+
+
Shares

‘भेन्चर डेब्ट फन्ड’ सुरु गर्न समस्या छैन, डिफल्ट भए न्यायाधीकरणले उठाइदिने

भेन्चर डेब्ट फन्डले उद्यम, व्यवसाय तथा स्टार्टअपमा कर्जाको स्वरूपमा लगानी गर्ने व्यवस्था प्रस्ताव गरिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ११ गते २०:११

११ मंसिर, काठमाडौं । प्राइभेट इक्विटी र भेन्चर क्यापिटल (पीईभीसी) ले निर्वाध ‘भेन्चर डेब्ट फन्ड’ ल्याउन सक्ने भएका छन् ।

सरकारले बैंक तथा वित्तीय संस्थाको ऋण असुली ऐन २०५८ संशोधन गरेर डिफल्ट भएको खण्डमा ऋण असुली न्यायाधीकरणले उठाइदिने व्यवस्था गरेसँगै भेन्चर डेब्ट फन्ड सञ्चालन थप सहज भएको हो ।

भेन्चर डेब्ट फन्ड पीईभीसीले प्रयोग गर्ने नयाँ वित्तीय औजार हो । पीईभीसीले कुनै पनि उद्यम तथा परियोजनामा लगानी गर्दा सेयरको बदलामा मात्र नभई निश्चित सर्तमा कर्जा पनि दिन सक्ने उपकरण हो ।

उदाहरणका लागि कुनै पनि उद्यमीलाई १० करोड पूँजी आवश्यक भएको अवस्थामा भेन्चर क्यापिटलले ५ करोड सेयरको बदलामा र बाँकी ५ करोड ऋण उपलब्ध गराउने गर्छ । यसका लागि पीईभीसीले धितोपत्र बोर्डमार्फत भेन्चर डेब्ट फन्ड स्वीकृत गराइ लक्षित लगानीकर्ता मार्फत पूँजी संकलन गर्छ ।

लक्षित लगानीकर्ता भनेको पीईभीसीलाई वित्तीय स्रोत उपलब्ध गराउन योग्य व्यक्ति वा संस्था हुन् । केही पीईभीसीले भेन्चर डेब्ट कोषमा काम गर्न खोजे पनि कानुनी स्पष्टता नभएको भन्दै रोकिएको बताउँछन् । तर, नेपाल धितोपत्र बोर्डले डेब्ट फन्ड अन्तर्गत नै पर्ने भएकाले हालका कानुनी व्यवस्थाले त्यसलाई समेट्ने बताउँछ ।

धितोपत्र बोर्डले पीईभीसीका लागि वैकल्पिक लगानी कोष नियमावली मार्फत नियमन गर्दै आएको छ । बोर्डले हाल उक्त नियमावली संशोधनका लागि मस्यौदा समेत सार्वजनिक गरेको छ ।

मस्यौदामा पनि डेब्ट फन्डको विषय समावेश गरिएको धितोपत्र बोर्डका एक अधिकारीले बताए । ‘भेन्चर डेब्ट फन्डलाई नेपाल राष्ट्र बैंकले हेर्ने वा धितोपत्र बोर्डले भन्ने दुविधा छैन,’ ती अधिकारीले भने, ‘भेन्चर डेब्ट फन्ड धितोपत्र बोर्डको क्षेत्राधिकारभित्र छ, यस्ता खालका फन्ड सञ्चालकका लागि नयाँ कानुनी व्यवस्था नगर्दा पनि सञ्चालन गर्न कानुनी अवरोध छैन ।’

केही सरोकारवालाले भेन्चर डेब्ट को विषयमा पनि कानुनी व्यवस्था गर्नुपर्ने सुझाएको ती अधिकारीले बताए । यसअघि भेन्चर डेब्ट फन्डको नामै उल्लेख नभएकाले थप स्पष्ट व्यवस्था गर्नुपर्ने माग आएको उनले बताए ।

नियमावलीको मस्यौदामा भेन्चर डेब्ट फन्डको नाम नै उल्लेख गरिएको पनि उनले बताए । मस्यौदाको नियम १७ मा भेन्चर डेब्ट सम्बन्धी स्पष्ट उल्लेख गरिएको छ ।

सरकारले बैंक तथा वित्तीय संस्था ऋण असुली ऐन २०५८ लाई अध्यादेश मार्फत संशोधन गर्दै भेन्चर डेब्ट फन्डबाट कर्जा लिएका उद्यम वा व्यवसायले ऋण नतिरे न्यायाधीकरण मार्फत असुली गर्न सकिने गरी कानुनी व्यवस्था प्रस्ताव गरेको छ ।

