+
+
Shares

अनुदानको मल दुरुपयोग गरेपछि दुई लाख जरिबाना

सरकारबाट अनुदानमा प्राप्त रासायनिक मलको बिक्री वितरणमा अनियमितताको आरोपमा झापाका एक पसललाई दुई लाख जरिबाना गरिएको छ ।

रासस रासस
२०८३ मंसिर १० गते १८:२६

१० मंसिर, झापा । सरकारबाट अनुदानमा प्राप्त रासायनिक मलको बिक्री वितरणमा अनियमितताको आरोपमा झापाका एक पसललाई दुई लाख जरिबाना गरिएको छ ।

झापाको बुद्धशान्ति गाउँपालिका–३ स्थित संजिवनी कृषि भण्डारलाई जिल्ला प्रशासन कार्यालयले दुई लाख रुपैयाँ जरिबाना गरेको छ ।

अनुदानित रासायनिक मल अनधिकृत रूपमा बिक्री वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा बिहीबार गरिएको आकस्मिक अनुगमनका क्रममा भण्डारको मल मौज्दात र बिक्री विवरणमा अनियमितता भेटिएको हो ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार सञ्चालक प्रेमकुमार भट्टराईले साल्ट ट्रेडिङ कर्पोरेसन र कृषि सामग्री कम्पनी लिमिटेड, बिर्तामोडबाट खरिद गरेको कुल ४०० बोरा मलमध्ये २४१ बोरा मात्रै गोदाममा भेटिएको थियो ।

बाँकी १५९ बोरा मलको बिक्री तथा मौज्दात विवरण पेस गर्न नसकेपछि भण्डारलाई जरिवाना गरिएको हो ।

भण्डारले खरिद गरेको मलमध्ये १७० बोरा युरिया र २३० बोरा डीएपी थियो । अनुगमनका क्रममा गोदाममा १२० बोरा युरिया र १२१ बोरा डीएपी भेटिएको थियो ।

बाँकी ५० बोरा युरिया र १०९ बोरा डीएपीको हिसाब देखाउन नसकेपछि उपभोक्ता हित संरक्षण ऐनबमोजिम दुई लाख रुपैयाँ जरिवाना गरिएको प्रजिअ पोखरेलले बताए ।

सहायक प्रमुख जिल्ला अधिकारी सहदेव रायमाझीको संयोजकत्वमा कृषि ज्ञान केन्द्र, उद्योग वाणिज्य संघ, जनप्रतिनिधि र उपभोक्ता हित संरक्षण मञ्चका प्रतिनिधिसहितको टोलीले अनुगमन गरेको थियो ।

यसैगरी, बुद्धशान्ति–३ कै ७ नम्बर चोकस्थित न्यू कञ्चन कृषि सहकारी संस्थाको पनि अनुगमन गरिएको थियो । उक्त संस्थाको मल खरिद, बिक्री तथा मौज्दात विवरण दुरुस्त पाइएको प्रशासनले जनाएको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?