१० मंसिर, काठमाडौं । विगत तीन दशकको अवधिमा नेपालीको औसत आयुमा उल्लेखनीय सुधार आएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नोभेम्बर २०२६ मा सार्वजनिक गरेको प्राविधिक प्रतिवेदनअनुसार सन् १९९० देखि २०२३ सम्मको ३३ वर्षमा नेपालीको औसत आयु १५.४ वर्षले बढेको हो।
नर्वेको युनिभर्सिटी अफ बर्गनस्थित ‘बर्गन सेन्टर फर एथिक्स एन्ड प्रायोरिटी सेटिङ इन हेल्थ’ (बीसीईपीएस) सँगको सहकार्य र नेपाल हेल्थ इकोनोमिक्स एसोसिएसन (एनएचईए) को प्राविधिक सहयोगमा तयार पारिएको बेसिक हेल्थ सर्भिसेज इन नेपाल : प्रायोरिटी सेटिङ एन्ड इसेन्सियल हेल्थ इन्टरभेन्सन्स’ प्रतिवेदनमा नेपालको जनस्वास्थ्य अवस्था र औसत आयुको विस्तृत तथ्याङ्क समेटिएको छ।
इन्स्टिच्युट फर हेल्थ मेट्रिक्स एन्ड इभालुएसन (आईएचएमई) को ग्लोबल बर्डन अफ डिजिज स्टडी २०२३ लाई उद्धृत गर्दै प्रतिवेदनले सन् १९९० मा ५८.१ वर्ष रहेको नेपालीको जन्मकालीन औसत आयु सन् २०२३ मा आइपुग्दा ७३.५ वर्ष पुगेको उल्लेख गरेको छ। स्वास्थ्य सेवाको विस्तार, मातृ तथा शिशु स्वास्थ्यमा सुधार, सङ्क्रामक रोगको घट्दो भार र समग्र सामाजिक–आर्थिक विकासका कारण औसत आयु निरन्तर उकालो लागेको प्रतिवेदनको निष्कर्ष छ।
कुन वर्ष कति थियो नेपालीको औसत आयु ?
प्रतिवेदनमा प्रस्तुत ३३ वर्षको तथ्याङ्क हेर्दा सुरुवाती दुई दशक (सन् १९९० देखि २०१०) मा नेपालीको औसत आयु तीव्र गतिमा १२.५ वर्षले बढेर ७०.६ वर्ष पुगेको थियो। त्यसपछिको १३ वर्ष (सन् २०१० देखि २०२३) मा भने औसत आयु २.९ वर्षले वृद्धि भई ७३.५ वर्ष पुगेको देखिन्छ। सन् २०२० पछि तीन वर्षमै औसत आयु १.३ वर्षले थपिएको छ।
सन् १९९० देखि २०२३ सम्म नेपालीको औसत आयुको प्रगति विवरण यसप्रकार छ :
| वर्ष (सन्) | औसत आयु (वर्ष) | अघिल्लो अवधिको तुलनामा वृद्धि |
| १९९० | ५८.१ | — |
| १९९५ | ६१.६ | +३.५ वर्ष |
| २००० | ६५.२ | +३.६ वर्ष |
| २००५ | ६८.१ | +२.९ वर्ष |
| २०१० | ७०.६ | +२.५ वर्ष |
| २०१५ | ७१.५ | +०.९ वर्ष |
| २०२० | ७२.२ | +०.७ वर्ष |
| २०२३ | ७३.५ | +१.३ वर्ष |
आयु बढाउने मुख्य आधार : मातृ तथा शिशु मृत्युदरमा ऐतिहासिक गिरावट
प्राथमिक स्वास्थ्य सेवा, खोप कार्यक्रम, जनस्वास्थ्य अभियान र सामाजिक विकासमा भएको निरन्तर लगानीले नेपालको औसत आयु बढाउन निर्णायक भूमिका खेलेको प्रतिवेदनले औँल्याएको छ।
