८ मंसिर, नेपालगन्ज । दशौं राष्ट्रिय खेलकुद अन्तर्गत नेपालगन्जमा मंगलबार सुरु भएको पौडी प्रतियोगिता तथा २३औं राष्ट्रिय पौडी च्याम्पियनसिपको पहिलो दिन दुई खेलाडीले नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् ।
नेपालगन्ज रंगशालास्थित पौडी पोखरीमा भएको प्रतियोगितामा नेपाल पुलिस क्लबका मायोन श्रेष्ठले दशौँ राष्ट्रिय खेलकुदकै पहिलो स्वर्ण जिते । कोशी प्रदेशका विकास कुमाल र एनआरएएकी मिखा काया थापाले नयाँ राष्ट्रिय कीर्तिमान बनाए ।
पहिलो दिन कूल ११ इभेन्ट सम्पन्न हुँदा बागमती प्रदेशले ४ र एनआरएले ३ स्वर्ण जित्दै अग्रता कायम गरेका छन् ।
पुरुष तर्फको ५० मिटर ब्रेस्ट स्ट्रोकमा कोशी प्रदेशका विकास कुमालले आफ्नै कीर्तिमान सुधार गर्दै ३०.६४ सेकेन्डको नयाँ कीर्तिमान बनाएका छन् । यसअघि उनले सन् २०२३ मा भएको ११औं एनएसए कप पौडी प्रतियोगितामा ३०.६६ सेकेन्डको कीर्तिमान बनाएका थिए ।
यस इभेन्टमा आर्मीका जाडेन श्रेष्ठले रजत (३१.१३ सेकेन्ड) र पुलिसका इर्भिन श्रेष्ठले (३१.६० सेकेन्ड)ले कास्य पदक जिते ।
त्यस्तै महिला तर्फको ४०० मिटर इन्डिभिजुएल मिड्लेमा एनआरएनकी लिली बोहराले ५ मिनेट १७.०१ सेकेन्डको नयाँ कीर्तिमान बनाएकी छिन् । यसअघि सोफिया शाहले भारतको गुहाटीमा सन् २०१६ मा भएको १२औं सागमा ५ मिनेट ४८.५४ सेकेन्डको कीर्तिमान बनाएकी थिइन् ।
सोफियाको कीर्तिमान १०औं राष्ट्रिय खेलकुदको हिटचरणमा नै लिली र नेपाल आर्मी क्लबकी डुआना लामाले भंग गरेका थिए । हिट चरणमा लिलीले ५ मिनेट २१.५२ सेकेन्ड र डुआनाले ५ मिनेट २५.१७ सेकेन्डमा पुरा गरेकी थिईन । तर लिलीको फाइनल चरणमा अझ सुधार गर्दै ५ मिनेट १७.०१ सेकेन्ड समय निकालेर राष्ट्रिय कीर्तिमान बनाएकी हुन् ।
नेपाल पुलिस क्लबका मयोन श्रेष्ठले १५ सय मिटर फ्रिस्टाइलमा १७ मिनेट.४८.६१ सेकेन्डमा पूरा गर्दै पहिलो स्वर्ण जिते । सुदूरपश्चिमका अर्थभ सिंहले १८ मिनेट ०६.९४ सेकेन्डमा रजत र नेपाल पुलिस क्लबका रचित बुढाथोकीले १९ मिनेट ५५.६० सेकेन्ड समय निकाल्दै कांस्य पदक जिते ।
चम्किए एनआरएनएका मिखा र लिली
पहिलो दिन एनआरएनएका खेलाडी चम्कँदा मिखा काया थापाले दुई स्वर्ण जित्दा लिली बोहराले एक कीर्तिमानसहित दुई पदक जितिन् ।

मिखाले १०० मिटर महिला फ्रिस्टाइलमा १ मिनेट ०२.९३ सेकेन्ड), आर्मीकी डुआनाले रजत (१ मिनेट ०३.०४ सेकेन्ड) र एनआरएन लिलीले कास्य पदक (१ मिनेट ०४.०१ सेकेन्ड) हासिल गरिन् । यस्तै मिखाले महिला २ सय मिटर ब्रेस्टस्ट्रोकमा स्वर्ण (२ मिनेट ३९.६४ सेकेन्ड), पुलिसकी देभान्सीले रजत (२ मिनेट ४०.७२ सेकेन्ड) र बागमतीकी आर्या महर्जनले कास्य पदक (२ मिनेट ४०.७७ सेकेन्ड) जितिन ।