पीईभीसीमार्फत सञ्चालन हुने फन्डले निजी लगानीकर्तासँग वार्ता गरेर रकम संकलन गर्ने भएकाले यो धितोपत्र बोर्डको नियमन क्षेत्रभित्र पर्ने ती अधिकारीको भनाइ छ ।

सरकारले प्रस्ताव गरेको अध्यादेशको मस्यौदामा भेन्चर डेब्ट फन्डले प्रवाह गरेको कर्जाको असुलीसम्बन्धी मुद्दा ऋण असुली न्यायाधिकरणले हेर्ने व्यवस्था गरिएको छ ।

प्रचलित धितोपत्र सम्बन्धी कानुन बमोजिम धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरी सञ्चालनमा रहेको भेन्चर डेब्ट फन्डले कानुन र स्वीकृत कोष योजना बमोजिम प्रवाह गरेको कर्जा असुलीमा यस्तो व्यवस्था लागु हुने प्रस्ताव छ ।

भेन्चर डेब्ट फन्डले ऋण असुलीका लागि न्यायाधीकरणमा निवेदन दिन सक्ने छ । कोष व्यवस्थापक वा कानुन बमोजिम अधिकारप्राप्त व्यक्तिले कोषका तर्फबाट आवश्यक कानुनी कारबाही अघि बढाउन सक्ने व्यवस्था मस्यौदामा छ ।

सरकारले ऐनको दफा २ पछि दफा २ (क) थप गर्दै कर्जा असुलीका लागि कोषले धितोपत्र बोर्डबाट प्राप्त स्वीकृति, कोषको कानुनी हैसियत, कर्जा प्रवाह गर्न पाउने अधिकार, ऋणीसँग भएको कर्जा सम्झौता, कर्जा प्रवाह भएको प्रमाण तथा असुल गर्न बाँकी साँवा र ब्याजको विवरण पेस गर्नुपर्ने व्यवस्था मस्यौदामा छ ।

कर्जा सुरक्षणका लागि धितो वा अन्य सुरक्षण हित सिर्जना गरिएको भए त्यसको प्रमाण पनि पेस गर्नुपर्ने प्रस्ताव छ ।

तर, भेन्चर डेब्ट फन्डले गरेको सेयर वा इक्विटी लगानी, स्वामित्व अधिकार, लगानीको मूल्यांकन तथा नाफा वा प्रतिफलको बाँडफाँट सम्बन्धी विवाद भने ऋण असुली न्यायाधीकरणको क्षेत्राधिकारमा नपर्ने मस्यौदामा उल्लेख छ । कर्जाको कानुनी स्वरूप नभएका अन्य लगानी सम्बन्धी विवाद पनि न्यायाधीकरणले हेर्ने छैन ।

कुनै लगानी उपकरणबाट कानुन तथा सम्झौताबमोजिम निश्चित कर्जा दायित्व सिर्जना भएको अवस्थामा भने त्यसको कानुनी प्रकृतिका आधारमा ऋण असुली सम्बन्धी मुद्दा हो वा होइन भन्ने निर्णय न्यायाधीकरणले गर्न सक्ने व्यवस्था मस्यौदामा छ ।

मस्यौदाले भेन्चर डेब्ट फन्डलाई बैंक वा वित्तीय संस्थाको कानुनी हैसियत प्रदान नगर्ने र बैंकिङ कारोबार गर्ने नयाँ अधिकार पनि नदिने स्पष्ट पारेको छ ।

त्यस्तै ऋण असुली न्यायाधीकरणको क्षेत्राधिकार उपलब्ध गराउँदा धितोपत्र बोर्डको नियमन, निरीक्षण, सुपरिवेक्षण तथा कारबाही गर्ने अधिकारमा असर नपर्ने व्यवस्था प्रस्ताव गरिएको छ ।

भेन्चर डेब्ट फन्डले उद्यम, व्यवसाय तथा स्टार्टअपमा कर्जाको स्वरूपमा लगानी गर्ने व्यवस्था प्रस्ताव गरिएको हो । यस्तो फन्डबाट कर्जा प्रवाह गर्दा ऋण असुलीको कानुनी व्यवस्था स्पष्ट भए लगानीकर्ताको जोखिम व्यवस्थापन र कर्जा असुलीमा सहजता आउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?