तथ्याङ्कअनुसार सन् १९९६ देखि २०२२ को अवधिमा नेपालको मातृ मृत्युदर प्रति एक लाख जीवित जन्ममा ५३९ बाट घटेर १५१ मा झरेको छ। सोही अवधिमा शिशु मृत्युदर प्रति एक हजार जीवित जन्ममा ७९ बाट २८ मा र नवजात शिशु मृत्युदर ३९ बाट २१ मा झरेको छ। मातृ, नवजात तथा बाल स्वास्थ्य, खोप र सङ्क्रामक रोग नियन्त्रणका दीर्घकालीन कार्यक्रमहरूको प्रभावकारिता नै यो उपलब्धिका मुख्य आधार रहेको प्रतिवेदनमा उल्लेख छ।
बढ्दो आयुसँगै बदलिँदो चुनौती : ७० प्रतिशत मृत्युको कारण नसर्ने रोग
नेपालीको औसत आयु बढेसँगै देशमा रोगको प्रकृति र स्वास्थ्य आवश्यकतामा भने ठुलो फेरबदल आएको छ। सन् १९९० मा नेपालमा रोगको भार निम्त्याउने शीर्ष पाँचै कारण सङ्क्रामक, मातृ, नवजात तथा पोषणसम्बन्धी रोग (सीएमएनएन) थिए। तर, सन् २०२३ मा आइपुग्दा यो अवस्था उल्टिएर नसर्ने रोग (एनसीडी) प्रमुख चुनौती बनेको छ।
प्रतिवेदनअनुसार सन् २०२३ मा नेपालमा भएका कुल मृत्युमध्ये करिब ७०.२ प्रतिशत मृत्यु नसर्ने रोगकै कारण भएको छ। मृत्युका प्रमुख कारणहरूमा मुटु तथा रक्तनलीसम्बन्धी रोग २७.४ प्रतिशतसहित शीर्ष स्थानमा छ। त्यसपछि दीर्घकालीन श्वासप्रश्वाससम्बन्धी रोग १६.० प्रतिशत, क्यान्सर (नियोप्लाज्म) ९.५ प्रतिशत र क्षयरोगसहितको श्वासप्रश्वास सङ्क्रमण ८.४ प्रतिशत रहेको छ।
त्यस्तै, रोगको समग्र भार मापन गर्ने सूचकाङ्क ‘अपाङ्गता समायोजित जीवन वर्ष’ (डाली) का आधारमा पनि मुटु तथा रक्तनलीसम्बन्धी रोग नै सबैभन्दा अगाडि (प्रति एक लाख जनसङ्ख्यामा ४ हजार ३८१ डाली अर्थात् करिब १४ प्रतिशत) छ।
त्यसपछि मातृ तथा नवजात शिशुसम्बन्धी समस्या (करिब १० प्रतिशत), दीर्घकालीन श्वासप्रश्वाससम्बन्धी रोग (७.४ प्रतिशत), क्षयरोगसहितको श्वासप्रश्वास सङ्क्रमण (७.२ प्रतिशत), हाडजोर्नी तथा मांसपेशीसम्बन्धी समस्या (६.७ प्रतिशत), दुर्घटनाजन्य चोटपटक (६.३ प्रतिशत) र मानसिक रोग (५.९ प्रतिशत) ले प्रमुख हिस्सा ओगटेका छन्।
प्रदेशगत असमानता : बुढ्यौली बढ्दै गएका प्रदेशमा नसर्ने रोगको भार उच्च
जनसाङ्ख्यिक संरचनाका आधारमा गरिएको प्रदेशगत प्रक्षेपणअनुसार, सातै प्रदेशमा रोगको कुल भारमा नसर्ने रोगकै हिस्सा सबैभन्दा बढी देखिएको छ, जुन मधेश प्रदेशमा ५४.६ प्रतिशतदेखि कोशी प्रदेशमा ६६.९ प्रतिशतसम्म छ। मुटु तथा रक्तनलीसम्बन्धी रोग सातै प्रदेशमा रोगको भारको पहिलो कारण (१३.१ देखि १६.० प्रतिशत) बनेको छ।
जनसाङ्ख्यिक संरचनाअनुसार ज्येष्ठ नागरिकको हिस्सा तुलनात्मक रूपमा बढी रहेका गण्डकी, कोशी र बागमती प्रदेशमा प्रति एक लाख जनसङ्ख्यामा रोगको कुल भार (क्रुड डाली दर) सबैभन्दा उच्च अर्थात् ३३ हजार १४५ देखि ३६ हजार ६४८ सम्म छ।