एनआरएनएकै लिलबी बोहराले महिला ४०० मिटर ब्यक्तिगत मिडलेमा ५ मिनेट १७.०१ सेकेन्ड समयसहित स्वर्ण जितिन् । आर्मीकी डुआनाले रजत (५ मिनेट ३३.३९ सेकेन्ड) र पुलिसकी देभान्सी जोशीले (६ मिनेट ४२ सेकेन्ड) कास्य पदक प्राप्त गरिन् ।
बागमतीलाई ४ स्वर्ण
पौडीमा पहिलो दिन बागमती प्रदेशको वर्चस्व रह्यो । बागमतीका अभिव प्रधानले पनि दुई स्वर्ण जिते । अभिवले १०० मिटर फ्रिस्टाइलमा (५३.०३ सेकेन्ड) स्वर्ण, पुलिसका इर्भिनले (५४.६२सेकेन्ड) रजत र आर्मीका अल्भीन महर्जनले (५४.९३सेकेन्ड) कास्य पदक जिते ।
अभिवले २०० मिटर ब्रेस्टस्ट्रोकमा पनि स्वर्ण जित्ने क्रममा २ मिनेट २०.६५ सेकेन्ड समय निकाले । सुदूरपश्चिमका अर्थव सिंहले रजत (२ मिनेट २३.३० सेकेन्ड) र बागमतीकै रिभान्त बहादुर श्रेष्ठले कास्य (२ मिनेट २८.०३ सेकेन्ड) जिते ।
बागमतीले महिला ४ गुणा ५० मिटर फ्रिस्टाइल रिलेभमा स्वर्ण (२ मिनेट ०१.३० सेकेन्ड), आर्मीले रजत (२ मिनेट ०२.६३ सेकेन्ड) र पुलिसले कास्य (२ मिनेट ०५.२६ सेकेन्ड) जित्यो ।
त्यस्तै बागमतीले मिक्स ४ गुणा ५० मिटर फ्रिस्टायल रिलेभमा पनि स्वर्ण (१ मिनेट ५०.२७ सेकेन्ड), आर्मीले रजत (१ मिनेट ५१.४६ सेकेन्ड)र पुलिसले कास्य (१ मिनेट ५३.१३ सेकेन्ड) प्राप्त गरेको छ ।
विभागीय टोली त्रिभुवन आर्मी क्लबले पहिलो दिन दुई स्वर्ण जित्यो । डुआना लामाले ५० मिटर महिला ब्रेस्टस्ट्रोकमा ३६.२५ सेकेन्ड समय निकाल्दै स्वर्ण जितिन् । बागमतीकी रोयल प्रजापतिले (३७.२२ सेकेन्ड) रजत र बागमतीकै प्रज्ना ताम्राकारले (३८.७०सेकेन्ड) कास्य पदक जितिन् ।
यस्तै आर्मीले ४ गुणा १०० मिटर पुरुष मिडलेभ स्वर्ण (४ मिनेट १३.०६ सेकेन्ड) जित्दा , बागमतीले रजत (४ मिनेट १९.६४ सेकेन्ड) र पुलिसले कास्य (४ मिनेट २०.१५ मिनेट) जित्यो ।
पहिलो दिन बागमती र एनआरएनए हावी
पहिलो दिन ११ इभेन्ट सम्पन्न हुँदा बागमती प्रदेश र गैर आवसिय नेपाली संघ (एनआरएनए) हावी बनेका छन् ।
बागमती पहिलो सर्वाधिक ४ स्वर्ण, २ रजत र ३ कास्य पदक जित्दै ९ अंकसहित शीर्ष स्थानमा छ । एनआरएन टिमले ३ स्वर्ण र १ रजत सहित दोस्रो स्थानमा छ ।
विभागीय टोली आर्मी २ स्वर्ण ४ रजत र १ कास्य सहित तेस्रो स्थानमा छ । पुलिसले १ स्वर्ण २ रजत र ६ कास्य सहित चौथो, कोशी १ स्वर्णसहित पाँचौं र २ रजत जितेको सुदुरपश्चिम छैठौँ स्थानमा छ ।
नेपालगन्ज रंगशालामा चार दिन सम्म चल्ने प्रतियोगिताको उद्घाटन नेपालगन्ज उपमहानगरपालिका नगर प्रमुख प्रशान्त विष्टले गरेका थिए । मंगलबार पदक जित्न सफल खेलाडीलाई नेपाल पौडी संघका अध्यक्ष जगतमान श्रेष्ठ लगायतले पुरस्कृत गरेका थिए ।
प्रतिक्रिया 4