८ मंसिर, काठमाडौं । २६ कात्तिकका दिन मकवानपुर भीमफेदीमा भएको विद्युतीय गाडी (ईभी) दुर्घटना चालकको थकान वा एकाग्रतामा आएको कमीका कारण भएको निष्कर्ष छानबिन प्रतिवेदनले निकालेको देखाएको छ ।
दुर्घटनामा १४ जनाको ज्यान गएको थियो भने ६ जना घाइते भएका छन् । काठमाडौंबाट सर्लाही जाँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०८८० नम्बरको यात्रुवाहक ईभी सडकबाट ५ सयदेखि ७ सय मिटर तल खसेको प्रतिवेदनमा उल्लेख छ ।
घटनापछि मकवानपुर जिल्ला सुरक्षा समिति बैठकले मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो ।
समितिले आफ्नो प्रतिवेदन जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बुझाएको छ । समितिले दुर्घटनाको सम्भावित कारणमा चालकको थकान र अपर्याप्त आरामलाई पहिलो नम्बरमा राखेको छ ।
‘दुर्घटनाको समयमा चालकको शारीरिक तथा मानसिक अवस्था, अघिल्लो यात्राको विवरण र पर्याप्त आराम गरेको वा नगरेको विषय दुर्घटनाको सम्भावित कारणका रूपमा देखिएको छ,’ प्रतिवेदनमा छ ।
प्रतिवेदन अनुसार चालकले त्यसदिन राति २ बजे काठमाडौंबाट यात्रा थालेका थिए । दुर्घटना पौने ६ बजे भएको देखिन्छ । चालकले अघिल्लो दिनसमेत सवारी चलाएका कारण आराम नपुग्दा दुर्घटनामा परेको प्रतिवेदनमा छ ।
सवारी धनीले दिएको बयानलाई प्रतिवेदनमा समेटिएको छ । जसअनुसार २४ कात्तिकका दिन बिहान ५ बजे काठमाडौंबाट हिँडेका चालक मलंगवा दिउँसो १ बजे पुगेका थिए । सोही दिन साँझ ७ बजे काठमाडौं हिँडेका चालक राति २ बजे आइपुगेका थिए ।
२५ गते बिहान साढे ७ बजे काठमाडौंबाट हिँडेका चालक दिँउसो साढे २ बजे मलगंवा पुगेका थिए । सोही दिन साँझ ५ बजे काठमाडौं हिँडेका उनी २६ गते बिहान १ बजे काठमाडौं पुगेका थिए । त्यसको १ घण्टापछि उनी गाडी लिएर सर्लाही लागेका थिए ।
बिहान पौने ६ बजे ईभी दुर्घटनामा पर्यो । यसबाट कम्पनी वा सवारी धनीले एकै चालकलाई अत्यधिक श्रममा लगाएको पुष्टि भएको छ । प्रतिवेदनले चालकलाई पर्याप्त आरामको व्यवस्था मिलाउनुपर्नेमा त्यसो नगरेकोप्रति यातायात व्यवसायी र सवारी धनीको भूमिकामाथि प्रश्न उठाएको छ ।

सडकमा थिएन अवरोध
दुर्घटनास्थलको स्थलगत अवलोकन अनुसार सडकको सोही स्थानमा केही उकालो भागपछि घुम्ती थियो । तर, घुम्ती पुग्नु अगाडि नै सवारीसाधन जंगलतर्फ गएको जस्तो देखिएको छ । दुर्घटनास्थलमा सडकको चौडाइ ६ मिटर कालोपत्र र १० मिटरभन्दा बढी सोल्डर भएको थियो । यसले कालोपत्र सडक भित्रै दुईतर्फी गाडी गुडाउन सक्ने अवस्था जनाउँछ ।
दुर्घटना भएको सडक छेउमा करिब १० वटा साना गाडी पार्किङ गर्न मिल्ने स्थान रहेको समेत देखिएको छ । उक्त स्थान नजिकै केही होटल समेत रहेको देखिन्छ । सडक साँघुरो भएका कारण दुर्घटनामा परेको भन्न नसकिने छानबिन समितिको निष्कर्ष छ ।
सवारीसाधनले घुम्तीको दिशा अनुसरण नगरी सिधै सडकबाट बाहिर गएकोबाट दुर्घटनाअघि चालकले सवारीसाधन माथिको नियन्त्रण गुमाएको प्रतिवेदनमा लेखिएको छ ।