युवा जनसङ्ख्या बढी रहेका मधेश (२२ हजार ५३३) र कर्णाली (२२ हजार ६८६) मा समग्र दर कम भए पनि सङ्क्रामक, मातृ, नवजात, पोषणसम्बन्धी रोग र चोटपटकको हिस्सा भने मधेशमा ४५.४ प्रतिशत, कर्णालीमा ४४.६ प्रतिशत, लुम्बिनीमा ४२.१ प्रतिशत र सुदूरपश्चिममा ४१.७ प्रतिशत रहेको प्रतिवेदनले देखाएको छ।
सेवाको पहुँच र आर्थिक भार अझै ठुलो चुनौती
औसत आयु बढे पनि स्वास्थ्य सेवामा समतामूलक पहुँच र आर्थिक सुरक्षाको अवस्था अझै कमजोर रहेको प्रतिवेदनले स्पष्ट पारेको छ। सन् २०२३ मा नेपालको विश्वव्यापी स्वास्थ्य पहुँच (यूएचसी) सेवा सूचकाङ्क ५८ मा सीमित छ, जसले भौगोलिक, सामाजिक र आर्थिक वर्गबीच स्वास्थ्य सेवाको पहुँच तथा गुणस्तरमा गहिरो असमानता रहेको देखाउँछ।
अर्कोतर्फ, नेपालको कुल चालू स्वास्थ्य खर्चको ५९.४ प्रतिशत हिस्सा नागरिकले आफ्नै गोजीबाट (आउट अफ पकेट) बेहोर्नुपरेको छ भने स्वास्थ्य क्षेत्रमा सरकारको आन्तरिक लगानी कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को करिब १.९ प्रतिशतमा सीमित छ।
प्रतिवेदनमा समावेश सन्देशमा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले नेपालले मातृ, नवजात तथा बाल स्वास्थ्य र सङ्क्रामक रोग नियन्त्रणमा प्रशंसनीय प्रगति गरे पनि जनताको स्वास्थ्य आवश्यकता बदलिँदै गएको उल्लेख गरेकी छिन्।
‘अहिले प्रत्येक दश मृत्युमध्ये करिब सात मृत्युको कारण नसर्ने रोग बनेको छ, जबकि परिवारहरूले अझै पनि चालू स्वास्थ्य खर्चको आधाभन्दा बढी हिस्सा आफ्नै गोजीबाट बेहोरिरहेका छन् र स्वास्थ्यका लागि उपलब्ध सार्वजनिक स्रोत सीमित छ,’ मन्त्री मेहताले भनेकी छिन्, ‘यस्तो अवस्थामा उपलब्ध स्रोतको विवेकपूर्ण प्रयोग गर्दै सबैभन्दा अत्यावश्यक स्वास्थ्य सेवालाई प्राथमिकता दिनु झनै महत्त्वपूर्ण बनेको छ।’
बढ्दो औसत आयुसँगै सिर्जना भएको नसर्ने र सर्ने रोगको दोहोरो भारलाई सम्बोधन गर्न र सन् २०३० सम्म विश्वव्यापी स्वास्थ्य पहुँच (यूएचसी) हासिल गर्न मन्त्रालयले पहिलोपटक प्रमाणमा आधारित रहेर आधारभूत स्वास्थ्य सेवा प्याकेज (बीएचएसपी) को प्राथमिकीकरण गरेको हो। प्रतिवेदनले क्लिनिकल सेवातर्फ १३१ क्लिनिकल पाथवे (११४ क्लिनिकल सेवा) (समूह १), ३६ वटा स्वास्थ्य प्रवर्द्धन सेवा र ६० वटा आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवालाई परिमार्जित प्याकेजमा समेटेर चरणबद्ध रूपमा कार्यान्वयन र लगानी विस्तार गर्न सिफारिस गरेको छ।
प्रतिक्रिया 4