नाटकमा कुनै दर्शकले सबैभन्दा पहिले कलाकार देख्छन् । त्यसपछि कलाकारहरूले बोल्ने संवाद, मञ्चमा हुने घटना र त्यसले बढाउने कथा । तर, त्यससँगै मञ्चमा कुनै पार्श्वध्वनि अथवा संगीत पनि हुन्छ ।
त्यस्ता पार्श्वध्वनी अथवा संगीतले मञ्चमा वातावरण सिर्जना गर्न र दृश्यहरूलाई जीवन्त पार्न सोझो अर्थमा सहयोग गरिरहेका हुन्छन् । तर, नाटक हेर्न गएका धेरै दर्शकहरूलाई यो काम कसले गरिरहेको छ ? भन्ने कुराको मतलब राख्दैनन् ।
नेपाली रङ्गमञ्चमा अनुप तिमिल्सिना त्यस्तै संगीतकारमध्येका एक हुन्, जसको काम मुख्यतः चर्चाको घेरा भन्दा टाढा हुन्छ ।
तिमिल्सिना विगत साढे चार वर्षदेखि रङ्गमञ्चमा संगीतकारका रूपमा काम गर्दै आइरहेका छन् । उनी जसरी नाटकका लागि नै भनेर संगीत सिर्जना गरिरहेका व्यक्तिहरू यस क्षेत्रमा विरलै भेटिन्छन् ।
उनी जस्ता संगीतकारहरूले केही नाटकमा काम गरेपछि अरू बाटो रोज्छन् । यसको प्रमुख कारण आर्थिक कठिनाइ, वृत्तिविकास र पहिचान नहुनु हो । तर, तिमिल्सिना यी कुराहरूमा अपवाद छन् ।
नाट्य क्षेत्रमा काम गर्दा तिमिल्सिनालाई यस्तो अनुभूति हुन्छ, जसलाई उनी सधैँ अँगालेर राख्न चाहन्छन् ।
‘रङ्गमञ्चको त्यस्तो कुनाबाट नाटकका लागि संगीत बजाउनु जहाँ उज्यालो पनि पुग्दैन, र नाटक तथा त्यसका पात्रहरूको सौन्दर्य अझ निखार्नु एक सुनौलो अनुभूति हो,’ तिमिल्सिना भन्छन् । ‘यही कुराले मलाई नाट्य क्षेत्रमा निरन्तर काम गर्न उत्प्रेरित गरिरहन्छ ।’
नाट्य संगीतमा लाग्नुअघि तिमिल्सिना कभर संगीतकार थिए । आफ्नो ब्यान्डसँग झम्सीखेल र नक्सालतिरका कार्यक्रमहरूमा प्रस्तुति दिन्थे । पछि उनी कम्बोडिया गए । त्यहाँ करिब दुई वर्ष बिताएका उनले नोम पेनका रेस्टुरेन्टहरूमा बलिउड र अङ्ग्रेजी गीत गाए ।
त्यहीक्रममा उनले थाइल्यान्डमा काम गर्ने अवसर पाए । तर भिसा प्रक्रिया पूरा गर्न नेपाल फर्कने क्रममा कोभिड–१९ महामारी सुरु भयो र दुर्भाग्यवश उनको योजना तुहियो ।
कोभिड–१९ महामारीपछि अवस्था बिस्तारै सामान्य बन्दै जाँदा एक दिन तिमिल्सिनाले नाट्यकर्मी घिमिरे युवराजबाट शिल्पी थिएटरमा आउन निम्तो पाए । त्यहाँ भेट हुँदा घिमिरेले उनलाई हिउँको पृथ्वी यात्रा नाटकको संगीतकारका रूपमा काम गर्ने प्रस्ताव राखे ।
त्यतिबेलासम्म तिमिल्सिना कहिल्यै नाटकघर गएका थिएनन्, नाटक हेर्नु त परैको कुरा । तर नयाँ कुरा बुझ्ने र अनुभव गर्ने उनको जिज्ञासाले उनलाई नाट्य संगीतकारको प्रस्ताव स्वीकार्न प्रेरित गर्यो । त्यसयता तिमिल्सिनाले टिकट टु हलिउड, लस्ट एन्ड फाउन्ड, सेतो धर्ती, सट्टापट्टा, महाभारत र समर लभ लगायत २० भन्दा बढी नाटकमा काम गरिसकेका छन् ।
नाटकमा काम गर्दै यी सबै वर्ष बिताएपछि तिमिल्सिना भन्छन् कि उनले संगीतबारे यस्ता धेरै नयाँ कुरा सिकेका छन्, जुन कभर संगीतकारका रूपमा सिक्न सकिँदैनथ्यो।
उनका लागि पहिलो र सबैभन्दा महत्त्वपूर्ण पाठ संगीतमा मौनताको शक्ति हो । ‘संगीतमा मौनताको भूमिका ठूलो हुन्छ,’ उनी भन्छन् । ‘संगीतमा मौनता सिर्जना गर्नु चुनौतीपूर्ण हुन्छ ।’