भीमफेदी चिसापानी गढी क्षेत्रको सडकको भौगोलिक बनावट भने घुम्ती, ढकान, चौडाइ र सडक किनारा अवलोकन गर्दा सवारी सञ्चालनमा जोखिम उत्पन्न गर्न सक्ने प्रकृतिको छ । यो सडक कुलेखानी जलविद्युत् आयोजनाका लागि निर्माण सामग्री र उपकरण ढुवानीका लागि बनाइएको हो । अहिले सार्वजनिक यातायातका साधन समेत प्रयोगमा छ ।
सडकको मूल निर्माण प्रयोजन, भौगोलिक वनावट तथा हालको सवारी चापबीच पर्याप्त सामन्जस्यतामा भने प्रश्न उठाइएको छ । यस भेगमा हुने अधिक दुर्घटनामा सवारीसाधनका ब्रेकको समस्या, सवारी चालकको थकान र सडकको बनावट अधिक रहेको प्रतिवेदनको भनाइ छ ।
११ सिट क्षमतामा २० यात्रु
सवारीसाधनमा यात्रारत यात्रु निद्रामा थिए । सोहीकारण सडकबाट सवारी खसेपछि मात्र केही घाइतेले थाहा पाएका थिए । त्यसपछि उनीहरू सडकमा आई प्रहरीलाई घटनाबारे जानकारी गराएका थिए ।
दुर्घटनाग्रस्त सवारीसाधनमा चालक सहित २० यात्रु थिए । तर, सवारीसाधनको ब्लुबुकमा भने यात्रु क्षमता ११ मात्र रहेको प्रतिवेदनमा उल्लेख छ । यो सवारीले क्षमताभन्दा बढी यात्रु बोकेको पुष्टि भएको छ ।
यसले सवारीको कुल भार, सन्तुलन, ब्रेकिङ क्षमतामा पनि असर गर्छ । यद्यपि, दुर्घटनाको सम्भावित कारण बढी भार क्षमताका कारण हो भनेर निष्कर्ष भने निकालिएको छैन ।
विद्युतीय सवारीसाधन सञ्चालन सम्बन्धी ज्ञान र प्राविधिक जानकारीको कमी
यस प्रतिवेदनमा विभिन्न सञ्चारमाध्यममा प्रकाशित अन्तर्वार्ता र धारणा समेत समेटिएको छ । विज्ञले चालकलाई मात्र दुर्घटनाको जिम्मेवार ठहर्याउनु भन्दा पनि चालकको व्यावसायिक क्षमता विकास, कार्यसम्पादनमा आधारित प्रोत्साहन तथा नियमन र सडक सुरक्षाका सम्बन्धित सबै सरोकारवालाको जिम्मेवारी र जवाफदेहितामा जोड दिएका छन् ।
विद्युतीय सवारीसाधन सञ्चालन गर्ने चालकलाई त्यस्ता सवारीसाधनको विशेषता, सञ्चालन प्रणाली, प्राविधिक क्षमता तथा सुरक्षा सावधानी सम्बन्धी पर्याप्त जानकारी र तालिम उपलब्ध नभएको विषय प्रतिवेदनमा राखिएको छ ।
विद्युतीय सवारीसाधनमा प्रयोग हुने उपकरण तथा प्रणाली सम्बन्धी सूचना र चेतावनी अंग्रेजी भाषामा मात्र उपलब्ध हुने अवस्था सबै चालकमा अंग्रेजी भाषाको पर्याप्त ज्ञान नहुँदा चालकलाई ती सूचना बुझ्न कठिनाइ हुन सक्ने देखिएको छ ।
लामो यात्रामा चल्ने ईभी तथा विशेषगरी यस्ता सवारी नेपालको जस्तो पहाडी धरातलमा सञ्चालन गर्न मिल्ने/नमिल्ने सम्बन्धमा सम्बन्धित निकायबाट विस्तृत अध्ययन हुन आवश्यक रहेको समेत प्रतिवेदनले औँल्याएको छ ।
ईभी सञ्चालन गर्ने चालकलाई सवारीको प्राविधिक विशेषता, ब्रेकिङ प्रणाली, ब्याट्री व्यवस्थापन, भारवहन क्षमता, चेतावनी संकेत तथा आपत्कालीन अवस्थाको व्यवस्थापन सम्बन्धी व्यावहारिक ज्ञान र तालिम प्रदान गर्नुपर्ने आवश्यकता देखाइएको छ ।
साथै, सवारीसाधनमा रहेका महत्त्वपूर्ण सूचना तथा चेतावनी नेपाली भाषामा समेत उपलब्ध गराउन उपयुक्त हुनेसमेत प्रतिवेदनको निष्कर्ष छ ।
प्रशासन र नियम कानुनमा प्रश्नैप्रश्न
दुर्घटनाग्रस्त सवारीसाधनले सञ्चालन गरिरहेको रुट, रुट परमिटको वैधता, सवारी सञ्चालन अनुमति तथा स्वीकृत सेवा प्रकृतिको अवस्थाको अध्यउन गर्दा ती कागजात उपलब्ध भएको पाइएको छ ।
