीको सहयोगमा आधारित स्वास्थ्य व्यवहार परिवर्तन कार्यक्रमहरू तथा प्रेषण सेवा जस्ता विषयहरू समावेश हुने छन् ।
‘हालसम्मका अधिकांश स्वास्थ्य कार्यक्रमहरू चिकित्सामुखी छन्, जसमा रोग व्यवस्थापनको समग्र दृष्टिकोण र सामुदायिक सहभागिता निकै सीमित छ,’ डा. उदय भन्छन्, ‘समुदायलाई नै सशक्तीकरण गर्नुपर्छ । त्यसपछि समुदायले नै आफ्नो स्वास्थ्य र जीवनस्तर सुधार गर्नसक्छ ।’
उनको बहु दीर्घरोग अनुसन्धानका लागि मोरङ र सुनसरीका ३० वटा स्वास्थ्य चौकी छनोट भएका छन् । अबको पाँच वर्ष ३० वटा स्वास्थ्य चौकी मातहत मधुमेह, रक्तचाप, दमको अध्ययन हुनेछ । सँगै अन्य दीर्घरोगको पनि अनुसन्धान हुनेछ ।
अध्ययनका क्रममा ३० मध्ये १५ स्वास्थ्य चौकी मातहतका दीर्घ रोगीका लागि नियमित चेकजाँच, दैनिकी व्यावहारको अध्ययन गरी सामाजिक गतिविधिमा सक्रिय गराइने छ । अन्य १५ स्थानमा सामान्य अवस्थामा अध्ययन गरिने छ ।
‘यस्तो प्रकृतिको अध्ययन आजसम्म भएको थिएन,’ उनी भन्छन्, ‘यो अध्ययनले दीर्घ रोगको रोकथाम र उपचारका लागि राज्यलाई नीति निर्माणमा सहयोग गर्नेछ ।’
पाँच वर्षभित्र दुई क्षेत्रमा नियमित रूपमा तुलनात्मक अध्ययन गरिने छ । अध्ययनपछि नेपाल सरकारलाई प्रतिवेदन बुझाउने लक्ष्य उनको छ । यो अध्ययनले नीति निर्माणदेखि व्यावहारिक स्वास्थ्य सेवा सुधारसम्म राज्यलाई मार्गनिर्देश गर्नेछ ।
प्रतिक्रिया 4