+
+
Shares

विपद् व्यवस्थापनमा स्थानीय तहको भूमिका महत्वपूर्ण हुन्छ : मुख्यमन्त्री भट्ट

रासस रासस
२०८३ मंसिर ८ गते २०:२२

८ मंसिर, महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले विपद् व्यवस्थापन र जलवायु अनुकूलनका लक्ष्य हासिल गर्न सुदूरपश्चिम प्रदेश सरकार स्थानीय तहहरूसँग हातेमालो गर्दै अघि बढ्न प्रतिबद्ध रहेको बताएका छन् ।

मङ्गलबार कञ्चनपुरको बेदकोट नगरपालिकामा आयोजित ‘छैटौँ कञ्चनपुर’ सम्मेलनलाई सम्बोधन गर्दै उनले नीति, बजेट र प्राविधिक सहयोगमार्फत स्थानीय सरकारहरूको क्षमता अभिवृद्धि गर्न प्रदेश सरकार सधैँ साथमा रहने बताएका हुन् ।

‘विकास निर्माणका कार्यहरूलाई वातावरणमैत्री र विपद्–प्रतिरोधी बनाउन तीनै तहका सरकार, विकास साझेदार संस्था र नागरिक समाजबीचको त्रिकोणात्मक सहकार्यआवश्यक छ,’ मुख्यमन्त्री भट्टले भने, ‘विपद् आइसकेपछि राहत र उद्धारमा मात्र केन्द्रित हुनुभन्दा विपद् आउनुअघि नै पूर्वतयारी गर्ने, पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउने र समुदायलाई सक्षम बनाउने कार्य आजको प्रमुख आवश्यकता हो ।’

जोखिम न्यूनीकरण र दिगो विकासका लागि वास्तविक पूर्वतयारी प्रत्येक व्यक्तिको घर, परिवार र समुदायबाटै सुरु हुनुपर्नेमा उनको जोड छ ।

‘ठूला पूर्वाधार र नीतिगत योजनाको चर्चासँगै समुदायस्तरको सचेतना र पूर्वतयारी अपरिहार्य रहेको छ । विशेषगरी कञ्चनपुर जिल्ला बाढी, डुबान, कटान तथा जलवायु परिवर्तनका असरको उच्च जोखिममा रहेको छ,’ मुख्यमन्त्री भट्टले भने ।

उनले प्रत्येक वर्ष वर्षायाममा महाकाली, दोदा, बनरा, जोगबुढा लगायतका स्थानीय नदीनालाहरूले पुर्‍याउने क्षतिले जनजीवन, कृषि र पूर्वाधारलाई प्रभावित पार्दै आएको बताए ।

संघीयताको मर्मअनुसार नागरिकको सबैभन्दा नजिकको सरकार स्थानीय सरकार भएको उल्लेख गर्दै मुख्यमन्त्री भट्टले सुरक्षित र उत्थानशील समुदाय निर्माणका लागि कञ्चनपुरका पालिकाहरूले थालेको सामूहिक प्रयास प्रदेशकै लागि अनुकरणीय रहेको बताए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?