तर, सवारीसाधन सञ्चालन व्यवस्थापनमा सवारी धनी, यातायात व्यवसायी तथा सम्बन्धित नियमनकारी निकायको भूमिका रहन्छ । यो सवारीले सवारी सञ्चालन सम्बन्धी कानुनी तथा प्रशासनिक व्यवस्था पालना भए/नभएको अवस्था समेत मध्यनजर गरी एकदिनमा कति पटक साहीे मार्ग हुँदै सवारी सञ्चालन गर्न पाइने हो, एउटै चालकले कति समयसम्म सवारी चलाउन मिल्ने हो, नेपालको पहाडी धरातल भएको सडकमा कुन प्रकृतिका सवारी चलाउने अनुमति दिन मिल्ने हो, सार्वजनिक सवारीलाई यात्रु संकलन तथा बुकिङ प्रक्रियामा कस्तो मापदण्ड बनाउनुपर्ने हो भन्नेबारे सम्बन्धित निकायले गहन अध्ययन गर्नुपर्ने देखिएको प्रतिवेदनमा उल्लेख छ ।
सडक सुरक्षा तथा सवारीसाधनको गति नियन्त्रणका लागि लागु गरिएको टाइम कार्ड प्रणाली कार्यान्वयन र प्रभावकारिता पनि दुर्घटनाका सन्दर्भमा महत्त्वपूर्ण देखिएको छ ।
टाइम कार्ड प्रणालीले सवारीसाधनको निश्चित स्थानबीचको आवागमन समय अनुगमन गर्न सहयोग गरे तापनि यसले चालकको कार्यअवधि, आरामको अवस्था, सवारीसाधनको प्राविधिक अवस्था तथा यात्रु क्षमताको पालना सुनिश्चित गर्ने सम्पूर्ण आधार प्रदान नगर्ने प्रतिवेदनमा उल्लेख छ ।
यसर्थ टाइम कार्ड प्रणालीे कार्यान्वयन मात्र पर्याप्त नहुने र यसलाई चालकको कार्यावधि, सवारीसाधनको अवस्था, यात्रु संख्या तथा जोखिमयुक्त सडकखण्डको नियमित अनुगमनसँग आबद्ध गर्नुपर्ने सुझाइएको छ ।
यस्तो छ समग्र विश्लेषणको निष्कर्ष
उपर्युक्त विषयहरूको समग्र विश्लेषण गर्दा दुर्घटनामा चालकको लगातारको कार्यावधि तथा पर्याप्त आराम अभाव, सडकको घुम्ती तथा भौगोलिक बनावट, रात्रिकालीन दृश्यताको अवस्था, सडक सुरक्षा संकेत तथा सुरक्षात्मक संरचनाको पर्याप्तता, विद्युतीय सवारीसाधन सञ्चालन सम्बन्धी चालकको ज्ञान तथा सवारी सञ्चालनको नियमन लगायत पक्ष सम्भावित कारण तथा जोखिमका रूपमा देखिएका छन् ।
विशेषगरी चालकले लगातार लामो समयसम्म सवारी सञ्चालन गरेको विवरण, दुर्घटनास्थलमा सवारीसाधन घुम्तीको दिशा अनुशरण नगरी सडकबाट बाहिर गएको अवस्था तथा घाइते यात्रुहरूको भनाइ एकसाथ विश्लेषण गर्दा चालकको थकान वा एकाग्रतामा कमी आएको सम्भावना नकार्न सकिने अवस्था देखिएन ।
त्यसैगरी सडकको भौगोलिक बनावट तथा सुरक्षात्मक संरचनाको अवस्थाले दुर्घटनापछिको क्षतिको गम्भीरतामा प्रभाव पारेको हुन सक्ने देखिन्छ ।
तथापि माथि उल्लिखित पक्षलाई दुर्घटनाका अन्तिम तथा प्रमाणित कारणका रूपमा नभई समितिको अध्ययनका क्रममा प्राप्त तथ्य, विवरण तथा सरोकारवालाको भनाइबाट देखिएका सम्भावित कारण र जोखिमका रूपमा लिइएको छ ।
दुर्घटनाको अन्तिम कारण तथा सम्बन्धित पक्षको जिम्मेवारी निर्धारण गर्दा उपलब्ध प्रमाण, प्राविधिक परीक्षण र प्रचलित कानुनी व्यवस्था आधार बनाइएको छ ।
यी हुन् सडक दुर्घटना न्यूनीकरणमा दिइएका सुझाव
- जोखिमयुक्त सडकको सुरक्षा परीक्षण तथा सुधार
- जोखिमयुक्त स्थानमा गति नियन्त्रण तथा अनुगमन
- चालकको विश्राम तथा कार्यावधि सुनिश्चित गर्ने
- यात्रु क्षमता नियमन तथा सुरक्षित यात्रा सुनिश्चित गर्ने
- चालकको क्षमता अभिवृद्धि
- विद्युतीय सवारीसाधनका लागि विशेष सुरक्षा मापदण्ड विकास गर्ने
प्रतिक्रिया 4