९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले महाधिवेशन तयारी समिति गठन गर्ने जिम्मेवारी महाधिवेशन संयोजक डा. शशांक कोइरालालाई दिएको छ ।
बुधबार देउवा समूहको सम्पर्क कार्यालय चूनदेवीमा बसेको शीर्ष नेता, पदाधिकारी, भातृ तथा शुभेच्छुक लगाएतको बैठकले १५ औँ महाधिवेशनको तयारीका लागि समिति गठनको जिम्मा संयोजक कोइरालालाई दिने निर्णय गरेको कांग्रेस नेता जितजंग बस्नेतले जानकारी दिए ।
महाधिवेशन सम्पन्न गर्न व्यवस्थापन समिति, स्वयंसेवक समिति र मञ्च व्यवस्थापन समितिलगायत करिब १५–२० वटा समिति गठन गर्नुपर्ने भएकाले समिति गठन गर्ने सम्पूर्ण अधिकार महाधिवेशन संयोजक कोइरालालाई दिइएको उनले बताए ।
संयोजकले बिहीबारसम्म निर्णय गरेपछि संयोजकहरू तोकिने र त्यसपछि उनीहरूले आफ्नो कमिटीमा सदस्य राखेर महाधिवेशनका काम अघि बढाउने बस्नेतले उल्लेख गरे ।
उनले आफूहरू नै आधिकारिक कांग्रेस रहेको भन्दै कारवाही गर्ने अधिकार कसैलाई नरहेको धारणा राखे ।
त्यस्तै कांग्रेस नेता कुन्दनराज काफ्लेले आफु रुख चिह्नबाट निर्वाचित प्रदेश सभा सांसद रहिसकेको उल्लेख गर्दै आफूलाई कांग्रेस होइन भनेर कारबाही गर्ने क्षमता कसैसँग नरहेको जिकिर गरे ।
अहिले पार्टीभित्र दुईवटा महाधिवेशन भइरहेको सन्दर्भमा पार्टी कार्यालय ‘हाइज्याक’ गरेर विशेष महाधिवेशन गर्ने पक्षले नै यस विवादको निराकरणका लागि छलफलको नेतृत्व गर्नुपर्ने उल्लेख गरे ।
कांग्रेसको देउवा समूहले मंसिर २१, २२ र २३ गते नियमित भन्दै १५ औँ महाधिवेशनको तयारी गरिरहेको छ ।
प्रतिक्रिया 4