उनका अनुसार दोस्रो पाठ नाटकका लागि संगीत बनाउनु अरूलाई सजिलो काम जस्तो लागे पनि दृश्यलाई बुझेर सोहीअनुसार प्रस्तुत गर्नु चुनौतीपूर्ण हुन्छ । तिमिल्सिना परम्परागत संगीतको तुलनामा नाट्य संगीतले बढी सिर्जनात्मक स्वतन्त्रता दिने विश्वास पनि गर्छन् । यद्यपि, ध्यान दिनुपर्ने कुरा के छ भने नाट्य संगीतकारका रूपमा काम गर्दा कहिलेकाहीँ सिर्जनात्मक स्वतन्त्रता सीमित हुन सक्छ, किनकि निर्देशक वा नाटककारले संगीतकारको सिर्जनात्मक छनोटमा हस्तक्षेप गर्न सक्छन् ।
अर्कोतर्फ, उनी भन्छन् कि राम्रो काममार्फत आफ्नो पहिचान स्थापित गरिसकेपछि स्वतन्त्र रूपमा काम गर्न सकिन्छ, किनकि निर्देशकहरू तपाईंको सिर्जनात्मक निर्णयमा विश्वास गर्न बढी तयार हुन्छन् ।
नाट्य संगीतप्रतिको उनको सिर्जनात्मकता र समर्पणले उनलाई नेपालको नाट्य परिवेशभन्दा बाहिर पनि पुर्याएको छ । उनले नाट्य संगीतकारकै रूपमा युरोप र भारत भ्रमण पनि गरेका छन् ।
आफ्नो संगीतबाट नेपालका नाट्यकर्मीहरूको विश्वास जितेपछि उनले लेखक कुमार नगरकोटीको काव्य परियोजना यदाकदा मा संगीतकारका रूपमा काम गर्ने अवसर पाए, जसलाई उनी आफ्नो करिअरका कोसेढुङ्गामध्ये एक मान्छन् । त्यसैगरी, उनले राष्ट्रिय टेलिभिजनबाट प्रसारित काव्य रियालिटी शो द पोएट आइडलमा पनि काम गरे ।
नाट्य संगीतकारका रूपमा तिमिल्सिनाले थुप्रै उपलब्धि हासिल गरे पनि पेसाका केही पक्षले उनलाई निराश पनि बनाउँछन् ।
उनलाई लाग्छ नाटक बनाउनेहरूले संगीतलाई निकै कम महत्त्व दिन्छन् । संगीतकारहरूलाई नियमित सरसल्लाहमा बोलाइँदैन । संगीतको रिहर्सललाई पर्याप्त समय दिइँदैन । स्क्रिप्टहरू प्रायः अन्तिम समयमा मात्र दिइन्छ ।
‘यस्ता कुरा कहिलेकाहीँ हुन सक्छन् र त्यो बुझ्न सकिन्छ । तर हरेक नाटकमा यस्तै हुँदा नाटक बनाउनेहरूले संगीतको कदर नगरेको जस्तो लाग्छ,’ तिमिल्सिना भन्छन् । ‘यी कुराहरू छिटै बदलिन पर्छ ।’
नेपाली नाट्य क्षेत्रमा केही कुराको अभाव रहेको पनि तिमिल्सिना महसुस गर्छन् ।
पहिलो, नाटकका लागि संगीत बनाउने काममा निकै थोरै मानिस भएकाले सिक्न चाहने नाट्य संगीतकारहरूलाई मार्गदर्शन गर्न सक्ने अनुभवी व्यक्तिहरूको कमी छ । दोस्रो, नाट्य संगीतको कुनै औपचारिक शैक्षिक कार्यक्रम वा पाठ्यक्रम छैनन् ।
यिनै कमजोरीका कारण नेपाली नाट्य क्षेत्र राम्रो संगीतबाट वञ्चित भइरहेको तिमिल्सिनाको भनाइ छ । उनका अनुसार नाटकमा एआईबाट बनाइएका संगीतको बढ्दो प्रयोगले अवस्थालाई झन् बिगारेको छ ।
‘नाट्य संगीत कच्चा र फोलीमा आधारित हुनुपर्छ,’ तिमिल्सिना भन्छन् । ‘एआई संगीत नाटकको मर्मसँग मेल खाँदैन ।’
यी चुनौतीसँगै तिमिल्सिनाले सामना गर्ने अर्को कठिनाइ आफ्नो स्वतन्त्र संगीत, अर्थात् नाटक वा अरू परियोजनाका लागि नभई आफ्नै लागि सिर्जना गर्ने संगीतमा काम गर्ने समय निकाल्नु हो ।
फुर्सद मिल्न साथ उनी नयाँ कुरा सिर्जना गर्ने आशामा मोटरसाइकलमा यात्रा गर्छन् । भर्खरै मात्र उनी पश्चिम नेपालको सिक्लेस पुगे । अब नयाँ गीत लेख्ने प्रेरणा मिलेको उनले सुनाए ।
तिमिल्सिना आउँदो वर्ष एउटा ईपी ल्याउने योजनामा छन् । यसका लागि उनले सबै गीत लेखिसकेका र संगीत भरिसकेका छन् । मात्र अब स्टुडियोको काम बाँकी छ ।
‘मैले अरूका कथाहरूका लागि संगीत सिर्जना गर्दै वर्षौँ बिताएँ । अर्को वर्ष म आफ्नै केही कथा सुनाउने आशा गर्छु,’ उनी भन्छन् ।
प्रतिक्रिया 4