प्रेमको कथा पर्दामा हेर्दा सुन्दर लाग्छ । तर, प्रेममै मात्र डुबेर जीवनभर बाँच्नु त्यति सजिलो हुँदैन ।
सम्बन्धमा दुई मानिस हुन्छन्, तर उनीहरूका स्वभाव, सोच र चाहना फरक हुन सक्छन् । यही फरकबीच एकअर्कालाई बुझ्दै, कतिपय कुरा माफ गर्दै र कतिपय कुरा बेवास्ता गर्दै अघि बढ्नु नै सम्बन्धको वास्तविक परीक्षा हो ।
अभिनेता आयुष्मान खुरानाले यतिबेला आफ्नो नयाँ फिल्म ‘ये प्रेम मोल लिया’मा यस्तै प्रेमको कथा बोकेका छन् । फिल्ममा उनले प्रेमको भूमिकालाई फरक ढंगले प्रस्तुत गरेका छन् ।
तर, रोचक कुरा के छ भने पर्दामा निभाएको यो सम्बन्धको कथा उनलाई आफ्नै जीवनसँग पनि जोडिएको छ ।
फिल्मको कथा सुन्दा नै आफू यससँग जोडिएको महसुस गरेका आयुष्मानले पत्नी ताहिरा कश्यपसँगको वैवाहिक जीवनका सुरुवाती दिन सम्झिएका छिन् ।
खासगरी ताहिरा आमा बनेपछि उनले बिताएका केही क्षण फिल्मको कथासँग यति नजिक थिए कि उनलाई आफ्नै जीवनको झल्को आएको थियो ।
ताहिरा केही समय आफ्नो माइतीमा बसेकी थिइन् । आयुष्मान भने मुम्बईमा आफ्नो करिअर बनाउन संघर्ष गरिरहेका थिए । घर एउटै सहरमा भए पनि उनी कहिलेकाहीँ आफ्ना बच्चासहित पत्नीको माइतीमै गएर बस्ने गर्थे ।
आयुष्मानका लागि यही अनुभव ‘ये प्रेम मोल लिया’को कथासँग जोडिने एउटा कारण बन्यो ।
उनले एक मिडियासँग गरिएको कुराकानीमा उनले आफ्नो विवाह, ताहिरासँगको सम्बन्ध, प्रेमको अर्थ र आफूले रोज्दै आएको प्रगतिशील सिनेमाबारे खुलेर कुरा गरेका छन् ।
‘प्रेम अहंकारभन्दा ठूलो हुनुपर्छ’
आयुष्मानका लागि प्रेम आकर्षण वा साथमा हुनुको नाम होइन । उनी सम्बन्ध टिकाउन प्रेमसँगै समझदारी र क्षमाको पनि उत्तिकै भूमिका हुने मान्छन् ।
उनका अनुसार प्रेममा पर्न सजिलो भए पनि प्रेम निभाउन गाह्रो हुन्छ । हरेक सम्बन्धको आफ्नै यात्रा हुन्छ र त्यसलाई टिकाउन एकअर्कालाई जान्न, चिन्न र बुझ्न आवश्यक हुन्छ ।
‘यदि तपाईंको प्रेम अहंकारभन्दा ठूलो छ भने मात्रै सम्बन्ध लामो समय टिक्छ,’ उनी भन्छन् ।
उनका लागि सम्बन्धमा आफू सही साबित हुनु भन्दा सम्बन्धलाई सही दिशामा लैजानु ठूलो कुरा हो । कहिलेकाहीँ आफूले बोल्ने कुराले समस्या बढाउन सक्छ भन्ने थाहा हुँदाहुँदै पनि आफ्नो अहंकार साबित गर्न त्यसलाई बोलिरहन आवश्यक नहुने उनी बताउँछन् ।
‘सुरुमा हामीबाट पनि गल्ती भए’
आयुष्मान र ताहिराको विवाह भएको वर्षौँ भइसकेको छ । समयसँगै उनीहरूको सम्बन्धमा पनि धेरै परिवर्तन आएको छ ।
आफ्नो वैवाहिक जीवन सम्झिँदै आयुष्मान स्वीकार गर्छन्, ‘सुरुमा हामीबाट गल्ती भएका छन् ।
