८ मंसिर, काठमाडौं । पूर्व राष्ट्रिय क्रिकेटर तथा प्रशिक्षक मनोज कटुवालले नेपाल प्रिमियर लिग (एनपीएल) बाट प्राप्त हुने आम्दानीको केही हिस्सा घरेलु क्रिकेट संरचना बलियो बनाउन लगानी गर्नुपर्ने बताएका छन्।
महिला क्रिकेट, ग्रासरुट तथा उमेर समूहका प्रतियोगिता सञ्चालनका लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) र एसियाली क्रिकेट परिषद् (एसीसी) को बजेटमा निर्भर हुनुपर्ने अवस्था अब नरहेको उल्लेख गर्दै उनले नेपाल क्रिकेट संघ (क्यान) ले एनपीएलको आम्दानी घरेलु क्रिकेट विकासमा पनि खर्च गर्न सक्ने बताएका हुन्।
‘हामीले एनपीएललाई त सफल बनायौँ, तर अब एनपीएलभन्दा तल्लो तहको घरेलु क्रिकेट संरचनालाई पनि उत्तिकै बलियो र सफल बनाउने समय आएको छ। किनकि बलियो घरेलु संरचनाबिना बलियो राष्ट्रिय टोलीको कल्पना गर्न सकिँदैन,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।
उनले महिला क्रिकेट, ग्रासरुट, यू–१६ र यू–१९ प्रतियोगितालाई नियमित रूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन्। साथै, सातै प्रदेशमा घरेलु मैदान निर्माण भइरहेकाले सबै प्रदेशमा उच्च प्रदर्शन केन्द्र (हाई पर्फमेन्स सेन्टर) स्थापना गर्न ढिला गर्न नहुने उनको सुझाव छ।
महिला राष्ट्रिय क्रिकेट टोलीका पूर्वप्रशिक्षकसमेत रहेका कटुवालले घरेलु क्रिकेटको आधार बलियो बनाउन क्यानले एनपीएलबाट हुने आम्दानी र बजेटको केही हिस्सा छुट्याउन सक्ने बताएका हुन्।
प्रतिक्रिया 4