१० मंसिर, काठमाडौं । इंग्ल्यान्डका पूर्वफुटबलर रहिम स्टर्लिङलाई नाइट्रस अक्साइड सेवन गर्दै तीव्र गतिमा गाडी चलाएको कसुरमा १२ महिनाको जेल सजाय सुनाइएको छ। यद्यपी उक्त सजाय १८ महिनाका लागि निलम्बन समेत गरिएको छ।
३१ वर्षीय स्टर्लिङले लम्बोर्गिनी उरुस चलाउँदै बेलायतका विभिन्न सडक र मोटरवेमा लापरबाही गरेको तथा नाइट्रस अक्साइड राखेको आरोप स्वीकार गरेका थिए। गत मे २८ मा एम२५, एम३, ए३२७ र मिन्ली रोडमा उनले यस्तो गतिविधि गरेको अदालतले जनाएको छ।
बेसिङस्टोक म्याजिस्ट्रेट्स कोर्टले बुधबार उनलाई १०० घण्टा निःशुल्क सामुदायिक सेवा गर्न र २४ महिनासम्म सवारी चलाउन प्रतिबन्ध लगाउन पनि आदेश दिएको छ। सजाय सुनाउँदा स्टर्लिङले कुनै प्रतिक्रिया जनाएनन्।
अदालतका अनुसार बिहान १ बजेर १० मिनेटमा हेजस्थित म्याकडोनाल्ड्समा स्टर्लिङलाई गुलाबी बेलुनबाट नाइट्रस अक्साइड सेवन गर्दै अनियन्त्रित र तीव्र गतिमा गाडी चलाइरहेको देखिएको थियो। त्यसपछि पर्याप्त निद्राबिना र उक्त पदार्थ सेवनकै अवस्थामा बिहान ७ बजेर ४५ मिनेटदेखि पुनः गाडी चलाएको न्यायाधीश क्रिस्टी अलम्यानले बताइन्।
उनले स्टर्लिङको यस्तो व्यवहारले व्यस्त समयमा दुईवटा मोटरवेमा यात्रा गरिरहेका धेरै सवारी चालकलाई गम्भीर जोखिममा पारेको बताइन्।
सेप्टेम्बरमा भएको सुनुवाइका क्रममा सरकारी वकिल साइमन जोन्सले बिहान ७ः४५ देखि ८ः५२ बजेसम्म कालो स्पोर्ट्स कार अनियन्त्रित रूपमा चलाइएको भन्दै प्रहरीलाई धेरै फोन आएको बताएका थिए।
एम२५ मा स्टर्लिङको गाडीको छेउबाट गाडी चलाइरहेका क्रिस्टोफर जेनिङ्सले ९९९ मा फोन गरेका थिए। उनले स्टर्लिङलाई बेलुनबाट केही पदार्थ सेवन गरिरहेको देखेको बताएका थिए। त्यस्तै, एम३ को दक्षिणतर्फ गाडी चलाइरहेकी फियोना जेनिङ्सले उनको ड्राइभिङलाई अत्यन्तै खराब भन्दै गाडी लेन परिवर्तन गर्दै अनियन्त्रित रूपमा चलिरहेको बताएकी थिइन्।
अदालतमा प्रस्तुत विवरणअनुसार स्टर्लिङको गाडी एम३ को बीच भागमा पुगेको थियो। त्यसपछि उनी जङ्क्सन ४ए बाट बाहिरिएर ए३२७ हुँदै सडकबाट बाहिर निस्किए र एक धातुको गेटमा ठोक्किए। दुर्घटनामा गाडीका टायर र बाहिरी भागमा ठूलो क्षति पुगेपछि चलाउन नसकिने अवस्थामा पुगेको थियो।
दुर्घटनापछि प्रहरीले उनलाई पक्राउ गरी बेसिङस्टोकस्थित अनुसन्धान केन्द्र लगेको थियो। त्यहाँ उनले आफूलाई नाइट्रस अक्साइडको समस्या रहेको बताएका थिए।
नाइट्रस अक्साइड क्याटरिङ, चिकित्सा र औद्योगिक प्रयोजनका लागि कानुनी रूपमा बिक्री हुने पदार्थ हो। तर यसलाई मनोरञ्जनका लागि पनि प्रयोग गरिन्छ, जसलाई सामान्यतया ‘लाफिङ ग्यास’ भनिन्छ।
स्टर्लिङका वकिल जेसन बार्टफेल्डले घटनामा लामो समयसम्म गाडी चलाइएको र केही समय गम्भीर रूपमा सवारी चलाउने क्षमता प्रभावित भएको विषयमा विवाद नरहेको बताएका थिए। तर गाडीमा भएको क्षति गम्भीर नरहेको र नमुना उपलब्ध गराउने विषयमा अन्योल रहेको उनको तर्क थियो।
न्यायाधीश अलम्यानले स्टर्लिङको विगतको आचरण राम्रो रहेको र फुटबल करिअरका कारण उनी धेरै युवाका लागि प्रेरणाको पात्र रहेको बताइन्। उनले अपराध स्वीकार गरेकाले सजाय निर्धारणमा त्यसको लाभ पाएका थिए।
स्टर्लिङ पछिल्लोपटक नेदरल्यान्ड्सको फेयेनुर्डबाट खेलेका थिए। जनवरीमा चेल्सी छाडेर फेयेनुर्ड पुगेका उनले त्यहाँ आठ खेल मात्र खेले। सन् २०२२ मा म्यानचेस्टर सिटीबाट चेल्सी पुगेका उनले चार वर्षको अवधिमा आर्सनलमा एक सिजन लोनमा बिताउँदै प्रिमियर लिगका ५९ खेल खेलेका थिए।
म्यानचेस्टर सिटीबाट उनले चारपटक प्रिमियर लिगको उपाधि जितेका थिए। त्यसअघि उनले लिभरपुलबाट व्यावसायिक फुटबल सुरु गरेका थिए। हाल उनी कुनै पनि क्लबमा आबद्ध छैनन्।
खेलकुदमा जातीय समानताका लागि गरेको योगदानको कदर गर्दै सन् २०२१ मा बेलायतले स्टर्लिङलाई एमबीई सम्मान प्रदान गरेको थियो।
-बीबीसीबाट
प्रतिक्रिया 4