हामी दुवै निकै फरक स्वभावका मानिस हौँ । अहिले आएर हामी एकअर्कालाई बुझ्न थालेका छौँ ।’
सँगै लामो यात्रा तय गरेपछि मात्रै एकअर्काको स्वभाव र सोच बुझ्न सकिएको उनको भनाइ छ ।
‘पत्नीको माइतीमा बच्चासँग बस्ने गर्थें’
फिल्मको कथासँग आफ्नो जीवनको कुन प्रसंग जोडिन्छ भन्ने प्रश्नमा आयुष्मानले निकै व्यक्तिगत अनुभव सुनाएका छन् ।
ताहिरा आमा बनेपछि उनी आफ्नो माइतीमा बसेकी थिइन् । त्यसबेला आयुष्मान मुम्बईमा आफ्नो करिअरको सुरुवाती चरणमा थिए । ताहिरालाई भेट्न जाँदा उनी पनि त्यही घरमा बस्ने गर्थे ।
‘हाम्रो घर नजिकै थिए, तर कतिपय अवस्थामा म आफ्ना बच्चाहरूसँग पत्नीको माइतीमै बस्ने गर्थें,’ उनी सम्झन्छन् ।
यही अनुभवका कारण फिल्मको कथा सुन्नेबित्तिकै आफू त्यससँग जोडिएको उनले बताएका छन् ।
‘सलमान भाइ नै वास्तविक प्रेम हुन्’
आयुष्मानलाई प्रेमको पात्र निभाउने प्रस्ताव आएपछि उनको पहिलो प्रतिक्रिया कस्तो थियो र यसमा कुनै चुनौती देखेका थिए कि थिएनन् भन्ने प्रश्न गरिएको थियो ।
उनी मुस्कुराउँदै भन्छन्, ‘चुनौती थियो कि थिएन, त्यो त थाहा छैन, तर म आफैं यो पात्रको ठूलो प्रशंसक हुँ । यति राम्रो, सकारात्मक र आदर्श सम्बन्धको पक्षमा उभिने पात्र सायद यसअघि कमै देखिएको छ । मेरो विचारमा वास्तविक जीवनमा पनि यस्ता मानिस निकै कम हुन्छन् ।’
उनी थप्छन्, ‘म सधैं सलमान भाइ नै वास्तविक प्रेम हुन् भन्ने मान्दै आएको छु । तर, मैले राजश्रीका फिल्म वा सूरज सरलाई प्रेमको पात्र निभाउने सोचले सम्पर्क गरेको होइन । म सधैं आफ्नो मनसँग नजिक भएका विषयमा फिल्म गर्न चाहन्छु । यो फिल्मको विषय प्रगतिशील छ र यसले मेरो फिल्मोग्राफीलाई अर्को कदम अघि बढाउनेछ । मैले यसअघि पनि धेरै प्रगतिशील फिल्म गरेको छु । मलाई यो राम्रो विषय लाग्यो । यसमा क्लासिक सिनेमा र प्रगतिशील सोचको राम्रो मेल छ । यही कुराले मलाई यो फिल्मतर्फ आकर्षित गर्यो ।’
कथाको कमी छैन
आयुष्मानले अहिलेसम्म सामाजिक विषय र फरक कथामा आधारित फिल्ममा काम गर्दै आएका छन् । अब पनि त्यस्ता कथा खोज्ने उनको चाहना छ ।
हिन्दी फिल्मले अझै नछोएका विषयबारे सोध्दा उनी भारतको विविधतातर्फ फर्किन्छन् ।
‘हाम्रो देश निकै विविधतापूर्ण छ । प्रत्येक राज्य र संस्कृतिमा खोज्न र पर्दामा ल्याउन सकिने केही न केही कथा छन्,’ उनी भन्छन् ।
उनका लागि नयाँ कथा खोज्न टाढा जानुपर्ने अवस्था छैन । समाजभित्रै थुप्रै कथा छन्, पर्दामा आउन मात्र बाँकी छ ।
प्रतिक्रिया 4